पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

पोखरा:   बागलुङको ताराखोला गाउँपालिकाले गाउँपालिकाको क्षेत्रभित्रका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा माछा मार्न निषेध गरेको छ ।  गाउँपालिकाले भदौ १ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नगर्दासम्म माछा मार्न निषेध गरिएको प्रशासकिय अधिकृत विवेक रणपाल परियारले जानकारी दिए ।  ‘ताराखोला गाउँपालिकाको क्षेत्रभित्र रहेका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा पाइने माछा जिल्लामै प्रसिद्ध छ’, प्रसासकिय अधिकृत परियारले भने, ‘यसको संरक्षण र दिगो उपयोगको सुनिश्चितता गर्दै दिगो विकासमा जलचरको रुपान्तरण गर्नका लागि गाउँपालिकाको साँझा कर्तव्य भएकाले भदौ १ गते देखि माछा मार्न निषेध गरेका छौं ।’   उनले ताराखोला गाउँपालिकाको जलचर एवं जलीय जैविक विविधता संरक्षण कार्यविधि २०८० र गाउँपालिका कार्यपालिकाको साउन १३ गते बसेको बैठकको निर्णय अनुसार भदौं १ गतेदेखि गाउँपालिकाको क्षेत्रभित्र रहेका जलचर क्षेत्रमा माछा मार्न निषेध गरिएको बताए ।  गाउँपालिकाले माछा मार्न निषेध गरिएको सूचना अटेर गरेर माछा मारेको पाईएमा ताराखोला गाउँपालिका गाउँपालिकाको जलचर एवं जलीय जैविक विविधता संरक्षण कार्यविधि २०८० को दफा १४ बमोजिम १० हजार देखि १ लाख सम्म जरिवाना गर्ने बताएको छ ।    ताराखोला गाउँपालिका भित्रबाट बग्ने विभिन्न खोलाहरु दरमखोलामा गएर मिसिन्छ, यस अगाडि गाउँपालिकाको छिमेकी नगर गलकोट नगरपालिकाले समेत दरमखोलामा माछा मार्न रोक लगाएको छ।  

काठमाडौं:     स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ ।   विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई  आज सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अङ्गदान केन्द्र स्थापनाको विषय समेटिएको बताउनुभयो ।  “मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्”, उहाँले भन्नुभयोे, “तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।” भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पौडेलले अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताउनुभयो ।  सीमित जनशक्ति,पूर्वाधार र स्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले उपलब्ध जनशक्ति र स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।  भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गर्ने बताउनुभयो । 

बागलुङ (ढोरपाटन):    गत साता बागलुङको बडिगाड गाउँपालिका– ९ र १० मा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।   प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधि अनुसार ज्यान गुमाएका प्रति परिवार नगद रु दुई लाखका दरले राहत रकम उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । पहिरोमा परि ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमै पुगेर राहत उपलब्ध गराएको हो । प्रजिअ बरालले सरकारले प्राकृतिक विपद्मा परि ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउने नीति अनुसार राहत रकम प्रदान गरिएको बताउनुभयो । बडिगाड गाउँपालिका–१० आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले नौ जनाको ज्यान लिएको थियो ।  पहिरोमा परेका एक बालक अझै बेपत्ता छन् । पहिरोमा पुरिएर १० जना घाइते भएका थिए । गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोही दिन वडा नम्बर–९ नयाँबस्तीमा पहिरोमा परी दुई जनाको ज्यान गएको थियो ।

काठमाडौं:    संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।  सरकारले यही साउन १४ गते डा शङ्कर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), प्रा धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलङ्का) र रीता धिताललाई (पाकिस्तान) का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।    सरकारले नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सनिल नेपाल (स्पेन), डा शैल रुपाखेती (जर्मनी), जङ्गबहादुर चौहान (रुसी महासङ्घ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र प्रकाशमणि पोखरेललाई (पोर्चुगल) लाई सिफारिस गरेको छ ।            नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने  व्यवस्था छ ।

तनहुँ:    तनहुँको आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले लक्षित वर्गलाई डेङ्गु सङ्क्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।       आँबुखैरेनी गाउँपालिकाअन्तर्गत डेङ्गु रोगको प्रकोपको कारणले उत्पन्न सङ्कटको समयमा सबैलाई आवश्यक स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले प्रारम्भिक लक्षण देखिएका सबैलाई निःशुल्क डेङ्गु परीक्षण र लक्षित वर्गलाई निःशुल्क उपचार उपलब्ध गराइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।       प्रारम्भिक लक्षण देखिएका सबैलाई ‘¥यापिड डाइग्नोष्टिक टेष्ट’ विधिबाट परीक्षणको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । त्यस्तै, गरिब तथा आर्थिक रुपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्ग, सहाराविहीन अशक्त एवं अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा बेहोरिने चुमानले बताउनुभयो ।       आँबुखैरेनीमा केही दिनयता डेङ्गु सङ्क्रमित बढेकाले सतर्कता अपनाउन आवश्यक रहेको अस्पताल प्रमुख डा डिबी क्षेत्रीले बताउनुभयो । डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने तथा लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने डा क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुत्दा सधैँ झूलको प्रयोग गर्नुपर्छ, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको प्रयोग गर्न सकिए यसबाट बच्न सकिन्छ ।”      त्यस्तै, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन, ट्याङ्की र कुलरहरु हप्तामा एकचोटी सफा गर्न डा क्षेत्रीले आग्रह गर्नुभयो । जिल्लामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमण आँबुखैरेनीमा पुष्टि भएको छ ।  सोमबारसम्म जिल्लाभर आठ सय २२ सङ्क्रमित हुँदा आँबुखैरेनीमा मात्रै छ सय चारजनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार व्यास नगरपालिकामा ५७, शुक्लागण्डकी नगरपालिकामा एक सय २३, भिमाद नगरपालिकामा दुई र बन्दीपुर गाउँपालिकामा ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।       आँबुखैरेनीस्थित मनकामना हेल्थ क्लिनिक, आरोही पुष्पाञ्जली क्लिनिक, गोरखकाली पोलिक्लिनिक, ओम मेडिकल केयर, आँबुखैरेनी अस्पतालमा, बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल, लक्ष्मी अस्पताल, मोती हेल्थ क्लिनिक, सञ्जीवनी प्याथोलोजी क्लिनिक, भिमाद नगरपालिकास्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, व्यास नगरपालिकास्थित दमौली अस्पताल, रत्नहरि अस्पताल, समाधान अस्पताल, दमौली सामुदायिक अस्पताल, नेसनल एपोलो अस्पताल र युआरएल ल्याब्रोटोरीमा डेङ्गु परीक्षण गरिएको छ ।       शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गु परीक्षण गरिएको छ । एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो ।  यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको चिकित्सकको भनाइ छ । 

खोटाङ:     सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् ।  विसं २०७२ माघ १८ गते राति आफन्तको घरबाट घर फर्कंदै गरेकी सुस्त मनस्थितिकी किशोरीलाई बाटो छेकेर सामूहिक बलात्कार गरेर फरार भएकामध्ये १३ वर्ष कैद तोकिएका नरदेश पक्राउपछि सोमबार साँझ कारागार चलान भएका हुन् ।            सुस्त मनस्थितिकी किशोरी बलात्कृत भएको दुई दिनपछि विसं २०७२ माघ २० गते आफन्तले दिएको जाहेरीका आधारमा जिल्ला अदालतले विसं २०७९ चैत ३० गते नरदेशसहित घटनामा संलग्नलाई कैद सजाय सुनाएको थियो ।  जिल्ला अदालतले कैद सजाय सुनाएको तीन वर्षपछि नरदेशलाई घरमा आएको मौका पारेर आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।       सामूहिक बलात्कारको घटनापछि लुकीछिपी बस्दै आएका नरदेशलाई प्रहरी चौकी रतन्छाले आइतबार राति १० बजे पक्राउ गरेपछि सोमबार जिल्ला ल्याइएको थियो । जिल्ला ल्याइएलगत्तै अदालतमा हाजिर गराइएका नरदेशलाई अदालतले कैद भुक्तानका लागि कारागार चलानको आदेश दिएको प्रहरीले जनाएको छ ।       रातको समयमा बाटो छेकेर सामूहिक रुपमा भएको जबर्जस्ती बलात्कारको घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । नौ वर्षअघि सामूहिक रुपमा बलात्कारमा परेकी किशोरीको अवस्था समान्य रहेको जनाइएको छ ।  फरार प्रतिवादी पक्राउ अभियान चलाएको जिल्ला प्रहरी कार्यालयले यस आर्थिक वर्ष सुरु भएयता आठ जनालाई पक्राउ गरिसकेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा एक सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीको अपराध न्यूनीकरण सम्बन्धी सक्रियताले जिल्लावासी सुरक्षित रहेको महसुस गरेका छन् ।

धनुषा:   मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठजना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गर्नुभएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका अनुसार पदमुक्त हुने राज्यमन्त्रीहरूलाई पत्राचार गरिएको छ । साथै उनीहरूलाई पदमुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो ।  यही साउन २२ गते गठित मन्त्रिपरिषद्मा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गर्नुभएको उक्त कार्यालयले जनाएको छ ।  मधेसमा २० सदस्यीय मन्त्रिपरिषद् गठन भएकामा चौतर्फी विरोध भएको थियो ।  

बाँके:      बाँकेको राप्ती सोनारी–७ फत्तेपुरको पिप्रहवा गाउँ निवासी दुर्गाप्रसाद पाण्डेको उमेर अहिले ६० वर्ष कटिसकेको छ । उहाँ जान्ने भएदेखि अहिलेसम्म राप्ती नदीको बाढी गाउँमा पसेर डुबाउने चिन्ताले छोडेको छैन ।       “मैले जान्ने भएदेखि राप्ती नदीको बाढी, डुबान र कटानको समस्या झेल्दै आएको छु, यो समस्या कम भएको छैन झन् बढ्दै गएको छ”, पाण्डेले भन्नुभयो, “पहिला नदी टाढा थियो, चिन्ता अलि कम थियो अहिले नदी नजिकै आएर कटान गरिरहेको छ, चिन्ता झन् बढ्दै गएको छ ।”      नदीको कटान नियन्त्रणका लागि बनाइएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएर बगाएपछि अहिले नदीले खेतीयोग्य जमिन कटान गर्दै गाउँतिर सोझिएको उहाँले बताउनुभयो । दुई वर्षअघि बाढीले भत्काएको तटबन्ध पुनःनिर्माण हुन नसक्दा नदीमा ठूलो बाढी आउँदा गाउँमा पस्ने खतरा बढ्दै गएको उहाँको भनाइ छ ।       राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्तीका शङ्कर यादवले बताउनुभयो ।  “विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ”, यादवले भन्नुभयो, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले बर्सातको समयमा राम्ररी निदाउन पनि सकिन्न ।”      दिउँसो नदीमा बाढी आएको थाहा हुने भए पनि रातिको समयमा भने धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ ।        राप्ती नदीबाट बस्ती जोगाउन गरिएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि यतिबेला राप्ती सोनारी–७ मा पर्ने देउपुर्वा, खल्ला झगडिया, ननकौपुर, पिप्रहवा र नरैनापुर गाउँपालिकामा पर्ने कुदरबेटवा, जमुनी, गङ्गापुर, सोनवर्षालगायत गाउँका करिब एक हजार परिवार राम्रोसँग निदाउन नसकेको यादवले बताउनुभयो ।       राप्ती नदीले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बर्सेनि त्रासमा राख्दै आएको छ । कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँका अगुवा दीपेन्द्र पाण्डे दीपुले बताउनुभयो ।  “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीव्र पारेको छ”, पाण्डेले भन्नुभयो, “नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पस्ने खतरा बढेको छ ।”      राप्ती नदीमा तटबन्ध नबन्दा तल्लो तटीय क्षेत्रका नागरिकको जीवन राप्तीमा आउने बाढीको डरसँगै बित्दै आएको छ । दीर्घकालीन रुपमा समस्या समाधानका लागि नदीको दुवै किनारामा पक्की तटबन्ध नबन्दासम्म नदी छेउका नागरिकको दुःख जीवनभर रहने पाण्डेको बुझाइ छ ।  “दिउँसोको समयमा बाढी आए भागदौड गर्न सकिएला तर रातको समयमा आए हाम्रो ठूलो धनजनको क्षति हुने भएकाले राज्यले ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “तटबन्ध भत्किएको दुई वर्ष भइसक्दा पनि राज्यले हाम्रो समस्यालाई गम्भीर रूपले नलिएको हुँदा थप चिन्तित छाँै ।”       राप्ती नदीले वर्षायाम सुरु हुनासाथ राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगञ्ज र राजपुर क्षेत्रमा डुबान र कटान गर्ने गरेको छ ।  “नदी किनारमा तटबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले दुवै किनारको सयौँ बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ”, स्थानीय अगुवा रामदास थारूले भन्नुभयोे, “नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयलाई हामीले आग्रह गर्दै आए पनि चासो नदिँदा कृषियोग्य जमिन तीव्र रुपले नदीको कटानमा परिरहेको छ ।”      राप्तीपारि बैजापुर, बिनौना क्षेत्रमा तटबन्ध निर्माण भएपछि राप्ती नदीको भँगालो कचनापुर क्षेत्रतिर फर्केर कटान गर्न थालेकाले राप्ती नदीको कटान नरोकिए मानव बस्तीसमेत जोगाउन कठिन हुने उहाँले बताउनुभयो ।  “नदीले अहिलेसम्म खेतीयोग्य जमिन कटान गरिरहेको छ । कटान नरोकिए यहाँको बस्ती नै बगाउने खतरा छ”, उहाँले भन्नुभयो, “खेतीयोग्य जमिन कटान गरेर नदी गाउँनजिक आइसकेको छ, हाम्रो पीडा सुनिदिने निकाय कोही भएन ।”      बस्ती जोगाइदिन माग      राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्धन निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । उक्त क्षेत्रको अवलोकन तथा जनताको गुनासो सुन्न पुग्ने जनप्रतिनिधि र प्रहरी प्रशासनका अधिकारीसँग डुबान प्रभावित क्षेत्रका नागरिकले यो वर्ष तटबन्धन निर्माण नभए ठूलो बाढी आउनासाथ राप्ती नदीले गाउँ डुबान गर्ने भएकाले तत्काल पहल गर्न माग गर्दै आएका छन् ।         बाँके–१ का प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विभिन्न दलका नेताले निरीक्षण गरे पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकामा स्थानीयवासी दुःखी छन् ।  “सांसददेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले निरीक्षण गरेर फर्किनुभयो तर अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । बेलैमा काम अगाडि नबढे धेरै क्षति हुने निश्चित छ”, नरैनापुर–६ गङ्गापुरका अगुवा सोहनलाल यादवले भन्नभयो, “डुबानबाट बस्ती जोगाइदिन हामीले सबैसँग हारगुहार ग¥यौँ तर हाम्रो दुःख राज्यले सुनेन ।”      राप्ती नदीको कटान नियन्त्रण गर्न निर्माण भएको तटबन्ध भत्काएर नदीले सडक कटान गरे पनि यसको रोकथामका लागि राज्यले अहिलेसम्म कुनै चासो नदिएको यादवले बताउनुभयो । राज्यले बेलैमा तटबन्ध निर्माण नगर्दा राप्ती सोनारी गाउँपालिका–६ र ७ र नरैनापुर गाउँपालिकावासी ६० हजार बढी नागरिक डुबानको उच्च जोखिममा रहेको उहाँको भनाइ छ ।       तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्ती जोखिममा रहेका छन् ।  बस्ती जोगाउन निर्माण भएको तटबन्ध भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका बस्तीमा ठूलो क्षति हुने अवस्था आएको वडा नं ७ का अध्यक्ष रामलखन थारूले बताउनुभयो । यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्धलगायत सरोकारवाला निकायमा बारम्बार जानकारी गराए पनि मर्मतसम्भारको पहल नभएको वडाध्यक्ष थारूको गुनासो छ ।       बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयले हरेक वर्षको बर्खायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको राप्ती सोनारी गाउँपालिका–६, जरैयाका स्थानीय भक्तिराम पाण्डेले बताउनुभयो ।  गत सालको बाढीले आफ्नो एक बिगाहा जमिन नदीले कटान गरेर लगेको पाण्डेले बताउनुभयो । उहाँले बाँकी रहेको एक बिगाहा जमिनतिर नदी सोझिएकाले कतिबेला त्यो पनि लैजान्छ भनेर हेर्नुको विकल्प नभएको गुनासो गर्नुभयो ।       राप्तीसोनारी गाउँपालिका–६ स्थित नटीको किनारमा पर्ने खल्लाटेपरी, जरिया र ढलेया बाढीबाट अत्यन्तै जोखिममा रहेको वडाध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । खल्लाटेपरीमा जनता तटबन्धको ड्याम भए पनि बाढीले तारजालीसमेत भत्काउँदा अत्यन्तै जोखिममा रहेको उहाँको भनाइ छ ।   बाँकेमा राप्ती नदीले गर्दै आएको कटान नियन्त्रणका लागि तय भएको पश्चिम राप्ती नदी नियन्त्रण आयोजना सुरु नहुँदा कटान तथा डुबानको समस्या यथावत् रहेको छ । आयोजनाअन्तर्गत राप्ती नदीको कटान नियन्त्रणका लागि करिब ३५ किलोमिटर तटबन्ध र अन्य संरचनाहरु प्रस्ताव गरिएको छ ।       भारत सरकारको जल संसाधन, नदी विकास एवं गङ्गा संरक्षण विभागसँगको सम्झौताअनुसार नेपाल सरकारले आयोजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको हो ।  आर्थिक वर्ष ०८४/८५ मा सम्पन्न गर्ने गरी रु दश अर्ब ४४ करोड ८१ लाखको लागतमा आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा राप्ती नदीमा बायाँतर्फ १५ दशमलव चार सय ६२ किलोमिटर र दायाँतर्फ १९ दशमलव तीन सय ७१ किलोमिटर गरेर जम्मा ३४ दशमलव आठ सय ३३ किलोमिटर तटबन्ध गरिने तयारी रहेको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताउनुभयो ।        पानीको प्राकृतिक प्रवाह नै अवरुद्ध हुनेगरी भारतले बाँकेको होलिया नजिकै एकतर्फी रूपमा १३ किलोमिटर लामो कलकलवा तटबन्ध निर्माण गरेपछि नेपालबाट दक्षिण बग्ने खोलानालाको प्राकृतिक प्रवाह रोकिँदा नेपाली भूमि डुबानमा पर्दै आएको छ ।  नेपाल सरकारका तर्फबाट पटक–पटकको प्रयासपछि डुबान, कटान र पटानले सङ्कट निम्त्याउँदै आएको बाँके जिल्लास्थित राप्ती नदीमा पक्की तटबन्ध निर्माण गर्न भारत सरकार गत वर्ष सहमत भएको थियो ।  सोही सहमतिअनुसार नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने प्रारम्भिक कार्य सुरु गरेको प्रतिनिधिसभा सदस्य ढकाल बताउनुहुन्छ । खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्कालका लागि अस्थायी तटबन्ध निर्माणका लागि राज्यको ध्यानाकर्षण गराएको उहाँको भनाइ छ । 

बारा:    बाराको सिम्रौनगढ नगरपालिका–७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विशाक्त खाना (फुड पोइजनिङ)का कारणले मृत्यु भएको छ ।       बारा प्रहरीका अनुसार फुड पोइजनिङका कारणले तीनको मृत्यु भएको आशङ्का गरिएको छ । मृत्यु हुनेमा सात वर्षीया लालिमा राम, सात वर्षीया पुष्पा राम र पाँच वर्षीय रामनन्दन राम रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आइतबार बेलुका माछा र भात खाएर सुतेका तीन बालबालिकाको फुड पोइजनिङका कारणले मृत्यु भएको बताउनुभयो ।       इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले परिवारका सबै सदस्यले एउटै चुलोमा पकाएको खाना खाए पनि बालबालिकामा मात्रै फुड पोइजनिङको समस्या देखिएको जानकारी दिनुभयो ।  “प्रारम्भिक अनुसन्धानका क्रममा गाउँकै माछा पोखरीबाट निकालेको माछा र भात खाएको भन्ने कुरा आइरहेको छ”, उहाँले भन्नुभयो, “एउटै भान्सामा रहेको एउटै कराइमा पकाएको खाना मृतकका आमा, हजुरबुबा, हजुरआमाले खाएको देखिन्छ तर परिवारका अन्य सदस्यलाई केही भएको छैन, तीन बालबालिकालाई मात्रै फुड पोइजनिङको समस्या देखिएको हो ।”       प्रहरी निरीक्षक राईले तीन बालबालिकाले दिउँसोको समयमा अन्य केही खानेकुरा खाए कि सोही माछासहितको खानाको कारणले मृत्यु भयो भन्ने कुरा अहिलेसम्म नखुलेको बताउनुभयो । उहाँले मृतक बालबालिकाको घरमा कुनै पनि प्रकारको विषाधिजन्य औषधी नभेटिएको पनि जानकारी दिनुभयो ।       प्रहरी निरीक्षक राईले बालबालिकाको स्वास्थ्यमा समस्या देखिएसँगै परिवारका सदस्यहरुले सिम्रौनगढस्थित रामबाबुको पोलिक्लिनिकमा उपचारका लागि पु¥याएको बताउनुभयो । पोलिक्लिनिकले आफ्नोमा उपचार सम्भव नभएको बताएसँगै बाराको प्रादेशिक अस्पताल कलैया पु¥याइएको थियो ।  “तीन बालबालिकामध्ये एकजना सिकिस्त भएकाले प्रादेशिक अस्पताल कलैया पु¥याउने क्रममा नै मृत्यु भएको बताइएको छ”, प्रहरी निरीक्षक राईले भन्नुभयो, “प्रादेशिक अस्पतालले अन्य दुई बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर देखिए पनि नेसनल मेडिकल कलेज वीरगञ्जमा रेफर गरेको थियो, अन्य दुई बालबालिकाको पनि नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।”      जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक तीनै बालबालिकाको शवपरीक्षण गरेर शव परिवारलाई हस्तान्तरण भइसकेको छ । नरेश राम रोजगारीका लागि भारतको पञ्जाव राज्यमा रहेको जनाइएको छ ।