काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीलाई भनेका थिए । त्यसलगत्तै मन्त्रालयअन्र्तगतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर सोको जानकारी पठाउन पत्राचार गरेको हो । मन्त्रालयले विद्युतीय हाजिरी राखिएपश्चात् समयमा चिकित्सक उपलब्ध भए नभएको अनुगमनसमेत थाल्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचारी नभएका गुनासा सम्बोधन गर्न हाजिरीलाई विद्युतीय बनाउने निर्णय भएको बताउनुभयो । “हामीले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी व्यवस्था अनिवार्य गर्न भनेका छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि अनुगमन गर्दा नभएको पाइएमा कारबाही हुनेछ ।” मन्त्रालयले केही दिनअघि औषधिको मूल्य सबैले देख्ने गरी सार्वजनिक गर्न सबै सङ्घीय अस्पताल तथा मेडिकल कलेजलाई पत्राचार गरेको थियो । दुई साताभित्र सार्वजनिक गर्नका लागि मन्त्रालयले पत्राचार गरेको थियो । यसको समेत अनुगमन गर्ने तयारी मन्त्रालयले गरेको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।
पोखरा: सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन नपाउने बताएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारमा संलग्न ठहरिएका जो सुकैलाई कानुनअनुरुप करबाही गरिने बताए । मुलुकमा अस्थिरता निम्त्याउन छुट नभएको बताउँदै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गुरुङले अस्थिरताको अन्त्य र सुशासन अभिवृद्धिका लागि सरकार क्रियाशील रहेको बताए । टिकटकलगायत सामाजिक सञ्जाल युवा वर्गका लागि स्वरोजगारको माध्यम बनेको बताउँदै उनले प्रविधिको माध्यमबाट आगामी दुई वर्षमा तीनदेखि रु पाँच लाख युवालाई रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताए । पुँजीगत खर्च बढाउन सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिँदै मन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने, वन ऐन, र विद्युत् ऐन तथा नियम विकासका बाधक भएको बताए । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टीप्रति युवाको आकर्षण बढेको बताउँदै नवप्रवेशीलाई योग्यता क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । प्रदेश कमिटी उपसचिव दामबहादुर विश्वकर्मा, सचिवालय सदस्य टीकाराम पङ्गेनी, पार्टी नेता कृष्ण थापा, सुधीर थापालगायतले पार्टीको विचार सिद्धान्तका बारेमा प्रकाश पारेका थिए ।
काठमाडौं: नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराउनुभएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो । कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढङ्गले खुलारूपमा प्रतिस्पर्धाको विधि अवलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्यालाई संस्थागत रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशील ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेले अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशङ्कालाई चिर्दै पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गर्नुभयो । नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्यालाई अवसरका रूपमा बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ । एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा आज सम्झौता गरिएको हो । ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले गाडी पाउने बताउनुभयो । उहाँले नेपाली क्रिकेटको इतिहास मै यो पहिलो पटक हुने भन्दै एनपिएल खेलेपछि कम्तिमा खेलाडीले गाडी चढ्नुपर्छ भन्ने लक्ष्यका साथ यो कदम चालिएको बताउनुभयो । यसैगरी एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेट खेलको प्रवर्द्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा कर्णाली याक्स, काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछन् ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा संरक्षित वन्यजन्तु घोरलको सिंङसहित युक्रेनका एक नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा युक्रेनका २१ वर्षीय पीलीप जील्को भीस्की रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विमानस्थलको आन्तरिक प्रस्थान गेटको एक्सरे मेसिनमा चेकजाँचको क्रममा भीस्कीको निलो झोलामा संरक्षित बन्यजन्तु घोरलको सिंङ फेला परेको थियो । पक्राउ परेका उनलाई पोखर १५ नयाँगाउमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
नवलपुर: नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कालीगण्डकी नदी किनारमा १५ वर्षीय बालकको शव फेला परेको छ । गैँडाकोट नगरपालिका–३ घोक्रे फाँटस्थित कालीगण्डकी नदी किनारमा तनहुँ रिसिङ–५ रेसौ बस्ने गोपाल कुमालको शव भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालले बताउनुभयो । मृतक कुमाल गत कात्तिक २७ गते एकादशीको दिन तनहुँको रिसिङ गाउँपालिका–४ भिरकोटस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए । नदीमा डुबी बेपत्ता भएका कुमालको खोजी गर्ने क्रममा मङ्गलबार कालीगण्डकी नदी किनारमा शव भेटिएको प्रहरी निरीक्षक नरालले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
पोखरा: बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासिनी मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो । पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कालिकाले उपाधि सहित नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यसै गरी विन्ध्यवासीनिले नगद २० हजार ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी कालिका माविका कुशल नेपाली, हाइस्कोरर विन्ध्यवासीनि माविमा सरोज थापा, उत्कृष्ट गोलकिपर कुशल नेपाली कालिका मावि, उत्कृष्ट डिफेन्स विन्ध्यवासिनीका विपिन गुरुङ, उत्कष्ट स्टाइकर कालिकाका बिवास गुरुङ र उत्कृष्ट कोचको उपाधि कालिकाका आशिष श्रेष्ठले जित्न सफल भए । त्यसै गरी छात्रा तर्फको मैत्रिपुर्ण खेलमा कन्या माविले बाराही माविलाई १–० गोलले हरायो । क्लस्टर स्तरीय प्रतियोगिता पहिलो पटक आयोजना भएको हो । कास्की जिल्लाका १५ वटा विद्यालयहरूले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगिताले विद्यार्थीहरूको खेलकुदमा रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न गरेको विद्यालय प्रधानध्यापक शिव भण्डारीले जानकारी दिए । विजेता खेलाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्री, समाजसेवी पुरुषोतम प्रसाद पराजुली, हेमराज अधिकारी, लक्ष्मण बराल, प्रधानध्यापक शिव भण्डारी, बाराही विद्यालयका खेलकुद संयोजक सुशील केसी लगाएतले पुरस्कार वितरण गरे ।
काठमाडौं: उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुपर्ने जरुरी भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले एमाले नेतृत्वको सरकारले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको र त्यसको दायरालाई विस्तार गर्ने बताउनुभयो । “सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा (एमाले) ले गरेको हो”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “एमाले नेतृत्वको सरकारले गरेको हो ।” उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराउनुभयो । उहाँले राज्यको जिम्मेवारी नागरिकप्रति छ भन्ने अवधारणाको आधारका सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको बताउनुभयो । अर्थमन्त्री पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उल्लेख गर्दै नेपाली मजदुरलाई उत्साहित र भविष्यप्रति आश्वस्त बनाउने काम गरेको स्पष्ट पार्नुभयो । उहाँले अझ व्यवहारिक बनाउन अझ परिमार्जित गर्नुपर्नेमा जोड दिँदै नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने विश्वास दिलाउनुभयो ।
काठमाडौं: प्रतियोगिता सञ्चालन हुन चार दिन मात्र बाँकी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा कर्णाली याक्सलाई उपाधि दावेदारका रुपमा हेरिएको छ । पहिलोपटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा कर्णाली याक्स हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने टोली कर्णाली याक्समा राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रुपमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउँदै उनले महत्वपूर्ण योगदान दिएका छन् । नेपालले दुईपटक विश्वकपमा सहभागिता जनाउँदा सोमपालले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । विश्वकपमा नेपालले दुईपटक भाग लिँदा दुवै खेल खेल्ने सोमपाल नेपालका एक्लो खेलाडी हुन् । सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका युवा अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यावद, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । यसैगरी, कर्णालीले आफ्नै क्षेत्रका दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरीलाई पनि समेटेको छ । कर्णाली याक्सका अधिकांश खेलाडीसँग राष्ट्रिय टिम र घरेलु क्रिकेट प्रतियोगिता खेलेको अनुभव छ । यससँगै कर्णाली याक्सले थप पाँचजना विदेशी खेलाडी भित्र्याएको छ । एनपिएलमा हरेक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्नेछभने आवश्यकता हेरेर एक टोलीले छ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । जसअनुसार कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको हो । कर्णाली याक्सले भारतीय चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गर्दै चर्चा बटुल्न सफल भएको छ । नेपाली क्रिकेटमाझ धवनको आगमनले कर्णाली टोलीको शोभासमेत बढेको अनुमान गर्न सकिन्छ । कर्णाली याक्सबाट धवनसँगै हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुदले खेल्दैछन् । सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जित्दा ३९ वर्षीय बायाँहाते ब्याटर धवनले टोलीका महत्वपूर्ण सदस्य थिए । आइपिएलमा धवन सहभागी टोली सनराइजर्स हैदराबादले आइपिएलको उपाधि जितेको थियो । उनले आइपिएलमा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् । केही समयअघि मात्र धवनले सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । कर्णाली याक्सले भित्र्याएको अर्को चिरपरिचित खेलाडीको नाम हो हायात । हङकङका विस्फोटक ब्याटर हायातले पनि नेपालमा आयोजना भएका विभिन्न लिग खेलिसकेका छन् । हङकङको टोलीबाट धेरैपटक नेपाल आएर खेलिसकेका हायातले कर्णाली याक्सबाट उत्कृष्ट खेल खेल्ने अपेक्षा गरिएको छ । हायातले यसअघि पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेलिसकेका छन् । कर्णाली याक्सले धेरै अपेक्षा राखेको खेलाडीमध्ये पाकिस्तानका बायाँहाते खेलाडी तलात पनि एक हुन् । उनले अलराउण्डरको भूमिका निर्वाह गर्नेछन् । दक्षिण अफ्रिकाको एमजान्सी सुपर लिग तथा पाकिस्तान सुपर लिग खेलेका तलातले यसअघि नेपालमा आएर टी २० क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी २० लिगमा उनले विराटनगर सुपर किंग्सबाट खेलेका थिए । नेपालका लागि अर्का परिचित नाम हो वेस्ट इन्डिजका दायाँहाते ब्याटर वाल्टन । जसलाई कर्णाली याक्सले अनुबन्ध ग¥यो । वाल्टनसँग पनि नेपालमा खेलेको अनुभव छ । वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएका उनले यसअघि नेपालमा आएर टी ट्वान्टी क्रिकेट खेलिसकेका छन् । सन् २०२२ मा भएको नेपाल टी२० लिगमा उनले जनकपुर रोयल्सबाट खेलेका थिए । वाल्टनले बङ्गलादेश प्रिमियर लिग, श्रीलङ्का प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, ग्लोबल टी २० लिगजस्ता विश्वका धेरै लिगहरू खेलिसकेका छन् । ओमानका पूर्वकप्तान तथा अलराउण्डर मक्सुद पनि अनभुवी ब्याटर र बलर हुन् । उनले ओमानका लागि थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनीसँग नेपाल आएर खेलेको अनुभवसमेत छ । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा गरिएको छ । कर्णाली याक्सले उनलाई पाँचौँ नम्बरमा अनुबन्ध गरेको थियो । सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चा गर्नुभएको थियो । उहाँले अर्को टी–ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्नसमेत सल्लाह दिनुभएको थियो । कर्णाली याक्सका मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हुनुहुन्छ । उहाँले आफ्नो टोलीको तयारी राम्रो रहेको बताउँदै उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कर्णाली याक्स टोलीको आइकोनिक खेलाडीमा विपिनप्रसाद शर्मा छन्भने ब्राण्ड एम्बासडर नायिका स्वस्तिमा खड्कालाई अनुबन्ध गरेको छ । कर्णाली याक्सले आज नै सिसन बानियाँलाई ‘युथ ब्रान्डएम्बेस्डरमा’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित व्यक्तित्व हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ । प्रतियोगितामा कर्णाली याक्ससँगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।

