काठमाडौं: ब्राजिलको राज्य साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी प्रान्त पारानाबाट साओ पाउलोमा उडान भरेको जहाज दुर्घना भएको हो । जहाजमा ५७ यात्रु तथा ४ चालक दलका सदस्य भएको बीबीसीले उल्लेख गरेको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ, यो खस्दै जाँदा घुमिरहेको छ। एटीआर ७२–५०० मा ५७ यात्रु र चार चालक दलका सदस्य सवार थिए ।
हुम्ला: हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको वनमा गएको बाढीपहिरामा परी ५० वटा भेडा मरेका छन् । बुधबार दिउँसो अविरल वर्षासँगै गएको बाढीपहिराले राया गाउँका दुई किसानका ५० वटा भेडा मरेका हुन् । यहाँ वर्खायाममा चरिचरनका लागि उच्च लेकका भेडीखर्कमा लिने चलन छ । यसपटक पनि राया गाउँको भित्त डुङ्सिल्या (कुड्या) भन्ने लेकमा लिएका भेडा पहिरोमा परी मरेका पीडित सुरेन्द्र बोहराले जानकारी दिनुभयो । वनमा चरिचरनका लागि लिएका समयमा बुधबार दिउँसोको समयमा एक्कासी सुक्खा खोलामा आएको पहिरोसहितको बाढीले स्थानीय धुन बोहराका २५ र आफ्ना २५ भेडा मरेका उहाँले बताउनुभयो । “लामो समयदेखि भेडा यही व्यवसाय गर्दै आएको थिए । घर खर्चका साथै छोराछोरी पढाउन पुगेकै थियो तर पहिरामा परी भेडा मरेपछि आम्दानीको स्रोत नै गुमेको छ”, बोहराले भन्नुभयो । हुम्लामा स्थानीय जातका प्रति भेडाको मूल्य रु ३० हजार पर्ने गरेको छ । २५ वटा भेडा बाढीपहिरामा परी मरेपछि रु सात लाख ५० हजार बराबरको क्षति भएको पीडित धुन बोहराले बताउनुभयो । उहाँले भन्नुभयो,“दिउँसो चरिचरनका लागि जङ्गलमा लिएका बेला सुख्खा खोलामा एक्कासी आएको बाढी तथा पहिराले ठूलो नोक्सानी ग¥यो । हाम्रा लागि भेडा नै आयआर्जनका स्रोत थिए । सबै सखाप भए”, उहाँले दुःखेसो पोख्नुभयो ।
ललितपुर: मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले आज प्रवचन दिनुभएको हो । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गर्नुभएको थियो । प्रवचनका क्रममा आचार्य कृष्णले भन्नुभयो, “संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु ।” उहाँले कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको धारणा राख्नुभयो । “दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा आजको यस ऐतिहासिक कोटीहोममा थप बल पुगेको छ । मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन ।” सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनुपर्ने धारणा राख्नुहुँदै आचार्य कृष्णले धार्मिक रूपमा विभाजित गर्ने प्रवृत्तिबारे समेत सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले अगाडि भन्नुभयो, “हामीलाई विभाजित गरी सनातन धर्म संस्कारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ । त्यसैले हिन्दूत्व र सनातन धर्मका लागि एकताबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउन र सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरूरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नुपर्छ ।” मानवसेवा फाउण्डेशनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले नेपालमा नयाँ युगको सुरुआत भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“दमाइ परिवारबाट आचार्य गर्नुभएका कृष्णलाई व्यासमा राखेर अभिनन्दन गरेका छौँ र हामीलाई गर्व लागिराखेको छ, उहाँले निकै गहकिलो प्रवचन दिनुभयो । यो छुवाछूतविरुद्धको ठूलो क्रान्ति हो । बोलीले मात्र होइन व्यवहारले नै सामाजिक विभेद् हटाउनुपर्छ । त्यसैले यो एउटा नयाँ युग र नयाँ क्रान्ति हो ।” एक महिना अर्थात साउनभर चल्ने कोटिहोममा अहिलेसम्म २५ लाखभन्दा बढी भक्तजनहरू सहभागी भएका त्यस अवसरमा जानकारी दिइयो । दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पराण गर्ने गरिएको छ ।
काठमाडौंः पछिल्ला दिन चर्चामा रहेको ‘डेडिकेटेड’ एवं ‘ट्रङ्क’ लाइन महशुल विवादका सम्बन्धमा उद्योगीहरू कानुनी बाटोमा नआएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले जारी गरेको बिलमा कुनै गुनासो रहेको भए प्राधिकरणकै पुनरावलोकन समिति समक्ष निवेदन दिनुपर्नेमा उद्योगीहरूले त्यसो नगरेको जनाएको छ । “पुनवरालोकन समितिमा नआउने, अदालतले पनि बिल उठाउ भनेको अवस्थामा राज्यको राजस्व छाड्ने र छुट दिने भन्ने हुँदैन, हामी छुट दिन सक्दैनौँ,” प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “लोडसेडिङको समयमा सुविधा लिएका उद्योगलाई कानुनअनुसार बिल काटेको र त्यसको प्रमाण सुरक्षित रहेको छ ।” उद्योग व्यवसायलाई डेडिकेटेड र ट्रङ्क लाइन महशुलका सम्बन्धमा रहेको टाइम अफ डे ९टिओडी० मिटरको सबै विवरण संसद्को सार्वजनिक लेखा समितिलाई उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । “मैले मागेको ठाउँमा सबै विवरण दिएको छु । आवश्यक परे अझै विवरण उपलब्ध गराउँछौँ, तर सार्वजनिक स्थानमा जसले जति बेला जे प्रमाण माग्यो त्यो दिइ हाल्नुपर्छ भन्ने छैन । अब सम्बन्धित निकायलाई आवश्यक कागजात दिएको छु,” उहाँले भन्नुभयो । बिहिबार मात्रै प्राधिकरणले सार्वजनिक लेखा समितिले मागेअनुसार सबै विवरण उपलब्ध गराएको कार्यकारी घिसिङले बताउनुभयो । प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड कार्यकारी घिसिङका अनुसार आर्थिक वर्ष २०७२/७३ मा रु आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । आर्थिक वर्ष २०७३/७४ मा रु एक अर्ब ५० करोड खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा रु १३ अर्ब ३१ करोड नाफा पुगेको छ । आठ वर्षअघि रु ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले रु ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको छ । विद्युत्को महसुल तीन पटक गरी करिव २५ प्रतिशत घटाए पनि नाफामा बृद्धि भइरहेको उल्लेख गर्दै कार्यकारी घिसिङले प्राधिकरणका करिब कूल ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क रु ३० मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको जानकारी दिनुभयो । उहाँले सिँचाइका लागि प्रतियुनिट रु दुईमा विद्युत् उपलब्ध छ भने लिप्mटिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको बताउनुभयो । “विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ,” कार्यकारी घिसिङले भन्नुभयो, “यसरी प्राधिकरणले नाफा कमाउन मात्र हैन, आफ्नो सामाजिक दायित्वलाई पूरा गरिरहेका छौँ ।” इक्रा नेपालले गरेको ‘क्रेडिट रेटिङ्’ मा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको जानकारी दिँदै कार्यकारी घिसिङले यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व बहन गर्न सक्ने क्षमतामा देखिएको बताउनुभयो । “यसरी, प्राधिकरणले कमाएको नाफा ग्राफमा देखिने कोरा अङ्क मात्र होइन, यो त विद्युत् विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको छ । जसले भविस्यको थप नाफालाई पनि सुनिश्चित गर्नेछ,” उहाँले भन्नुभयो । आम सर्वसाधारणलाई १० प्रतिशत सेयर आम सर्वसाधारणलाई निष्कासन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने प्राधिकरणले तयारी गरेको छ । विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो आठ वर्षमा मात्र प्राधिकरणले करिब रु एक खर्ब पूँजिगत लगानी गर्न सक्षम देखिएको छ । प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीमा रु ५६ अर्ब ६८ करोडभन्दा बढी लगानी गरेको छ । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन यो त आन्तरिकरूपमा लगानीका लागि एउटा दरिलो स्रोत हो ।” उहाँका अनुसार देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । “विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । नेपालले औपचारिक रुपमा विद्युत् निर्यात नोभेम्बर २०२१ बाट शुरु गरेको थियो,” उहाँले भन्नुभयो, “निर्यातको मात्रा बढ्दै गएर गत आवमा एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी रु १७ अर्ब सात करोड आम्दानी भएको छ ।” वर्षायाममा दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको कार्यकारी घिसिङले जानकरी दिनुभयो । उहाँका अनुसार सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने गरेको छ । “गत आवमा भारतबाट एक अर्ब ९१ करोड युनिट अर्थात् रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् आयात गरिएको छ,” कार्यकारी घिसिङले भन्नुभयो, “गत आर्थिक वर्षमा आयातभन्दा करिव रु १३ करोड बढीको विद्युत् निर्यात भएको छ ।” आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बन्न सफल भएको बताउँदै कार्यकारी घिसिङले यो नेपालको जलविद्युत् विकासका लागि कोशेढुङ्गा भएको उल्लेख गर्नुभयो । कार्यकारी घिसिङका अनुसार आठ वर्ष अघि दुई हजार आठ सय मेगावाटको मात्र विद्युत् खरिद सम्झौता गरिएकोमा निजी क्षेत्रका आयोजनालाई प्रोत्साहन गर्न लिइएका नीतिका कारण हाल १० हजार तीन सय मेगावाट भन्दा बढीको विद्युत खरिद सम्झौता भएको छ । उहाँले आगामी पाँच वर्षभित्रै अर्थात सन् २०२८/२९ मा नेपालको जडित क्षमता झण्डै १० हजार मेगावाट पुग्ने प्रक्षेपण गरिएको बताउनुभयो ।
पोखरा: पोखरामा भोलि (शनिबार) हब शैक्षिक मेला हुने भएको छ । हब इन्टरनेशनल एजुकेशन पोखराको आयोजनामा न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा शनिबार शैक्षिक मेला हुन लागेको हो । एजुकेशनले शुक्रबार पत्रकार सम्मेलन गर्दै मेलामा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अन्तर्राष्ट्रिय शिक्षा, त्यहाँको शैक्षिक प्रणाली र अध्ययनपछिको अवसरको बारेमा निःशुल्क जानकारी लिन सक्ने जनाएको छ । मेलामा सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर, फुट स्टल, करिअर काउन्सिलिङ, कविता प्रतियोगिता लगायत रोचक खेलहरू समेत खेलाइने एजुकेशनका सञ्चालक उद्धब खड्काले जानकारी दिए । अन्योलमा रहेका विद्यार्थीले समेत यो शैक्षिक मेलामा सहभागी भएर आफ्ना सबै अन्योलतालाई मेटाउन सक्ने आयोजकको विश्वास छ । काठमाडौंको हात्तिसारमा केन्द्रीय कार्यालय रहेको हब एजुकेशनले १८ वर्षदेखि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विदेश पठाउँदै आएको छ । एजुकेशनले अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारत जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको एजुकेशनका सञ्चालक खड्काले सुनाए । पोखराको ट्रेड महलको तेस्रो तलावाट सेवा प्रवाह गर्दै आइरहेको एजुकेशनको शाखा पोखराकै न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा सरेको एजुकेशनका पोखरा हेड प्रदिप पहारीले बताए । एजुकेशनको शाखा काठमाडौं, चितवन, भैरहवादेखि विदेशमा अष्ट्रेलिया, युके, पाकिस्तान, भारत, श्रीलंका र फिलिपिन्समा पनि विस्तार गरेको पहारीले बताए । एजुकेशनले भोलिका दिनमा युवा लछित कार्यकम गर्ने पहारीले जनाए ।
पोखरा: पोखरा महानगरपालिका–१ स्थित विध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत एक गायन प्रतियोगिता सम्पन्न भएको छ । ‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा वार्षिक पात्रो अनुसार एकल गायन प्रतियोगिता सम्पन्न भएको हो । ४० जना विद्यार्थीहरुको सहभागिता रहेको एकल गायन प्रतियोगिता दुई तहमा सञ्चालन भएको थियो । एकल गायन प्रतियोगिता आधारभूत जुनियर तर्फबाट अनुस्का अधिकारी प्रथम, निश्चल जि.सी. द्वितीय, क्रिस्टन जोशी तृतीय र सौगात हमालले सान्त्वना स्थान प्राप्त गरे । यस्तै आधारभूत सिनियर तथा मा.वि. तहमा सौरभमान शाक्य प्रथम, अंकित गुरुङ द्वितीय, सुनिशा श्रीपाल तृतीय र अस्दीप बर्देवाले सान्त्वना भए । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा स्कुलका संगीत शिक्षक दूतप्रसाद थापामगर र सोनु जोजिजूले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै पुरस्कृत भएका विद्यार्थीहरुलाई जोजिजू म्युजिक सेन्टरले एक महिनाको लागि निःशुल्क तालिम प्रदान समेत जानकारी दिए । यस कार्यक्रमको सञ्चालन कक्षा ८ की छात्रा मञ्जिसा भुजेलले गरेकी थिइन् ।
सोलुखुम्बु: सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा पर्नुभएको छैन । उहाँलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन । तर पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछि उहाँ चिन्तित हुनुहन्छ । उहाँले भन्नुभयो, “म गाउँ छोडेर अन्यत्र गएको छैन । पछिल्ला वर्षमा लामखुट्टे देखिन थालेको छ ।” विशेष गरी गर्मीका समयमा भित्रि मधेश, पहाडी क्षेत्रमा देखिने लामखुट्टे अहिले उच्च हिमाली भेगमा पनि विस्तारै फैलिदै गएको छ । सल्लेरी सहितका क्षेत्रमा अहिले लामखुट्टेको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । सुरु सुरुमा यातायातका साधन मार्फत भित्रिएका लामखुट्टे यहीको वातावरणसँग घुलमिल हुँदा र हिमाली क्षेत्रमा तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी ठाउँमा मात्रै बाँच्न सक्ने लामखुट्टे हिमाली भेगमा देखिन थालेको सल्लेरीका केबी घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो , “यहाँको तापक्रम बढ्दै गएको छ, सल्लेरीमै पनि घाम लागेको बेला निक्कै गर्मीको महसुस हुन्छ, हिउँदमा हिउँ पर्न नै छोडिसक्यो, अनि लामखुट्टे त फैलिहाल्छ नि ।” सल्लेरीमा अहिले तापक्रम २५ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने गरेको हावापानी मापन केन्द्र सल्लेरीका मापनकेन्द्र सहयोगी नवराज पराजुलीले बताउनुभयो । उहाँका अनुसार सल्लेरीको तापक्रम बिहान र बेलुका नै २२÷२३ डिग्रीसम्म तापक्रम पुग्ने गर्दछ । वर्षेनी यहाँको अधिकतम तापक्रम निरन्तर बढ्दै गइरहेको उहाँको भनाइ छ । यसका कारण लामखुट्टेको संख्या समेत बृद्धि भएको बताइएको छ । लामखुट्टेको संख्या बढेसँगै सल्लेरीसहित, सोताङ, नेचासल्यान, माप्यदुधकोशी लगायतका क्षेत्रमा झुल तथा यसविरुद्ध धूपको प्रयोग सुरु भएको छ । लुक्ला भन्दा केही तलको गाउँ खरिखोलासम्म लामखुट्टे फैलिएको स्थानीयवासी रामबहादुर मगरले बताउनुभयो । स्थानीयवासी पासाङ शेर्पा झुल तथा लामखुट्टे नष्ट गर्ने धूप प्रयोग गर्न बाध्य बनेको बताउनुहुन्छ । तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा असर पारिरहेको जलवायुका जानकार राजन थापाले बताउनुभयो । तापक्रम वृद्धिले हिमाललाई असर पारिरहेका छन् । यसबाट डेङ्गीको सङ्क्रमणको जोखिम बढेको जनाइएको छ । पहाडी भेगमा ०।०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ । प्राकृतिक एवं मानवीय कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरु बताउँछन् । सोलुमा बढ्दै डेङ्गीको सङ्क्रमण सोलुखुम्बु सोताङका ५३ वर्षीय एक पुरुष पाँच दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि प्राथमिक अस्पताल सोताङ पुग्नुभयो । नमुना जाँच गर्दा उहाँलाई डेङ्गीको सङ्क्रमण पुष्टिभएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहनुभएको छ । यहाँ डेङ्गीको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो एक महिनामा जिल्लामा ३० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका महामारी फोकल पर्सन अशोक शिवाकोटीका अनुसार हालसम्म जिल्लाभरमा २० जना पुरुष र १० जना महिलामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । जिल्लाको सोताङ गाउँपालिकामा मात्रै २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । एक सय ५० जनाको नमुना किट परीक्षण गर्दा २७ जनाको रिपोर्ट सकरात्मक आएको महामारी फोकल पर्सन शिवकोटीले बताउनुभयो । यसमा पुरुष १९ र महिला ८ छन् । उहाँले भन्नुभयो, “ सोतामाङमा सङ्क्रमित भएका सबै जसोको ‘ट्राभल हिष्ट्रि’ देखिएन, उनीहरु गाउँमै बस्दै आएका थिए तर ती व्यक्तिहरुलाई समेत सङ्क्रमण पुष्टि भएपछि सोलुमा पनि डेङ्गी फैलिएको पुष्टि भयो ।” विशेष गरी डेङ्गी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेको मात्रा बढी रहेका ठाउँमा यसबाट बच्नलाई पानी जम्ने भाडाकुडा तथा खाल्डाखुल्डी भएका ठाउँमा यसको लार्भा हुने भएकाले त्यस्ता ठाउँहरुलाई पूर्ण रुपमा विस्थापित गर्न सके केही कम हुने फोकल पर्सन शिवाकोटीले बताउनुभयो । उक्त अभियान अन्र्तगत स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको थियो । ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरुमा समेत डेङ्गीको सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि कार्यालयले घर वरिपरिका खाल्डाखुल्डीमा जमेका पानीलाई विस्थापित गर्ने र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरेको हो । यसले सर्वसाधरणलाई जनचेचना फैलिन सहयोग गर्ने भएकाले कार्यालयले सुरुआतमा अभियान चलाएको फोकल पर्सन शिवाकोटीले बताउनुभयो । डेङ्गीको सङ्क्रमण फैलिएको धेरै लामो समय नभएकाले लामखुट्टेको टोकाइबाट बच्ने बारे जनचेतना फैलाउन र बुझाउन समेत केही समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.१९ मा गत महिना २७ गते राति गएको पहिरोमा परि परिवारका सबै सदस्यहरू गुमाएका पवन परियारलाई राहत प्रदान गरिएको छ । अमेरिकामा रहेका पोखरा १९ का बासिन्दाहरूले सङ्कलन गरी पठाएको राहत रकम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिरो पीडित परियारलाई प्रदान गरे । असार २७ गते राति गएको पहिरोमा परि परिवार नै गुमाएका परियारको आवास निर्माणमा सहयोग गर्ने गरी नगद रु.८ लाख २ हजार २ सय राहत प्रदान गरिएको हो । पहिरोका कारण अभिभावकत्व गुमाएका परियारको पठनपाठन सहयोगार्थ पोखरा महानगरपालिकाले थप व्यवस्थापन गर्ने नगरप्रमुख आचार्यले बताए । राहत वितरण कार्यक्रममा नगर प्रमुख आचार्य सहित पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे लगायत वडाका जनप्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अमेरिका बस्ने १९ बासीका आफन्तहरू, स्थानीय बासिन्दाहरू लगायतको उपस्थिति रहेको थियो ।
पोखराः पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवा:खलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय ताया: मचा: नृत्य प्रतियोगिता हुने भएको हो । गगन नेवाःखलःले आज आयोजना गरेको पत्रकार सम्मेलनमा शताब्दीऔँदेखि चल्दै आएको नेवार समूदायको मौलिक तथा सांस्कृतिक नृत्य तायाः मचाःको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी भदौ १५ गते नृत्य प्रतियोगिता एवं गाइजात्रा महोत्सव गर्न लागिएको खलःका सचिव शरणकुमार प्रधानले जानकारी दिए । महोत्सवसँगै नयाँ युवापुस्तामा आफ्नो सांस्कृतिक, परम्पराको महत्वलाई बुझाई यसको संरक्षण र प्रवर्द्धन गर्दै निरन्तरताको बोध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रधानले बताए । उनका अनुसार नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ४० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट परी, जोकर र भेषभूषालाई रु तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोेगितामा आयोजक गगन नेवाःखलःसहित नौवटा समूहको सहभागिता रहने सतिव प्रधानले जानकारी दिए । तायाः मचा: नृत्यको सांस्कृतिक महत्वलाई दृष्टिगत गरी लेखनाथ नेवा: खलको आह्वानमा विगत केही वर्षदेखि शिशुुवा नेवा: खल:, मिलिजुली नेवा: खल:, समाज कल्याण नेवा: खल:, गणेश नेवा: खल:, अर्घौपौवा नेवाः खल:, भिमसेन नेवा: खल:को आयोजनामा छैटौँ संस्करणसम्मको ताया: मचाः नृत्य प्रतियोगिता सम्पन्न भइसकेको गगन नेवाः खलःका अध्यक्ष लीलबहादुुर श्रेष्ठले जानकारी दिए । प्रतियोगितासँगै कुमारी नृत्य, लेखनाथस्तरीय तायाः मचाः नृत्य, धिमे बाजा, रोपाइँ(धान) जात्रा, लाखे नाच, नेवारी नाच आदि आकर्षणको रुपमा रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, विभिन्न खल:का प्रतिनिधिलगायत वक्ताले नृत्य प्रतियोगिताले मौलिक सांस्कृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गरे ।

