काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

कास्की:   निर्वाचन आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कास्कीमा हालसम्म १६ वटा उजुरी परेकामा अधिकांश फर्छ्यौट भएको छ ।  जिल्लामा आचारसंहिता कार्यान्वयनको अवस्थालाई सूक्ष्मरूपमा अनुगमन भइरहेको र हालसम्म लिखित, इमेल र मौखिक गरी १६ वटा उजुरी परेकामा अधिकांशतः फर्छ्यौट भएको र केही प्रक्रियामा रहेको अनुगमन समितिका संयोजक रामजीप्रसाद शर्माले जानकारी दिनुभयो ।      बिहीबार राति १२ बजेदेखि सुरु स्थिर अवधिमा कास्कीमा अवस्था सामान्य देखिएको छ । मौन अवधि सुरु भएयता अनुगमनलाई निरन्तरता दिइएको र हालसम्म कुनै उजुरी नपरेको उहाँले बताउनुभयो । 

मनाङः   हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । तर चिसोका कारण खच्चडमार्फत लगिएको ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ ।  “खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो । बलेन, चिसोले होला”, सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, “आगो बाल्न दाउरा किन्दा भारीको रु दुई हजार प¥यो । समस्या टार्नै प¥यो ।” उक्त केन्द्रमा छ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन् । केही नजिकै अन्य दुई मतदान केन्द्र रहेको छ । त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ । नार्पाभूमि–१ देखि ३ सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, विद्यालय, गुम्बालगायत ठाउँमा बास बसेका छन् । चिसो बढेको र पानीसमेत जमेको हुँदा तताएर खान समस्या भएको मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् ।  सडक सञ्जालले नजोडिएको नार्पाभूमि–४ फू गाउँ (चार हजार ५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो पनि उच्च रहेको बताउनुभयो । “यहाँ निकै चिसो छ । आगो तापेर बस्नुपरेको छ । बाहिर निस्कन सकिरहेको छैन । यहाँको तापक्रम माइनसमा छ र कष्टकर बनेको छ,” रेग्मीले भन्नुभयो ।  मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मौसमको प्रतिकूलताले नार र फू गाउँ पुगेका कर्मचारीको अवस्था निकै कष्टकर भएको बताउनुभयो । बुधबार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार अबेर मतदान केन्द्रमा पुगेका थिए । सबै क्षेत्रमा एकैसाथ निर्वाचन भएकाले पनि सकसपूर्ण अवस्थामा नै कर्मचारी खटिएको उहाँले बताउनुभयो ।  “यसपटकको निर्वाचनका लागि सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो । दुई दिन लगाएर उहाँहरू पुग्नुभएको छ । ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा समस्या भयो,” उहाँले भन्नुभयो । नार गाउँमा चिसोले ग्यास नबलेको र चार वटा दाउराकै रु एक हजार पाँच सय तिर्नुपरेको उहाँले बताउनुभयो ।  निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिक रु दुई हजार पाँच सय दिन्छ । कार्यालय सहयोगीले रु एक हजार दुई सय पाउँछन् । सुरक्षाकर्मीले खाजा भत्ता दिनको रु छ सय पाउँछन् । “एक गिलास तातोपानीको रु एक सय पर्छ । सुगममा रु छ सयले दुई छाक खान पुग्छ । विकटमा खटिनेलाई साह्रै समस्या छ,” उहाँले भन्नुभयो ।  मनाङमा दुई सय कर्मचारी खटिएका छन् । सिङ्गो नार्पाभूमि गाउँपालिकामा चार सय ६८ मतदाता रहेका छन् । वडा नं १ को कार्यालय नारगाउँमा ९६, वडा नं २ को नार आधारभूत विद्यालयमा एक सय तीन र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा एक सय २० मतदाता छन् ।  फू गाउँअन्तर्गत वडा नं ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा नं ५ को कार्यालयमा ७१ मतदाता छन् । मनाङ जिल्लामा पुरुष तीन हजार दुई सय ८१ र महिला तीन हजार चार सय ९८ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । मनाङमा साँझ, बिहान र रातिको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा उचाइमा रहेको नार (चार हजार दुई सय मिटर)मा धाराको पानीसमेत जमेको मतदान अधिकृत बताउँछन् ।

पोखराः   प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजीप्रसाद बराल मौन अवधिमा चुनाव प्रचारप्रसारमा हिँडेको भन्दै एमालेका कार्यकर्ताले घेराउ गरेका छन् ।    कास्कीको अन्नपूर्ण गाउँपालिका-१ भीर मुनिभन्ने ठाउँमा उम्मेदवार बराल शुक्रबार साँझ एमाले कार्यकर्ताको घेराउमा परेका हुन् । बिहीबार रातिदेखि नै स्थिर अवधि अर्थात चुनाव प्रचार गर्न नपाइने समय सुरु भएको थियो ।   उम्मेदवार बराल गण्डकी प्रदेशका अर्थमन्त्री थिए । 

पोखराः  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनका लागि प्रदेशवासीमा अपील गरेका छन् ।  प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन २०७९ का सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र आगामी ५ वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णढंगबाट उपयोग गर्नुहुनेछ भन्नेमा आश्वस्त छु ।’   मुख्यमन्त्री पोखरेलले लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि रक्षा गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक उन्नयनको मार्गमा लैजान सक्ने प्रतिनिधि छनौट गर्नु आवधिक निर्वाचनको मुल ध्येय रहेको बताएका छन् ।   मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तबरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यम रहेको सन्देशमा उल्लेख छ । उनले भनेका छन्, ‘राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था एवं सरोकारवाला सबै  भयरहित वातावरणमा निश्पक्ष निर्वाचन सम्पन्न गराउन जुट्नुुहुनेछ भन्नेमा पूर्ण विश्स्त छु ।’  आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष रहेको भन्दै मुख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, ‘संविधानसभामार्फत् २०७२ मा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भएबमोजिम स्थापित ३ तहका सरकारमध्ये प्रदेश संरचनाको पहिलो १ कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ अहिले हामी दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेका छौं ।’   प्रतिनिधि सभाको पनि निर्वाचन एकसाथ सम्पन्न हँन गइरहेको सन्दर्भमा उनले सम्पूर्ण प्रदेशवासीमा बधाई ज्ञापन गर्दछु । उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्ने सम्पूर्ण सहिदप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै अग्रजप्रति कृतज्ञता व्यक्त गरेका छन् ।  संघीयताको पहिचान भनेकै प्रदेश संरचना हो । संघ र स्थानीय तह कुनै न कुनै रुपमा यसअघि पनि अस्तित्वमा थिए । तर प्रदेश संरचना हाम्रा लागि नितान्त नौलो अभ्यास हो । सन्देशमा उल्ल्ेख छ, ‘भौतिक संरचना, जनशक्ति व्यवस्थापनदेखि कानुनी अस्पष्टता लगायतका समस्या झेल्दै ५ वर्षको अवधिमा प्रदेश संरचनाले सशक्तरुपमा आफ्नो पहिचान स्थापित गराएको छ ।’ एक सरकारकोरुपमा सञ्चालित हुन आवश्यक सम्पूर्ण तयारी यसले पूरा गरेको दाबा उनको छ ।   आर्थिक तथा सामाजिक उन्नयनका लागि महत्वपूर्ण कार्य आरम्भ भएता पनि नागरिकका चाहना र आकांक्षाहरु पूरा हुन नसकेको उनको स्वीकारोक्ति छ । उनले भनेका छन्, ‘बितेको कार्यकालबाट पाठ सिकेर संघीय शासन प्रणालीलाई व्यवस्थित गर्नका लागि अबको समय खचिर्नुपर्छ ।’  धेरैभन्दा धेरै प्रदेशबासीको संलग्नतामा यो निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भनी उनले शुभकामना व्यक्त गरेका छन् ।     

पोखराः    सन् १९८१ मा रचना गरिएको ‘विदेश जाने मायालु’ गीतकाे चार दशकपछि भिडियो सार्वजनिक भएको छ ।  दीपक थापाको ‘विदेश जाने मायालु’ बोलको गीतको म्युजिक भिडियो  आज ९शुक्रबार० पोखरामा पत्रकार सम्मेलन गर्दै सावर्जनिक गरिएको हो । सो कार्यक्रममा बोल्दै गायक तथा रचनाकार दीपक थापाले पहिलो पटक पोखरामै गाएको बताए । उक्त गीत हरेक नेपालीले मन पराएपनि आफुलाई नचिनेको बताए । ‘यो गीत धेरैले मन पराउनु भयो । सबैले गुनगुनाए  तर मेरो हो भन्ने कमैलाई मात्र थाहा थियो । यतिका वर्षपछि भिडियो ल्याएका छौ, उनले भने, ‘सबैले माया गरिदिनुहुनेछ ।’ उनले उक्त गीत काल्पनिक नभएको बताउदै भने, ‘यो गीत मेरै कथामा आधारित हो भन्न सकेको थिएन । कतै कतै मात्र हो भन्थे । हुन त हरेको आफ्नै कथा हुन्छ । सत्य कथामा आधारित हुदा बढी फिल हुनेरहेछ ।’ उनले समय बद्लिएपछि माया गर्ने र विदेशीनेको कथा अझै पनि ताजै रहेको सुनाए । ‘विदेश जाने मायालु’ तीन पुस्ताको कथामा आधारित छ, उनले भने, ‘बच्चा जमन्छ, युवा अवस्थामा माया प्रेम सम्बन्ध हुन्छ, पछि विदेश जान्छ र केही समय पछि भेट हुन्छ । यसरी नै यो गीतले तीन पुस्ताको कथालाई चित्रण गरेको छ ।’ रोहन नेपालीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा भगवती मल्ल, दीपक थापा, विशाल सारुमगर, सपना क्षेत्री, एरिसा गुरुङ र अनमोल राणाको अभिनय रहेको छ । भिडियो:

काठमाडौंः   प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन् । यात्रुको चाप बढेसँगै सडकमा गुड्ने सवारी साधनको सङ्ख्या पनि वृद्धि भएको छ ।   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अहिले सवारीको चाप केही बढेको बताउनुभयो । “उपत्यकाबाट औसत अवस्थामा दैनिक ४० हजारदेखि ४५ हजार जना यात्रु भित्रिने र सोही बराबर बाहिरिन्छन् । तर पछिल्लो २४ घण्टामा ४१ हजार पाँच सय तीन जना यात्रु उपत्यकामा आएका छन् भने ५५ हजार एक सय ४७ जना बाहिरिएका छन्”, भट्टले भन्नुभयो, “अहिले औसतभन्दा केही चाप बढेको छ ।” आजसम्म शैक्षिक संस्था र सरकारी कार्यालय सञ्चालनमै रहेकाले निर्वाचनका लागि बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य देखिनसकेको उहाँको भनाइ छ । “आजसम्म स्कुल र सरकारी कार्यालयहरू खुलै रहेकाले धेरै चाप छैन । भोलिदेखि बढ्न सक्छ”, भट्टले भन्नुभयो ।   बुधबार ५१ हजार चार सय ५० जना उपत्यका छिरेको र ५१ हजार तीन सय १९ जना बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा आवतजावत गर्ने सवारी साधनको सङ्ख्या हेर्दा आठ हजार १० सवारी साधन भित्रिएको र सात हजार सात सय नौ वटा सवारी साधन बाहिरिएका छन् । त्यस्तै बुधबार आठ हजार तीन सय ३६ वटा सवारी साधन उपत्यकामा भित्रिएका थिए भने सोही सङ्ख्यामा सवारी बाहिरिएका छन् ।   नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले कात्तिक अन्तिम सातायता सवारी साधन परिचालनमा चाप देखिएको बताउनुभयो । “पछिल्लो तीन–चार दिनयता देशभर रिजर्भ गाडीहरू बढी चलेका छन् । दैनिक बुकिङका गाडी पनि गइरहेकै छन् । यो क्रम शनिबारसम्मै चल्छ”, सिटौलाले भन्नुभयो, “अहिले सबैजसो दलले रिजर्भ गरेरै गाडी लगिरहेका छन् । दैनिकरूपमा टिकट काटेर चल्ने गाडीभन्दा रिजर्भ गाडीहरू बढी चलेका छन् । चुनावलाई मात्रै लक्षित गरेर पाँचदेखि छ लाख मानिस आवत–जावत गर्ने अनुमान हामीले गरेका छौँ ।”   लामो दूरीका सवारी साधनहरू शुक्रबार र छोटो दूरीका गाडीहरू शनिबारसम्म चल्ने उहाँको भनाइ छ । चुनावका लागि परिचालन भएका सवारी साधनको सङ्ख्या बढे पनि त्यसको व्यवस्थापन गर्न समस्या नरहेको सिटौलाले बताउनुभयो ।

पोखरा:   कोरोना भाइरसको महामारीपछि पोखरामा २० औं संस्करणको ‘समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेला हुने भएको छ ।    पोखरा उद्योग वाणिज्य संघको आयोजनामा आगामी १६ देखि २५ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   संघका अध्यक्ष पवन प्रजापतिका अनुसार उक्त मेलामा करिब २ सय ५० वटा स्टलहरु रहनेछन् । जसमध्ये ४५ वटा अटोका रहने छन् ।   उनले स्थानीयस्तरमा उत्पादन भएका समाग्रीको विक्रि तथा वितरण कृषिजन्य, हस्तकलाको प्रदर्शनी, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यसहित मेला आयोजना गरिएको जानकारी दिए । ‘यस व्यापार मेला नाफामूलक मेला नभइ यस क्षेत्रको समग्र पर्यटन प्रर्वद्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव हो ।’ उनले भने ।   उनले कोरोना भाइरसको महामारीका कारण २ वर्ष मेला आयोजना गर्न नपाएको बताए ।  ‘औधोगिक मेला २०४२ सालबाट निरन्तररुपमा आयोजना हुदै आएको छ । तर कोभिड १९ ले गर्दा २ संस्करणहरु आयोजना गर्न सकिएन, प्रजापतिले भने, ‘कोभिड १९  ले हाम्रो अभियान रोकियो  र संघको वार्षिक कार्यक्रमको रुपमा रहेको व्यापार मेलालाई यस वर्षदेखि फेरि निरन्तरता दिन लागेका छौं ।’    उनका अनुसार सो मेलामा सर्वसाधारणका लागि १ सय र विधार्थीका लागि ६० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । 

काठमाडौंः   नेपालले युएईलाई पराजित गर्दै युएइविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । तीन खेलको सिरिजमा नेपालले २–१ ले आफ्नो पक्षमा बनायो । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो । खेलमा युएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले । आसिफले अविजित रहँदै सर्वाधिक ८८ रनको योगदान दिए । उनले एक १९ बल खेल्दै १२ चौकाको मद्दतमा ८८ रन बनाएका हुन ।  त्यसैगरी ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरी शून्य रनमा रन आउट भए ।  युएईका हजरत बिलाल र आयन अफजल खानले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक ७६ रन बनाएको थियो । युएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले भने हजरत बिलालले अविजित २० रन बनाए । यस्तै अलिशन शराफुले ३३ रन बनाउदाँ रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।  नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २र२  विकेट लिए भने  सोमपाल कामी र ललित राजवंशीले समान १र१ विकेट लिएका थिए ।

काठमाडौं:   यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भएकाले सो अवधिमा प्रचारप्रसार गरिए कानुनबमोजिम कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ ।   मौन अवधिको पालना नभएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतलाई निर्देशन दिइएको छ ।   उक्त ऐनको दफा २४ (५) अनुसार कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न, अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने र सोही दफाको उपदफा (७) मा सो विपरीतका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।   निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेकाले निर्वाचन प्रचारप्रसारसम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई आयोगले लेखी पठाएको छ ।   मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिस्क मन्थनलगायत निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न–नगराउन तथा आफ्नो सामाजिक सञ्जालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोगले निर्देशन दिएको छ ।   मतदानका दिन मतदान केन्द्रको वरपर कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्केतिक अर्थ जनिने पोसाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकरलगायत पहिरन वा चिजवस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।   सो अवधिमा सामाजिक सञ्जाल तथा अनलाइन र सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्न– नगराउन र यसअघि गरिएका यस्ता विज्ञापन हटाउन सम्बन्धित सञ्चारमाध्यमलाई अनुरोध गर्नाका साथै सोको अनुगमन गर्न पनि विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ ।