पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

ताप्लेजुङ:  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा भरुवा बन्दुकको छर्रा (गोली) लागेर एक जनाको मृत्यु भएको छ । गए राति सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका –३ हाङ्पाङका ५२ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय बीर  गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर गुरुङको मृत्यु भएको हो । हाङ्पाङस्थित कालीदह जङ्गलमा सिकार खेल्न गएका गुरुङको सोमबार राति करिब १० बजेतिर छर्रा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।   घटना लगत्तै हाङ्पाङ प्रहरी चौकीको टोलीले बीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको पनि कार्कीले बताउनुभयो । उहाँका अनुसार घटनाको मुचुल्कासहित कानुनी प्रक्रिया पुरा गर्न दोभान इलाका प्रहरी कार्यालय चाँगेबाट प्रहरी टोली गएको छ ।    घटनास्थलको कानुनी प्रक्रिया पुरा गरेर शव पोस्टमार्टमका लागि सदरमुकाम फुङ्लिङ ल्याइनेसमेत प्रहरीले जनाएको छ । यता घटनाको विषयमा थप अनुसन्धानको कार्य सुरु भएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

ढोरपाटन:  अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो । खासगरी काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँ यही बजार हुँदै जानु पर्छ । त्यसले गर्दा यहाँ व्यापार व्यवसाय पनि राम्रो हुने गरेको पाइन्छ ।   विसं २०५४ मा सडकले जोडिएको अक्षते बजारमा लामो समयसम्म बस्ती विस्तार हुनसकेको थिएन । पछिल्लो आधा दशकमा यहाँ घर भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भएको छ । कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्ने स्थानीय अहिले घरमै पाउँछन् । अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायतका गाउँका स्थानीयको नजिकको बजार बनेको छ ।   गाउँमा सडक सञ्जाले जोडिन थालेपछि यस ठाउँमा चहलपहल बढ्न थालेको स्थानीय ५६ वर्षीय तोरणध्वज मल्लले बताउनुभयो । उहाँले एक दशक अगाडिसम्म अक्षतेमा दुई–चारवटा घरमात्रै रहेकामा अहिले दिनप्रतिदिन बढ्दै गएको सुनाउनुभयो । साढे दुई दशक पहिले यो ठाउँ सडक सञ्जालले जोडिए पनि पूर्वाधारका हिसाबले पछाडि परेको भन्दै अहिले सबै किसिमका सेवा–सुविधा थपिँदै गएपछि बस्तीसमेत विस्तार हुँदै गएको मल्लको भनाइ छ ।   उदयमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै लाग्नुपर्ने बताउनुहुन्छ । ढल व्यवस्थापन, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उहाँको भनाइ छ । अहिले बजार व्यवस्थापनका खाका नकोरे पछि समस्या आउने मल्ल बताउनुहुन्छ । खानेपानी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पनि सरकारले काम गर्न बाँकी रहेको उहाँ सुनाउनुहुन्छ ।   “अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो, सडक नआउनुभन्दा पहिले यहाँका मान्छे नुन– तेल ल्याउन पर्वतको कार्कीनेट पुग्थे, एक दिनमै गएर आउन गाह्रो पथ्र्यो, बागलुङ बजारमा पनि गाडी आइसकेको थिएन”, मल्लले भन्नुभयो, “अहिले त पहिलेको जस्तो समस्या छैन, सबै सेवा–सुविधा घरै अगाडि आएका छन्, यहाँ नपाएको सुविधा आधा घण्टामै बागलुङ बजारमा पुगेर लिन सकिन्छ ।”   स्थानीय तलबहादुर पुनले अक्षतेमा सेवा–सुविधा बढ्न थालेपछि ग्रामीण क्षेत्रबाट झरेर बसाइँ गर्न थालेको बताउनुभयो । पहिले यस ठाउँ खेतीयोग्य जमिन रहेको सुनाउँदै अहिले बजारका रूपमा विकास भएको पुनको भनाइ छ । सबैभन्दा पहिले यहाँ एसियाली विकास बैंक (एडिबी)ले सडक खुलाएको भन्दै पछि सरकारले मध्यपहाडी लोकमार्ग बनाएपछि अक्षतेले मुहार फर्दै गएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “अहिले जुन बजार बन्दै गरेको ठाउँ छ, यहाँ खेतीपाती हुन्थ्यो, धान, गहुँ र मकै फल्थ्यो, पछि–पछि बस्ती विस्तार हुँदै गएपछि खेतीयोग्य जमिनमा घर–भवन बन्न थाले, अहिले धेरै परिवर्तन भएको छ यो ठाउँ, पहिले सडक साँघुरो थियो, अहिले हिलो धुलो भए पनि अलि फराकिलो भएको छ, सडक कालोपत्र गर्ने काम पनि हुँदैछ ।   काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले गाउँपालिकाले बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि योजना बनाएको बताउनुभयो । घर भवन निर्माण लागि मापदण्डसमेत लागू गर्ने तयारीमा रहेको भन्दै जग्गा वर्गीकरण पनि गरिरहेको बताउनुभयो । पालिकाअन्तर्गत पर्ने बजारमा दीर्घकालीन व्यवस्थापन गर्ने गरी पालिकाले योजनाको सुनाउनुभयो ।   “गाउँ तथा बजार सबैतिर पालिकाले धेरै काम गर्नुपर्ने छ, अक्षते बजार काठेखोला गाउँपालिकाको मुख्य बजार रहेको हुँदा यहाँको सौन्दर्यकरणदेखि फोहर व्यवस्थापन, ढललगायत अन्य व्यवस्थापकीय पक्षलाई के–कसरी सुधार गर्न सकिन्छ र दीर्घकालीन हुनसक्छ भनी अध्ययन गरेका छौँ”, उहाँले भन्नुभयो, “अब विस्तारै यहाँको विकास र व्यवस्थापका काम हुँदै जाने छन् ।”

पोखरा:    प्रेस क्लब गण्डकीले सोमबार ‘कोभिड १९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  विश्व रंगमञ्च दिवसको अवसरमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिएको कार्यक्रममा सबैको सामुहिक प्रयासमा पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा वत्ताहरुले जोड दिए । अहिले भइरहेका गतिविधिमा मात्र सन्तुष्ट नभई भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्न सकेमा यसको भविष्य सुन्दर हुन सक्ने उनीहरुको भनाई थियो । उनीहरुले नाटक क्षेत्रमा लाग्ने रंगकर्मीको दक्षता वृद्धि गर्न पोखरामा नाटक सम्बन्धी अध्ययन गर्नको लागि एकेडेमी आवश्यक भएको समेत औल्याए । यो क्षेत्रमा देखिएका केही समस्याका बारेमा समेत उनीहरुले खुलेर कुरा गरें । वक्ताको रुपमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल रहेका थिए ।  कार्यक्रमको सहजिकरण क्लबका उपाध्यक्ष राजाराम पौडेलले गरेका थिए । कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले प्रतिष्ठान स्वायत्त हुन नसक्दा कला क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको बताए । उनले पोखरामा सुविधा सम्पन्न थिएटर आवश्यक रहेको भन्दै त्यसको निर्माणमा सबैजनाले पहल गर्नु पर्ने कुरामा जोड दिए । प्रतिष्ठानले नियम विनियमहरु निमार्ण गरे पनि कार्यान्वयनमा जान नसक्दा पोखराको कला क्षेत्रमा उल्लेख्य काम गर्न नसकेका स्विकारे  । प्रक्रियागत झन्झटिललाका कारण समेत काम गर्न समस्या भएको उनले सुनाए । यति हुँदा हुदै समेत पोखरामा भइरहेका रंगमञ्चिय गतिविधिमा सधै साथ सहयोग गर्दै आएको र निरन्तरता दिने उनले खुलाए । पोखरा थिएटरका अध्यक्ष परिर्वतनले सधंै राज्यको मुख ताक्नु गलत रहेको बताए । राज्यले नीतिगत रुपमा प्रोत्साहान गरेर पोखरामा नाटक सम्बन्धी अध्ययन गर्नको लागि नाट्य एकेडेमी संचाल गर्नुपर्ने र आवश्यकता औल्याए । विद्यालयको पाठ्यक्रम निमार्ण गर्दा नाटकलाई समेत समावेश गरी स्थानीय र प्रदेश सरकार लाग्न सके नाट्य क्षेत्रको भविष्य उज्वल हुने उनको भनाई थियो । हाल १३ जना कलाकारलाई पूर्णकालीन कलाकारको रुपमा थिएटरमा जोडेको र यो संख्या २० पु¥याउने आफूहरुको लक्ष्य रहेको उनले खुलाए । कोरोनाको कारण समस्यामा परेको यो क्षेत्र पुनः पुरानै अवस्थामा फर्किएको जनाए । आगामी दिनको लागि तय गरेका केही योजना उनले सुनाए । गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य जसुमाया गुरुङ जसुले पोखरामा भएका रंगमञ्चिय गतिविधि निरन्तर हुन जरुरी रहेको बताइन् । नाटकको माध्यमबाट प्रदेशको कला स्थानीय संस्कृतीहरुको संरक्षण हुने र नयाँ पुस्तामा लोक संस्कृतीको हस्तान्तरण हुने बताइन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले नाट्य क्षेत्रसँग सम्बन्धीत गतिविधिमा निरन्तर सघाउने भनाई उनको थियो । पोखरामा भइरहेका नाट्य गतिविधिले नयाँ पुस्ताको ध्यान खिच्न सफल भएकोमा खुशी व्यक्त गरिन् । इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले पोखराका रंगकर्मी परिवर्तन हुन आवश्यक रहेको बताए । पोखराले नाट्य क्षेत्रमा अझै फराकिलो गरी सोच्नुपर्ने उनको भनाई थियो । राज्यका निकायले प्रदान गर्ने सहयोग कम भएको प्रति चिन्ता व्यक्त गर्दै दिने भनिएको सहयोग समेत समयमा पाउन नसक्दा समस्या हुने गरेको खुलाए । संख्यात्मक रुपमा भन्दापनि गुणात्मक रुपमा नाटक निर्माण हुनुपर्नेमा उनको जोड थियो । उनले कार्यक्रम र तालिमका क्रममा विभिन्न देश पुग्दाको अनुभव समेत सुनाए । कार्यक्रममा सहभागी मदनराज थापा, सन्तोष बस्याल, लक्ष्मण डुम्रे, आशा मगर लगायतले समेत अबको बाटो सुन्दर बनाउन सुझाब दिएका दिएका थिए । पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरको सहकार्यमा कार्यक्रम गरिएको हो । क्लबका अध्यक्ष एकराज गिरी र सचिव गौरव त्रिपाठीले पनि प्रेस क्लब तथा अन्तरक्रिया कार्यक्रमको महत्वका बारेमा प्रष्ट पारेका थिए । सोही कार्यक्रममा पोखरा थिएटरको प्रस्तुतीमा आगामी बैशाख १ गतेदेखि ९ गतेसम्म मञ्चन हुने नाटक उर्वशी सूक्तको पोष्टर सार्वजनिक समेत गरिएको थियो । शिव संकल्पले परिकल्पना तथा लेखन गरेको नाटकको निर्देशन त्रिवेणीले गर्दैछन् । विश्व रंगमञ्च दिवस हरेक वर्ष मार्च २७ मा मनाइन्छ । अन्तराष्ट्रिय रंगमञ्च संस्थानद्धारा सन् १९६२ बाट यो दिवस मनाउन थालिएको हो ।    

काठमाडौँ:  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी सेवा पूर्णरुपमा डिजिटल बन्न नसकेको बताएका छन् । प्राधिकरणसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष खनालले सरकारी सेवा नाम मात्रैको डिजिटल रहेको बताएका हुन् ।   ‘सरकारी निकायले डिजिटाइज भनेपनि पुरानै तरिकाले अघि बढेको छ,’ खनालले थपे, ‘हिजो भौतिक रूपमा हुने काम अनलाइनबाट त्यही प्रक्रियामा रहेको छ । डिजिटल रिइन्जिनियरिङ हुन सकेको छैन,’ उनले भने, ‘प्रविधिको प्रयोग भनेपनि भौतिक रूपमा गर्ने कमलाई कपी गरेर डिजिटलाइज गर्ने काम भएको छ ।’   डिजिटल इकोनोमीको अवधारणसँगै डिजिटल मनिटरिङ सिस्टम नहुँदा कर नतिरेको विषय सिस्टमले थाहा पाउने अवस्था नरहेको खनालको भनाइ थियो । ‘ग्राहकलाई जनचेतना आवश्यक रहेको छ । आफूले सुविधा नपाए गुनासो सम्बन्धित निकायसँग गर्नु पर्छ,’ अध्यक्ष खनालले भने, ‘गुणस्तरको विषय सुविधाको लागि विद्युत्, सडक लगायत निकायको समेत प्राथमिकता दिनुपर्छ ।’   ‘कुनै निकायले तार काटिँदा इन्टरनेट अवरुद्ध हुने गरेको छ । विद्युतको पावरको कारण इन्टरनेट गुणस्तरमा फरक परिरहेको छ,’ खनालले थपे, ‘सरकारी जग्गामा टावर राख्न वर्षौँ वन मन्त्रालयबाट रोकिन्छ । सरकारी भवनमा टावर राख्ने कुनै कानुनी व्यवस्था नहुँदा अप्ठेरो ।’   ‘डाटा सेक्युरिटी सम्बन्धी नीति अभाव रहेको छ । बायोमेट्रिक कसले लिन पाउने भन्ने स्पष्ट नहुँदा सेवाग्राहीले दुःख पाइरहेको समेत खनालले बताए । यस्तै, पोलिसीले प्राथमिकता पाउनु पर्ने ठाउँमा राजनीतिक एजेन्डाले बनाएको खनालको धारणा रहेको छ ।

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। उनले मिटरब्याजी पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग सम्बोधनमा सरकारको ध्यानाकर्षणसमेत गराए।   शाहले भने, ‘सधैं काठमाडौं आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ। हिजो ११ दिन हिँडेर काठमाडौं आउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरूसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गयौं तर, उहाँहरु खुल्लामञ्चमै बस्न खोज्नुभयो।’   विगत केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सीमित रहेको बताए। शाहले भने, ‘हामीले सम्झाएर रत्नपार्कको शान्तीवाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेका छौं र उहाँहरूको मागप्रति एक्यबद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाँहरूको समस्या समाधानका लागि जोडदार माग राख्छौं। हामी चाहन्छौं यस्तो अवस्था मा काठमाडौं कोही आउन नपरोस्, गाउँ गाउँमा सरकार पुगोस्।' 

काठमाडौं :  राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान गरिएको छ।   उनलाई नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा आज सम्मान गरिएको हो।   खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन सफल भएको भन्दै उनलाई प्रतिनिधि सभा सांसद विनोद चौधरीले सम्मान गरेका हुन्।   क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धिले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको चौधरीले बताए।   आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने चौधरीले बताए।   कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताए।   ‘अब हाम्रो एउटा मात्रै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो। त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने नै हो,’ उनले भने।   उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेका थिए।   नवलपरासी बर्दघाट–१४ का पौडेललाई यसअघि बर्दघाट नगरपालिकाले पनि सम्मान गरेको थियो।

काठमाडौं : थप ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट १२६६ नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४८८ र एन्टीजेनबाट७७८ नूमना परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ४४ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा एक जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ६६ पुगेको छ।

काठमाडौं: हरेक वर्ष नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिक सत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो सदनदेखि सडकसम्म दोहोरिने हरेक वर्षको नियति जस्तै थियो ।   छपाइको जिम्मेवारी पाएका निकायले पनि टालटुले जवाफ दिएर पन्छने गरेका थिए । सर्वत्र विरोध, चासो र चिन्ता हुँदा पनि तालुकदार निकायले पनि स्पष्ट जवाफ दिने गरेको थिएन । तर, यसपटक अवस्था फेरिने विगतको जस्तो अवस्था नदोहोरिने उनीहरूको दाबी छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नियमित चासोपछि यसप​टक विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने सम्भावना बढेर गएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका प्रधानमन्त्री प्रचण्डले नियमित चासो देखाउनुभएपछि छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले छपाइ र ढुवानी तीव्र बनाएको छ ।   केन्द्रका अनुसार आजसम्म कूल एक करोड ३५ लाख थान पाठ्यपुस्तक छपाई सम्पन्न गरेको छ । अब कूल १५ लाख थान पुस्तक छाप्न बाँकी छ । सातदिनभित्रै सबै पुस्तक छपाई सक्ने केन्द्रको दाबी छ ।   गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री प्रचण्डले विशेष चासोका साथ पाठ्यपुस्तक छपाई र वितरणमा लाग्न केन्द्रलाई शिक्षा मन्त्रालयमार्फत निर्देशन दिनुभएको थियो ।   विवरणअनुसार कक्षा छ का लागि कूल २८ लाख ५० हजार पुस्तक आवश्यकमध्ये हालसम्म २८ लाख थान छपाई भइसकेको छ । कक्षा सातका लागि पनि समान २८ लाख ५० हजार थान पाठ्यपुस्तक आवश्यकमध्ये २८ लाख पाठ्यपुस्तक छपाई भइसकेको केन्द्रका प्रबन्ध निर्देशक अनिल झाले जानकारी दिनुभयो ।   यस्तै, कक्षा आठका लागि २९ लाख थान पाठ्यपुस्तक चाहिनेमा आजसम्म २२ लाख थान पुस्तक छपाई भइसकेको छ । थप सात लाख थान पुस्तक छाप्न बाँकी छ । कक्षा ९ का लागि ३२ लाख थान पाठ्यपुस्तक चाहिनेमा हालसम्म २९ लाख पुस्तक छपाई भइसकेको छ । बाँकी रहेको तीन लाख थान पुस्तक चैतभित्रै छपाई र वितरण गरिसक्ने केन्द्रको तयारी छ । साथै कक्षा १० का लागि ३२ लाख थान पुस्तक चाहिनेमा हालसम्म कूल २८ लाख थान छपाई भइसकेको र अब चार लाख थान छपाई हुन बाँकी रहेको केन्द्रको दाबी छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छपाई र वितरणको सूचना हरेक दिन उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पनि पाठ्यपुस्तक छपाई र वितरणमा कुनै पनि समस्या आउन नदिन केन्द्रलाई बारम्बार निर्देशन दिनुभएको छ ।   “नियमितरुपमा अनुगमन पनि भइरहेको छ । छपाइको गुणस्तरमा समेत ध्यान दिइएको छ”, झाले भन्नुभयो, “सम्बद्ध निकायबाट प्राप्त निर्देशनलाई अक्षरशः कार्यान्वयन गरिएको छ ।”   चैतभित्रै सबै विद्यालयमा पुस्तक पुर्‍याउने योजनाका साथ केन्द्रले काम गरिरहेको उहाँको भनाइ छ । यसका लागि लागि देशभर आठ वटा वितरण केन्द्रमा यही चैत २० गतेभित्रै पुस्तक पुर्‍याइनेछ । हालसम्म ती वितरण केन्द्रमा एक करोड थानभन्दा बढी पाठ्यपुस्तक पुगिसकेको छ ।   शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीले पुस्तक नपाउँदा विगतका वर्षमा सरकारको आलोचना हुने गरेको थियो । यसपटक भने समयमै पुस्तक पुर्‍याउन हरसम्भव प्रयास गरिएको प्रबन्ध निर्देशक झाको भनाइ छ ।   केन्द्रले कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक भने निजी क्षेत्रलाई जिम्मा दिएको छ । आगामी वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुवेदीले सबैको चासो, नियमित अनुगमनलगायतका कारणले गर्दा यसपटक विद्यार्थीले समयमा नै पाठ्यपुस्तक पाउने सुनिश्चितता भएको जानकारी दिनुभयो ।   उहाँले निजी क्षेत्रका छापाखानाले पनि समयमै छपाई सम्पन्न गरी वितरण गर्ने विश्वास मन्त्रालयले लिएको बताउनुभयो । निजी छापाखानाको अनुगमन र विवरण भने पाठ्यक्रम विकास केन्द्रले दैनिकरुपमा लिइरहेको छ ।  

काठमाडौं : सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ।   मालपोत कार्यालयमा लागू भएको भू-राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहज रूपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ।    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध नभएका कार्यालयलाई वैशाख २ र आगामी असार मसान्त गरी दुई चरणमा यो काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी दिए।   भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीले सबै कार्यालयले विद्युतीय सूचना प्रणालीको प्रयोग गरी सेवा प्रवाहलाई चुस्त र सदाचारयुक्त बनाउन प्रयास भइरहेको बताए।    मन्त्रालयका सचिवसहितका पदाधिकारीको सहभागितामा भर्चुअल प्रणालीबाट सञ्चालित  कार्यक्रममा विभागका सूचना प्रविधि निर्देशक राजकुमार महर्जनले सूचना प्रविधिको प्रयोगमा आउने प्राविधिक समस्या विभागले तत्काल सम्बोधन गर्ने विश्वास दिलाए।   पछिल्लो समय मन्त्रालयले मालपोत र नापी कार्यालयका कर्मचारीसँग नियमित सम्पर्क गरी काम चुस्त बनाउन समन्वय संयन्त्रलाई प्रभावकारी बनाउन जुममार्फत सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालन गर्दै आएको छ।   बैंकमा जग्गा रोक्का राख्ने प्रणाली पनि अब अनलाइनबाटै हुने भएको छ। विभागले यसअघि मेगा बैंकसँग यस्तो सम्झौता गरेकामा अब प्राइम बैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक र अरू बैंक पनि यसमा आबद्ध हुँदै गएको जानकारी दिइएको छ।