सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी
स्याङ्जा | मंसिर १४, २०८१
स्याङ्जा: यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ ।
वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो ।
उहाँले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट रु २० लाख र बेर्ना बिक्रीबाट रु छ लाख आम्दानी भएको बताउनुभयो ।
उहाँले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आउनुभएको छ ।
विसं २०५२ बाट व्यवसाय थाल्नुभएका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गर्नुभएको हो । व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गर्नुभएको २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिनुभएको छ ।
“बीस रोपनी जग्गामध्ये झण्डै दुई रोपनीमा चारवटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु”, उहाँले भन्नुभयो ।
यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । बाल्यकालदेखि कृषि पेशाप्रति इच्छा भएकाले लागे तापनि केही वर्षपछि खेतीसम्बन्धी तालिमले झनै निखारता ल्याएको उहाँले बताउनुभयो ।
कहिलेकाहीँ भारत तथा तराईबाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेशाबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रलगायत कृषि क्षेत्रमा सक्रिय सङ्घसंस्थाले समय समयमा प्राविधिक ज्ञान दिने गरेकाले व्यवसाय सञ्चालनमा सहज भएको उहाँ बताउनुहुन्छ । कृषिकर्ममा उदाहरणीय कार्य गरेकामा २०७६ सालमा उहाँ राष्ट्रपतिबाट पुरस्कृत पनि हुनुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

