काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

पोखरा:    शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा सामाजिक कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार शिलन्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७  अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले एक समारोहका बीच शिलान्यास गरेका हुन । सो अवसरमा बोल्दै सांसद मन बहादुर गुरुङले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम मार्फत अगाडी बढीरहँदा हाल आएर गरिब विद्यार्थीहरुलाई लक्षित गरी आवासिय छात्रावास निर्माणको थालनी गर्नु आफैमा श्रहानिय काम भएको बताए ।  छात्रावास निर्माणको लागि आफ्नो ब्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने र आफुले नेपाल सरकारको विभिन्न मन्त्रालयहरु र विभागहरुमा समेत उक्त योजनालाई अगाडि बढाउन पहलकदमी गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।  सरकारले गर्नुपर्ने काम युनाईटेड क्लबले गरिरहेको बताउदै गुरुङले युनाईटेड क्लबको हरेक क्रियाकलापमा आफ्नो सहयोग रहने समेत बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं २७ का वडा सदस्य सूर्य बहादुर वाग्लेले आफ्नो वडा त्यसमा पनि कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थल नजिकै शिक्षाबाट बञ्चित भएका विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको आवासिय छात्रावास निर्माणमा वडाको तर्फबास सक्दो सहयोग रहने बताए ।  वडा नं २७ मा निर्माण हुन लागेको आवासिय छात्रावास स्थल सम्म वडाले यसअघिनै सडक निर्माण गरिसकेको बताउदै वाग्लेले आगामी दिनमा उक्त सडकको समेत स्तरोन्नती गर्ने बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र त्यसमा पनि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी उठाउदै आएको र क्लबकै पहलमा पोखराको लेखनाथ स्थित पचभैयामा चिडियाखानाको निर्माण कार्य जारी रहेको भएतापनि सरकारले त्यसलाई खुल्ला चिडियाखाना भन्दापनि घाइते भएका वन्यजन्तुको उद्धार केन्द्र बनाउनतर्फ अगाडी बढीरहेको बताए ।  पोखरामा खुल्ला चिडियाखाना निर्माणका लागी भनेर क्लबकै पहलमा सामुदायिक वनहरुसंग सहकार्य गरेको भएतापनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेकाले आगामी दिनमा त्यसतर्फ स्थानीयहरुले समेत सरकारको ध्यानाकर्षण गराउनतर्फ अगाडि बढ्नुपर्ने श्रेष्ठको धारणा रहेको थियो । त्यस्तै क्लबका संस्थापक अध्यक्ष तथा युनाईटेड आवासिय छात्रावास निर्माण समिति संयोजक हिमालय बख्रेलले युनाईटेड क्लबका परियोजनाको रुपमा आवासिय छात्रावास निर्माण गर्न लागिएको र यसका लागि तीनै तहको सरकारको सहयोग आवश्यक रहेको बताए । करिब ४ करोड लागतमा निर्माण हुने उक्त आवासीय भवन निर्माणका लागि सरकारी, विभिन्न निकाय, संघसंस्था तथा ब्याक्तिहरुको सहयोग आवश्यक रहने बख्रेलको भनाई रहेको थियो । ८ रोपनी क्षेत्रफलमा निर्माण हुने छात्रावास १० कोठाको रहने र ५० जना विद्यार्थीलाई राख्न मिल्ने बताउदै बख्रेलले पहिलो वर्ष ४ कोठाको भवन निर्माण सम्पन्न गरी विद्यार्थी राख्ने र वर्षै पिच्छे निर्माणको कामलाई जारी राख्दै प्रोजेक्ट सम्पन्न गर्ने बताए ।  युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थान नजिकै शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित रहेका विद्यार्थीहरुलाई लक्षित गरी निर्माण गर्न लागिएको आवासिय छात्राबास निर्माणले शिक्षाको क्षेत्रमा सानो भएतापनि सहयोग पुग्ने बताए ।   

काठमाडौं:    दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो ।  पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिला ब्याटिङ गरेको थियो ।  नेपालले जितका लागि अफगानिस्तानसामु दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर अफगानिस्तानले सवै विकेट गुमाएर एक सय २० रन मात्र बनाउन सक्यो ।       नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।      यस्तै नेपालविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले तीन तथा भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले एक एक विकेट लिए ।        नेपालले मङ्गलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ । यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् । 

काठमाडौं:     स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अनुसन्धानले लाखौँ मानिसलाई प्रभाव पार्ने भएकाले उच्चतम नैतिक मापदण्ड पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भइरहेको ‘फोरम फर इथिकल रिभ्यु कमिटी इन द एसिया एन्ड वेस्टर्न रिजन(फरक्याप)’ को २४औँ शिखर सम्मेलनको उद्घाटन सत्रमा उहाँले अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधार रहेको बताउनुभयो ।   सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बन्धित विभिन्न विधाका विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता, प्राज्ञिक संस्थाका प्रतिनिधिलगायत करिब छ सय जना स्वदेशी तथा विदेशीहरूको भौतिक उपस्थिति रहनेछ ।  यसअवसरमा अनुसन्धान आचारसंहिताका विभिन्न पाटोमा उहाँहरूबीच छलफल, बहस तथा प्रस्तुतीकरण गर्ने कार्यतालिका छ ।  नेपालमा पहिलोपटक आयोजना गरिएको यस सम्मेलनमा अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रिस, केन्या, ब्राजिल, भारत लगायतका २३ देशका विज्ञहरूको सहभागिता रहेको छ ।  सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएका छन् । तीमध्ये ६१ वटा अन्तर्राष्ट्रिय र २९ वटा राष्ट्रिय विज्ञहरूद्वारा प्रस्तुतीकरण गरिने आयोजकले जनाएको छ । परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले परिषद्को मुख्य उद्देश्य अनुसन्धानको नियमन गर्ने, असल अनुसन्धान संस्कारको विकास तथा विस्तार गर्न सम्मेलनले टेवा पु¥याउने बताउनुभयो ।  मङ्सिर १२ गतेसम्म चल्ने सम्मेलनको पहिलो दिन अनुसन्धानको स्वीकृतिपछि अनुसन्धानकर्ता तथा आचारसंहिता पुनरावलोकन समितिमा भएका विज्ञहरूको भूमिकाबारे सहभागीलाई तालिम प्रदान गरिएको थियो । सम्मेलनमा अनुसन्धान आचारसंहिताका विभिन्न विषय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका, अनुसन्धानमा नवप्रवर्तनको विकाससँगै बढ्दै गएका चुनौतीका सम्बन्धमा आवश्यक पर्ने आचारसंहिताका सिद्धान्तबारे छलफल गरिने डा जोशीले जानकारी दिनुभयो ।  स्वास्थ्य अनुसन्धान र प्रविधिको निरन्तर विकाससँगै यस क्षेत्रमा हुने अध्ययन, अनुसन्धान, परीक्षण अत्यन्त जिम्मेवारीपूर्वक सञ्चालन गर्नु आजको महत्वपूर्ण आवश्यकता रहेको र सम्मेलनले विद्यमान चुनौतीको पहिचान तथा उचित सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने परिषद्ले विश्वास गरेको छ ।  

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग ९एनपिएल०को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गर्नुभयो । उहाँले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको उल्लेख गर्नुभयो ।  प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडी तथा एनपिएलका आठ टोलीकै मार्की खेलाडीको खुलेर प्रशंसासमेत गर्नुभयो । उहाँले सम्बोधनको क्रममा सुरुमै जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखको प्रशंसा गर्नुभयो ।  उहाँले शेखले स्पोर्टम्यानसीप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको श्रव्यदृश्य आफूले पनि हेरेको उल्लेख गर्दै उहाँलाई ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, “जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ ।” प्रधानमन्त्री ओलीले काठमाडौंँ गुर्खाजका मार्की खेलाडी करण केसीलाई ‘भ्यालेन्टाइन बोय’ सम्बोधन गर्नुभयो । करणले राजधानीको नाम राख्ने आफूले आशा लिएको उहाँले जिकिर गर्नुभयो । “काठमाडौँ गुर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन बोय भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ”, उहाँले भन्नुभयो, “उहाँले राजधानीको नाम राख्ने आशा लिएको छु ।”  सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई विश्वले नै बलर हुन् कि ब्याटर छुट्याउनै नसकेको बताउनुभयो । उहाँले यस पटक ९९ रनमा आउट हुन् नपरोस् भन्दै शतक हान्न शुभकामना दिनुभयो ।  “पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउनै गाह्रो हुने उहाँको कौशल छ । विश्वले नै छुट्याउन सकिरहेको छैन् जस्तो लाग्छ । मैले मात्रै होइन्”, कुशलको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसपटक ९९ रनमा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ ।” प्रधानमन्त्री ओलीले चितवन राइनोजलाई आफूले ‘गैँडाज’ भन्ने बताउनुभयो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्लको छक्का हान्ने शैली मनपर्ने उल्लेख गर्दै उहाँले आँखिर चितवन गैँडाजका कप्तान हो नि १ भन्दै प्रशंसा गर्नुभयो ।  “हाम्रो साथीहरुले चितवन राइनोज भन्नुभएको छ, मैले चितवन गैँडाज भन्छ”, उहाँले भन्नुभयो–“चितवन राइनोज अर्थात् गँैडाजका कप्तान कुशल मल्ल हेर्दा अल्लि सानो÷सानो लाग्ने । ज्यानमा ताकत बोकेर छक्का हान्ने शैली साह्रै मनपर्छ ।”  लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेलको नाम सुन्दै गर्व लाग्ने भन्दै प्रधानमन्त्री ओलीले उहाँको प्रसंशा गर्नुभयो । जसले जिते पनि रोहितलाई फाइदा हुने भन्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका कप्तान भएको नाताले उहाँले जितेकै हुने धारणा राख्नुभयो ।  “लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । जसले जिते पनि रोहितलाई फाइदा छ, आँखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उहाँले जितेकै हुनेछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।  विराटनगर किङग्स्का मार्की खेलाडी सन्दीप लामिछाने नेपाली क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको सुनाउनुभयो । “विराटनगर किङ्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै हुनुभयो । बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ ।”, उहाँले भन्नुभयो, “त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ ।” कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीका योरकरलाई भुल्न  नसकिने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने उल्लेख गर्दै अर्को टी– ट्वेन्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न सुझाव दिनुभयो ।  “कर्णाली याक्सका सोमपाल कामीका ती योरकरलाई कसले भुल्न सक्छ र रु सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउनेछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाललाई अर्को टी– ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न मेरो सल्लाह छ ।” प्रधानमन्त्री ओलीले सुदूरपश्चिम रोयल्सलका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीलाई बाघको संज्ञा दिनुभयो । उहाँले ऐरीको ६ छक्काको कीर्तिमान आफुलाई स्मरण रहेको उल्लेख गर्दै यस्ता थुप्रै कीर्तिमान बताउन समेत शुभकामना दिनुभयो । “अन्तिममा हिरोको पालो आउँछ, मेरो फेभरेट नै जस्तो भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ”, उहाँले भन्नुभयो, “एनपीएलमा यस्ता थुप्रै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि विशेष शुभकामना छ ।” पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)यहीँ मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।   

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताउनुभएको छ । आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई)ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गर्नुभयो । “हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो”,  प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरि प्राथमिकतामा राख्छौँ । त्यसकारण यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउनुको कुनै अर्थ छैन । विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरू कुनै काम गर्दैनौँ । यसमा ढुक्क हुन आग्रह गर्दछु ।”  प्रधानमन्त्री ओलीले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुनेगरी तयारी भएको जानकारी दिनुभयो । उहाँले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुनेगरी लिन सक्नुपर्नेमा जोड दिनुभयो ।  नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रुपमा कसैले लिन नहुने प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको उल्लेख गर्दै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गर्नुभयो ।  उहाँले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारूढ दुई दलीय संयन्त्रबाट ‘एजेन्डा’का विषयमा गृहकार्य भइरहेको र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेन्डालाई अन्तिम रुप दिइने बताउनुभयो ।उहाँले यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको बताउनुभयो । छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौँ उपत्यकाबाहिर रहेका कारण अनुपस्थित हुनुहुन्थ्यो भने पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्रीहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा विमला राई पौड्याललगायत सहभागी हुनुहुन्थ्यो ।  

ललितपुर:    ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताउनुभएको छ ।  ललितपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ समारोहमा उहाँले सभ्य, सुसंस्कृत र आधुनिक समाजका लागि हिंसामुक्त हुनुपर्नेमा जोड दिनुभयो । “जिम्मेवार पदमा बसेकाले मात्रै हिंसा न्यूनीकरणमा काम गर्न सक्ने हैन, सबै मिलेर लाग्नुपर्छ । अब  हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ”, महानगर प्रमुख महर्जनले भन्नुभयो ।  उहाँले हिंसारहित समाजका लागि जोड दिँदै ललितपुरको विकास र समृद्धिका लागि ‘पाटन सिटी डज नट स्लिप’ योजना अगाडि बढाइने बताउनुभयो ।  महानगर उपप्रमुख मञ्जली शाक्यले हिंसा सहनु र सहने प्रवृत्तिको पक्षपोषण गर्नु सामन्ती प्रथाको पक्षपोषण गर्नु भएकाले सबै सचेत भएर हिंसा न्यूनीकरणमा लाग्नुपर्छ भन्नुभयो ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले तीन सय ६५ दिन नै महिला हिंसाविरुद्धमा लाग्नुपर्ने बताउनुभयो । उहाँले हिंसाका घटना भएपछि उपचारको बाटो रोज्नु भन्दा हिंसा हुन नदिन सचेतता फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।  ललितपुरका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान साङ्केतिक कार्यक्रम मात्रै भएको र हरेक दिन हिंसाविरुद्ध तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । “जिल्ला प्रहरीमा महिला हिंसाविरुद्ध छुट्टै सेल स्थापना भएको छ । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाइृ विशेष प्राथमिकता दिएर उजुरी लिने र समाधान गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । महिला विकास शाखा प्रमुख शोभा खरेलले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियानलाई प्रभावकारी बनाउन आवश्यक सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो । 

धनुषा:   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई)मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताउनुभएको छ ।  जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा प्रजातान्त्रिक आन्दोलनका अगुवा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न आउनुभएका सभापति देउवाले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले ऋण लिनु ठीक नभएर अहिले अनुदान नै उपयुक्त भएको बताउनुभयो ।  सभापति देउवाले चीन नेपालको असल मित्रराष्ट्र भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो ।  फरक प्रसङ्गमा सभापति देउवाले मधेश प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कांग्रेस एक्लैले केही गर्न नसक्ने भएकाले यसका लागि गठबन्धन दलभित्र छलफलको आवश्यकता रहेको बताउनुभयो ।  सभापति देउवाले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

बागलुङ:    बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका रुपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो । बुट्टेनलीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय पुस्तान्तरणकोे प्रयास नहुँदा लोप हुन थालेको बुट्टेनलीलाई पुनः संरक्षण गर्न थालिएको छ ।बुट्टेनली बनाउने मानिसको सङ्ख्या कम हुँदा हराउन थालेको बुट्टेनली विद्यार्थीलाई सिकाउन थालिएको छ ।  बुट्टेनलीको संरक्षण गर्दै बुट्टेनली खोप्ने कलाको पुस्तान्तरण गर्न युवा पुस्तालाई सीप सिकाउन थालिएको छ । बुट्टेनली जोगाउन गत वर्षदेखि विद्यार्थीलाई सिकाउन थालिएको हो ।  अहिले केही नयाँ त केही गत वर्ष सिकेका २० विद्यार्थीले बुट्टेनली बनाउने तालिम लिइराखेका छन् । करिब १२ वर्षसम्म बुट्टेनलीको तालिम सञ्चालनमा नआउँदा बागलुङको पहिचान बुट्टेनली लोप हुने खतरा बढेपछि बागलुङ हस्तकला सङ्घले सीपको पुस्तान्तरण गर्न गत वर्षदेखि थालेको छ । झन्डै २ सय वर्ष पुरानो बुट्टेनली संरक्षण र पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई बुट्टेनलीप्रतिको महत्व जगाउन सीप प्रदान गर्न थालिएको हो ।  निगालोलाई कुदेर तयार पारिने बुट्टेनलीप्रति युवा पुस्ताको चासो नहुँदा लोप हुन थालेपछि यहाँको हस्तकला सङ्घले युवा तथा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने सीप प्रदान गर्न थालेको हो ।गत वर्ष २० जनालाई २० दिनको तालिम प्रदान गरिएकामा यस वर्ष १५ दिने तालिम प्रदान गरिएको छ ।  निकै खर्चिलो र निगालो बाँसको अभावमा मायाको चिनो स्वरुप प्रदान गर्ने बुट्टेनली हराउन थालेको भन्दै बागलुङ हस्तकला संघले गत वर्षदेखि बुट्टेनली निर्माण गर्ने तालिम दिन थालिएको र यस पटक २० विद्यार्थीले बुट्टेनली बनाउन सिकिरहेको बागलुङ हस्तकला सङ्घका अध्यक्ष पुष्पाकिरण श्रेष्ठले बताउनुभयो ।  श्रेष्ठका अनुसार बागलुङमा बुट्टेनली निर्माण गर्न जान्ने व्यक्तिको अभाव भएको भन्दै पुस्तान्तरणका लागि अन्यलाई सिकाउन थालिएको हो ।  गत वर्ष वसन्तजङ्ग राजभण्डारीले विद्यार्थीलाई २० दिनसम्म तालिम दिनुभएको थियो भने अहिले गत वर्ष तालिममा सहभागी काठेखोला गाउँपालिका–८ लेखानीका तेजन विकले समेत तालिममा प्रशिक्षण दिइराख्नुभएको छ ।  “हस्तकला महासङ्घको आर्थिक सहयोगमा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने तालिम दिइरहेका छौँ, तालिमपश्चात् सीप पुस्तान्तरण हुने हाम्रो अपेक्षा छ”, श्रेष्ठले भन्नुभयो, “सीप हस्तान्तरण नुहँदा बुट्टेनली जगेर्ना हुँदैन, सबैले यो जान्न आवश्यक छ, पछिल्लो समय मायाको चिनोका रुपमा अतिथिलाई बुट्टेनली दिने प्रचलनसमेत बढेको छ, हाम्रो उद्देश्य भनेको बुट्टेनली संरक्षणसँगै व्यावसायिक रुपमा उत्पादन गर्नु र बजारीकरण गर्ने हो ।” अहिले पनि मायाको चिनोका रुपमा बुट्टेनली दिने प्रचलन कायमै छ । बुट्टेनली निर्माण तालिममा बागलुङ बजारका विभिन्न विद्यालयका १४ छात्रा र छ छात्र रहेका छन् । बाँसको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयूर, फूल, दृश्य, पौराणिककालदेखि आधुनिककालका सांस्कृतिक दृश्य र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुदेर तयार पारिएको बाँसलाई बुट्टेनलीका रूपमा लिइँदै आएको प्रशिक्षक वसन्तजङ्ग राजभण्डारीले जानकारी दिनुभयो । बागलुङको पहिचानमध्येको १ बुट्टेनली पाल्पाको ढाका टोपी भनेजस्तै भए पनि लोप हुन वर्षौंपछि पुस्तान्तरण थालिएको हो । १ हप्तादेखि बुट्टेनली तालिम लिइराखेका कक्षा ८ मा अध्ययनरत अनुप घर्तीले आफूलाई हस्तकला क्षेत्रमा पहिल्यैदेखि रुचि रहेको र बुट्टेनलीको तालिम लिन पाउँदा खुसी लागेको बताउनुभयो । तालिममार्फत बुट्टेनली निर्माण कार्यलाई व्यावसायिकीकरण गर्न सहयोग पुग्ने घर्तीले जानकारी दिनुभयो । बागलुङ भित्रिने पाहुनाले बुट्टेनलीका बारेमा चासो राखेर खरिद गर्न खोजे पनि पाइनै छाडेपछि बुट्टेनलीको उत्पादन गर्न तालिम दिन थालिएको हो । संस्कृति र परम्परागत हिसाबले महत्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली बागलुङको पहिचानका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रख्यात रहे पनि पुस्ता हस्तान्तरण नहुँदा २ सय  वर्ष पुरानो बुट्टेनली लोपोन्मुख अवस्थामा पुगेको हो ।  बुट्टेनली बनाउन स्थानीय युवा र अन्य व्यक्ति आकर्षित नहुनु, कच्चापदार्थको अभावलगायतका कारण बुट्टेनली लोप हुन थालेको स्थानीय अगुवा बताउँछन् ।  बुट्टेनली बनाउने कला कौशल भएका बागलुङ बजारका वसन्तजङ्ग राजभण्डारीले गत वर्ष सिकाएपछि आफूले नियमित रुपमा बुट्टेनली निर्माण गर्दै आएको काठेखोला–८ लेखानीका चेतन विकले बताउनुभयो । अहिले विकले समेत विद्यार्थीलाई बुट्टेनली बनाउन सिकाउन थाल्नुभएको छ ।

दाङ:    शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले विगत लामो समयदेखि तोरीखेती गर्दै आउनुभएको हो । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।  “बाहिर किनेको तेल स्वास्थ्यका लागि पनि त्यति राम्रो नहुने र तोरी नै उत्पादन गर्दा आफ्नो लागि र बिक्री गर्नसमेत मिल्ने भएकाले यसको खेती गर्दै आएको छु”, उहाँले भन्नुभयो, “घरमा आवश्यक परेको राख्ने र अरू सबै उचित मूल्य पाएको समयमा बेच्ने गर्ने गरेको उहाँ सुनाउनुहुन्छ ।”  उहाँले १० कट्ठा जग्गामा लगाएको तोरीबाट तीन क्विन्टल बढी उत्पादन हुने गरेकोे बताउनुभयो । तोरी घरका लागि राखेर पनि अरू बेचेर आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका–१० का किसान रेशम डाँगी पनि आफूलाई खानका लागि तोरी आफँै उत्पादन गर्दै आएको बताउनुहुन्छ । राम्रो तोरीको तेल नै हुने भएको तोरीको खेती गर्दै आएको उहाँले बताउनुभयो ।  किनेर खानुभन्दा समयमा मेहनत गरियो भने वर्षभरि खान पुग्ने उहाँको अनुभव छ । जिल्लामा तोरीखेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ ।  कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार गत वर्ष दाङमा १६ हजार चार सय १० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो ।  त्यसबाट १६ हजार ३ सय ४३ दशमलव ३ मेट्रिक टन तोरी उत्पादन भएको उहाँ बताउनुहुन्छ ।गत वर्षको तुलनामा यस वर्ष अझ उत्पादन बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । मौसम अनुकूल भएमा बढ्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष तोरीखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा पनि वृद्धि हुने उहाँको भनाइ छ । यस वर्ष १६ हजार ४ सय ८७ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ भने त्यसबाट १७ हजार ८ सय ६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी लामिछानेको भनाइ छ । यस वर्ष गत वर्षभन्दा ५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको छ । तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ ।  तोरीखेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् ।  जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।  कृषि ज्ञान केन्द्र दाङमार्फत विशेष सघन बाली उत्पादनअन्तर्गत यस वर्ष ९० हेक्टर क्षेत्रफलका लागि नौ क्विन्टल उन्नत तोरीको बीउ किसानलाई वितरण गरिएको सूचना अधिकारी लामिछाने बताउनुहुन्छ । उक्त बीउ घोराही–७ घुस्रा र शान्तिनगर गाउँपालिका–१ र २ का किसानलाई वितरण गरिएको थियो ।