टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी
म्याग्दी | मंसिर १४, २०८१
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्नुहुन्थ्यो । अहिले २ रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उहाँ चिन्तित हुनुहुन्छ ।
“पहिले टोड्केको मुला किन्न बेनी, पुलाचौर, घतान, झिँ, पाखापानी, कुहुँ, बरंजादेखि मानिसहरु आउथे,” उहाँले भन्नुभयो “मुला बिक्री हुन छाडेपछि अहिले खेती पनि घटाउदै लगेको छु ।”
रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सिमानामा पर्ने टोड्के मुला खेतीका लागि धौलागिरि क्षेत्रमै प्रसिद्ध थियो । कुनै समय प्रशस्न मुलाखेती हुने टोड्केको पाखोबारी पछिल्लो समय बाझिदै गएको छ ।
टोड्केबासीले धान, गहुँ, मकै, फापर, कोदोसँग मुला सटही गर्ने चलन थियो । बसाईसराई, जनशक्तिको कमी र बजारको समस्याका कारण किसानहरुले टोड्केमा मुला खेती घटेको स्थानीय तिजमाया पाइजाले बताउनुभयो ।
“घरमा उपभोग गर्ने, आफन्तलाई कोशेली पठाउने र टोड्के घुम्न आउने पर्यटकलाई बेच्नका लागि थोरै जमिनमा मात्र मुला खेती गरेका छौ,” उहाँले भन्नुभयो “चिसो हावापानीमा जैविक मलको प्रयोग हुने भएकाले यहाँको मुलाको छुट्टै महत्व छ ।”
साउन महिनामा रोपीने मुला कात्तिक मङसिरमा उखेल्ने गरिन्छ । एउटै मुलाको तौल छ किलोग्राम भएको किसानहरुले बताउँछन् । स्थानीय रातो र सेतो जातको मुला खेती हुने गर्छ ।
ताजा मुलाको अचार, सिन्की (गुन्द्रुक)र धजरा बनाएर तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ । पछिल्लो समय हिउँद याममा टोड्के घुम्न आउने आन्तरिक पर्यटकहरुले ताजा मुला र धरजा किनेर लैजाने गरेका छन् ।
आकार अनुसार प्रतिगोटा मुला रु। २५ देखि ५० का दरले बिक्री हुने गरेको किसानको भनाइ छ । टोड्केको भ्रमणमा पुग्नुभएकी पर्वतको जलजला गाउँपालिका –२ बगरफाँटकी देवी जिसीले यहाँको मुला खानका लागि स्वादिष्ट हुने भएकाले कोसेलीका रुपमा किनेर ल्याएको बताउनुभयो ।
हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुला टोड्केको पहिचान हो ।
टोड्केमा हुदै आएको स्थानीय जातको मुलाको संरक्षण, बजारीकरणका साथै सिन्की र अचार बनाउने सिप विकासको तयारी गरेको रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो।
पोखरा: पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ । हस्पिटलका प्रब...
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहे...
मुस्ताङ: हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय ...

