कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

पोखरा:   ‘पर्यटकीय राजधानी पोखरा’ हल्लनचोकमा गामबेसी पोखरा रोधि क्लब सञ्चालनमा आएको छ ।  बैशाख २८ गतेदेखि नै सञ्चालन आएको गामबेसी पोखरा रोधि क्लबको औपचारिक शुभारम्भ भने भदौ १ गतेदेखि गर्न लागेको सञ्चालक नरबहादुर थापाले बताए ।  ‘पोखरा पाकृतिक सौन्दर्यताका साथै कला र सस्कृतिले भरिपूर्ण शहर हो, पोखराको लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षकको रुपमा पर्दछ’, थापाले भने, ‘पोखरा लेकसाइडमा आउने पर्यटकहरुलाई थप मनोरञ्जन दिन हामीले सामूहिक रुपमा हल्लचोकमा गामबेसी रोधि क्लब सञ्चालनमा ल्याएका छौं, भदौ १ गतेदेखि औपचारिक रुपमा शुभारम्भ समेत गर्दै छौं ।’   उनले औपचारिक शुभारम्भको अवसरमा भदौ १ देखि ८ गतेसम्म शुभारम्भ विशेष सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको बताए ।  शुभारम्भ विशेष सांगीतिक कार्यक्रममा भूमिका गिरी, जीवन दाहाल, श्याम राना, चिज गुरुङ, निञ्चल दवाडी, बबिता बानिया जेरी, अस्मिता डल्लाकोटी, माया गुरुङ, आशा विसी, रेशम निर्दोष, बालचन्द्र बराल, ईश्वरसिंह, सुमन थापा, इन्द्र गुरुङ, सीता परियार, गगनसिंह गुरुङ र ज्योति लोहनीको प्रस्तुति रहने छ ।  यस्तै गामबेसी पोखरा रोधि क्लबका नियमित कलाकारहरुको समेत प्रस्तुति रहने छ । लोक तथा दोहोरी गीतको माध्यमबाट उपस्थिति दर्शकलाई मनोरञ्जन दिँदै देश विदेशसम्म चिनाउनका लागि साथै पोखरा लगायत यस क्षेत्रका पर्यटकीय क्षेत्रको रुपमा विकास गराउनका लागि सहयोग पु¥याउने क्लबले जनाएको छ ।   

काठमाडौं:     उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा  निधन भएको छ ।  ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिनुभयो । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो ।  न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियोे ।  उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको जानकारी सूचना अधिकारी आचार्यले दिनुभयो । न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन् ।

मोरङ:    कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित  मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी  कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेङ्गी लागेर एकजनाको मृत्यु भएको छ । यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् । मोरङको लेटाङ नगरपालिकामा  सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताउनुभयो । 

काभ्रेपलाञ्चोक:    नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनहुन्छ ।  पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि आग्रह गर्नुभएको हो ।  सुभाषको पछिल्लो अवस्थाबारे जानकारी लिई खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको नगरप्रमुख खरेलले बताउनुभयो । “राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजविन गर्न लगाउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ”, उहाँले भन्नुभयो ।  बुवा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएकामा १८ दिनदेखि सम्पर्कविहीन छन् । राजदूतसँगको भेटपछि केही आशा पलाएको उहाँले सुनाउनुभयो ।  नगरप्रमुख खरेलले राजदूतलाई सुभाषको कागजातसहित निवेदन दिनुभएको थियो । बोलखे परिवारले पनि सुभाषको खोजविनमा सहयोग गर्न सिड्नीस्थित नेपाली तथा त्यहाँका निकायसँग आग्रह गर्दै आएको छ । 

पोखरा:     पोखरामा २ दोहोरी साँझ र एक क्लबाट ७ जना बालिकाको उद्धार गरिएको छ ।  रात्रीकालिन व्यवसायमा बालिकालाई काममा लगाइएको अवस्थामा बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।  उनका अनुसार मंगलबार राति पोखराको चिप्लेढुङ्गास्थित गाउँ शहर दोहारी साँझबाट २ जना, साईनो साँझबाट २ जना र पोखरा–९ स्थित क्लब डी बाट ३ जना बालिकाका उद्धार गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपालबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिकाभित्र सञ्चालित रात्रीकालिन व्यवसायमा अनुगमन गर्दा काममा लगाइएको अवस्थामा बालिकाको उद्धार गरेको हो ।   

झापा:    जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत रु १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले रु १५ करोड ३० लाख ३९ हजार चार सय ४४ सङ्कलन गरेको छ ।  यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च रु तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ । 

पोखरा:     पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ । सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ । न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित यहाँ आउने छ । युवा व्यवसायी कार्की आफैं पनि भैरवस्थानका हुन् । उनकै पहलमा अघिल्लो वर्षसमेत सिटिजन फर्निचरको आँगनमा भैरव नाच देखाइएको थियो । आफ्नो गाउँठाउँको संस्कृति संरक्षण गर्ने तथा पोखरा र पाल्पाबीच संस्कृति आदानप्रदान गर्ने उद्देश्यले पोखरामा नाच ल्याउन लागिएको उनले बताए । पोखरा झैं पाल्पामा नेवार समुदायको वस्ती बाक्लो छ । त्यहाँ यो नाचको ऐतिहासिक महत्व छ । पाल्पाली राजा मणिमुकुन्द सेन राजा भएको बेला आफ्नो राज्य बिस्तार क्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिसँग अति प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन ल्याएको किंबदन्ती छ ।  उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आए । ५ सय वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पामा नचाइने लाखे नाचमा बाजाको ताल, नाच्ने कला अन्य ठाउँको भन्दा भिन्न छ । भीमसेन गुठी भैरवस्थानले यसअघि काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायत सहर पुगेर नाच देखाइसकिएको छ । पोखरामा नाच देखाउन पाल्पाली समाज पोखरा, पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारीका संस्था लि., पाल्पा कोलोनी लगायतले पनि सहकार्य गरेको पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरेले बताए । उनले पाल्पा र पोखराबीच विभिन्न समुदायका कला, सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै जाने र दुई शहरलाई कला संस्कृतिसँग जो‍डेर पर्यटन प्रवद्र्धन गर्दै जाने पाल्पालीहरुको उद्देश्य रहेको बताए । यसबाट पाल्पा र पोखराबीच संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास लिइएको पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियारले बताए । पोखरामा पनि हालैमात्र प्रतियोगितात्मकरुपमा लाखे नाच देखाइएको थियो । लाखे नाच खासगरी नेवार समुदायमा पर्ने अनिष्ट निवारणको मुख्य आधार मानिँदैआएको छ । श्रावण घण्टाकर्ण चतुदर्शी अर्थात् गठेमंगलदेखि विशेष पूजा आराधनाका साथ सुरु हुने यो नाच श्रीकृष्ण जन्माष्टमीसम्म देखाउने प्रचलन छ । 

पोखरा:     जिल्ला प्रहरी कार्यालय कास्कीले मानव वेचविखन तथा ओसारपोसार गरेको आरोपमा चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।  प्रहरीले पोखरा लेकसाइडस्थित होटल मिराकलबाट चिनियाँ नागरिकसहित ३ जनालाई हिजो (मंगलबार) पक्राउ गरेको हो ।  पोखरा १६ संगमटोल बस्ने २२ वर्षीय सरु वि.क, पोखरा २२ आर्वा बस्ने ३४ वर्षीय भगवती अधिकारी र चिनिया नागरिक झी मिङ चेनलाई मानव वेचविखन तथा ओसारपोसार मुद्धामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।  पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसारपोसार मुद्धामा ५ दिनको म्याद थप अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  घटना केःहो ?  कास्की प्रहरीका अनुसार साउन १३ लमजुङको साबिक भोज स्थायी घर भई पोखरा १६ संगमटोल बस्ने सरु विक र पोखरा २२ आर्वा बस्ने अन्दाजी ३४ वर्षीय भगवती अधिकारीले १४ वर्षीय बालिकालाई अभिभावकलाई कुनै जानकारी नदिई चिनिया नागरिकसँग बिहे गर्न प्रस्ताव गर्छन् ।  ‘तिमी दुःख पाउने केटी रहेछौं, हामीहरुले चाईनिज नागरिकलाइ चिनेका छौं, तिमी उसँग विवाह गरेऊ भने तिम्रो भविष्य बन्छ’ भन्दै बालिकालाई विभिन्न किसिमका प्रलोभन देखाई चिनियाँ नागरिकसँग आर्थिक लिएर उनीहरुले विवाह गरिदिन्छन् ।  चिनियाँ नागरिकसँग विवाह गरिदिएपछि बालिकालाई लेकसाईडस्थित होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा पीडित बालिका भाग्न सफल भएको कास्की प्रहरीले जनाएको छ ।  बालिकालाई वेचविखन गर्ने उद्धेश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटलमा बन्धक बनाएको भन्दै पीडित बालिकाकी आमाले जाहेरी दिएपछि अनुसन्धानको क्रममा चिनिया नागरिकसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

काठमाडौं:    सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ ।            न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले २०८१ वैशाख १७ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा उक्त कानुन बनाउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको उल्लेख छ ।        फैसलाको पूर्णपाठमा भनिएको छ, “हालसम्म क्रसर उद्योग सञ्चालन तथा व्यवस्थापन गर्नका निम्ति कुनै कानुनी व्यवस्था भएको नदेखिँदा ढुङ्गा, गिटी, बालुवा उत्खननगरी कसर उद्योग सुव्यवस्थित रुपमा र वातावरणमैत्री रुपमा सञ्चालन हुने सुनिश्चितताको लागि ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउनु भनी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौँका नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।”      अदालतले तथ्य, कानुनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधारमा ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लाई संशोधन गर्नेगरी नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७९ जेठ ६ मा पारित ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९ उक्त मापदण्डको दफा ४(१.०) र दफा ११(१) को हदसम्म उत्प्रेषणको आदेशले बदर गरेको छ ।        अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ लाई बदरगरी २०७७ लाई कायम गरेको छ । उक्त ऐनमा क्रसर उद्योग सञ्चालन गर्दा दूरीसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरेको छ । जसमा क्रसर उद्योग सञ्चालन गर्दा राजमार्गको राइट अफ वेबाट ५०० मि दूरी, खोला वा नदी किनारबाट ५०० मि, शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई किमी दूरी कायम गरिएको छ ।      त्यस्तै, पक्की पुलबाट ५०० मि, अन्तर्राष्ट्रिय सीमाबाट दुई किमी, वन, निकुञ्ज तथा आरक्षबाट दुई किमी, घनाबस्तीबाट दुई किमी, हाइटेन्सन लाइनबाट २०० मि, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट ५०० मि र चुरे पहाडको फेदीबाट एक हजार ५०० मि दूरी कायम गरिएको छ ।         वातावरण कानुन समाज नेपालका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ, नुवाकोटका राजु फुयाँल र धनुषाका राकेशकुमार साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र खानी तथा भूगर्भ विभागलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त फैसला गरेको हो ।