पोखरा जेसीजको वर्ष २०२५ को अध्यक्षमा भाइराज राना मगर सर्वसम्मत चयन भएका छन् ।   पोखरा जेसीजको ४५ औं शाखा अधिवेशन तथा ५० औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन ...

ताप्लेजुङः  ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमईमा लुटपाट मच्चाउनेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आईएमईमा लुटपाट मच्चाउने समूहमध्येका शंकास्पद एकजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो ।   सदरमुकाम फुङ्लिङको मुख्यबजार वीरेन्द्रचौकस्थित कञ्चन आईएमई सेन्टरमा सोमबार बिहान चारजनाको लुटेरा समूहले लुटपाट मच्चाएका थिए ।   लुटपाटमा सम्लग्नमध्ये एकजनालाई सोही दिन दिउँसो फुङ्लिङ बजार नजिकैबाट लुटिएको नगद र गरगहानासहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो ।   प्रनाउ राईका अनुसार पक्राउ परेका व्यक्तिबाट करिव छ लाख रुपियाँ नगद र केही सुनका गरगहाना बरामद भएको छ ।    घटनामा सम्लग्न अन्यको खोजी कार्य तीब्र भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो । उहाँका अनुसार जाकट (बन्दक) राखेको सुनको गहाना उकास्ने बहानामा आईएमई सेन्टरभित्र प्रवेश गरी चारजनाको सूमहले आईएमईका कर्मचारीलाई नियन्त्रणमा लिई नगद र गरगहाना लुटेका थिए ।   आईएमईमा रहेको करिव ११ लाख रुपियाँ नगदसहित डेढ किलोग्रामभन्दा बढी गरगहना लुटिएको बताइएको छ ।    आईएमई सञ्चालक अमरकुमार श्रेष्ठ र उहाँकी श्रीमती मैया श्रेष्ठ हाल अस्ट्रेलिया भ्रमण रहनुभएको छ । यता, सदरमुकाम फुङ्लिङको मुख्य बजारमै दिनदहाडै यति ठूलो लुटपाट र चोरीको घटना पहिलोपटक भएको स्थानीय बताउँछन् ।   नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतबाट लुटपाटमा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बेनी  :  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ ।    सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बडीबढाऊमा सहभागी  सचिन केसीले सबैले भन्दा धेरै रु तीन लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने हुनुभएको छ ।    उहाँले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । यसअघि २०७८ सालको दशैँको नवमीमा भगवतीमा रु तीन लाखमा सरकारी मारको बढीबढाऊ भएको थियो । नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण आकाङ्क्षी धेरै हुने भएकाले खुला बडीबढाऊमार्फत छनोट गरिएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिनुभयो ।   भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक वर्ष सरकारी मार हान्न आकाङ्क्षा राख्नेको सङ्ख्या र बोलकबोल रकमसमेत बढ्दै गएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनुभयो । “यहाँ सरकारी मार हानेका व्यक्ति सबैको उन्नति प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो”, उहाँले भन्नुभयो । तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोत मन्दिरमा बडीबढाऊ गरी राँगो हान्ने (काट्ने) चलन छ ।   नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ । म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई वर्षअघि रु ६९ लाख खर्चेर पुनःनिर्माण गरेको छ । 

काठमाडौं :  प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।   महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।   पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।    मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।   नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।   महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।   हनुमानढोको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै   हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।    तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।   मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।

पोखरा: गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ ।   दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।   कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपि शेरचन राजमार्ग तथा मालढुङ्गा बेनी सडक खण्डमा लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यात्रुवहाक सवारी साधनहरुलाई टाईम कार्ड लागू गरिएको जानकारी दिनुभयो ।   “यहाँबाट छुट्ने र पोखराबाट धौलागिरी क्षेत्रमा भित्रने सवारी साधनले डिमुवा र पोखराको जौवारी चेक प्वाइन्टमा टाइमकार्ड देखाएर इन्ट्री गर्नुपर्नेछ,” उहाँले भन्नुभयो “तोकिएको समय भन्दा छिटो जाने आउने गरेमा र इन्ट्री नगरेमा जरिवाना हुन्छ ।”   प्रहरी सहायक निरीक्षक थापाका अनुसार ढिला कुदाउने हुदाँ ठुला बसका लागि भने टाइमकार्ड लागु गरिएको छैन् । डिमुवा–बेनी १ घण्टा ४० मिनेट, बागलुङ–डिमुवा ५५ मिनेट र कुश्मा–डिमुवा २५ मिनेट समय तोकिएको छ । ४५ किलोमिटर दुरीका डिमुवा–जौवारी खण्डका लागि एक घण्टा २० मिनेटको समय तोकिएको छ ।   प्रत्येक सवारी साधनका लागि टाईमकार्ड उपलब्ध गराइएको छ । चाडपर्वका समयमा तीव्र गतिमा सवारी साधन कुँदाउदा दुर्घटना हुने भएकाले न्युनीकरणका लागि टाइमकार्ड लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मध्य पहाडी लोकमार्ग अन्तरगत पर्ने भूपी–शेरचन राजमार्ग प्रयोग गरेर पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा आवत जावत हुन्छ ।  

सिरहा: लहानस्थित दुर्गा मन्दिरभित्र विजयादशमीको मेलाका लागि स्थापित दुर्गा माताको मूर्तिलाई सजाउन ७५ तोला सुनको गरगहना बनाइएको छ ।   माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा लहानका अध्यक्ष विकास शारदाले जानकारी दिनुभयो । माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोलाको छ । त्यस्तै दुर्गा मातालाई लगाइएको ठूलो रानीहार ३० तोला र नेकलेस १० तोला, बाला १० तोला र अन्य साढे छ तोला बराबरको शिरबन्दी, नथिया, पिँजडा झुम्का छन् ।    ती सबै गरगहना दुर्गा पूजा समितिका सदस्यहरूबाट प्राप्त चन्दा, मन्दिरमा आउने भक्तजनबाट प्राप्त भेटी तथा स्थानीय व्यापारीबाट सङ्कलन गरिएको आर्थिक सहयोगबाट निर्मित भएका हुन् । माता दुर्गाको मूर्तिबाहेक अन्य देवीदेवता र असुरहरूको मूर्तिसमेत चाँदीका गरगहनाले सजाइएका छन् । अन्य देवीदेवता र असुरहरूले प्रयोग गर्ने सबै शृङ्गार तथा हातहतियार पाँच केजी चाँदीका छन् ।   मेला अवधिभर ती मूर्ति तथा गरगहनाको संरक्षण नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीबाट गरिने इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।    गरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको छ । मेला समापनपछि ती गरगहना विकास समितिले स्थानीय बैङ्कको लकरमा राख्ने निर्णय भएको बताइएको छ ।    

राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ। आयोगले  निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भएर विद्यमान कानुनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो।    खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको हद नतोक्न सुझाव आएअनुसार आयोगले फरक फरक हुने गरी निर्णय गरेको छ।   खर्चको हद निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत, मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार निर्धारण गरिएको छ।   उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँको निर्वाचन क्षेत्रहरु १, ३, ६, ७ र ८ मा निर्वाचन खर्चको हद रु। २५ लाख कायम हुनेछ।    यस्तै १७ वटा निर्वाचन क्षेत्रमा रु. २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रमा रु. २९ लाख, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद रु. ३३ लाख कायम हुनेछ।   त्यस्तै उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभाको निर्वाचनमा उल्लिखित ७० वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद  १५ लाख, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख, ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख, २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख र ३२ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद  २३ लाख कायम गरिएको छ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार दुई लाख हुनेछ।    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद राजनीतिक दलले सम्बन्धित प्रदेशमा पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार  एक लाख ५० हजार कायम हुनेछ।   निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन्।   नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ १९ गतेको निर्णयानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम आगामी मङ्सिर महिनाको ४ गते आइतबारका दिन एकै चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ।  

बडादशैँको आठाैँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो ।   महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ ।   केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।   नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।   दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभं्रस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ । आजै सो समुदायले घरघरमा दशैँको मासु भित्र्याएका छन् ।   समुदायमा टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैँको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ ।   गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्ने तालिका रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तोलाले जानकारी दिनुभयो । सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ ।   सत्तरी सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो । एमएसएन नं ९८६ भएको उक्त विमानको जम्मा आठ हजार दुई सय ७३ साइकल र १० हजार दुई सय ९१ घण्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो । एटिआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानमा यो सबैभन्दा पछिल्लो उत्पादन हो ।   कम्पनीले यो विमानपश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरि ७२–६०० सिरिजका विमानहरुको उत्पादन सुरु गरेको हो । नेपालमा ट्रङ्क रुटमा उडान गर्ने अन्य विमानभन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो । विमानको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ ।   एटिआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ । एक उडानलाई एक साइकल गणना गरिन्छ । “नेपालीको महान् पर्व वडादसैँको शुभसाइत पारेर हामीले उडान सुरु गरेका छौँ, यसले दसैँको बेला हुने उडान चापलाई कम गर्न र समयमै उडान भर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, प्रवक्ता बर्तौलाले भन्नुभयो ।   उत्कृष्ट इन्टेरियर, लग्जरी सिटको साथै वातानुकुलित उक्त विमानको यात्रा अझ बढी आरामदायी हुने यती एअरलाइन्सले जनाएको छ । सो एअरलाइन्सले हाल नेपालको सुगम गन्तव्य काठमाडौँ चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानमा आफ्नो सेवा दिँदै आएको छ भने अन्तरास्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ ।

सल्यान: सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।   उहाँको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।   ओलीको उपचारका क्रममा गए राति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी जिपमा सवार आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते तिलकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो ।   रा १ ज ५६३ नम्बरको जिप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलवाङतर्फ जाँदै गर्दा मङ्गलबार बिहान २ बजे कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको थियो ।   सो दुर्घटनामा परी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा परी ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका–६ जलवाङ गाउँका स्थानीय हुन् । उनीहरु बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा गाउँ नजिकै पुग्दा दुर्घटनामा परेका हुन् ।   दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाउने ४५ वर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० वर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ वर्षीय धर्म ओली एउटै परिवारका सदस्य हुन् । टोपबहादुर र धर्म सहोदर दाजुभाइ हुन् भने वसन्त टोप बहादुरका छोरा हुन् ।   कुमारी टोपबहादुर र धर्म सहोदर भाउजू हुने भने ललित टोप बहादुरका काकाका छोरा हुन् । दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षीय खुमलाल ओली पनि १३ दिने भाइ सन्तानभित्रका पर्दछन् । त्यस्तै दुर्घटनामा सोही गाउँका चालक २२ वर्षीय जीतबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीको पनि मृत्यु भएको छ । गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।   चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसैबीच दसैँको सबैतिर रौनक सुरु भएको बेलामा यतिखेर जलवाङ गाउँ शोकमा डुबेको छ । एकै गाउँका नौ जनाको मृत्युले गाउँमा सन्नाटा छाएको छ ।