काठमाडौं: सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँड भएको छ । १२ निर्वाचन क्षेत्र खाली राख्दै दलहरुबीच सहमति भएको हो । कांग्रेसलाई ८६ स्थान, माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान पाएका छन् । जनता समाजवादी पार्टी बाहिरिए १२ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच बाँडफाँड गर्ने सहमति भएको नेताहरुले जनाएका छन् ।
कास्कीः नेकपा एमालेले कास्कीलगायत गण्डकी क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार टुंगो लगाएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीको १ मा मनबहादुर गुरुङले प्रतिनिधिसभाको टिकट पाएका छन् । यस क्षेत्रबाट नयाँ अनुहार गुरुङ हाल एमाले कास्कीको अध्यक्ष हुन् । यसअघि स्वास्थ्य र गृहमन्त्री रहेका खगराज अधिकारी भने प्रदेश सभाको १ (क)बाट उम्मेदवार भएका छन् । त्यस्तै, यही क्षेत्रको (ख)बाट बेदबहादुर गुरुङले टिकट पाएका छन् । त्यस्तै, क्षेत्र नम्बर २ बाट विद्या भट्टराईले टिकट पाएकी छिन् । भट्टराइलाई यस क्षेत्रको स्वभाविक उम्मेदवार मानिएको थियो । यहाँबाट प्रदेश सभामा भीम कार्की र मिना गुरुङले टिकट पाएका छन् । यसैगरी, क्षेत्र ३ बाट प्रतिनिधि सभामा दामोदर वैरागीले बाजी मारेका छन् । यहाँबाट प्रदेशतर्फ गणेशमान गुरुङ र राजीव पहारीले टिकट पाएका छन् । जसमध्ये राजीव पहारीले पुनः अवसर पाएका हुन् । दशैँअघि पत्रकार भेटघाटमा खगराज अधिकारीले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने भन्दै आफुलाई प्रदेशमा उठाएपनि सहर्ष स्वीकार गर्ने बताएका थिए । यद्यपि, अधिकारीको रुचि भने संघमै रहेको थियो । अवसरका हिसाबले प्रदेशमा झरे पनि यसपटक राजीव पहारी र अधिकारीले नै पुनः बाजी मारेका छन् ।
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसुचीबाट फिर्ता लिन चाहेमा यही असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिन सकिने भनिएको थियो । उक्त प्रणालीका लागि निर्वाचन आयोगद्वारा तोकिएका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ नौ र प्रदेशसभातर्फ २० उम्मेदवारले नाम फिर्ता लिएका छन् । फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेसका नौ, नेकपा (माओवादी केन्द्र)का दुई, जनता समाजवादी पार्टीका पाँच, एकीकृत समाजवादी र जनता समाजवादीका पाँच, नागरिक उन्मुक्ति पार्टीका एक, पुनःजागरण पार्टीका एक र राष्ट्रिय नागरिक पार्टीका पाँच जना रहेका छन् । उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई आयोगले असोज १७ गते नै जानकारी दिइसकेको छ । यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको छ । उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ । संशोधित सूची बुझाउने अन्तिम अवधि असोज १६ गतेसम्मका लागि दिइएको थियो ।
राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ। आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भएर विद्यमान कानुनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो। खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको हद नतोक्न सुझाव आएअनुसार आयोगले फरक फरक हुने गरी निर्णय गरेको छ। खर्चको हद निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत, मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार निर्धारण गरिएको छ। उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँको निर्वाचन क्षेत्रहरु १, ३, ६, ७ र ८ मा निर्वाचन खर्चको हद रु। २५ लाख कायम हुनेछ। यस्तै १७ वटा निर्वाचन क्षेत्रमा रु. २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रमा रु. २९ लाख, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद रु. ३३ लाख कायम हुनेछ। त्यस्तै उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभाको निर्वाचनमा उल्लिखित ७० वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद १५ लाख, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख, ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख, २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख र ३२ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद २३ लाख कायम गरिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार दुई लाख हुनेछ। समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद राजनीतिक दलले सम्बन्धित प्रदेशमा पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार एक लाख ५० हजार कायम हुनेछ। निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन्। नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ १९ गतेको निर्णयानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम आगामी मङ्सिर महिनाको ४ गते आइतबारका दिन एकै चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिनुभएको छ । उहाँले नेपालीको चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारी र तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गर्नुभयो । प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अविच्छिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन ।” उहाँले केही बेर पनि विद्युत् गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको भन्दै यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिनुभयो । कार्यक्रममा विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूको सहभागिता थियो ।
पोखराः विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ लागेका रवीन्द्र मिश्र आज औपचारिक कार्यक्रममार्फत भित्रिँदैछन् । विवेकशील साझाकै गण्डकी प्रदेश संयोजक रहेकी सुशिला केसी अधिकारी पनि यही मेसोमा राजीनामा सार्वजनिक गरी मिश्रसँगै राप्रपा भित्रिने भएकी छिन् । यसअघि पोखरा महानगरको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी केसीले हिजोमात्रै सामाजिक सञ्जालमार्फत राजीनामा दिएकी हुन् । अधिकारीले दिएको राजीनामामा उनीसँगै केन्द्रीय सदस्यहरु अमृत पुडासैनी, अर्जुनप्रसाद खनाल र हरिप्रसाद गौतमसमेत रहेका छन् । उनीहरु पनि राप्रपा प्रवेश गर्ने अधिकारीले जानकारी दिइन् । आज राप्रपा प्रवेशपछि एक हप्ताभित्र पार्टीले जिम्मेवारी दिने अधिकारीको भनाई छ । ‘हामी अरु पार्टीजस्तो यो वा त्यो जिम्मेवारी देउ भनेर झगडा गर्दैनौ’ अधिकारीले भनिन् ‘न्यायपूर्ण समायोजन हुनेछ ।’ तर यसअघि विवेकशील साझाको प्रदेश जिम्मेवारी सम्हालेकी अधिकारीले राप्रपाबाट पनि सोही हैसियतको पद पाउन भने मुस्किल छ । अब मिश्रसँगै राजाको लाइनमा लाग्नु हुने पक्को हो भन्ने प्रश्नमा उनले भनिन् ‘म पार्टी प्रवेश कार्यक्रमकालागि काठमाण्डौं जान एयरपोर्टमा छु, पछि विस्तृतमा कुरा गरौंला ।’
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्षनेताको बैठक सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्षनेताको सहभागिता छ । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको आन्तरिक छलफलका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको सो पार्टीले जनाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू छलफलमा जुटेका हुन् ।
काठमाडौं : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आज (असोज १२ गते बुधबार)देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ । आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।