काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

काठमाडौंः   आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ । मतदानलाई सहज र शान्तिपूर्णरूपमा सञ्चालन गराउने प्रयासका बाबजुद सुर्खेत, नवलपरासीपूर्व, गुल्मी र बाजुरा जिल्लाका गरी १५ मतदानस्थलमा मतदान स्थगन भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एकजना सर्वसाधारण नागरिकको मृत्यु तथा अन्य केही स्थानमा केही नागरिक घाइते भएका छन् ।   आयोगले सबै मतदान अधिकृतहरूलाई आज मध्याह्न निर्देशन दिँदै मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य सञ्चालन गर्न र साँझ ५ बजेसम्म स्थगन भएको सूचना टाँस नगर्न तथा आयोगको पूर्वसहमति लिएर मात्रै स्थगन भएको सूचना टाँस गर्न निर्देशन दिएको थियो । स्थगन वा रद्द भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने निर्णय गर्न उपयुक्त प्रबन्ध मिलाइने आयोगले जनाएको छ । आयोगले केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान सम्पन्न भएको र निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति आभार व्यक्त गरेको छ ।  केही जिल्लाका मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकामा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सञ्चालन भएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सिलसिलामा निर्वाचन सामग्रीको प्रयोगमा बाधा पु¥याउने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको प्रक्रिया उल्लङ्घन गर्ने, मतेपटिकामा अन्य वस्तु खसाल्ने, पटक पटक मतदान गर्न खोज्ने, मतपत्र नष्ट गर्ने, मतदानस्थल कब्जा गर्नेलगायतका कार्यमा संलग्न जोसुकैलाई -निर्वाचन कसुर तथा सजय_ ऐन, २०७३ बमोजिम तत्काल कारबाही प्रारम्भ गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्काे मतपेटिकामा खसेको भन्ने गुनासो आएको छ । मतपेटिकामा रहेका ती सबै मतपत्रलाई मतगणनाका समयमा जनताको अभिमत खेर जान नदिने गरी राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिको छलफलका आधारमा जुन तहका लागि खसेको मत हो सोही तहतर्फ गणना गर्ने गरी प्रबन्ध मिलाइएको जनाउनुभयो ।  मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार तुल्याइने र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट सोधनी भएका विषयमा आयोगले तत्काल सम्बोधन गर्ने जनाइएको छ । मतपेटिका ढुवानी सुरु मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको छ ।  मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरु गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिइएको छ ।

पोखराः   आम निर्वाचनको स्थलगत रिपोर्टिङकाक्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा अपाङ्गमैत्री मतदान केन्द्रको अभाव देखियो । निर्वाचन आयोग, स्थानीय प्रशासन र अधिकारकर्मीले यतारित ध्यान नदिँदा अपाङ्गता भएका मतदातालाई मतदान गर्न असहज भएको पाइएको छ ।  पोखरा महानगरपालिका १७ पार्दी मावि मतदान केन्द्र अपाङ्गता मैत्री मतदान केन्द्र नभएको इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले बताए । ‘प्रदेशको राजधानी र पोखरा जस्तो ठाउँमा अपाङ्तामैत्री मतदान केन्द्र नभएको लाजमर्दो हो’, उनले भने ‘दिनभर गण्डकी प्रदेशको विभिन्न जिल्लामा पुग्यौं तर अन्य जिल्लाको तलुनामा पोखराको पार्दी मतदान केन्द्र अपाङ्गता मैत्री पाएनौं ।’                                                                                             पार्दी मावि मतदान केन्द्र (क)  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा विभिन्न जिल्लामा पुगेका इन्सेक गण्डकी संयोजक खकुरेलले पार्दी मतदान केन्द्र (क) र (ख) बुथ सुरक्षाको हिसाबले संवेदनशील र अपाङ्तामैत्री नभएकाले अबको निर्वाचनमा यसलाई सुधार गर्न सुझाव पेश गर्ने बताए ।                                                                                     पार्दी मावि मतदान केन्द्र (ख)  पार्दी मतदान केन्द्रमा मतदान गर्न आएका ८६ वर्षीय इन्द्रकली कुवरलाई अपाङ्गतामैत्री मतदान केन्द्र नहुँदा मतदान केन्द्रसम्म पुग्न असहज भएको प्रत्यक्षदर्शी सविन रेग्मीले बताए ।  इन्सेक गण्डकीका संयोजक खकुरेलले मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदातामा अन्यौलताको वातावरण सिर्जना भएको जानकारी दिए ।  ‘मतदाता शिक्षा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि पाएनौं’, उनले भने, मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्यक्ष र समानुपातिकको बाकसमा राख्नुपर्ने मत फरकफरक बाकसमा राखे जसका कारण केही समय मतदान नै स्थगित भयो ।’ उनले पार्दी मतदान केन्द्र ( क र ख ) बुथ खुल्ला ठाउँमा टेन्ट र पाल टाँगेर मतदान गरिएकाले मतदाताको धेरै भएकाले अन्य स्थानमा मतदान केन्द्र स्थापना गर्न सुझाव दिए ।  स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा युवाहरुको कम सहभागिता रहेको छ ।  युवाहरु रोजगारीका लागि विदेशीयका र अध्ययनको शिललिलामा विभिन्न शहरहरुमा रहेकाले उनीको सहभागिता कम भएको इन्सेक संयोजक खकुरेलको भनाई छ । 

   पोखरा:  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन  भईरहेको छ ।    निर्वाचन भइरहँदा पोखरा १४ स्थित नमुना बस्तीमा नेकपा विप्लव नेतृत्वको टोलीले चुनाव बहिष्कार गरेको छ ।    यार्लीमा निक्लिएका विप्लव टोलीले कालो झण्डामा ‘नो भोट’,‘नो एमसिसि’ लेखि निर्वाचन विरुद्व  प्रदर्शन गरेको हो ।      

पोखराः  निर्वाचनको दिन कास्कीमा सवारी पास बिना चलाइएका १सय २० बढी सवारीसाधनलाई प्रहरीले होल्डमा राखेको छ ।   निर्वाचनको दिन विना पास चलाइएका १ सय २० बढी दुईपाङ्ग्रे र केही चार पाङ्ग्रे सवारीसाधनलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए । होल्डमा राखिएको सवारीसाधनलाई साँझ ५ बजेपछि छोड्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कास्की लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन् । आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो ।   अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए ।  उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।  

तनहुँः तनहुँ घिरिङ१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।   शनिबार घिरिङका दुई जना एमाले कार्यकर्ता पक्राउ परेको भन्दै अहिले त्यहाँ मतदान सुरु हुन नसकेको हो । शनिबार घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको बताइएको छ ।   एमाले तनहुँका नेता विष्णुभक्त सिग्देलका अनुसार दुई जना एमाले कार्यकर्ता पक्राउ परेको र उनीहरुको रिहाइ नभएसम्म मतदान रोकिएको हो ।

कास्कीः  कास्की । कास्की क्षेत्र नं. २ नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । पोखरा–३३ भरतपोखरीको शान्ति उदय मावि मतदान केन्द्रमा बिहान ७ बजे उनले मतदान गरेकी हुन् ।   सो क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनमा मतदान गर्न नपाउने भएका छन् ।   लामिछाने चितवन क्षेत्र नं.२ का उम्मेदवार हुन् । यहाँ मतदाता नामावलीमा नाम नभएपछि उनी आफैलाई भोट हाल्न नपाएका हुन् ।   लामिछानेले आफ्नो मतदान काठमाडौंमा गरेका छन् । क्षेत्र नं.३ का मतदाता उनले महांकाल पानीटंकीस्थलमा मतदान गरेका छन् ।    चितवन क्षेत्र नं.२ मा लामिछाने नेकपा (एमाले)का कृष्णभक्त पोखरेल र गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठसंग प्रतिस्पर्धामा छन् ।

काठमाडौंः  मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसक्नुभएको छ ।   मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ ।   निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।