कास्की: कास्की निर्वाचन क्षेत्र नम्बर १ (ख) मा कांग्रेका दीपक गुरुङ (माइला) लाई पराजित गर्दै नेकपा एमालेका बेद बहादुर गुरुङ निर्वाचित भएका छन् । उनले दीपकलाई ८ सय ६७ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । बेदबहादुरले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा दीपकले ११ हजार ७ सय ९४ मत पाएका छन् । भर्खरै मात्र १(क) को रुपा गाउँपालिकाबाट मतगणना सुरु भएको छ । १ (क) मा नेकपा एमालेका खगराज अधिकारी र नेकपा माओवादीका दीपक कोइराला प्रतिस्पर्धामा छन् ।
झापाः झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी हुनुभएको हो । शर्माले ३९ हजार छ सय २४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिनुभयो । शर्मा नेपाली कांग्रेसका महामन्त्री हुनुहुन्छ भने खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुनुहुन्छ ।
कास्की: कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) को मतगणना सुरु भएको छ । प्रदेश सभातर्फ कास्की क्षेत्र नम्बर १ (ख) को मतगणना सकिएसँगै रुपा गाउँपालिकाबाट १ (क) को मतगणना सुरु गरिएको हो । भर्खरै सम्पन्न प्रदेश सभा सदस्य तर्फ १ (ख) मा कांग्रेसका दीपक माइला गुरुङलाई पराजित गर्दै नेकपा एमालेका बेद बहादुर गुरुङ निर्वाचित भए । उनले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा दीपकले ११ हजार ७ सय ९४ मत पाएका थिए । प्रतिनिधि तर्फको मतगणना भने जारी छ । प्रदेश सभा सदस्यतर्फ १ (क) मा नेकपा एमालेका खगराज अधिकारी र नेकपा माओवादीका दीपक कोइराला प्रतिस्पर्धामा छन् ।
झापाः झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याउनुभएको छ । अध्यक्ष ओली योसँगै छ पटक विजयी बन्नुभएको छ । यसअघि उहाँ विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसक्नुभएको हो ।
काठमाडौंः कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत आज भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरीसँगै क्रोएसिया र मोरक्कोले समान एक÷एक अङ्क जोडेका छन् । यसै समूहको अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ । बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । त्यसअघि आजै समूह ई मा रहेका जर्मनी र जापानबीच ६ः४५ बजे तथा स्पेन र कोस्टारिकाबीच राति ९ः४५ बजे खेल सुरु हुनेछ ।
कास्कीः आन्तरिक राजश्व कार्यालय पोखराले ११ औं राष्ट्रिय कर दिवस मनाएको छ । ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमूखी अर्थतन्त्र आधार’ भन्ने मूलनारासहित पोखरामा ११ औं राष्ट्रिय कर दिवस मनाएको हो । मंसिर १ देखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइने कर सप्ताह यो वर्ष प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको कारण विभागको निर्देशन बमोजिम आज (मंगलबार) कर सप्ताह मनाएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्र्दै कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले व्यवसायी कर तिरेर असल नागरिकको परिचय दिन आग्रह गरे । ‘विभिन्न पेशा व्यवसाय अहिले सञ्चालन भइरहेका छन्, उनले भने, पेशा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिरेर असल नागरिकको परिचय दिन आवश्यक । राज्यले नियमन गर्न होइन सम्मान गर्ने वातावरण सिर्जना गर्न कर तिरेर असल नागरिकको परिचय दिऔं ।’ उनले कास्कीमा कसैले व्यापार व्यवसायमा गर्न सके राज्यको नियम अनुसार सहयोगमा लागि पर्ने बताए । यसैगरि उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजीव कोइरालाले कर सप्ताह कार्यक्रम नगरी प्राथमिक तहदेखि उच्चशिक्षासम्म करमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने बारे अध्यापन गराउन आवश्यक रहेको उल्लेख गरे । ‘व्यवसाय गरे कर तिर्नुपर्छ भन्ने अहिले आम नागरिकमा चेतना छ, उनले भने, ‘अब कर सप्ताह दिवस कार्यक्रम मात्र गरेर हुँदैन । प्राथमिक तहदेखि उच्चशिक्षासम्म करमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न अध्यापनको आवश्यक छ । व्यवसाय सञ्चालनपूर्व करको दायरामा आउन आवश्यक छ ।’ सरकारले करको दायरा नबढाएर करको दर बढाएर व्यवसायीहरुलाई नै अप्ठयारो पार्दै गएको उनले बताए । ‘सरकारले करको दर मात्र बढाएर हुँदैन दायरा बढाउन आवश्यक छ, उनले भने, ‘कसैले ५ महिना देखि ५ वर्षसम्मा पसल व्यवसाय सञ्चालन गरेका हुँदैन । सबै करको दायरामा आउन आवश्यक छ । कर होइन करको दायरा बढाउन राज्यलाई अनुरोध छ ।’ त्यस्तै कार्यक्रममा चेम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनारले समृद्ध देशको परिकल्पना पुरा गर्न कर कार्यालयले चार बुँदामा ध्यान दिनुपर्ने धारणा राखे । ‘करदाता मैत्री कानुन, स्वच्छ सबल, सक्षम कर प्रशासन, इमान्दार करदाता र दिगो प्रभावकारी करनीतिमा ध्यान दिन सके समृद्ध देशको परिकल्पना पुरा हुन सक्छ’ उनले भने ।
कास्की: पोखरा सभागृहमा जारी मतगणनामा गणक बनेर मत गणना स्थलमा छिरेका पोखरा ११ का निवर्तमान वडाध्यक्ष्यसमेत रहेका कांग्रेसका नेता मोहन बास्तोलालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियन्त्रणमा लिएको छ । नक्कली मत गणक बनेर कास्की क्षेत्र नम्बर २ को मतगणना स्थलमा मतगणना स्थलमा प्रवेश गरेका बास्तोलालाई मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले स्पष्टिकरण सोधेको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । ‘निर्वाचनको सवालमा हाम्रो नियन्त्रणमा हुनुहुन्न । मुख्य निर्वाचन अधिकृतबाट नै नियन्त्रणमा लिएर स्पष्टिकरण सोधको जानकारीमा आएको छ ।’ डिएसपी तिवारीले भने । उनले अन्य नेताको कार्ड प्रयोग गरेर मतगणना स्थलमा प्रवेश गरेको बताइएको छ । उनलाई मतगणना स्थलमा देखेपछि नेकपा एमालेका गणकहरुले विरोध जनाएका थिए । पोखरा सभागृहमा अहिले कास्की क्षेत्र नम्बर २ को प्रतिनिधि सभा र २ (क) र २ (ख) को मतगणना जारी छ ।
पोखरा: कास्की क्षेत्र नं ३ (१) प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ निर्वाचित भएका छन् । उनका निकटतम गठबन्धनका तर्फबाट माओवादीका दुर्गादत्त भण्डारीलाई ४४०९ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका गुरुङले १२६७४ मत प्राप्त गर्दा माओवादीका दुर्गादत्त भण्डारीले ८२६५ मत प्राप्त गरेका थिए । त्यस्तै हाम्रो नेपाली पार्टी लौरो चिह्नबाट खिम प्रसाद तिमिल्सिनाले २४१३ मत प्राप्त गरे । कास्की क्षेत्र नम्बर ३ (१) मा जम्मा मतदाता संख्या ५२८६२ रहेका छन् भने कुल २८८४३ मत खसेको थियो । यसमध्ये कुल सदर मत २७७५८ रहेको थियो भने १०८५ बदर भएको थियो ।
काठमाडौंः कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ । दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे । यता अष्ट्रेलियाका लागि भने क्रेग गुडविनले एक गोल गरे । खेलमा सुरुआती अग्रता भने अष्ट्रेलियाले लियो । खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको २७औँ मिनेटमा फ्रान्सका एड्रिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ३२औँ मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । खेलको ६८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए । खेलको ७१औँ मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित निकालेको हो । यस जितसँगै फ्रान्सले पहिलो खेलमै तीन अङ्क जोडेको छ । समूह ‘डी’को फ्रान्स शीर्षस्थानमा रहेको छ भने अष्ट्रेलिया पुछारमा रहेको छ ।

