काठमाडौं : नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रभाग गोंगबु काठमाडौंबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका-११ मनमैजु पुलबाट अन्दाजी साढे दुई किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा श्रेष्ठले सञ्चालन गरेको एसएस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा तथा रु २० हजारसहित फेला पारी उनलाई पक्राउ गरेको बताइएको छ। पक्राउ परेकी श्रेष्ठका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
स्याङ्जा: पेट्रोलमा मिसावट गरी बिक्री वितरण गर्ने पुतलीबजार ३ मजुवाको नेपाल आयल नेपाल पेट्रोल्युब सप्लायर्स प्रालिलाई जरिवाना गरिएको छ । पेट्रोलमा मिसावट गरी बिक्री गर्ने सञ्चालक तथा कर्मचारीलाई जरिवाना र पेट्रोल नष्ट गरिएको हो । मिसावट गरी पेट्रोल विक्री वितरण गर्ने पम्पका सञ्चालक कृष्णप्रसाद शर्मा, जनकराज शर्मा, भगवती (रेग्मी) शर्मा र सम्झना शर्मा नेपाललाई जनही एक लाख ८० हजार र कर्मचारी सुवास क्षेत्रीलाई एक लाख गरी आठ लाख २० हजार जरिवाना गरिएको हो । यस्तै, मिसावट गरी बेच्नका लागि उक्त समयमा तयार एक हजार ९१८ लिटर पेट्रोललाई डोजरको माध्यमबाट खाल्टो खनी नष्ट गरिएको हो । यस्तै, अपराध पीडित राहत कोषमा सञ्चालक चार जनाबाट जनही सात हजार दुई सय र कर्मचारी क्षेत्रीबाट चार हजार गरी ३२ हजार आठ सय जरिवाना गरिएको हो । ल्याब परीक्षणबाट पेट्रोल पम्पमा मिसावट गरी कमसल पेट्रोललाई असल र राम्रो पेट्रोल हो भनी झुक्याई बिक्री वितरण गरेकाले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ६ अनुसार नगद जरिवाना र पेट्रोल नष्ट गरिएको हो । पेट्रोल्युब सप्लायर्सबाट पेट्रोल भरी चलाइएका सवारी साधनहरुमा अचानक स्टार्ट नहुने समस्या देखापरेपछि जिल्ला प्रशासन कार्यालयले गत पुस २७ गते पेट्रोल्युब सप्लायर्स सिल गरेको थियो । पेट्रोल पम्प सिल गरेपछि पुस २८ गते नेपाल आयल निगम प्रादेशिक कार्यालय पोखराको टोलीले पेट्रोलको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । ल्याब परीक्षणमा पेट्रोलमा हुनुपर्ने गुणस्तर कायम नभएको भन्ने व्यहोराको परीक्षण प्रतिवेदन प्राप्त भएपछि जिल्ला प्रशासनले बेचबिखन गर्ने कार्यमा संलग्नलाई कानुन बमोजिमको कारवाही गरिएको प्रमुख जिल्ला अधिकारकी शशिधर घिमिरेले बताउनुभयो । नेपाल आयल निगमबाट पेट्रोल भण्डारण र बिक्री वितरण गर्न पम्प उपयुक्त भएको प्रमाणित भएपछि एक दुई दिनमा पम्प खुल्ने घिमिरेले बताउनुभयो । पेट्रोल पम्पको प्रारम्भिक परीक्षणबाट डिजलको अवस्था समान्य देखिएपछि डिजेल भने सोही समय बिक्री गर्न दिएको थियो । पेट्रोल्युब सप्लायर्सले पेट्रोलमा नियतवश नभई झुक्किएर डिजेल मिसिएको स्वीकार गरेको छ ।
ढल्केवर: रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि ल्याउन मधेश प्रदेशका सबै वडामा अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गरिने भएको छ । मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत जर्मनको बेल्ट हङ्गर हाइल्फ नामक संस्थाले मधेशका एक हजार दुई सय ७० वटा वडामा जैविक प्रविधिबाट अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गर्न लागेको हो । मधेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग सञ्चालनका लागि जर्मनको हाइल्स संस्थाले प्रस्ताव गरेको बताउनुभयो । प्रस्तावअनुसार कार्यान्वयन पक्ष पनि अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जमिन र भर्मी उद्योग सञ्चालन गर्न चाहने किसान आफैले बनाउनुपर्ने र त्यसबाहेक चाहिने मेसिन, प्रविधि, र प्रशिक्षणलगायत सम्पूर्ण सामान दातृ निकायले उपलब्ध गराउने छ । उद्योग सञ्चालनमा आएपछि रासायनिक मलमाथिको निर्भरता कम हुने र अर्गानिक मलको प्रयोगले जमिनको उर्वराशक्ति बढ्ने मन्त्री कुशवाहाको भनाइ छ । उद्योग सञ्चालनका लागि इच्छुक किसान, समूह र संस्थालाई आवेदन पेस गर्न आह्वानसमेत गरिएको उहाँले बताउनुभयो ।
काठमाडौं: नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला दुई हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३७ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ११ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९८ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ५० पैसा र बिक्रीमा २९ रुपैयाँ ६४ पैसा पाइन्छ। बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २२ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ५५ पैसा तोकिएको छ।
काठमाडौं : वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुरुवात गरिएको छ । सामाजिक सुरक्षा कोषले आजदेखि वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका लागि सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरीएको कोषले जनाएको छ । वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा रहेकी मञ्जु थपलियाको इनरोल रजिस्ट्रर गरिएको छ । प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल संग्रौलालाई कोषमा आवद्ध भएको परिचयपत्र हस्तान्तरण गर्दै योजनाको सुरुवात गरे । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा रहेको बताए । अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आवेदन दिन पाउने छन् ।
काठमाडौं: काठमाडौं गएराती ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–११ फ्रुटी कारखानास्थित सडकमा रोकिरहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३–०२–०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक बाग्लुङको जैनिनी नगरपालिका–६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा डकाक्टरले मृत घोषणा गरेका थिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
पोखरा: उच्च अदालत पोखराले सेती नदीमा हुँदै आएको दोहन रोक्न अन्तरिम आदेश जारी गरेको छ । घाटहरुबाट ढुंगा, माटो रोडा तथा बालुवा उत्खनन् गर्ने कार्यमा सम्बन्धित ठेकदारबाट ठेक्का सम्झौताका सर्तहरुको पालना नभएको हुँदा दोहन रोक्न अदालतले आदेश गरेको हो । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले स्वच्छ वातावरणीय हक एवं सन्तुलित पर्यावरणीय मान्यताका साथ हुनुपर्ने विकासको अवधारणामा प्रतिकुल असर पर्ने सक्ने भन्दै पोखरा महानगरपालिका वडा नम्बर १९ अन्तर्गतका घाटहरुको ठेक्का बन्दोबस्तीको कार्य नगर्नू नगराउनू भनी गत सोमबार अन्तरिम आदेश जारी गरेको हो । जारी आदेशमा भनिएको छ, ‘मुद्दाको अन्तिम टुंगो नलागेसम्म वडा नम्बर १९ अन्तर्गतका घाटहरुको ठेक्का बन्दोबस्तीको कार्य नगर्नू/नगराउनू भनी विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’ ठेक्का सम्झौता भएका घाटहरुबाट ठेक्का सम्झौता बमोजिमको ढुंगा, गिट्टी, बालुवा र रोडा निकाल्ने कार्य तत्काल बन्द नगर्दा र नगराउँदा निवेदक सहितका स्थानीय बासिन्दाको स्वच्छ वातावरणीय हक एवं सन्तुलित पर्यावरणीय मायन्यताका साथ हुनुपर्ने विकासको अवधारणामा प्रतिकूल असर पर्न सक्ने देखिएको अदालतको ठहर छ । वातावरण तथा मानवीय जीवनमा असर पर्ने गरी सरकारकै प्रत्यक्ष संलग्नतामा सेतीमा हुँदै आएको दोहन रोकी पाउँ भनी डाँडाबारी फाउन्डेसन पुरन्चौरका सचिव होमनाथ पौड्यालले ८ फागुनमा रिट दायर गरेका थिए । उच्च अदालत पोखराले महानगरपालिका १९ को घाटलाई रोक्न आदेश दिएपनि रामघाट लगायतका अन्य घाटहरुमा पनि दोहन रोकिएको छैन ।
दैलेख: दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । नेपालगन्जदेखि मनकामना ग्याँस सिलिन्डर बोकेर दैलेखतर्फ आउँदै गरेको भे. १ क २२०१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) किशोर लम्सालले दुर्घटनामा परी मिनि ट्रक चालक अन्दाजी ३० वर्षको कृष्ण चौधरी, अन्दाजी वर्ष २६ को कृष्ण चौधरी र अन्दाजी २३ वर्षको विष्णु चौधरीको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले मिनि ट्रक रोक्न लागेको बेला सडक बाट करिब एक सय ५० मिटर तल खसेको बताउनुभयो । घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख लम्सालले जानकारी दिनुभयो ।

