पोखराः पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आज आकस्मिक उद्धार अभ्यास गरिएको छ । विमानस्थल सञ्चालनको तयारीमा विमानस्थलमा शुक्रबार दिउँसो आपतकालीन उद्धार अभ्यास गरिएको हो । विमानस्थल परिसरमा ठूलो धुँवाको मुस्लो दखिएपछि एम्बुलेन्स आवतजावत एंव नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गरेको थियो । आपतकालीन अवस्थामा विमान अवतरण गराउनुपर्दा र जहाज दुर्घटना पश्चात उद्धारलाई कसरी व्यवस्थित र छिटो छरितो बनाउन सकिन्छ भनेर तयारीको लागि उद्धार अभ्यास गरिएको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार विमानस्थलमा रहेका फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको उद्धार टोली र उद्धार पछिको उपचारको लागि स्वास्थ्यकर्मीको टोलीले अभ्यास गरेका थिए। एम्बुलेन्स तथा दमकलसमेतको उक्त टोलीले दुर्घटनामा परेको जहाजबाट घाईतेको उद्धार गरि सुरक्षित स्थानमा पुर्याएर तत्काल गर्नुपर्ने उपचारको समेत आपतकालिन अभ्यास गरेको थियो। करिब २ बजेदेखि गरिएको उक्त अभ्यासमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यास गरिएको थियो। आपतकालिन अभ्यासको क्रममा ‘अनामपुरबाट आएको एबीसी एयरलाइन्सको एम १२३ नम्बरको जहाज रनवे ०३ बाट जहाज अवतरण गर्नेबेला धावनमार्गको दायाँतर्फ चिप्लिएर जहाज दुर्घटनाग्रस्त हुन्छ । जहाजमा १८० जना सवार हुन्छन् । दनदनी बलिरहेको जहाजलाई विमानस्थलमा तयारी अवस्थामा रहेका ३ वटा दमकलले आगो निभाउँछन् । लगत्तै एम्बुलेन्स तथा सुरक्षा निकाय उद्धारमा खटिन्छन् । गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर पनि आउँछ । यो सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार गरिएको आपतकालीन उद्धारको अभ्यास कार्यक्रममा देखिएको दृश्य हो । नागरिक उड्डयन प्राधिकरणको अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ देखि सञ्चालनदेखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ । सोही योजनाका लागि शुक्रबार विमानस्थलमा ‘अलर्ट वान’ अर्थात एअरपोर्ट क्षेत्रमै घट्न सक्ने दुर्घटनाको उद्धारको अभ्यास गरिएको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए । विमानस्थल नियमित सञ्चालनमा आएपछि आपतकालीन दुर्घटना उद्धारका ३ वटा फायर फाइटिङ भेइकल, २ वटा एम्बुलेन्स हुने प्रवक्ता जोशीले जानकारी दिए । उनले भने, ‘त्यसका लागि हामीसँग चाहिने सबै कर्मचारी, जनशक्ति तयार नै हुनुहुन्छ ।’ प्रवक्ता जोशीले तोकिएकै समयमा विमानस्थल सञ्चालन गर्न आफूहरु तयार रहेको दाबी गरे । ‘तोकिएको समयमै विमानस्थल सञ्चालनमा ल्याउन हामी तयारी गरिरहेका छौं,’ उनले भने, ‘यसका लागि हामी १२० दिनदेखि नै समिति गठन, सरोकारवाला निकायसँग पनि निरन्तर छलफल, अन्तरक्रियामै छौं ।’ तस्बिरहरु: अर्जुन गाहा मगर (सुशान्त)
पोखरा: ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले पोखरामा जारी आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्समा प्रथम स्थान हाँसिल गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ताइपेइका के हाउ हङ र काई एन याङको जोडीलाई ६–४, १–६ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पटेल जोडी विजयी भएका हुन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका दुर्गान्सी कुमार र काइरा सिद्धार्थ चेत्नानीको जोडीले प्रथम स्थान हाँसिल गरे । फाइनल खेलमा नेपालकी रायना शाह र भारतका स्निग्दा कान्तको जोडीलाई ६–२ र ६–० को सहज सेटमा जित निकाल्दै दुर्गान्सी जोडी विजयी भएको हो । पुरुष एकलतर्फ भारतका बंश नन्दललाई ६–२, ६–३ ले पराजित गर्दै ताइवानका के हाउ हङले फाइनलमा स्थान बनाएका छन् । अमेरिकाका हानु पटेलले ताइपेइका केइ यन याङलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगे । प्रतियोगिताको सिंगल्स फाइनल तथा समापन शनिबार विहान हुने आयोजक संघका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिए ।
पोखराः मुटुमा देखिएको समस्या निदान गर्न मणिपाल अस्पतालमा उपचाररत छोरी भेट्न पुगेकी धनसरी घर्तीको ज्यान गएको छ । सराङकोट निवासी अन्दाजी ६५ वर्षीया घर्तीको अस्पतालकै तेस्रो तलाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । छोरीको थप उपचार गर्न काठमाण्डौं रेफर गरेपछि आफन्तजनले तयारी गरिरहेकाबेला उनी मृत भेटिएकी हुन् । ३ दिनदेखि उपचाररत छोरीको अवस्थमा सुधार नभएपछि अस्पतालले काठमाण्डौं लैजान भनेपछि आफन्तजनले सवारीसाधन व्यवस्था गरी जाने तयारी गर्दा घटना घटेको हो । सोही बेला आमा धनसरीलाई नदेखेपछि खोजी गर्ने क्रममा ३ तलामुनि उनी मृत भेटिएकी हुन् । अस्पताल कर्मचारीका अनुसार धनसरी खस्ने बित्तिकै कसैले पनि थाहा भएन । उनको ‘स्पट डेथ’ भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, अनुसन्धान सुरु गरेको जिप्रका कास्कीले जनाएको छ । घर्तीको मृत्युपछि अस्पताल प्रशासनको आकस्मिक बैठक बसेको छ । तर कुनैपनि निर्णय सार्वजनिक गरिएको छैन । अस्पतालमा कार्यरत एक कर्मचारीले भने यस घटनालाई ‘आकस्मिक दुर्घटना’ भनेका छन् ।
पोखरा: नवनिर्वाचित नेकपा एमालेकी प्रतिनिधिसभा सांसद विद्या भट्टराईले महिला प्रजननसंग जोडिएको महिनावारीको विषयमा समाजलाई सचेत र सकरात्मक बनाउनको लागि शैक्षिक पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएकी छन् । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशले आयोजना गरेको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिनावारी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । महिलाको प्रजनन अंगसंग जोडिएर गरिएका बहसहरु अझैपनि अपहेलित भएका कारण विद्यालयमा शिक्षण सिकाईमै यो विषय समावेश गर्न आवश्यक रहेको बताईन् । उनले बदलिँदो समयमा केहि हदसम्म समाज यस विषयमा सकरात्मक भएपनि पुर्ण रुपमा व्यवहारमा लागु गर्नका लागि राज्यका नीतिनियमहरु बन्नुपर्नेमा उनले जोड दिईन् । कार्यक्रममा ग्लोवल एक्सन नेपालका विके श्रेष्ठले महिलाहरुको शैक्षिक प्रगति, महिलाको स्वास्थ्य प्रजनन प्रति समाजको दृष्टिकोणलाई राज्यले नै अवलम्वन गरिनुका साथै नितिनियममा ध्यान दिनु आवश्यक रहेको बताए । त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा डब्ल्यु डब्ल्यु जे गण्डकी अध्यक्ष सरिता तिमिल्सिना पंगेनीले अहिले महिनावारीका समयमा परिवार र समाजले रुढीवादी परम्पराका वाहानामा भएका दुव्र्यव्हारलाई लिएर महिलाले उजुरी दिएमा कानुनी दायरामा ल्याउने निति रहेको जानकारी दिईन् । उनले राज्यबाट यस विषयमा कानुनी निति बनाएपनि महिनावारीका विषयमा परिवारबाट दुव्र्यव्हार भयो भनेर कसैले उजुरी दिएको छ भन्दै प्रश्न गरिन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले समाजमा रुढीबादी परम्पराको बाहानामा महिलाहरु माथी भएका दुव्र्यव्हारका मुद्धाहरु सञ्चार माध्यमकै कारणले धेरै परिवर्तन भएको बताईन् । उनले सुदुरपश्चिममा हुने छाउपडी प्रथा देखि लिएर अहिले यस विरुद्ध राज्यबाट कानुन निर्माण गर्नुपर्ने आवाज उठ्नुमा सञ्चारमाध्यम मार्फत पत्रकारहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको बताईन । कार्यक्रममा कास्की जिल्ला भित्रका विभिन्न विद्यालयका करिव ५० जना भन्दा वढी शिक्षकशिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
पोखरा: विमानस्थल सञ्चालनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज आकस्मिक उद्धार अभ्यास गरिने भएको छ । विमानस्थलका आयोजना प्रमुख इन्जिनियर विनेस मनकर्मीका अनुसार आज दिउँसो साढे १ बजे विमानस्थलमा आपतकालीन उद्धार अभ्यास हुनेछ । उनले आपतकालीन उद्धार अभ्यासका लागि विमानस्थल परिसरमा एम्बुलेन्स, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गर्ने गरिने जानकारी दिए । साढे १ बजे उद्धार अभ्यास गर्ने तयारी भइरहेको छ, उनले भने, ‘भवितव्य परेको बेला छिटै उद्धार गर्न यस अभ्यासले सघाउछ ।’ उनले यसअघि सो विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकको बताए । ‘हाम्रोमा एक हप्ता एरो थाईको जहाजले क्यालिब्रेसन फ्लाइट गरिसकेको छ । अब छिटै आफ्नो प्रतिवेदन प्राधिकरणलाई बुझाउने तयारी गरिरहेको छ भन्ने बुझिएको छ ।’ उनले भने । विमानस्थल अंग्रेजी नयाँवर्षदेखि सुरु गर्न भनिएपनि ल्याण्डफिल साइट व्यवस्थापन र रिठेपानी डाडा कटानको काम अझै सकिएको छैन । करिब २२ अर्ब लगानीमा निर्मित विमानस्थल बनाउने जिम्मा चिनिया कम्पनी सिएएमसीले पाएको थियो । आयोजनाका अनुसार सो विमानस्थल अन्तर्राष्टिय मापदण्ड अनुसार फोर डि मोडेलमा बनेको छ ।
पोखराः पोखरालाई प्राकृतिक र सांस्कृतिक रुपमा धनी शहरको रुपमा चिनिन्छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पोखरा महानगर लागि परिरहेको छ । पोखरामा दैनिक हजारौंको सङ्ख्यामा आन्तरिकदेखि बाह्य पर्यटकको घुँइचो छ । सूर्योदयसँगै पोखराको धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा आन्तरिक पर्यटकको घुँइचो नै लाग्छ । बिहान, दिउँसो साँझ पोखराको लेकसाइड क्षेत्रमा आन्तरिकसँगै बाह्य पर्यटकको चहलपहल बढ्दो छ । अंग्रेजी नयाँ वर्ष सुरु हुन करिब तीन साता मात्र बाँकी छ । अंग्रजी नयाँवर्षलाई पोखरामा छुुट्टै तरिकाले स्वागत गरिदै आएको छ । पोखरामा विभिन्न देशबाट आउने विदेशी पर्यटकलाई अंग्रेजी वर्षमा कुनै खल्लो महसुस हुन नदिन वर्षेनी रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)ले ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नारासहित सडक महोत्सव आयोजना गर्दै आएको छ । यतिबेला रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)ले लेकसाइडमा आयोजना हुने २४ औं पोखरा सडक महोत्सवको तयारी तिव्र पारिएको छ । रेवानले बुधबार पत्रकार सम्मेलन गर्दै अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा विकास गर्न आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले सडक महोत्सव आयोजना गरिएको महोत्सव संयोजक नरेश भट्टराईले बताए । ‘सडकमै खाउ,सडकमै रमाउँ, पोखरा सडक महोत्सवको मुख्य नारा हो, पोखराको पर्यटन प्रवद्र्धनमा बेग्लै पहिचान स्थापित गरेको छ, भट्टराईले भने, ‘राजनैतिक अस्थिरता, नाकाबन्दी, कोरोना महामारी लगायतको समस्याले व्यवसायीलाई धारायसी बनाएको छ । धारासयी भएको व्यवसायले सडक महोत्सवले केही राहत पैदा गर्नेछ ।’ उनले पोखरा सडक महोत्सव पुष १३ देखि १७ गतेसम्म सञ्चालन हुने बताए । ‘पुष १३ देखि १७ सम्म पोखराको लेकसाइडमा करिब ३ किलोमितर क्षेत्रमा महोत्सव हुदैछ, ५ दिनसम्म सञ्चालन हुने मेलामा फिस्टेल, गेटदेखि खहरे चोक हुँदै जरेबरसम्म हुनेछ ।’ उनले भने । महोत्सवले पर्यटन प्रवद्र्धन, तथा आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउने उद्धेश्यले आयोजना गरिएको रेष्टुरेयट बार एशोसिएशन (रेवान) पोखराले जनाएको छ । महोत्सवले पोखराको लेकसाइडको मात्र नभएर समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य लिएको छ । ५ दिनसम्म सञ्चालन हुने महोत्सवमा ८५ लाख कारोबार हुने भई १० लाख बचत हुने र करिव ४ देखि ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ भने, महोत्सवको अवसरमा होटल संघले रुममा २० प्रतिशत छुट दिने बताइएको छ । सडकमै खाना, झाँकी प्रदर्शनदेखि खेलकुदसम्म महोत्सवलाई थप आर्कषित बनाउन रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान)ले सडकमै खाउ, सडकमै रमाउँ नारासहित विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, डुङ्गा (बोट) रेस, खुल्ला भेट्रान्स टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वारसहित पोखराको मुख्य प्रमुख गन्तव्य सहितको डकुमेन्ट्री प्रर्दशन गरिने आयोजकले जनाएको छ ।
पोखराः १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर र जुनियरतर्फ फुटबल प्रतिस्पर्धा सुरु भएको छ । निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत बुधबारबाट फुटबलका प्रतिस्पर्धाहरु सुरु भएका हुन् । प्रतियोगिता अन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेलहरु सम्पन्न भएको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् । प्रतियोगितामा जुनियर फुटबलतर्फ ५६ टिम र सिनियर फुटबलतर्फ ६९ टिमको सहभागिता रहेको छ । सम्पन्न प्रतियोगितामा सिनियर तर्फ गौरी शंकर खेल मैदानमा सम्पन्न पोखरा लनर्सले नृपाल आदर्श विद्यालयलाई ५–४ ले, हिल पोइन्टले इडेनलाई ३–१ ले, हिमाञ्चलले न्यू मोडललाई २–० ले, ग्लोबलले बेसलाइन एकेडेमीलाई ३–२ ले र भ्यू पोइन्टले केल्सलाई ७–० गोल अन्तरले पराजित गरेको छ । त्यसै गरी सिनियरतर्फ नै आदर्श क्लव खेल मैदान लेखनाथमा सम्पन्न खेलमा पोखरा युनाइटेडले रिभरडेललाई ३–० ले, बाल विद्याले लेखनाथ विभुतीलाई ३–२ ले, सरस्वतीले फेवा पव्लिकलाई १–० ले, विद्या निकेतनले भाष्करलाई ५–१ ले, गोल्डेन नेचरले सूर्योदयलाई २–० ले पराजित गर्न सफल भएका छन् । प्रतियोगिता छात्र जुनियरतर्फ शान्तीदिप खेल मैदानमा सम्पन्न खेलमा टप्स, शिसु कल्याण, मेट्रो पोलिटान, बेसलाईन र पोखरा एकेडेमीले आ–आफ्नो खेलमा विजयी बन्न सफल भए । त्यस्तै नेपाल आदर्श खेल मैदानमा सञ्चालन भएको खेलमा एक्स आर्मी, मनकामना, सरस्वती, गोल्डेन नेचर र इडेन्स माविले पहिलो चरणमा जित हासिल गरेका छन् । १७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिएका । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।
पोखरा: नेपालमा आर्यन गिरी र अमेरिकाका आरब शमसेर हाडाको जोडी पोखरामा जारी आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्यन जोडीले बुधबार भएको क्वाटरफाइनल खेलमा स्पेनिस खेलाडी भिक्टोर मोहनराम र भारतका धिरज रेड्डीको जोडीमाथि ६–०, ६–२ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका आर्यन अरोरा र मायंक सर्माको जोडीले भारतकै बंश नन्दल र रसियाका फेडोर सोसेड्कीनको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगे । त्यस्तै, भारतका सभ्रमन्यु सिंह र ओमर रेहानको जोडीले ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलमाथि विजय प्राप्त गरे भने अर्को क्वाटरफाइनलमा ताइपेइका के हाउ होङ र केइ इन याङको जोडीले कोरियाका जिवन पार्क र मलेशियाका केगन केथमाथि जित निकाले । महिला डबल्सतर्फ नेपालकी रायना शाह र भारतका स्निग्दा कान्त, भारतकै काइरा सिद्धार्थ र दुर्गान्सी कुमार, अमेरिकाका कासिस कान्त र भारतका गंगा मोहन तथा भारतकै दिशा बेहेरा र मन्दग्ला प्रिन्सीको जोडीले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
पोखराः पोखराको नयाँबजार प्रदर्शनी केन्द्रमा जारी समृद्ध स्टिल्स राष्ट्रिय व्यापार मेलामा विभिन्न व्यवासायीहरुको स्टलहरु छन् । विशेषगरि व्यवासायिक प्रयोजनका लागि स्टल सञ्चालन गरिएपनि केही स्टलहरु फरक किसिमका छन् । डोमभित्र रहेको आयोजक संस्थाकै एउटा यस्तो स्टल छ, जहाँ रोजगारी दिने र लिनेको जमघट हुन्छ । त्यतिमात्रै होइन, त्यहाँ तालिमको लागि इच्छुकहरुका लागिसमेत आवेदनको व्यवस्था छ । उक्त स्टलमा दुईदिनको समयावधिमा १८ जनाले रोजगारीका लागि आवेदन बुझाएका छन् । पोखरा उद्योग वाणिज्य संघको स्टलमा दुई दिनमा १८ जनाले विभिन्न जागिरका लागि आवेदन दिएको संघका कर्मचारी लक्ष्मी अधिकारीले जानकारी दिइन् । उनका अनुसार दुई दिनको अवधिमा ५ जना रोजगारदाताले जागिर दिलाउने भन्दै नाम उपबल्ध गराएका छन् भने ४ जनाले तालिमका लागि माग गरेका छन् । ‘मेला १६ गतेदेखि नै जारी हो, यो स्टल हिजो देखि राखिएको हो, अधिकारीले भनिन्, ‘जागिर चाँहियो, तालिम चाँहियो र जागिर दिन्छु भनेर स्टलमा आएर नै नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउनुभएको छ, मेला पछि हामीले उहाँहरुसँग समन्वय गरेर अगाडी बढ्छौं ।’ यो समाचार तयार पार्दासम्म जागिर रोजगारीका लागि १८, स्वरोजगारको लागि तालिम ४ जना र आफ्नो कम्पन्नी वा व्यवसायमा रोजगारीको अवसर दिनका लागि ५ जनाले आवेदन दिएको अधिकारीले बताइन् । उनका अनुसार रोजगारको आवेदन दिनेमा अधिकांश पार्ट टाइम जबदेखि इन्जिनियरिङ, बैंङ्क तथा वित्तिय संस्था, शिक्षक, विक्रेता (सेल्स मेन) रहेका छन् । यस्तै तालिमका लागि आवेदन दिनेमा पार्लर, वारिस्टा, कम्युटर शिक्षा र मन्टेश्वरी तालिमको माग गरिएको बताइएको छ । जागिर दिने भनेर आवेदन दिनेमा होटल, अकान्टेन्ट, सेल्समेन, मार्केटिङ लगायतका क्षेत्रहरु उल्लेख गरिएका छन् । महोत्सव आगामी २५ गतेसम्म जारी रहनेछ ।

