काठमाडौँ:  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।    महासंघका अनुसार शु...

पर्सा:   मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखाप¥यो ।  यहाँका दुई भन्सार नाकाबाट हुने आयात आव २०७२/७३ मा ३५ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो ।       भन्सार विभागको आव २०७२/७३ को तथ्याङ्कअनुसार कुल सात खर्ब ७४ अर्ब ७१ करोड मूल्य बराबरको वस्तु तथा सामान आयात भएर नेपाल भित्रिएको थियो ।  सो वर्ष असोजदेखि माघसम्म चलेको मधेस आन्दोलन र अघोषित नाकाबन्दीको कारणले कुल आयातमा वीरगञ्ज भन्सार कार्यालयको हिस्सा २३ दशमलव ५० र यहाँकै अर्को सुक्खा बन्दरगाह भन्सार कार्यालयको हिस्सा भने १२ दशमलव २३ प्रतिशत रह्यो ।      आन्दोलनका कारणले नाका बन्द भएसँगै यहाँबाट हुने आयात मात्रै खुम्चिएन, यहाँबाट हुने आयात पनि भैरहवा भन्सार कार्यालयतर्फ सरेको थियो । सोही वर्ष भैरहवा भन्सार कार्यालयबाट कुल आयातको २४ दशमलव ०७ अर्थात रु एक खर्ब ८६ अर्ब ४८ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो ।       संविधान जारी भएको नौ वर्षपछि भने वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने कुल आयातको सामानमा भने फेरि पहिलाकै जस्तै गुल्जार देखिएको छ । अहिले वीरगञ्जका दुई ठूला भन्सार नाकाबाट कुल आयातको झन्डै ५० प्रतिशतको हाराहारीमा वस्तु तथा सामान आयात हुँदै आइरहेको छ ।       मधेस आन्दोलन र नाकाबन्दीले आयातमा खुम्चिएको वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाह भन्सारबाट आव २०८०÷८१ मा आइपुग्दा कुल रु १५ खर्ब ९२ अर्ब आठ करोडको आयातमध्ये वीरगञ्ज भन्सारको योगदान ३४ दशमलव ३० प्रतिशत र सुक्खा बन्दरगाहको योगदान १२ दशमलव ७८ रहेको छ । कुल आयातमा भैरहवा भन्सार कार्यालयको योगदान भने १५ दशमलव २३ प्रतिशत रहेको छ ।        वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले संविधान जारी भएसँगै भएको मधेस आन्दोलन र अघोषित नाकाबन्दीपछि आयात पुरानै लयमा फर्किए पनि उद्योग र व्यापार व्यवसायमा सुधार नआएको बताउनुभयो ।  “वीरगञ्जमा सुविधासम्पन्न सुक्खा बन्दरगाहा र एकीकृत जाँचचौकीलगायत पूर्वाधारका कारणले यहाँबाट हुने आयात पुरानै अवस्थामा फर्किसकेको छ,” उहाँले भन्नुभयो, “संविधान जारी भएसँगै भएको आन्दोलनको कारणले विस्थापित भएका उद्योगी, व्यवसायी र बजार भने अझै फर्किन सकेको छैन ।”       वरिष्ठ उपाध्यक्ष गौतम मधेस आन्दोलनपछि वीरगञ्ज केन्द्रित रहेका उद्योगधन्दा विस्तारै बारा र हेटौँडातर्फ विस्तारै सर्ने क्रम बढेको पनि गुनासो व्यक्त गर्नुहुन्छ ।  “वीरगञ्ज भन्सार कार्यालयबाट हुने सवारीसाधनको आयात पनि भैरहवा भन्सार कार्यालयतर्फ सरेको देखिन्छ,” उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्व र उद्योगमैत्री वातावरणले पनि ठूलो अर्थ राख्ने रहेछ ।”       वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले कुल आयातमध्ये एक तिहाइभन्दा धेरै आयात वीरगञ्ज भन्सार कार्यालय  हुने बताउनुहुन्छ ।  “कुल आयातमध्ये वीरगञ्जबाट हुने आयातको योगदान सन्तोषजनक नै देखिन्छ,” उहाँले भन्नुभयो, “कुन वस्तु तथा सामान कहाँबाट आयात गर्ने भन्ने कुरा नितान्त व्यापारी तथा व्यवसायीमा निर्भर हुने गर्छ ।” उहाँका अनुसार वीरगञ्ज भन्सार कार्यालय हुँदै मुख्यगरी पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ र सवारीसाधन आयात  धेरै हुने गर्छ ।      भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७३/७४ सालदेखि नै वीरगञ्जका दुवै भन्सार कार्यालयबाट हुने आयातमा उल्लेखनीय सुधार भएको देखिन्छ ।  सो आवमा रु नौ खर्ब ८४ अर्ब ३० करोड आयातमध्ये वीरगञ्ज भन्सार कार्यालयको योगदान ३४ दशमलव १२ प्रतिशत रह्यो भने सुक्खा बन्दरगाह कार्यालयको भने ११ दशमलव ७६ प्रतिशत रह्यो । सोही आवमा भैरहवा भन्सारको भने १८ दशमलव ५५ प्रतिशत रह्यो ।       यस्तै, आव २०७४/७५ मा पनि नेपालमा १२ खर्ब ४५ अर्ब १० करोड मूल्य पर्ने सामान आयात भएको देखिन्छ । यसमा वीरगञ्ज भन्सार र सुक्खा बन्दगाहको हिस्सा क्रमशः ३३ दशमलव ८९ र १० दशमलव ४९ प्रतिशत रह्यो । जसमा भैरहवा भन्सारको योगदान भने १७ दशमलव ९९ प्रतिशत थियो ।      विभागका अनुसार आव २०७५/७६ मा रु १४ खर्ब १८ अर्ब ५३ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकबाट भित्रियो । जसमा वीरगञ्ज भन्सारको योगदान ३४ दशमलव ७३ प्रतिशत, भैरहवा भन्सारको योगदान १६ दशमलव ९२ र सुक्खा बन्दरगाहको योगदान भने १० दशमलव ९२ प्रतिशत रह्यो ।      विसं २०७६ चैतको पहिलो सातादेखि कोभिड– १९ को महामारी नियन्त्रण गर्न भन्दै गरिएको बन्दाबन्दीको कारणले पनि अघिल्लो वर्षको तुलनामा मुलुकभरिको समग्र आयातमा नै सङ्कुचन आयो ।  सो आवमा रु ११ खर्ब ९६ अर्ब ७९ करोड मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार नाका हुँदै ३४ दशमलव ३७ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह हुँदै भने १३ दशमलव ८४ प्रतिशत र भैरहवा हुँदै भने १६ दशमलव ६१ प्रतिशत आयात भएको देखिन्छ ।       कोभिड–१९ को महामारीको कारणले सङ्कुचित आयात आव २०७७÷७८ मा भने उल्लेखनीय सुधार हुँदै रु १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार बराबरको वस्तु तथा सामान आयात भयो ।  कुल आयातमध्ये वीरगञ्ज भन्सार नाका हँुदै एक तिहाइ अर्थात् ३३ दशमलव २३ प्रतिशत रह्यो । सुक्खा बन्दरगाह हुँदै भने कुल आयातको १२ दशमलव ३० प्रतिशत र भैरहवा भन्सार नाकाबाट कुल आयातको १८ दशमलव २९ प्रतिशत आयात भएको देखिन्छ ।       कोभिड–१९ को असर र प्रभाव कम भएसँगै आव २०७८/७९ मा रु १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार बराबरको आयात भयो । जसमा वीरगञ्ज भन्सार कार्यालय हुँदै ३६ दशमलव ७८ प्रतिशत अर्थात् रु सात खर्ब छ अर्ब ३८ करोड ७९ लाख ६७ हजार बराबरको आयात भयो ।  त्यस्तै, सुक्खा बन्दगाह हुँदै कुल आयातको ११ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई खर्ब १७ अर्ब ९८ करोड ३४ लाख ३० हजारको आयात भयो । त्यस्तै, भैरहवा भन्सार कार्यालयबाट भने कुल आयातको १५ दशमलव ४० प्रतिशत अर्थात् रु दुई खर्ब ९५ अर्ब ६७ करोड १० लाख ५१ हजार बराबरको आयात भएको थियो ।       विभागको तथ्याङ्कअनुसार आव २०७९/८० मा रु १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार कुल आयात भएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार हुँदै ३६ दशमलव ८२ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालय हुँदै कुल आयातको १२ दशमलव ५५ प्रतिशत र भैरहवा भन्सारबाट भने कुल आयातको १५ दशमलव १९ प्रतिशत आयात भएको देखिन्छ ।      नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष कुमार टेमानीले कोभिड–१९ महामारीपछि सरकारले अँगालेको नीतिको कारणले अर्थतन्त्रमा ठूलो खालको समस्या निम्तिएकाले पनि उद्योग र व्यापार क्षेत्रको गुल्जार अझै नफर्किएको बताउनुभयो ।  “कोभिड–१९ पछि राष्ट्र बैङ्कले अघि सारेका नीतिकै कारणले अर्थतन्त्रमा निकै ठूला खालका समस्या ल्याउने काम ग¥यो”, उहाँले भन्नुभयो, “जुन नीतिको कारणले उद्योगधन्दा अझैसम्म लयमा फर्किन सकेको छैन ।”       वीरगञ्ज वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम पनि कोभिड–१९ महामारी सकिएपछि पनि उद्योगधन्दा मुस्किलले ३० देखि ४० प्रतिशतको हाराहारीमा मात्रै चल्दै आएको गुनासो गर्नुहुन्छ ।  “कोभिड–१९ को महामारीपछि ठूला उद्योग ३० देखि ४० प्रतिशत मात्रै उत्पादन गर्दै आइरहेका छन्,” उहाँले भन्नुभयो, “उद्योग÷कलकारखानालाई खर्च धान्न पनि समस्या हुँदैँ आइरहेको छ । कोभिड–१९ पछि बारा–पर्सामा नगण्य मात्रामा मात्रै उद्योगधन्दा थपिएका छन् ।”

चितवन:    जिल्लामा लगाइएको धानमा ‘डर्टी पानिकल’ नामक रोगको समस्या देखिएको छ । पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न स्थानमा लगाइएको सावित्री र सावा मनसुली धानमा यो समस्या देखिएको हो ।      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा लगाइएको धानमा यो समस्या देखिएको हो ।  उहाँले भन्नुभयो, “यो रोग ढुसी र ब्याक्टेरियाका कारण हुने गर्दछ । पुराना जातमा यो रोगको समस्या देखिएको हो ।” यो रोग लागेको धानमा बाला लागेपछि दाना नलाग्ने, पपटा हुने, दाना कालो हुने समस्या देखिएको उहाँले बताउनुभयो ।  उहाँका अनुसार धानमा देखिएको यो रोगका कारण यस वर्ष जिल्लामा चार हजार पाँच सय टन उत्पादन घट्ने अनुमान गरिएको छ ।      उहाँले भन्नुभयो, “धानको बीउसँगै यो रोगको सङ्क्रमण देखिने गरेको छ । सावित्री र सावा मनसुली धान लगाएका क्षेत्रमा ८० प्रतिशत घाटा हुने देखिन्छ ।” भारतबाट आयातीत मुकावुला धानको बीउमा समेत यो समस्या देखिएको उहाँले बताउनुभयो ।  यो रोगबाट बच्न बीउ राख्ने क्रममा बीउ छनोट, ढुसी नासक विषादीको प्रयोग र नुन पानीले उपचार गरेर राख्नुपर्ने सूचना अधिकारी ढुङ्गानाले जानकारी दिनुभयो ।  धानमा यो रोग देखिएमा फुल खेल्ने समयमा कप्पर अक्सिक्लोराइड र कार्बनाडेजिङ नामक विषादी दुई ग्राम प्रतिलिटर पानीमा हालेर एक हेक्टर क्षेत्रफलमा तीन सय लिटर छर्नुपर्ने उहाँले बताउनुभयो ।  यो औषधि छरेको एक सातापछि पोपेकोनाजोल नामक विषादी प्रतिलिटर पानीमा एक मिलिलिटर मिसाएर प्रतिहेक्टर तीन सय लिटर पानीको प्रयोग गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।      जिल्लामा २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको छ । जहाँ, चैते ५, हर्दीनाथ ६, बहुगुणी १ र २, मनकामना, गङ्गोत्री, गङ्गाकावेरी, जेरी, ओआर, कतर्नी, मुकागोला, महाराजा, काशिनाथलगायत धानहरु लगाइएको उहाँले जानकारी दिनुभयो ।

तनहुँ:     यहाँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् ।  यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ ।  गत वर्षदेखि उहाँका महिलाहरूले संगठित रूपमा सयपत्री उत्पादन गर्न थालिएको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “सयपत्री फूलको बजारीकरणमा हामीले सघाउँदै आएका छौँ । कतारलगायत अन्य देशमा पनि पठाउन सकिन्छ कि भनेर समन्वय गरिरहेका छौँ ।” यहाँका महिलाले गत वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेकामा राम्रो प्रतिक्रिया पाएपछि यसपटक दोब्बर क्षेत्रफलमा विस्तार गरेका छन् । यहाँ विभिन्न समयमा उत्पादन दिनेगरी खेती गरिएको र यसपटक दसैँको शुभारम्भदेखि नै उत्पादन दिन थालेको छ ।  तिहार, एकादशी मेला र मङ्सिरमा हुने विवाहलाई मध्यनजर गरी फूल उत्पादनमा जोड दिइएको कृषि शाखा प्रमुख केसीले बताउनुभयो । यहाँ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती गरिएको र यसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको उहाँको भनाइ छ । लघुउद्यम महिला सङ्घका अध्यक्ष सुन्तली गुरुङले घरायसी काममा मात्रै सीमित महिलाहरू यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा रहेको बताउनुभयो । उहाँका अनुसार सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको खेती गरिरहेका छन् ।  अध्यक्ष गुरुङले भन्नुभयो, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका हौँ । घरायसी काममा मात्रै व्यस्त रहने हामीलाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती गरिएकामा हाल राम्रै भइरहेको छ ।” गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरूप गत वर्षदेखि फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।  स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले अनुदानको कार्यक्रम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।  “धेरै मात्रामा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग भएको छ । यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पुर्याइरहेको छ । त्यसैले स्थानीयस्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो”, अध्यक्ष चुमानले भन्नुभयो, “यसले स्थानीय उत्पादन प्रवर्द्धन र महिलालाई आत्मनिर्भर बनाउन पनि योगदान गरिहरहेको छ । त्यस कारणले यस खेतीलाई थप व्यवस्थित बनाउने गरी पालिका लागिरहेको छ ।”  गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको छ । अध्यक्ष चुमानले भन्नुभयो, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गरिरहेका छौँ, आफ्नै क्षेत्रमा उत्पादित फूललाई प्रयोगमा ल्याउन हामीले जोड दिएका छौँ। यसमा सबैको सहयोग जरूरी छ ।” 

सुनसरी:    सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो ।  उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआउनुभएको छ । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआउनुभएको छ ।       उहाँले भन्नुभयो, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।”      इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दैआउनुभएको छ । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उहाँले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दैआउनुभएको छ । उहाँले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राख्नुभएको छ ।       “विदेशमा गएर दुःख गर्नुभन्दा यही पुख्र्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ”, सन्तराजले भन्नुभयो ।       सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आउनुभएको छ । “कहिले चार÷पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन”, उहाँले भन्नुभयो ।  लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गर्नुभएको छ । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।      व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिनुभयो । उहाँले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाउनुभएको छ । छोराले पनि उहाँलाई साथ दिँदै आउनुभएको छ ।  “पुख्र्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ”, उहाँले भन्नुभयो ।        सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गर्नुभएको छ । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उहाँले एउटा सिलौटो रु चार सयदेखि रु ५ सय ५० सम्ममा बिक्री गर्दैआउनुभएको छ ।  एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सय सम्ममा बिक्री गर्दैआउनुभएको छ । पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उहाँको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो । 

तनहुँ:    देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो ।   सुन्तला बगैँचा लगाउनुभएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताउनुभयो । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उहाँको माग छ ।  आफ्नो बगैँचामा पनि लटरम्म सुन्तला फलेका तर रोगव्याध लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई सताएको छ ।  सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजना भताभुङ्ग भएको दुखेसो उहाँले गर्नुभयो ।  तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभई काठमाडौँ उपत्यकामा पनि खपत हुने गरेको छ ।   गत वर्ष लुङग्रिङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

धनगढी:    धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ ।  यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।      सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिनुभयो ।  डडेल्धुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उहाँले जानकारी दिनुभयो ।      कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो रु पाँच छुट दिएर बिक्री गरिरहेको उहाँले बताउनुभयो । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने तथा दुई हजार क्विन्टल उहाँले जानकारी दिनुभयो ।

म्याग्दी:    यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ ।  दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।       केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा बेचेका छन्”, उहाँले भन्नुभयो, “सरदर मूल्यअनुुसार रु १६ बराबरको च्याङग्रा बिक्री भएका छन् ।”      गत वर्ष सात हजार भेडाच्याङग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् ।       जडीवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले  दसैँ तिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ ।       बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङग्रा रु १० हजार कम मूूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङग्रापालन हो । 

कैलाली:     विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।      टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँले आजभोलि खासै गहना लगाउनुहुँदैन । “विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन् ।”      घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन् । अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन् ।  एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनःलगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुनसक्ने बताइन्छ ।      जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ । हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ ।  एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्को पटक लगाउन मन लाग्दैन । “गहना जस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाख बढी पुगेको छ”, उहाँले भन्नुभयो, “त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ ।”      गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन् । सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ । शिक्षक रुपा साउँद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउनुहुन्छ ।  “गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन”, उहाँ भन्नुहुन्छ, “तडकभडक नगरेको राम्रो हो । तर पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ । खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ ।”      सुनचाँदी व्यवसायी प्रविण साहु विगतमा जस्तो सुनचादीको कारोबार नरहेको बताउनुहुन्छ । “सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ । अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ”, उहाँले भन्नुभयो, “सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ ।” 

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।   राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ ।   मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।   अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।   जापानी येन १० को खरिददर नौ रुपैयाँ छ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।   भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।   वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।