काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा ‘हामी सबैको प्रतिबद्धता ःलैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको उक्त अभियानमा सो शुभकामना व्यक्त गनुभएको हो ।      “म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक सङ्घसंस्था वा समाज सबै ठाउँबाट सङ्कल्प गरौँ कि अब हामी लैङ्गिक हिंसा, भेदभाव हुन दिने छैनौँ”, सन्देशमा भनिएको छ, “यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस्, यस अभियानको भव्य सफलताका निम्ति म हार्दिक शुुभकामना व्यक्त गर्दछुु ।”   प्रधानमन्त्री ओलीले हाम्रा प्रयासहरुलाई समृद्धिको बाटोमा, समानताको बाटोमा, सभ्यताको बाटोमा, न्यायको बाटोमा अगाडि बढाउन साझा प्रयासहरु गर्नुपर्ने र एकअर्कामा साथ सहयोग, पारस्परिक सम्मानको बाटोबाट शान्तिपूर्ण समाज, सभ्य समाज, मानवोचित समाजको निर्माण गर्न सक्छौं भनी सन्देशमा लेख्नुभएको छ । साथ, यस अभियानले मानवोचित समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस भन्ने कामना समेत उहाँले गर्नुभएको छ ।        “आजका निम्ति लैङ्गिक हिंसाले आँसु बगाउनुपर्ने स्थिति रहनु हाम्रो चेतना, हाम्रो सभ्यता, हाम्रो व्यवहारप्रति एउटा ठूलो प्रश्न चिह्न हो, लैङ्गिक विभेद र हिंसा हाम्रा निम्ति कलङ्क हुन्”, सन्देशमा भनिएको छ, “हामीले चाहेको समाज एउटा न्यायपूर्ण समाज होस्, सभ्य समाज होस्, उन्नत समाज होस्, सुसंस्कृत समाज होस् । हाम्रा शास्त्राहरुमा पनि उल्लेख छ । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः तर बीचमा सामन्ती युगले हाम्रो त्यो उत्कृष्ट मान्यतालाई लत्यायो र महिलाहरुलाई प्रताडीत गर्ने, अपहेलित गर्ने, विभेद गर्ने र हिंसाको शिकार हुने अवस्था बन्यो, यी कुराहरुलाई हामीले हटाउँदै गएका छौँ । ” प्रधानमन्त्री ओलीले कसैले पनि पीडा भोग्न नपरोस्, हिंसाको शिकार हुन नपरोस्, अपमानित, अपहेलित र विभेद गरिएको स्थिति महसुस गर्न नपरोस्, यस अभियानका अवसरमा शुुभकामना व्यक्त गर्नुभएको छ ।      “यो हामी सबैको साझा अभियान हो, यो साझा अभियानलाई हामी सबैको संयुक्त प्रयासहरुबाट, हाम्रा एकताबद्ध प्रयासहरुबाट अगाडि बढाउन जरुरी छ”सन्देशमा भनिएको छ, “एउटा मानिसलाई यन्त्र ठान्ने दासयुग, महिलालाई वस्तु ठान्ने सामन्ति युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामूलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौँ र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन् ।”       प्रधानमन्त्री समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा  पहिल्याएको र देशमा सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्न चाहेको कुरा सन्देशमा लेख्नुभएको छ ।       “न्यायोचित समाज, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्ने बाटोमा अगाडि बढिरहेका छौँ, यिनै कुराहरुलाई प्रतिविम्बित गरेर हामीले हाम्रा नीति कार्यक्रम तद्अनुसारका ल्याएका छौँ”, सन्देशमा भनिएको छ, “सरकारका नीति कार्यक्रममा यी कुराहरु प्रतिविम्बित भएका छन् । यिनलाई कार्यान्वयन गर्नका लागि योजनाबद्ध कार्ययोजना तयार गरेका छौँ ।”      सन्देशमा विभेद र अपराध एउटै कुरा नभएको र विभेद केही सामाजिक मान्यताका कारणले भएका उल्लेख छ । “जसलाई शिक्षा, चेतना, कानुुनको प्रभावकारी कार्यान्वयनबाट हटाउन सकिन्छ, अपराध कानुुनविरुद्धको कुरा हो, अपराध मानवताविरुद्धको कुरा हो”, प्रधानमन्त्री सन्देशमा   भन्नुभएको छ, “अपराध हिंसाको कुरा हो, यसका निम्ति हाम्रो संविधानको धारा १८ मा धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भन्ने कुराको स्पष्ट व्यवस्था छ ।”

भोजपुर:   समुद्री सतहबाट ३ हजार १ सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णद्धार गरिने भएको छ ।  कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मन्दिरको पुरानो स्वरुपलाई यथावत राख्दै जीर्णद्धार गरिने अध्यक्ष बस्नेतको भनाइ छ । “टेम्केडाँडामा रहेको मन्दिरको जीर्णद्धारसँगै विकासमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “यो हाम्रो ऐतिहासिक तथा प्रसिद्ध मन्दिर हो । संरक्षणको अभावमा मन्दिर जीर्ण बनेकाले जीर्णद्धारको लागि सर्भे गर्ने काम सम्पन्न भएको छ । यसको पुरानो शैलीलाई यथावत राख्दै हुनेछ ।” यहाँ दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट दर्शानार्थी आउने गरेका छन् । दर्शन गरेमा दुःखकष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विस्वासले मानिसहरु यहाँ पुग्ने गरेका छन् । यो स्थानमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्ने गरेको टेम्केमैयुङ ४ नागीका वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । मानिसहरु आफ्नो  कुल, पित्रीको सम्झनामा सदबीज छर्नको लागिसमेत पुग्ने उहाँको भनाइ छ । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँससमेत छ । भाकल पूरा हुने विश्वासले यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ । यो क्षेत्र भएर सरकारको घुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गसमेत विस्तार भएको छ ।  यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । मेलाबाहेक अन्य समयमासमेत दर्शन गर्नको लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् ।  मन्दिर रहेको स्थानबाट तराइँका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्सेलगायत आठ हजार मिटर अग्ला छ ओटा र अन्य ३३ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । यसको संरक्षण तथा विकासमा स्थानीय सरकारले ध्यान दिएको उहाँको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यस्थको प्रष्ट दृश्यसमेत देख्न सकिन्छ ।   “यो  एउटा ऐतिहासिक पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो”, उहाँले भन्नुभयो, “यो ठाउँको धार्मिक महत्वको विषयमा प्रचार÷प्रसार हुन सकेको छैन । यसको महत्वलाई उजागर गरेर थप विकास गर्नसके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ । स्थानीय सरकारले यसको विकासमा ध्यान दिएको अवस्था छ ।” संरक्षणको अभावमा बनेका मन्दिर तथा अन्य संरचना भत्किन थालेका छन् । प्राकृतिक सौन्दर्यता नियाल्दै धार्मिक दर्शनको लागि अहिले मानिसहरु दैनिकजसो पुग्ने गरेका छन् ।पर्यटनसँगै मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा ध्यान दिन आवश्यक रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । “टेम्के आफैँमा एक धार्मिकसँगै पर्यटकीयस्थल हो”, उहाँले भन्नुभयो, “तर हामीले यसको सोचेजस्तो विकास गर्न सकेका छैनौँ । यसको विकाससँगै प्रचारप्रसार गरेर स्थापित पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।” यो स्थानलाई जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्नसके प्राकृति प्रेमीहरुको लागि यो उत्तम गन्तव्य बन्न सक्ने धार्मिक तथा पर्यटकीय क्षेत्र विज्ञहरु बताउँछन् ।  मन्दिरको दर्शन तथा यहाँ घुग्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण गर्नुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ । 

म्याग्दी:    टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।   सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ ।  बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताउनुभयो । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ ।  “बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्”, बेनी–४ वडासदस्य समेत रहेका खत्रीले भन्नुभयो, “बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ ।” गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् ।  प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो । “दानाभित्र औसा परेर सुन्तला झरेको छ”, उहाँले भन्नुभयो, “सुर्यपुतलीको शङ्का लागेर परीक्षण गर्न पठाएका हाँै । प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ ।”  बास्कुनाको छिमेकी बेनी –३ मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन् । प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन् । सूर्यपुतली नियन्त्रण गर्न बगैचामा टाइट ट्याप ९पासो० थाप्न र धुवा बनाउन प्राविधिकले सुझाएका छन् ।  दुई सय बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दीर्घबहादुर खत्रीले बताउनुभयो । बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । गत वर्ष सो ठाउँबाट रु ७५ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।  धादिङबाट आएका ब्यापारीले नपिप्टै अग्रिम पैसा दिएर बगैँचा ठेक्कामा किनेका छन् । व्यापारी कान्छाराम तामाङले सुन्तलामा रङ र गुलियो पसेकाले टिपेर बजार पठाउन थालिएको बताउनुभयो । जिल्लाको सुन्तला पोखरा, काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पठाउने गरिएको उहाँले बताउनुभयो ।   केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा रु २१ करोड मूल्य बराबरको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्री भएको थियो । जिल्लामा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकोमा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ ।  यस वर्ष क्रप कटिङ विधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गर्ने तयारी गरेको केन्द्रका बाली संरक्षण अधिकृत गङ्गा लामीछानेले बताउनुभयो । 

बलेवा:    धौलागिरि बहुमुखी क्याम्पसमा बिबिए तहमा अध्ययनरत छात्र लक्ष्मण रिजाल गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन् ।  क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बिबिए तहमा  गौतमले गण्डकी प्रदेशमा सर्वोत्कृष्ट नतिजा  ल्याएको जानकारी  दिए । गत वर्ष पनि सोही तहमा क्याम्पसकै छात्रा प्रतीक्षा गौतमले देशभरमै प्रथम भएकी थिइन् ।  हरेक सेमेस्टरमा उनीहरु उत्कृष्ट भएका छन् भने लगातार शतप्रतिशत परीक्षाफल निकाल्ने क्याम्पस सफल भएको क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । गतवर्ष क्याम्पसले गुणस्तर सुनिश्चित प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको थियो ।  यो प्रमाणपत्रले आवश्यकताका आधारमा सङ्काय थप गर्ने अधिकार क्याम्पसले पाएको छ । तर त्यस बाहेक थपिएका पछिल्ला सङ्कायमा विज्ञान र बिबिए तहमा नतिजा राम्रो निकालेको छ ।   क्याम्पसले पछिल्लो समय कूल प्राध्यापकमध्ये ५० प्रतिशत स्थायी गरेको छ भने स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा आन्तरिक परीक्षा प्रणाली समेत सञ्चालन गर्दै आएको छ ।  यस्ता कामले गुणस्तर बढाउने अभियानमा थप मद्दत पुगेको स्ववियु सभापति सुदीप सागर कँडेलले बताउनुभयो । पुस्तकालय, प्रयोगशाला र प्रविधिमैत्री पढाइको सूचक भएकाले क्यामपस अब्बल बन्दै गएको छ ।  पछिल्लो तीन वर्षदेखि त यहाँको विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायका विद्यार्थीले अनुसन्धानका काम गरिरहेका छन् । क्युएएका लागि अनुसन्धानमूलक कार्यक्रमलाई अनिवार्य बनाइएको छ ।  विद्यार्थी तहमा पनि अनुसन्धानको काम भएका छन् । कृषि, व्यवसाय, उद्योग र बजारबारे समेत विद्यार्थीले अनुसन्धान गरेका छन् । क्याम्पस प्रमुख उपाध्यायका अनुसार पछिल्लो तीन वर्षमा आयोगले तोकेका एकसय आठ सूचक पुराएर क्याम्पसले क्युएए पाएको थियो भने निरन्तर उत्कृष्ट परीक्षाफल पनि आइरहेको हो । हाल यो क्याम्पसमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । विसं २०१९ मा स्थापना भएको क्याम्पसमा अहिले शिक्षा सङ्काय, मानविकी र व्यवस्थापनमा स्नातकोत्तर तहको पढाइ हुन्छ । विज्ञान सङ्कायमा स्नातक र बिबिएतर्फको पनि पढाइ सञ्चालन भइरहेको हो ।

कञ्चनपुर:    जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ ।  बचेको अन्न, लत्ताकपडा बोकेर उहाँ छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उहाँले भन्नुभयो, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझैै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् ।        “हात्तीले झण्डै ज्याननै लिएको थियो, धन्न बाँच्नु थियो र बाच्यौँ”, ठगीका श्रीमती पार्वतीले भन्नुभयो, “मध्यरातमा घर पछाडिको भित्तो भत्काउन सुरु गरेपछि हात्ती आएको थाहा पायौँ, पूरै घर हल्लाउने गरी भत्काउन थाल्यो, आँगनमा हात्ती पुगेका थिएनन्, भर्खर पेटको शल्यक्रिया गरेर आएका श्रीमान्लाई बोक्दै भाग्यौँ, ज्यान जोगियो ।”   घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उहाँले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकँुडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताउनुभयो ।  कडारा परिवारजस्तै छिमेकमा बस्ने हरिलाल टमटा र राज टमटाको घर पनि हात्तीले भत्काइदिएको छ । आँगनमा रहेको पानी पिउनका लागि गाडिएको नल्कासँगै दुवै टमटा परिवारको घरभित्र रहेको अन्न हात्तीले खाइदिएको छ ।  घर भत्काएपछि बेघर बनेका तीनवटै परिवार निकै चिन्तित छन् । अन्न सबै हात्तीले खाइदिए पछि परिवारको साँझ बिहानको छाक टार्नका लागि अरुकहाँ हात थाप्नुपर्ने अवस्था सिर्जना भएको राज टमटाले बताउनुभयो । गाई, गोरु, भैँसी बाख्रालगायतलाई पनि हात्तीले क्षति पु¥याउने डर भएकाले खेतमै बाध्नुपरेको उहाँले गुनासो गर्नुभयो ।       “पहिला पनि हात्ती आउथे, खेतमा रहेको बालीनालीमा थोरै क्षति गरी जान्थे, घरनै भत्काएको थिएन”, हरिलालले भन्नुभयो, “हाल हात्तीले उखुबारीमा व्यापक नोक्सानी गर्दै घरनै भत्काए ।”  उखुबाली जोगाउनका लागि फलामको तार तानेर विद्युतीय करेन्ट छाड्दा हात्तीले बारीभित्र पस्न नसकेको झोकमा घर भत्काएको उहाँको भनाइ रहेको छ ।   हात्ती नियन्त्रण गरी घरमै सुरक्षितरुपमा बस्ने वातावरण सिर्जना गरिदिनका लागि तीनवटै पीडित परिवारले सम्बन्धित निकायसँग आग्रह गरेका छन् । गाउँपालिकाको वडा नं ३ र ४ मा गरी हात्तीले स्थानीय किसानको झण्डै ५० बिघा बढी जग्गामा लगाइएको उखुखेतीमा क्षति पु¥याएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भए पनि निकुञ्ज कार्यालयले नियन्त्रणका लागि कुनै पनि प्रयास नगरेकोप्रति गाउँपालिकाका जनप्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका छन् ।   स्थानिय बासिन्दाले व्याकहोलोडेर र ट्रयाक्टरको सहायताले दिउँसै आउने हात्ती भगाउने कार्य गर्दै आएका छन । नजिकैको वन क्षेत्र ९खर्रानाला० मा दुईवटा हात्तीले छावा पाएकाले भदौ महिनादेखि हालसम्म हात्तीको बथान लालझाडी गाउँपालिका नजिकको वन क्षेत्रका बस्दै आएको छ ।  उखुबाली जोगाउन कुरुवा बसेका खल्लाजाँइका रामदल रानालाई गत महिना हात्तीको बथानले ज्यान लिई सकेको छ । हात्ती दैनिक कहिले साँझ, कहिले दिउसै उखबारीमा पस्न थालेपछि यस क्षेत्रको जनजीवन निकै त्रसित भएको छ । हात्तीले थप मानविय क्षति पु¥याउने डरले स्थानीय बासिन्दाले गाउँपालिका क्षेत्रमा रातिका बेला हिँडडुल गर्ने कार्यमा रोक लगाएका छन् ।  लालझाडी सव डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशीले वन संरक्षणको कार्य छाडेर एक महिनादेखि कार्यालयका रहेका सात जना कर्मचारीले स्थानीय बासिन्दासँगै खटिएर हात्ती धपाउने कार्यमा संलग्न हुनुपरेको बताउनुभयो ।  “रात दिन नभनी हात्ती धपाउने कार्यमा खटिएका छौँ”, उहाँले भन्नुभयो, “हात्तीले सबैभन्दा बढी वडा नं ४ का किसानको उखुबालीमा क्षति गरेको छ ।”       हात्तीबाट सर्वसाधारणलाई जोगाउनका लागि जनचेतना जगाउने कार्यसँगै थप मानवीय क्षति हुन नदिनका लागि सडकमा बत्तीको व्यवस्था गर्ने, साइरन बजाउने, ट्रयाक्टरको हर्न बजाउने कार्यमा पनि लाग्दै आएको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार छावासहितको हात्तीको सङ्ख्या  २४ रहेको छ । 

काठमाडौं:    पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौँ गोर्खाज’ले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ । यही मङ्सिर १५ गतेदेखि आगामी पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सहभागी सबै टोलीलाई पाखा लगाउँदै काठमाडौँ गोर्खाज लिगको प्रथम संस्करणकै उपाधि कब्जा गरेर इतिहास रच्ने दाउमा छ ।  काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक बसन्त शाही ठकुरीले आफ्नो टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।       “काठमाडौँ गोर्खाज प्रतियोगितामा खाली सहभागी मात्र बन्न चाहन्न, उपाधि नै कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ”, उहाँले भन्नुभयो । यसअघि भैरहवालगायतका स्थानमा अभ्यास खेल खेलेको काठमाडौँ गोर्खाजले एनपीएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ गोर्खाजले श्रीलङ्का र बङ्गलादेशका केही खेलाडीसँग अभ्यास खेल खेलेको उहाँको भनाइ छ ।      अक्सनको समयमा काठमाडौँ गोर्खाजलाई कमजोर टोली भनिएको प्रसङ्ग उल्लेख गर्दै प्रशिक्षक शाहीले भन्नुभयो, “कतिपयले काठमाडौँ गोर्खाजलाई ‘अनलक्की’ टोलीसमेत भन्न भ्याए । अक्सनमा हामीलाई भाग्यले त्यति साथ दिएन । तर पनि नेपाली युवा खेलाडी र विदेशी खेलाडीको साथले हाम्रो टोली सन्तुलित बन्न पुगेको छ ।”       प्रशिक्षक शाही काठमाडौँ गोर्खाज बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट रहेको बताउनुहुन्छ । काठमाडौँ गोर्खाजका मार्की खेलाडी करण केसी थोरै अस्वस्थ भएकाले उहाँ चिकित्सकको नियमित निगरानीमा रहेको उहाँले बताउनुभयो ।  “उहाँले अलिअलि अभ्यास गरिरहनुभएको छ, प्रतियोगिताको उद्घाटन खेल अघि पूूर्णरुपमा खेल्न सक्नुहुन्छ भन्नेमा विश्वस्त छु”, प्रशिक्षक शाहीले भन्नुभयो ।               काठमाडौँ गोर्खाजले आफनो पहिलो खेल चितवन राइनोजसँग यही मङ्सिर १७ गते खेल्ने छ । प्रशिक्षक ठकुरी टी–ट्वान्टी क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर र बलियो भन्न नमिल्ने बताउनुहुन्छ । चितवनविरुद्धको पहिलो खेलमा नै काठमाडौँ गोर्खाजले जित निकाल्नेमा उहाँ  विश्वस्त हुनुहुन्छ ।        काठमाडौं गोर्खाज काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको छ । काठमाडौँ गोर्खाजको  मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्य करण केसी हुनुहुन्छ । करणले सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएको छ ।  काठमाडौँ गोर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका भीम सार्की र  शाहब आलम हुनुहुन्छ । यस्तै यु–१९ बाट खेलेका दिपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी हुनुहुन्छ ।      त्यसैगरी काठमाडौँ गोर्खाजले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर रहनुभएको छ ।  विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएका नामिबियाका कप्तान जेरार्डले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ । नेदरल्यान्ड्सका माइकलले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ । जेरार्ड र माइकल दुवै ‘एसोसिएट’ देशबाट उत्कृष्ट खेल खेल्ने खेलाडी हुनुहुन्छ ।       इङ्ग्ल्याण्डका नाथन सोटरले पनि घरेलु क्रिकेटमा उत्कृष्ट खेल प्रर्दशन गर्नुभएको छ । उहाँले न्यू साउथ वेल्सको यु–२३ टोलीबाट पनि खेल्नुभएको छ । त्यसैगरी क्यारिवियन क्रिकेट लिग, इन्टरनेशनल क्रिकेट लिग टी–ट्वान्टीलगायतको विश्वको विभिन्न खेल खेलेको अनुभव उहाँसँग  छ । टोलीको ‘आइकोनिक प्लेअर’मा क्रिस कार्की हुनुहुन्छ । काठमाडौँ गोर्खाजको एम्बासडरमा नेपाली राष्ट्रिय महिला टोली कप्तान इन्दु वर्मा हुनुहुन्छ ।      प्रतियोगिताका लागि माइकल लेभिट भने नेपाल आइसक्नुभएको छ । बाँकी विदेशी खेलाडी यही मङ्सिर दोस्रो सातासम्म नेपाल आइपुग्ने काठमाडौँ गोर्खाजले जनाएको छ ।  यसैगरी काठमाडौँ गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले टोलीको ब्यालेन्स राम्रो भएकाले प्रतियोगिताको ट्रफी आफनो टोलीले कब्जा गर्ने दाबी गर्नुभयो । उहाँले काठमाडौँ गोर्खाजमा युवा खेलाडी धेरै रहनुका साथै राम्रा राम्रा विदेशी खेलाडी भित्र्याएकाले प्रतियोगिताको उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो ।        नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा हुन लागेको यस नेपाल प्रिमियर लिग (एनपिएफ) हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो ।  प्रतियोगितामा काठमाडौँ गोरर्खाजसँगै लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल यही मंसिर १५ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । 

काडमाडौं:     निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही  मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।       आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।       आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन समेत भनेको छ ।       उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन समेत बैठकले आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।       मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई पनि आयोगले आह्वान गरेको छ ।       उपनिर्वाचनको लागि मतदाता परिचयपत्रका अलावा अन्य सरकारी कागजातका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।  “आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन”, आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा उल्लेख छ ।       यही मङ्सिर १६ गते आइतबार विहान ७ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मतदान केन्द्रमा गई मतदानमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न आयोगले मतदातालाई आह्वान गरेको छ । 

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ ।  त्यस्तै, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, स्वीडिस क्रोनर लगायतको भने मूल्य बढेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ ।       युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ९६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १३  पैसा र बिक्रीदर एक सय रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।       जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा,साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २१ पैसा र बिक्रीदर १२ रुपैयाँ २७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ  ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ र बिक्रीदर चार सय ३९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ २० पैसा तय भएको छ ।       यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ ७४ पैसा तय भएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।      राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ । 

नवलपरासी:     पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ ।  डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड बढी मूल्य बराबरको काठ बिक्री नभएर सड्न थालेको हो ।       काठ बिक्री सम्बन्धी नयाँ नीति आएपछि काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ । प्रदेशको वन नीति संशोधन नभएसम्म काठ बिक्रीमा समस्या आइरहने उहाँले बताउनुभयो । डिभिजनल वन कार्यालयले दोस्रो पटक काठ बिक्री गर्ने तयारी गरिरहेको वन अधिकृत भगतले बताउनुभयो ।      काठ तथा फर्निचर व्यापार नभएर काठ व्यवसायीले खरिद नगरेपछि वन कार्यालयभित्रै काठ सड्न थालेको नवलपरासी काठ व्यवसायी सङ्घका अध्यक्ष दीपक पङ्गेनीले बताउनुभयो ।      सालको काठ महँगो भएकाले व्यवसायीले काठ खरिद नगरेपछि जिल्लामा करोडौँ मूल्य बराबरको काठ वनभित्रै सड्न थालेको दिपीका फर्निचरका सञ्चालक एवं काठ व्यवसायी चन्द्रभान धरिकारले बताउनुभयो ।