काठमाडौं:  गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । संसद् भवन नयाँ...

काठमाडौं:  राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् । राप्रपा विधानबमोजिम संसदीय दलका नेता राजेन्द्र लिङदेनले उनलाई सचेतकमा मनोनीत गरेका हुन् ।   धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।   राप्रपा दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही छन् ।  

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् ।   भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् ।     तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने । ‘मिति तय भइसकेको छ, तर तयारी पूरा नभएका कारण त्यसलाई सार्वजनिक गर्न मिल्दैन र सुरक्षाको दृष्टिले पनि त्यो राम्रो मानिँदैन,’ उनले भने । वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्रीको भ्रमण हुन सक्ने उनको भनाइ छ ।   मे १० तारिखमा भारतको कर्नाटकमा चुनाव छ । मे १९ मा भारतीय प्रधानमन्त्री मोदी केही दिनका लागि विदेश भ्रमणमा जाने भएकाले मे ११ देखि १८ को बीचमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय भएको ती अधिकारीले बताए ।

काठमाडौं:    संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधवार बिहान बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताउनु भयो । उहाँले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताउनु भयो ।  प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुरु भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहन्थ्यो । वैशाख ४ गते नेकपा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो । महाभियोग प्रस्तावका कारण २०७८ फागुन १ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि १४ महिनादेखि सर्वोच्च न्यायालय कामुको भरमाचोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ । नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत कानून व्यवसायीहरुले पनि तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका छन् ।

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना गाडी चालक दुर्घटनाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । सोमबार दिउँसो फेसबुकमार्फत उनले चोटका बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक नछर्न आग्रह गरेका छन् । रवि लामिछानेका गाडी चालक शम्भु भनिने दिलबहादुर थापा आइतबार राति छतबाट खसेर गम्भीर घाइते भएका छन् । उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रविले विहानैदेखि आफूले निरन्तर रुपमा चालकको स्वास्थ्य अवस्थाको विषयमा परामर्श गरिरहेको र अहिले अवस्थामा सुधार भएको बताएका छन् । यस्तो बेला आफूसँग भन्ने कुनै शब्द नभएको भन्दै रविले लेखेका छन्, ‘म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला ।’ रविले अगाडि लेखेका छन्, ‘‘मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनुहोला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला ।’

पोखराः पृथ्वीनारायण क्याम्पसका प्रमुख डा. सरोज कोइरालाको कार्यकक्षमा एक सातादेखि गरिएको तालाबन्दी निरन्तर छ ।    वैशाख ३ गते घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव टरेपनि प्रमुखको कार्यकक्षमा गरिएको तालबन्दी तत्काले नखुल्ने विद्यार्थी संगठनहरुले जनाएका छन् ।    यसअघि त्रिभुवन विश्वविद्यालयले चैत १० गते देशभर स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको थियो । सोही अनुरुप काम भइरहेकाबेला क्याम्पसमा निर्वाचन समिति संयोजक डा. विकासकुमार केसीलगायतले विद्यार्थीको डाटा लिक गरेको भन्दै ३ विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए ।    त्यसपछि दोस्रो तालिकाअनुसार वैशाख ३ गते निर्वाचनाको तालिका पुनः घोषणा गरिएपछि सोही माग राख्दै तालबन्दी दोहो¥याइएको हो । सुरुमा प्रशासन भवनको मुलगेटमै तालाबन्दी गरेका संगठनले विद्यार्थीलाई प्रवेशपत्र वितरण गर्न असहज भएपछि खोलिदिएका थिए ।      मुलगेट र प्रशासनको तालाबन्दी खोलिएपनि क्याम्पस प्रमुखको कार्यकक्षमा गरिएको तालबन्दी यथावत छ । विप्लव समर्थित अखिल (क्रान्तिकारी)का क्याम्पस जिल्ला समिति संयोजक सचिन सी ले क्याम्पस प्रमुखबाट विद्यार्थी विवरणको सूचना लिक भएकाबारे स्पष्ट जानकारी नदिएसम्म तालाबन्दी जारी रहने बताएका छन् ।    ‘निर्वाचन तालिकाको विषय स्वतः सकियो’ अध्यक्ष सीले भने ‘मतदाता विद्यार्थीको डाटा लिक गर्ने कर्मचारीलाई कारवाही नगरेसम्म तालबन्दी रहिरहन्छ ।’   क्याम्पस प्रमुख कोइरालाको अनुसार विद्यार्थी संगठनसँग कुरा भइरहेको र छिट्टै तालबन्दी खुल्नेछ । चुनावको विषयमा भने पुनः मिति घोषणा हुने वा नहुने भन्ने निर्णय विश्वविद्यालयले गर्ने कोइरालाले जनाए ।    विद्यार्थीले डाटा लिक गरेको आरोपमा भने उच्चस्तरीय छानबीन समिति गठन गरिने कोइरालाले उल्लेख गरे ।    क्याम्पसमा अखिल (क्रान्तिकारी), अखिल छैठौं, अनेरास्ववियू र अखिल क्रान्तिकारी (संयुक्त)ले तालाबन्दी गरेका हुन् । 

काठमाडौँ:   नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा आज (सोमबार)  बालकोट पुगेका छन् ।   एक सातादेखि ज्वरोका कारण अस्वस्थ रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक विषयमा छलफल गर्न शीर्ष दलका प्रमुखहरू बालकोट पुगेकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।    ओलीसँगको भेटमा संवैधानिक परिषद् सम्बन्धि विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने सचिवालयले जानकारी दिएकाे छ ।     

काठमाडौं:    परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पदभार ग्रहण गर्नुभएको छ। आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै परराष्ट्रमन्त्री साउदले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो।  साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो। उहाँ नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एव‌म् पूर्वमन्त्री पनि हुनुहुन्छ। नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका साउद प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ।उहाँ नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित हुनुहुन्छ। 

पोखरा:  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहामगरले संवैधानिक व्यवस्थानुसार प्रदेश सरकारले निकासको बाटो खोजेको  बताएका छन् ।    अनलाइन पत्रकार संघ गण्डकीद्वारा पोखरामा आयोजित ‘तीन दिने अनलाइन पत्रकारिता तालिम’ लाई सम्बोधन गर्दै मन्त्री गाहा मगरले अस्थिर राजनीतिका कारण प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार निकासको बाटो रोजेको बताएका हुन् ।   मन्त्री गाहामगरले विश्वासको मत लिने विषयमा अन्य दलसँगको छलफलपछि मात्रै थाहा हुने बताए । ‘प्रदेश सरकारले संवैधानिक व्यवस्थाले जे अधिकार दिएको छ । त्यही अनुरुप सरकारले आफ्नो निकास खोज्दैछ, उनले भने, ‘अन्य राजनीतिक दलहरुसँग पनि परामर्श हुँदैछ । विश्वासको मत लिने कुरामा अन्य दलसँग छलफल गरेर कति संभावना रहन्छ । त्यही अनुसार अघि बढ्छौ  । अन्यथा संवैधानिक व्यवस्थानुसार अरु दलले सरकार सञ्चालनको जिम्मा प्राप्त गर्छ ।’   उनले मन्त्रालयको जिम्मेवारी बहन गर्न नपाउदै सरकारबाट बाहिरिदा योजनाहरुमा प्रभाव पर्ने धारणा राखे । ‘केही नयाँ कुराहरुमाथि आफ्नो भूमिकाबारे अध्ययन गर्दागर्दै र नयाँ योजनाहरु रच्दारच्दै राजनीतिमा अस्थिरता देखियो, उनले भने, ‘दुलही भएर आउने दुरान फर्कन नपाउने जस्तै भएको छ । यसले गर्दा योजनाहरुमा प्रभाव पर्ने देखिएको छ ।’ उनले मिडियाकर्मीका समस्यालाई नजिकबाट नियालिरहेको बताउदै समाधानका लागि पहल गर्ने बताए । उनले मिडिया विधेयकलाई संशोधन गरेर पत्रकारहरुलाई अधिकार सुनिश्चित गराउनका लागि आफुले सरकार बाहिरै रहेपनि भूमिका खेल्ने बताएका थिए ।    आयोजक संस्थाका उपाध्यक्ष सन्तोष बस्यालका अनुसार आगामी ४ गतेसम्म सञ्चालन हुने सो अनलाइन पत्रकारिता तालिममा आचार संहिता, अनलाइन पत्रकारिकताको महत्व र मौलाउदै गएको पीत पत्रकारिताको विषयमा तालिम प्रदान गरिने छ ।   

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भएका हुन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएको स्रोतले बताएको छ ।   राजदूत श्रीवास्तव अघिल्लो साता प्रधानमन्त्री दाहालको भ्रमणको चाँजोपाँजो मिलाउन दिल्ली गएका थिए । आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा छलफल गरेको बालुवाटार स्रोतले बताएको छ ।    प्रधानमन्त्री भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिए । तर, नेपालको आन्तरिक राजनीतिमा भएको उचारचढावले प्रधानमन्त्रीको भारत भ्रमण ढिला हुँदै आएको थियो । स्रोतका अनुसार, जाने निश्चित मिति भने तय भएको छैन् तर बैशाख तेस्रो साता दिल्ली जाने चाँही टुंगिएको छ  । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति टुंग्याउने छ ।    माओवादी केन्द्रका एक नेताले भने,‘प्रधानमन्त्री प्रचण्ड बैशाख तेस्रो साता भारत जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई स्वागत गर्न भारत तयार रहेको सन्देश पाएका छौं । मिति टुङग्याउन पार्टी र सरकारभित्र छलफल भइरहेको छ ।’   परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरू गरेको छ ।  एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति निर्वाचन, फेरिएको सत्ता गठबन्धन, मन्त्रिमण्डलको पूर्णतालगायतका आन्तरिक समस्याका कारण प्रधामन्त्री दाहालको भारत भ्रमण ढिला भइरहेको थियो । ]   भारतले समेत आन्तरिक समस्या हल भएपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गराउने भन्दै उचित समय पर्खिरहेको थियो । सरकारले लगभग पूर्णता पाएको र आन्तरिक समस्याहरू समाधानतर्फ उन्मुख भएको महशुस गरेपछि भारतले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति पक्का गरेको हो ।    राष्ट्रपति बनाउने विषयमा असमझदारी भएपछि प्रचण्डले एमालेसँगको गठबन्धन तोडेका थिए । राष्ट्रपति निर्वाचनका बेला प्रचण्डले नेपाली कांग्रेससँग नजिकिएका थिए । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सघाएपछि प्रचण्डलाई अहिले कांग्रेसको समर्थन रहेको छ ।