पोखराः कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले विद्या भट्टराईलाई बधाई ज्ञापन गरेका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका बरालले सूनगाभा न्युजसँग धारणा राख्दै मतपरिमाणको समिक्षा गरेर मात्र आफ्नो विस्तृत धारणा प्रस्तुत गर्ने बताए । ‘मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष रुपमा मतदान गर्नुहुने सबै मतदातामा हार्दिक आभार, उनले भने, ‘मत सोचेजस्तो मेरो पक्षमा आएन, किन आएन भनेर मैले समिक्षा गर्न बाँकी छ । समिक्षा गरेर पुनः आफ्नो धारणा राख्नेछु ।’ विजयी उम्मेदवार विद्या भट्टराईलाई शुभकामना व्यक्त गर्दै बरालले जनताको जनअपेक्षा अनुसार काम गर्न आग्रह गरे । कास्की २ बाट उम्मेदवार बनेका बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए । विजयी भएका भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गरिन भने राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका थिए ।
पोखरा: कास्की क्षेत्र नम्बर २ (ख) का नेकपा एमालेकी उम्मेदवार मिना गुरुङले नयाँ अनुभव बटुल्न अवसर मिलेको बताएकी छिन् । मतपरिणाम सार्वजनिक भएपछि सुनगाभा न्यूजसँग कुरा गर्दै गुरुङले भनिन्, ‘निर्वाचन भनेको हार र जीत नै हुन्छ । यसले गर्दा खेरी ठुलो आशा भनेको जित्ने नै हुन्छ तर हार भनेको सेकेन्ड अप्सन हो । त्यसलाई पनि स्वीकार्नुपर्छ । र आगामी दिनमा कसरी काम गर्नुपर्ने रहेछ भनेर नयाँ अनुभव बटुलेको छु ।’ उनले आफु जनप्रतिनिधिको रुपमा निर्वाचित नभएतापनि सदैब आम नागरिक, महिला तथा युवाको पक्षमा काम गर्ने बताइन् । ‘त्यो ठाउँ कानून बनाउने र विकासको काम गर्ने ठाउँ हो । त्यहाँ नभएपनि पहिले जस्तै सामाजिक अभियन्ताको रुपमा काम गर्नेछु, उनले भनिन् ‘महिला तथा युवाहरुको व्यक्तित्व विकास, सीप तथा रोजगारको व्यवस्था र हक अधिकारको क्षेत्रमा काम गर्दै आएको मान्छे हुँ । त्यसैले त्यही भूमीकाबाट सशक्त रुपमा अगाडि बढ्छु भन्ने मेरो आफ्नो संकल्प र प्रतिज्ञा छ ।’ उनले मतदाताहरुप्रति आभार प्रकट गर्दै निर्वाचित विन्दु थापालाई व्यक्तिगत स्वार्थमा लिप्त नभइकन राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा काम गर्न आग्रह गरिन् । ‘मेरो प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापा ज्यूलाई विजेता हुनुभएकोमा हार्दिक बधाई छ । जनप्रतिनिधि भएपछि कुनै पार्टीको भइदैन, उनले भनिन्, ‘त्यसैले शुद्ध जनप्रतिनिधिका रुपमा इमान्दार भएर मेरो र अर्काको नभइकन । कसैको स्वार्थमा लिप्त नभई राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा आफ्नो भूमिका निर्वाह गरिदिनुहुन अनुरोध छ ।’ निर्वाचन आयोगको तथ्याङ्क अनुसार गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरेकी थिइन् भने निर्वाचित भएका नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापाले ९ हजार २ सय ८० मत प्राप्त गरेका थिए । मिना गुरुङ गण्डकी प्रदेश सभाको संस्थापक सदस्य हुन् ।
काठमाडौंः बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो । मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक गोल सावित भयो । उनले खेलको ४४ औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । त्यसअघि खेलको ११ औँ मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए । बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । जितसँगै समूह ‘एफ’ को बेल्जियमले तीन अङ्क जोडेको छ ।
म्याग्दीः म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन अन्तर्गत उहाँले आफ्ना प्रतिद्वन्द्वी नेकपा ९एमाले०का हरिकृष्ण श्रेष्ठले भन्दा तीन हजार आठ सय ३२ मत बढी ल्याएर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा कूल ५० हजार छ सय २५ मत खसेकोमा गबुर्जाले २४ हजार २१ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गर्नुभएको छ । गत सोेमबार राति ९ बजेदेखि मत गणना सुरु गरिएको थियो । धवलागिरि गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा गर्बुजाले सुरुआती चरणदेखि नै अग्रता लिँदै आउनुभएको थियो । जिल्लाभरी ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो । म्याग्दीको प्रदेशसभा (१) मा भण्डारी विजयी म्याग्दीको प्रदेशसभा क्षेत्र (१) मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि भण्डारी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाललाई नौ सय ७५ मतले पराजित गरी विजयी हुनुभएको हो । भण्डारीले १२ हजार सात सय ४० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी कटुलाले ११ हजार सात सय ६५ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता रहेकामा २८ हजार सात सय १७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पोखराः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की–२(२) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका थापाले नौ हजार दुई सय ८० मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार मीना गुरुङले सात हजार नौ सय ७१ मत ल्याउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीन हजार नौ सय तीन र नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले तीन सय ६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका लक्ष्मण विश्वकर्माले दुई सय ६६, जनता समाजवादी पार्टीका धनबहादुर परियारले दुई सय एक, स्वतन्त्र उम्मेदवारहरु श्रमिक घर्ती क्षेत्रीले चार सय ६५, मोनिका तामाङले ५२ र लिलमाया पुन गुरुङले ३२ मत ल्याउनुभएको छ ।
पोखराः कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गर्नुभएको छ । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पार्नुभएको थियो । यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले भने नौ हजार छ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभयो । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो ।
लमजुङः लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी हुनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ । पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ । कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै विजयी हुनुभएको थियो । विसंं २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट गुरुङ आठ हजार चार सय एक मतान्तरले विजयी हुनुभएको थियो । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत प्राप्त गर्नुभएको थियो । नेता गुरुङ विसंं २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी हुँदै आउनुभएको छ ।
झापाः विसं २०७० बाट संसदीय राजनीतिमा होमिनुभएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल हुनुभएको छ । दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएका शर्माले यस पटक भने नेकपा ९एमाले०का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गर्नुभएको हो । शर्मा विसं २०७० मा भएको निर्वाचनमा नेकपा (एमाले) नेता रविन कोइराला र २०७४ मा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राम कार्कीसँग पराजित हुनुभएको थियो । दुई पटक पराजय बेहोरेकै क्षेत्रबाट शर्माले यस पटक जित हासिल गर्नुभएको हो । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले ३९ हजार छ सय २४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का स्थायी कमिटीसमेत रहनुभएका खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिनुभयो । शर्मा र खरेलको मतान्तर १४ हजार दुई सय ७५ रहेको छ । शर्माको राजनीतिक यात्रा पर्शुराम र सावित्री शर्माका कान्छा छोरा हुनुहुन्छ विश्वप्रकाश । विसं २०२७ पुस ६ गते झापाको साविक शान्तिनगर गाविसमा उहाँको जन्म भएको हो । विसं २०३७ देखि विद्यार्थी आन्दोलनमा होमिनुभएका शर्मा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महामन्त्री हुँदै अध्यक्षसमेत हुनुभयो । हाल उहाँ नेपाली कांग्रेसको महामन्त्री हुनुहुन्छ । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रूपमा समेत पनि परिचित हुनुहुन्छ । शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । शर्माकी श्रीमती कविता, दुई छोरी स्वीकृति र शीर्षप्रकाश हुनुहुन्छ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएका शर्माले यसअघि पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेर काम गर्नुभयो । उहाँ पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको हो । सामान्य परिवारमा जन्मनुभएका शर्मा धुलाबारी माविमा कक्षा ९ मा अध्ययन गर्दा १४ वर्षको उमेरमा पहिलोपटक जेल पर्नुभएको थियो । नेविसङ्घ धुलाबारीको एकाइ सभापति बनेर राजनीतिमा पाइला चाल्नुभएका शर्माले नेविसङ्घ भद्रपुर क्याम्पसको सभापति बन्दै १२ औँ महाधिवेशनबाट नेविसङ्घ झापा सभापतिको जिम्मेवारी सम्हाल्दै राजनीतिमा अघि बढ्नुभएको थियो । नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा पार्टीको झापा सभापतिमा प्रतिस्पर्धा गर्नुभएका शर्माले त्यसबेला उद्धव थापासँग २८० मतले पराजित हुनुपरेको थियो । तेह्रौँ महाधिवेशनमा समेत थापालाई सर्वसम्मत जिल्ला सभापति बनाएर आफू भने पार्टीको केन्द्रीय राजनीतिमा लाग्नुभएको थियो । विसं २०७० को संविधानसभा निर्वाचनमा पहिलो पटक सहभागी बन्नुभएका शर्मा त्यसबेला नेकपा (एमाले) नेता कोइरालासँग पराजित हुनुभयो । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का कार्कीसँग पराजित हुनुभएका शर्माले यस पटक नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य खरेललाई पराजित गर्नुभएको हो । शालीन र सभ्य, तर्कपूर्ण अभिव्यक्ति र वाककलामा अब्बल शर्मा दृढ र आत्मविश्वासी नेताका रूपमा परिचित हुनुहुन्छ । सानैदेखि विद्रोही स्वभावका शर्मा बिपीका सच्चा अनुयायी हुनुहुन्छ ।
पोखराः ११ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट तीन करदातालाई सम्मान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा सबैभन्दा बढी कर दाखिला गर्ने सफ्टवयरको कारोबार सेवा प्रदान गर्ने यार्सा ल्याब्स प्रालिका प्रतिनिधि किरण सापकोटा, मोटरगाडीको कारोवार गर्ने अटोवेज प्रालिका प्रतिनिधि नारायण पौडेल, कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिका सञ्चालक विक्रम कर्माचार्य र उत्कृष्ट कर्मचारीका रुपमा नायब सुब्बा छाँया भट्टराईलाई ११ औं कर सप्ताहको अवसरमा सम्मान गरेको हो । गत आर्थिक वर्ष आन्तरिक राजश्व कार्यालय यार्सा ल्याब्स प्रालिले १ करोड ५३ लाख ७७ हजार २ सय ६९ रुपैयाँ आयकर दाखिला बुझाएको थियो । यस्तै कार्यालयका अनुसार अटोवेज प्रालिले १ करोड १३ लाख ४० हजार ४ सय ९७ रुपैयाँ र कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिले २६ लाख ४६हजार ५ सय ९६ रुपैयाँ आयकर दाखिला गरेको थियो । कर तिर्नु नागरिकको दायित्व होः करदाता अटोवेज प्रालिका सञ्चालक नारायण पौडलले कर तिर्नु नागरिकको दायित्व भएको बताएका छन् । आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको राष्ट्रिय कर दिवसको अवसरमा बोल्दै कर तिर्नु नागरिकको दायित्व भएको बताएका हुन् । ‘कसैले कुनै व्यापार व्यवसाय गर्दा राज्य मेरो सेयर होल्डर हो भनेर सम्झन आवश्यक छ, उनले भने, ‘कसैले व्यापार व्यवसाय गर्दा राज्यलाई कर तिर्नु नागरिकको कर्तव्यको हो । व्यवसायी र नागरिकले कर नतिरेसम्म देश समृद्ध बन्न सक्दैन । त्यसैले देश समृद्ध बनाउन कर तिर्न आवश्यक छ ।’ व्यवसायीले पारदर्शी ढङ्गले राजश्व बुझाए समृद्ध देशको परिकल्पना पुरा हुने धारणा राखे । ‘नागरिक र व्यवसायीले पारदर्शी ढङ्गले राजश्व बुझाउन सके समृद्ध देशको परिकल्पना पुरा हुन्छ, उनले भने, ‘राज्यले बजेट ल्याउँदा व्यवसायी र नागरिकको करबाट ल्याउने हो । जति हामीले कर तिर्न सक्यो त्यति नै देश समृद्ध बनाउने सबैको सपना साकार हुन्छ ।’ यस्तै कर्माचार्य बेक्स एण्ड फुड्स प्रालिका सञ्चालक विक्रम कर्माचार्यले राज्यले विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दा छुट दिएको करको विषयमा जानकार नभएको बताए । ‘राज्यले नेपालमा नै उद्योग व्यवसाय गर्दा विभिन्न क्षेत्रमा छुट दिएको छ, उनले भने, ‘ राज्यले देशमा नै कसैले उद्योग, पेशा व्यवसाय सञ्चालन गर्दा विभिन्न क्षेत्रमा करमा छुट गरेको छ तर नागरिकले बुझ्न सकेका छैनन् । व्यापार, व्यवसाय उद्योगसम्बन्धी सरकारले ल्याएको नीति नियम आम नागरिकले अध्ययन गर्न आवश्यक छ ।’ उक्त कार्यक्रममा चेम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनार, कोष नियन्त्रक कार्यालयका प्रमुख रामजी प्रसाद शर्मा, मालपोत अधिकृत प्रमुख राजेन्द्र पौडेल लगायत बोलेका थिए ।

