काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

सर्लाही:     सर्लाहीको बलरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  आज बलरा नगरपालिका–९, अचलगढमा ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय रुसतम साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ट्याक्टर धनीसमेत रहेका चालक साह खेत जोतेर घर फर्कने क्रममा अनियन्त्रित भई ट्याक्टर पल्टिदा त्यसमा च्यापिएका थिए ।  घटनालगत्तै उहाँलाई उपचारको लागि प्राथमिक स्वास्थ्य संस्था अचलगढ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

काठमाडौं:    एसिसी यु–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । क्यानद्वारा यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई बिदाइ गर्नुभएको हो ।       एसिया कप यही मङ्सिर १४ देखि २३ गतेसम्म हुँदैछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले प्रतियोगिता उद्घाटनकै दिन श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेल १६ गते बङ्गलादेशसँग खेल्नेछ भने तेस्रो खेल १८ गते अफगानिस्तानसँग खेल्ने छ ।      टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन हुनुहुन्छ भने सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द हुनुहन्छ । मुख्य प्रशिक्षक गौचनले नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।       नेपाली टोलीको कप्तानमा हेमन्त धामी छन्भने उपकप्तानमा अर्जुन कुमाल छन् ।  त्यस्तै टोलीको अन्य सदस्यमा आकाश त्रिपाठी, रञ्जित कुमार,उत्तम थापामगर, मायन यादव, नरेन साउद, युनिशविक्रम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल र अभिषेक तिवारी छन् ।

पोखरा:     गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताउनुभएको छ । स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उहाँको भनाई छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा पोखरामा सञ्चालित १७ औं हिसान स्पोर्ट्स मीट २०८१ को औपचारिक समुद्घाटन गर्दै प्रमुख अतिथि भट्टले स्वस्थताका लागि खेलकुदको महत्वलाई प्रष्ट पार्नुभएको हो । ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । खेलकूद र शिक्षा एक अर्काका पूरक भन्दै उहाँले यसलाई तालमेल मिलाउँदै हिसान कास्कीले विगत १७ वर्षदेखि यस प्रकारका गतिविधि गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।  ‘विद्यालयमा विभिन्न क्षेत्र, लिङ्ग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँदछन् । उनीहरूलाई शिक्षासँगै खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ ।’ उहाँले भन्नुभयो । खेलकुद विकासको आधार स्तम्भ विद्यालय रहेको बताउँदै उहाँले दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प नरहेकोमा जोड दिनुभयो ।    पछिल्लो समय नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको उल्लेख गर्दै उहाँले सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताउनुभयो ।   खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढिरहेको जनाउँदै उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य एवं खेल भविष्यका लागि सानैबाट पहलकदमी लिई जस्ता संस्थाले गरेको गतिविधि प्रशंसायोग्य रहेको बताउनुभयो ।   आफ्ना सदस्य विद्यालय तथा कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीहरू बीच आपसी मित्रताको अभिवृद्धि गराउने तथा उनीहरूलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्न हिसानको यो खेलकुद कार्यक्रम प्रशंसनीय रहेको उहाँको भनाई छ ।   निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत देशभर ४० हजार भन्दा बढी विद्यार्थी र १० हजार बढी कर्मचारीहरु छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् । ‘स्वास्थ्य, अनुशासन र प्रतिभा प्रस्फुटनका लागि खेलकुद’ नाराका साथ आयोजित यस १७ औं संस्करणको खेलकुद महोत्सवमा कास्कीका ७५ विद्यालय तथा कलेजहरूका ५ हजार भन्दा बढी विद्यार्थीले दर्जनौं प्रकारका खेलकुद प्रतियोगितामा सहभागिता जनाएको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिनुभयो ।    

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र रु १ लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गर्नुभयो ।  प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील छ भन्नुभयो ।  त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गर्नुभयो ।

काठमाडौं:    सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ ।  सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको बताउनुहुन्छ । “बजार भाउ घटेपछि त्यसको प्रभाव स्वभाविक रुपमा मागमा देखिन्छ । सस्तो भएपछि मान्छेले किन्न खोज्छन्”, उहाँले भन्नुभयो ।  सोमबार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उहाँको भनाइ छ । पछिल्ला २ दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार ५ सयले घटेको छ ।  आइतबार प्रतितोला रू १ लाख ६७ हजार २ सयमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला रू १ लाख ५१ हजार ३ सय कायम भएको थियो । त्यस्तै, आज सुन प्रतितोला रू २ हजार ६ सयले घटेर १ लाख ४८ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरेको छ । उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशङ्काकाबीच सरकारले भन्सार दर घटाएको हो । हिजो र आज २ दिन काठमाडौँको न्युरोड क्षेत्रका सुनचाँदी पसलहरुमा ग्राहकको भीड बढेसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी महासङ्घका निर्देशक राजेन्द्र तुलाधर सुनचाँदी पसलमा भीड देखिएको भए पनि कति कारोबार भयो भन्ने विवरण उपलब्ध नरहेको बताउनुहुन्छ ।  “हरेक पसलमा ग्राहकको भीड देखिए भन्ने जानकारी आएको छ । तर कारोबारको यकिन तथ्याङ्क उपलब्ध छैन । महासङ्घले कारोबारको तथ्याङ्कसमेत मागेको थियो । तर व्यापारीले दिँदैनन्”, उहाँले भन्नुभयो ।  सुन आयातको अधिकार वाणिज्य बैंकहरुले पाएका छन् । तर बजारमा माग नहुँदा यसअघि बैंकहरुले सुन आयात नगरेको महासङ्घका पूर्व अध्यक्ष शाक्य बताउनुहुन्छ ।  “बैंकहरुले आयात  गरेका छ्र्रैनन् । भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छ”, उहाँले भन्नुभयो । नेपालमा सुन आपूर्ति आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ । सुनको बजार मूल्य निर्धारण भने महासङ्घमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ ।  उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन् । राष्ट्र बैंकले सुनको बिक्री मूल्य अमेरिकी डलरमा निर्धारण गर्ने गर्छ । जसकारण अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसको असर सुनको नेपाली मूल्यमा देखिने गरेको छ ।  राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा बढी घटबढ भएमा सोअनुसार समायोजन गरी कायम गरिएको सुनको संशोधित बिक्री मूल्यको जानकारी राष्ट्र बैंकले बैंकलाई गराउँदछ । बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्यको आधारमा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन बिक्री गर्दछन् । बैंकहरूले यसरी स्वर्णकोषबाट बिक्री गरेको सुनको भुक्तानी अमेरिकी डलरमा राष्ट्र बैंकलाई गर्छन् । निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई स्वर्णकोषबाट सुन बिक्री गरेबापत सेवा शुल्कस्वरुप बिक्री गरेको सुनको मूल्यको शून्य दशमलव २५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई उपलब्ध गराउँछ ।  बैंकहरूले निर्यातकर्तालाई सुनका गर–गहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउँछन् । बैंकहरूले निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई न्यूनतम एक सय ग्राम र बढीमा १० ग्रामको गुणन खण्डले हुन आउने परिमाणमा सुन बिक्री गर्नुपर्ने व्यवस्था छ ।  वाणिज्य बैंकहरुले दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था छ ।भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार नौ सय ४७ किलोग्राम सुन आयात भएको छ ।  चालु आर्थिक वर्षको ४ महिनामा मात्र रू १ अर्ब ४२ करोड ७५ लाख २८ हजार बराबरको १ सय ३३ किलोग्राम सुन आयात भएको छ । जसबाट राज्यले रू २८ करोड ५५ लाख ७ हजार बराबर भन्सार राजस्व प्राप्त गरेको देखिन्छ ।  गत आर्थिक वर्ष २०८०/८१ मा रू २३ अर्ब  ६५ करोड ३९ लाख १६ हजार बराबरका २ हजार ६ सय ५२ किलोग्राम सुन आयात भएको विभागको तथ्याङ्कमा देखिन्छ ।  जसबाट सरकारले रू ३ अर्ब ६४ करोड ८३ लाख बराबर भन्सार राजस्व प्राप्त गरेको थियो ।अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रू २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार बराबरको दुई हजार नौ सय १७ किलोग्राम सुन आयात भएको देखिन्छ ।  जसबाट राज्यले रू दुई अर्ब ५३ करोड ८३ लाख ५८ हजार बराबर राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८/८९ मा रू ३५ अर्ब ६१ करोड ९६ लाख बराबरको ५ हजार ५३ किलोग्राम सुन आयात भएको थियो ।  सो वर्ष सुन आयातबाट सरकारले रू ४ अर्ब २९ करोड ५० लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा तीन हजार नौ सय २५ किलोग्राम सुन आयात भएको थियो । सो आर्थिक वर्षमा रू २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार बराबरको सुन आयात हुँदा सरकारले रू ३ अर्ब ३३ करोड ५८ लाख राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा रू १३ अर्ब ४६ करोड ५ लाख बराबरको २ हजार ४ सय किलोग्राम सुन आयात भएको थियो भने त्यसबाट रू १ अर्ब ५० करोड ७५ लाख बराबर राजस्व सङ्कलन भएको थियो ।  

बलेवा:    गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ ।  छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो ।  गलकोट नगरपालिका–११ रिघा स्वास्थ्यचौकीमा आयोजना गरिएको एक्सरेद्धारा छातीरोग खोजपड्ताल कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मेसिनको शुभारम्भ गर्नुभयो ।  अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगद्धारा छातीरोगको समयमा खोजी र उपचारका लागि प्रदेश सरकारले काम थालेको उहाँले बताउनुभयो ।  क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले रु एक करोड ७५ लाख खर्च गरी खरिद गरेको एआई एक्सरे मेसिनले प्रदेशभरी खोजपड्ताल कार्यक्रम आयोजना गरेर छाती रोगकको पहिचान गरिने मन्त्री पाठकले बताउनुभयो ।  क्षयरोग लागयतका छातीसम्बन्धी रोगको समयमा उपचार नहुँदा नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रविधि, जनशक्ति र उचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।  

पोखरा:   नेपाल पुन मगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन यही मंसिर २९ र ३० गते पोखरामा हुने भएको छ ।    नेपाल पुन मगर समाज केन्द्रीय समितिले आज पोखरामा पत्रकार सम्मेलन गर्दै दोस्रो राष्ट्रिय महाधिवेशनबारे जानकारी दिएको हो ।    वि.स.२०७२ सालमा हर्कबहादुर पहरे पुनमगरको अध्यक्षतामा स्थापना भएको समाजले ९ वर्षपछि दोस्रो महाधिवेशन गर्न लागेको महासचिव खमबहादुर पुनमगरले बताए ।    ‘आफ्नो भाषा, संस्कार, संस्कृति र भेषभुषाको संरक्षण गर्नको लागि २०७२ सालमा हामीले नेपाल पुन मगर समाजको स्थापना गरेका थियौं’, महासचिव पुनमगरले भने, ‘सम्पूर्ण मगर र पुनमगरहरुलाई एकताबद्ध ढङ्गले अगाडि बढाउन दोस्रो महाधिवेशन गर्दै छौं ।’   १२ जिल्लामा शाखा समिति रहेको नेपाल पुन मगर समाजको दोस्रो महाधिवेशनमा सुदूरपश्चिम, लुम्बिनी,कर्णाली प्रदेशका जिल्लाबाटसमेत प्रतिनिधिहरुको सहभागिता रहने महासचिव पुनमगरले बताए ।    ‘अहिले पुनमगरको शाखा समिति गण्डकी प्रदेशसहित सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा स्थापना गरेका छौं’, उनले भने, ‘महाधिवेशनमा करिव २ सय ५० बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ, यस महाधिवेशनबाट हामीले पुनमगरहरुमा एकताको सन्देशसमेत दिनेछौं ।’   पोखरा सभागृहमा हुने महाधिवेशनको उद्घाटन पूर्व उपराष्ट्रपति नन्द किशोर पुनमगरको प्रमुख आतिथ्यतामा हुने नेपाल पुनमगर समाज केन्द्रिय समितिले जनाएको छ ।    पोखरा मानवअधिकार चोकबाट झाँकी र्यालीसहित कार्यक्रम सुरु हुनेछ ।   

चितवन:     नेपाली कांग्रेसले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान सुुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार केन्द्रीय प्रतिनिधिसहित टोलसम्म पुग्ने अभियान सुरु गरिएको हो ।   नेपाली कांग्रेस केन्द्रको एक सयदिने विशेष अभियानअन्तर्गत सोमबारदेखि जिल्लाले खटाएका प्रतिनिधि वडावडामा पुगेर गतिविधि सुरु गरेका हुन् । जिल्ला सभापति राजेश्वर खनालका अनुसार सोमबार ६० भन्दा बढी वडामा प्रतिनिधि पुगेसँगै त्यहाँ बैठक बसेर अभियान थालेका छन् ।   जिल्लाका ९८ वडामध्ये बाँकी वडामा यही मङ्सिर १५ गतेसम्म प्रतिनिधि पुगेर काम अघि बढाउनेछन् । यसअघि केन्द्रले खटाएका प्रतिनिधि मधु आचार्यले खटिने प्रतिनिधि र जिल्ला नेतासँग अन्तरक्रिया गरेर प्रतिनिधिले गर्ने कामका बारेमा प्रशिक्षण दिनुभएको थियो ।  खनालले भन्नुभयो, “यो अभियानले टोललाई केन्द्रसँग जोड्नेछ ।”अभियानका क्रममा ५० प्रतिशत पार्टीका साङ्गठनिक कार्यक्रम र ५० प्रतिशत प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यक्रम गरिनेछ ।  अबका दिनमा कसरी पार्टीलाई आम नागरिकका सरोकारसँग जोड्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल गराएर तल्लो तहसम्म सङ्गठन मजबुत बनाउन अभियान सार्थक हुने उहाँको भनाइ छ ।   अभियान आगामी फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । यस क्रममा जनताका गुनासो सुन्ने, सम्भव हुने गुनासाका सम्बोधन गर्ने लगायतका गतिविधिसमेत गरिनेछ । जनताका गुनासासँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने सभापति खनालको भनाइ छ ।  कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । गत असोज ६ गतेदेखि सुरु गर्न लागिएको अभियान बाढीपहिरोका कारण रोकिएपछि अहिले सुरु गरिएको हो ।

लुम्बिनी:    लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंक स्थापना गर्ने कार्यक्रम समावेश गरेअनुसार बैंक स्थापनाको प्रक्रिया प्रारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थित बनाउन आयोजना बैंक आवश्यक परेको र सोहीअनुसार योजनाको प्राथमिकीकरण गरिने जानकारी दिँदै प्रस्तावित बैंकले पारदर्शी प्रणाली योजना चयन गर्ने बताउनुभयो । समृद्ध र आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न बैंकले रणनीतिक योजना अघिसार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रदेश सरकारले प्राथमिकता राखेका आयोजनाको छनौट  प्रक्रियालाई व्यवस्थित गर्ने, विश्लेषण गर्ने र कार्यान्वयन योग्य बनाउनेगरी आयोजना बैंक स्थापना हुने योजना आयोगका उपाध्यक्ष  डिल्लीराज अर्यालले बताउनुभयो ।  बैंक स्थापनाका सन्दर्भमा लुम्बिनी प्रदेश योजना आयोगले आयोजना बैंक तर्जुमा निर्देशिका विविध आयाममा छलफल पनि थालेको छ । सरोकारवाला पक्षको रायका आधारमा सामाजिक र मानव विकासलाई पनि केन्द्रमा राखेर बैंक स्थापना गरिने जनाइएको छ । आयोजना तथा कार्यक्रमहरूको पहिचान, विश्लेषण, प्राथमिकीकरण र छनोट प्रक्रियालाई सहभागितामूलक, तथ्यपरक र पारदर्शी बनाई विकास प्रशासनलाई गुणस्तरीय, नतिजामूलक बनाउने उद्देश्य हासिल गर्न बैंक सफल हुने वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले बताउनुहुन्छ ।   उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गणेश घिमिरेका अनुसार कागज उद्योग स्थापना गर्न सकिने र लुम्बिनीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि गरिएका अध्ययनले देखाएका विषयलाई  बैंकले प्राथमिकता दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।  प्रदेश योजना आयोगका सदस्य डा सुदनकुमार वलीले प्रदेशको सीमित स्रोत साधनको उच्चतम प्रयोगका लागि प्रदेश आयोजना बैंक आवश्यक परेको बताउनुभयो ।  योजनाविद् डा नहकुल केसीले योजनालाई एकीकृत गर्न आयोजना बैंक उपयुक्त माध्यम बन्ने र यसले योजना छनोट प्रक्रियालाई पारदर्शी बनाउने बताउनुभयो ।