झापा: झापाबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उठेका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालय झापामा धमाधम चुनावी खर्च विवरण बुझाउन थालेका छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिमार्फत मङ्गलवार चुनावी खर्च विवरण बुझाएका हुन्। ओलीले चुनावी प्रचार सामग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत गरी विभिन्न शीर्षकमा १८ लाख ८२ हजार ५० रुपैयाँको चुनावी खर्च विवरण बुझाएका सूचना अधिकारी न्यौपानेले बताए। सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवारले ३१ लाख रुपैयाँ चुनावमा खर्च गर्न पाउने प्रावधान थियो। त्यस्तै झापा ५ (२)बाट प्रदेश सांसदमा एमालेबाट निर्वाचित होमबहादुर थापा र झापा १ (२) बाट प्रदेश सांसदमा राप्रपाबाट निर्वाचित सबिना बजगाईंले चुनावी खर्च विवरण बुझाएका छन्। थापाले १२ लाख १८ हजार ९३० र बजगाईंले ६ लाख ४८ हजार ५९० रुपैयाँ ३७ पैसा चुनावी खर्च बुझाएको उनले बताए। झापा १ (२) मा १५ लाख र ५ (२)मा १७ लाख चुनावमा खर्च गर्न पाउने प्रावधान थियो। निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु प्रावधान छ। सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ।
काठमाडौं: नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन् । बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् । संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगतै जबराले सर्वोच्च फर्किने तयारी गरेका छन् ।
काठमाडौं: सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न सर्वोच्च अदालतको मुख्य गेटमा अवरोध गर्ने तयारी सुरु गरेको छ । ‘हामी प्रदर्शनको तयारीमा छौं, हामी जबरालाई सर्वोच्च प्रवेश गर्न दिँदैनौं,’ सर्वोच्च बारका सदस्य डा. रामहरि त्रिपाठीले भने । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजैदेखि नियमित कामकाजमा फर्किने तयारी गरेपछि सर्वोच्च बारले अवरोधको तयारी गरेको हो । संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएलगत्तै जबरा सर्वोच्च अदालत फर्कने तयारीमा छन् । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए । बुधबार संसदका महासचिव डा.भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएका छन् । प्रधानन्यायाधीश जबराले सुरक्षा व्यवस्थाको तयारी गरेर आजैदेखि काममा फर्कने बताएका छन् ।
काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् । यससँगै जबराको निलम्बन हटेको छ । उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् । यसैबीच जबराले संसदका महासचिवबाट महाअभियोग निष्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्च जाने बताए ।
काठमाण्डौ: प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक करोड पाँच लाख ६० हजार ८२ मतगणना भएको छ । आयोगका अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार तीन सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । प्रतिनिधिसभामा कुल १२ दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना यसअघि नै सकिएको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादी केन्द्रले १८ ठाउँमा जितेको छ । त्यस्तै एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७र७ ठाउँमा जितेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एकरएक ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि प्राप्त मत र भारका आधारमा दलहरुले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारणको तयारी गरेको छ । विवरण अनुसार एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत गरी ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न सकेन । प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । नेकपा एमाले दोस्रो भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दैछन् । निर्वाचन आयोगले आज सम्बन्धित दललाई पत्र पठाउने तयारी गरेको छ । प्रतिनिधिसभातर्फ कूल सदर मतको तीन र प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी सिट निर्धारण गरिनेछ । आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । आयोगले यही मङ्सिर २६ गतेभित्रमा चुनावी मतपरिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
पोखराः कास्की क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आफुलाई एउटा घटनाले संसदमा पुर्याएको बताएकी छिन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् । उनले एउटा अविस्मरणीय घटनाका कारण सांसद बनेको बताउदै राजनीतिमा आफै आएको बताइन् । ‘संसदमा एउटा घटनाले पुर्यायो, तर राजनीति आफै आएकी हुँ, भट्टराईले भनिन्, ‘हरेक समयको प्रक्रियालाई हेर्ने हो भने, सामाजिक प्रक्रिया दुई हिसाबले निर्माण हुन्छ, एउटा घटनाले निर्माण गर्छ अर्को विभिन्न आन्दोलन र अभ्यासले , घटनाले संसदमा पुर्याए पनि आन्दोलन र अभ्यासले राजनीतिमा आएकी हुँ ।’ सांसद भट्टराईले आफ्नो स्वर्गीय पतिको नामलाई जोडेर मात्रै आफु परिचित नभएको बताउदै भनिन्, ‘परिचय र पहिचान दिने कुरामा रविन्द्रको धर्मपत्नी, त्यो एउटा परिचय हो । त्यो कुरालाई अस्विकार गर्दिन, पारिवारिक सम्बन्धका लागि मेरो लागि स्वीकार्य छ तर राजनीतिककर्मी, सांसदको सदस्य मान्य हो भने जनताले विद्या भट्टराईलाई अभिमत दिनुभएको छु, म जनप्रनिधि हुँ आफ्नै परिचय र पहिचान पनि जोडिएको छ ।’ उनले आफ्नो धर्मपति अधिकारी सबैको मनमा बस्न सफल एक उदाहरणीय राजनीतिकर्मी भएको सुनाइन् । उनले फरक प्रसंगमा बोल्दै आफु सांसदका रुपमा दोहोरिएपछि कास्की २ को विकास निर्माण र महिलाको उत्थान र विकासको क्षेत्रमा काम गर्ने उल्लेख गरिन् । ‘कास्की २ बाट जुन अभिमत पाएकी छु त्यसलाई दुरुपयोग गर्दिन्, उनले भनिन्, ‘अभिमतको सम्मान गर्दै अब कास्की २ को विकाससँगै महिलाको उत्थान र विकासको लक्ष्यलाई अगाडी बढाउन अब मेरो संसदको यात्रा हो ।’ भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट निर्वाचित सांसद हुन् । यसअघि पनि उनी रबिन्द्र अधिकारीको निधनपछि उपनिर्वाचन भिडेर सांसद भएकी थिइन् ।
काठमाडौं: जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। मंगलबार उनले राष्ट्रपति कार्यालय पुगेर भण्डारीलाई भेटेका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भेटको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरूबीच शिष्टाचार भेटघाट भएको र देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको जानकारी दिएका छन्। सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित राउतले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्। यही शिलशिलामा उनले मंगलबार राष्ट्रपतिलाई समेत भेटेका हुन्।
पाेखराः आसन्न निर्वाचनमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले क्षेत्र नम्बर १ बाट हारेपछि कांग्रेसभित्र पनि अन्तर्घात भएको ठहर गरिएको छ । गठबन्धनको समर्थनमा चुनावमा उत्रिएपनि सभापति बरालविरुद्ध निवर्तमान सभापति कृष्ण केसीले चलखेल गरेको संकेत कास्की कांग्रेसले गरेको छ । यस विषयमा बरालले नामै तोकेर केसीले आफु विरुद्ध चलखेल गरेको आरोप लगाएका छन् । ‘म विरुद्ध निवर्तमान सभापति केसी खुलेरै लागेको सूचना पाइयो’ बरालले भने ‘अन्तर्घात भएको छ, र यसको मतियार केसी भएको अडियो नै सार्वजनिक भइसकेको छ ।’ केसीले बराललाई हराउन फोनमार्फत निर्देशन दिएको अडियो कांग्रेस मादी गाउँपालिका सभापति यमबहादुर गुरुङले सार्वजनिक गरेका हुन् । उक्त अडियोमा ‘यसलाई त हुँदैन, प्रदेशकोलाई जिताउने हो, बाँकी कुरा हुँदैन’ भनिएको छ । बरालका अनुसार उक्त निर्देशन आफुलाई हराउन दिइएको हो ।’ जिल्लाकै अर्का जिम्मेवार पदाधिकारीले पनि कारवाही गर्नुपर्ने व्यक्ति केसी नै भएको जनाएका छन् । ‘आफै बुझ्नुहोस् न, चुनावी परिणामपछि आम जनता र कार्यकर्ताहरु कसको घरमा नाराबाजी गर्न पुगेका थिए । पहिल्यैदेखि केसीको भूमिका शंकास्पद भएको र अडियो प्राप्त भएपछि शंका सत्यमा परिणत भएको उनले बताए । उनका अनुसार दैनिकरुपमा पार्टीले अन्तर्घात गरेको विषयमा सूचना प्राप्त गरिरहेको छ । कास्कीमा बरालबाहेक अन्य उम्मेदवारको हकमा भने कुनैपनि चलखेल नभएको कास्की कांग्रेसको ठम्याई छ । तर निवर्तमान सभापति केसी भने आफुबाट कसै विरुद्ध अन्तर्घात नभएको दाबी गर्छन् । ‘मैले बोलेको अडियो बाहिरिएको छ । र त्यो मेरै आवाज हो’ केसीले भने ‘कुन तात्पर्यमा को सँग बोलेको भन्ने त्यहाँ छैन, लामो सम्वादको केही भागलाई सार्वजनिक गरेर दुष्प्रचार गरिएको छ ।’ निर्वाचन परिणाम आफु अनुकुल नआएपछि विभिन्न बहाना बनाउनु लाजमर्दाे भएको केसीको भनाई छ । त्यसो त पार्टीले टिकट दिँदा विवेक नपु¥याएछि उम्मेदवारले भोट पाउन नसकेको तथ्य लुकाउन नाटक मञ्चन भएको केसीको प्रतिक्रिया छ । पार्टीले आफु विरुद्ध सूचना संकलन गरेको जानकारी पाएपनि केसीले निर्धक्क भने, ‘आरोप लगाइएला, मलाइ बोलाइएला, त्यहाँ समीक्षा होलान्, म मेरा कुरा राख्छु ।’ यद्यपि, हालसम्म आफुमाथि भएको षडयन्त्रउपर कुनै टिप्पणी गर्न आवश्यक नभएको बताउँदै केसीले भने ‘नेपाली कांग्रेस मेरो पनि पार्टी हो, हरेक आरोपको प्रतिरोध र प्रतिवाद गर्न म तयार छु । यसअघि स्थानीय निर्वाचनमा नेकपा एमालेभित्र पनि घात–अन्तर्घातबारे अडियो सार्वजनिक भएको थियो ।
पोखराः मनाङबाट स्वतन्त्ररुपमा प्रदेश सांसदमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङले नेकपा एकीकृत समाजवादी प्रवेश गरेपछि आज पत्रकारसँग कुराकानी गरेका छन् । राजधानीमामा पत्रकार सम्मेलन गरी उनले नेकपा एसलाई मुलुकको शक्तिकारुपमा व्याख्या गर्न भ्याए । चुनावी परणामपछि सत्ता गठबन्धनकै सरकार बन्ने निश्चित भएपछि उनी समाजवादीमा प्रवेश गरेका हुन् । समाजवादीमा प्रवेश गर्नुकोकारण मन्त्री बन्नलाइ नै हो ? भन्ने प्रश्नमा उनले भने, ‘मन्त्री हुन सजिलो छैन, धेरै दुख गर्नुपर्छ ।’ गुरुङले मन्त्री बन्न दुख गरेको मान्छेले मात्रै थाहा पाउने भएको भन्दै आफुुले पनि त्यस्तै दुख गरेर मन्त्री भएको उल्लेख गरे । तर हाल नेकपा एसमा मन्त्री बन्न नभई पार्टी र विचारधारा मन परेर प्रवेश गरेको बताए । ‘म मन्त्री हुन चाहेर हुने कुरा हैन’ उनले भने ‘पार्टीले दिएको जिम्मेवारी पुरा गर्नेछुु ।’