बागलुङ: नेपालको एक मात्रै सिकार पर्यटन सञ्चालन हुने क्षेत्र ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको अन्तिम सिकार पर्यटन सुरु भएको छ । सिकार खेल्नको लागि विदेशी पर्यटकहरू हेलिकप्टरमार्फत सिकार ब्लकमा पुगेका हुन् । यस वर्षको दोस्रो याममा १२ नाउर र नौ झारलको सिकार हुनेछन् । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीले पेशेवर विदेशी सिकारीलाई आरक्षमा सिकार गराउने भएका हुन् । यस वर्षको दोस्रो याम (फागुन–वैशाख) को लागि सात कम्पनीबाट आठ देशका सिकारीहरूले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो । नेपाल वाईल्ड लाइफ एडभेन्चर, सफारी आउट्फिटरस काठमाडौंबाट युएसएका सिकारीले फागुनेमा १ नाउर र १ झारल, श्री हिमालयन वाईल्डफाईफ आउटफिटर्स काठमाडौंबाट युएसएका सिकारीले बार्सेमा १ नाउरको सिकार हुनेछन् । यस्तै, श्री ट्याक्स एन ट्रेल्स प्रा.लि. काठमाडौंबाट क्यानडाका सिकारीले घुस्तुङमा १ नाउर र १ झारलको सिकार गर्ने छन् । श्री ग्लोबल सफारिज नेपाल प्रा.लि. काठमाडौंबाट हंगेरीका सिकारीले गुस्तुङ (रुकुम पूर्व)मा १ नाउर र १ झारल तथा फ्रान्सका सिकारीले सुनदह (रुकुम पूर्व)मा १ नाउर र १ झारलको सिकार गर्ने अनुमति पाएका छन् । श्रीओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौंबाट पोर्चुगलका सिकारीले सुनदहमा १ नाउर, श्री नेपाल ट्राभल एक्पेडिसन प्रा.लि. ललितपुरबाट पोल्याडका सिकारीले दोगाडीमा १ नाउर, रसियन सिकारीले दोगाडीमा १ नाउर र घुस्तुङमा १ झारल, स्पेनिस सिकारीले वार्सेमा १ नाउर र गुस्तुङमा १ झारल र श्री हिमालयन सिफारिस प्रा.लि. काठमाडौंबाट तीन जना अमेरिकाका सिकारीहरूले सिकार गर्ने भएका छन् । उनीहरूले दोगाडीमा १ नाउर र सेङमा १ झारल, सेङमा १ नाउर र सुनदहमा १ झारल, दोगाडीमा १ नाउर र गुस्तुङमा १ झारलको सिकार गर्ने अधिकृत कँडेलले बताउनुभयो । सिकार गर्न दुई जना सिकारीहरू ढोरपाटन आइपुगेको अधिकृत कँडेलले बताउनुभयो । श्रीओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौँ कम्पनीबाट सुनदहमा १ वटा नाउरको सिकारको लागि पोर्चुगलका सिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएल र श्री हिमालयन वाईल्डलाईफ आउटफिटर्स, स्युचाटार काठमाडौंबाट बार्सेमा १ नाउरको सिकारको लागि युएसएका चाल्र्स हेरोल्ड वेकल आरक्ष आइपुगेको बताउनुभयो । अन्य सिकारीहरू आउने क्रम जारी छ । विभागले अघिल्लो (फागुन) महिना सिकारका लागि पेशेवर सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आव्हान गरेको थियो । यस पटक सिकारीहरूले एउटा नाउरको पाँच लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि तीन लाख १० हजार रुपियाँ राजश्व तिरेको अधिकृत कँडेलले जानकारी दिनुभयो । अघिल्लो (पहिलो) याम (असोज–मङ्सिर) मा एउटा नाउरको २० लाख पाँच हजार र झारलको ६ लाख रुपियाँ राजश्व बुझाइएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ । यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको मात्र सिकार भएको थियो । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथ प्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । आरक्षणमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो सिकार आरक्ष फैलिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा सिकार गराउने गर्छ । वि.सं. २०४४ सालमा स्थापना भएको आरक्ष एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ मादी गाउँपालिकाको दोश्रो अधिवेशनले सिर्जना अर्याल पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा बृहस्पिति सापकोटा, सचिव विजयराज अधिकारी,कोषाध्यक्षमा कृष्णकुमारी सुवेदी आचार्य र सदस्यहरुमा मिनाकुमारी अधिकारी,लक्ष्मी अधिकारी,धनकुमारी पट्यानी,अप्सरा देवकोटा,राम पौडेल र खडक बहादुर आले निर्वाचित हुनु भएको छ । त्यसै गरि अधिवेशनले गण्डकी प्रदेश प्रतिनिधिमा हिमलाल आचार्य, विष्णुप्रसाद गौतम, रामचन्द्र अधिकारी, बुद्धिसागर सापकोटा, गोमा गुरुङ, कमला सापकोटा, शान्ति रानाभाट र वुद्धिमाया बराल सापकोटा र वम बहादुर क्षेत्री, इन्द्रबहादुर खत्री, हरिप्रसाद सापकोटा, विष्णुकुमारी पौडेल, शान्ति सापकोटा र पवित्रा गौतमलाई जिल्ला प्रतिनिधि चयन गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवम् कास्की समन्वय समितिका उपप्रमुख सरिता कुमालले अधिवेशनको शुभारम्भ गर्दै महिला नेतृत्व विकासमा सामुदायिक वन वरदान सावित बनेको विचार व्यक्त गर्नुभयो । महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले नेपाल सगरमाथा र बुद्ध जन्मभूमिसंगै पछिल्लो समय सामुदायिक वनको देशको रुपमा विश्वसामु परिचित हुन सफल भएको उल्लेख गर्नुभयो । महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले कानूनी अडचनका कारण सामुदायिक वन समूहमा काठ कुहिने र विदेशबाट खरवौ मुल्य वरावरको काठ आयात हुँदा मुलुकमा हरित रोजगार सिर्जना हुन नसकेको बताउनुभयो । मादी गाउँपालिका वडा नं. १२ का वडाअध्यक्ष कृष्णराज दाहालले वन समुह र पालिकाको सहकार्यमा वनलाई आयआर्जनको माध्येम बनाउनुको विकल्प नभएको बताउँदै वन तथा वातावरण क्षेत्रको विकासमा पालिकाको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्थानीय महासंघका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, सचिव सिर्जना पौडेल लगायतले मानव वन्यजन्तुद्धन्द व्यवस्थापनमा तीनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा सामूहिक धारणा राख्नु भएको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा आगामी चैत १५ गते (बुधबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयानुसार सार्वजनिक विदा दिइएको हो । प्रदेश राजपत्रमासमेत उल्लेख भएको सो विदाका दिन प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए । हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ ।
नवलपुर: नवलपुरको विनयी त्रिवेणीगाउँपालिकाको सर्दीमा आज (शनिबार) बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा ९ वटा बम फेला परेको हो । बारीमा गाडिएको अवस्थामा बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालबालिकाले खेल्ने क्रममा बम देखेपछि खबर गरेको र हेर्न जाँदा बम भेटिएको थियाे । प्रहरीका अनुसार याे बम शक्तिशाली मानिन्छ ।
काठमाडौं: आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो । यसदिन सेन्सेटिभ इन्डेक्स समेत ५.०१ अंकले घट्दै ३५६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २६ अङ्कमाथिले घटेको बजारमा आज १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । माया खोला हाइड्रोपावर कम्पनी र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले र ९.९८ प्रतिशतले बढेको छ भने आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०–१० प्रतिशतले घट्न पुगेको छ ।
पोखरा: पोखरामा फेसन डिजाइनर कन्टेष्ट तथा फेसन सो कार्यक्रम हुने भएको छ। नयाँ बर्षको अबसर पारेर वाउ इभेन्ट्सको आयोजना एवम् वाउ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा चैत्र ३० गते कन्टेष्ट तथा फेसन सो गर्न लागेको फेसन सो कार्यक्रमका संयोजक रबिन गरुङले जानकारी दिए। फेसन प्रति लगाव हुनेहरुको प्रतिभा प्रष्फुटन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको गुरुङले बताए। उनका अनुसार फेसन सो कार्यक्रम समाजमा समस्यामा परेका आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सहयोग पुग्ने उदेश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम पश्चात् वाउ स्कुलले १० जना महिलालाई निशुल्क फेसन डिजाइन अध्यन गराउने पनि गरुङले बताए । फरक खालको थिममा पोखरामा नै पहिलोपटक हुन् लागेको फेसन सो कार्यक्रममा फेसन डिजाइनमा अध्यनरत डिजाइनरहरु काठमाडौं, पोखरा, धरान, इटहरी, बाग्लुङ लगायतबाट ९० जना फेसन बिधार्थी बीच डिजाइनर प्रधिस्पर्धा हुनेछ। फेसन सो कार्यक्रममा डिजाइनर प्रतियोगिता बिधामास् डिजाइनर अफ द इयर पोखरा, काठमाडौं, धरान, इटहरी, बाग्लुङ लगायतको बिधामा अवार्ड प्राप्त गर्ने कार्यक्रम संयोजक गुरुङले बताए । कार्यक्रममा सोको विभिन्न कन्सेप्ट अनुसार फ्ल्यास ब्याग, फ्युचर स्ट्रिक, बाइडल, स्पिरिङ्ग, समर र एथोनिक थिममा १८ जना मोडलहरुलाई प्रस्तुत गरिने फेसन सो कार्यक्रमका कोरियो ग्राफर जयन्ती मोक्तानले जानकारी गराइन। यस्ता खालका फेसन सोस्ले मोडल एवम् डिजाइनरको बिकासलाई पनि सहयोग पुग्ने र भोलीका दिनमा उनीहरुलाई अगाडी बढ्न आत्मविश्वासमा सकारात्मक भुमिका खेल्ने भएकाले आफुहरुले कार्यक्रमको आयोजना गरेको मोक्तानले बताइन् ।
पोखरा: प्रेस क्लब गण्डकीले तीन जना सल्लाहकार चयन गरेको छ । पोखरामा बसेको क्लबको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघकै पूर्व केन्द्रीय सदस्य सुष्मा कुमारी पौडेल र नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई सल्लाहकारमा चयन गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । यसैगरी मञ्चले यहीं चैत्र १३ गते सोमबार ‘कोभिड–१९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गर्ने भएको छ । बिहान ८ बजे पोखरा थिएटरमा आयोजना हुने कार्यक्रमा वक्ताको रुपमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, इन्दे्रणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल रहेका छन् । कार्यक्रमको सहजीकरण पत्रकार राजाराम पौडेलले गर्ने प्रेस क्लब गण्डकीले जनाएको छ । कार्यक्रम पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरसँगको सहकार्यमा हुन लागेको हो । यस अगाडि प्रेस क्लबले ‘स्ववियु आवश्कता र औचित्य’ विषयक अन्तक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । प्रेस क्लव गण्डकीको हालै प्रथम अधिवेशनले एकराज गिरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । जसको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सहसचिवमा दीपा पौडेल भण्डारी छन् । कार्यसमिति सदस्यमा आशिष पुरी र संकल्प ढुंगाना छन् ।
पोखरा: नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा एक दिने निःशुल्क आँखा शिविर पत्रकार महासंघ कास्किको परिसरमा हुने भएको छ । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस र नेत्रज्योति सङको ४५ औ स्थापना दिवसको उपलक्षमा चैत्र १३ गते देशका सातै प्रदेशमा रहेका पत्रकारहरुका लागि निशुल्क शिविर आयोजना गर्ने समझदारी बमोजिम गण्डकी प्रदेशको लागि पोखरामा चैत्र १३ गते सोमबार बिहान ८ बजे देखि १२ बजेसम्म सिविर आयोजना गरिने तय भएको छ । शिविरमा आँखा जाँच गराउने पत्रकारहरुको लागि आवश्यक परेमा चस्मा देखि शल्यक्रिया समेत निशुल्क गरिने ब्यबस्था मिलाइएको नेत्रज्योति सङ कास्किका अध्यक्ष कृष्ण बहादुर गुरुङले बताए । “हाम्रो कर्तब्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी ” नारालाइ सार्थकता प्रदान गर्दै सामाजिक उत्तरदायित्वको भुमिका निर्बाह गर्न राष्ट्रको चौथो अङको रुपमा रहेको पत्रकारहरुका लागि शिविर सन्चालन गर्ने केन्द्रको नीति निर्देशन बमोजिम पोखरामा हिमालय आँखा अस्पतालले जिम्मेवारी पाएको नेत्रज्योति संघ कास्कीका सचिब सुरेन्द्र थापाले बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सयोजन र नेत्रज्योति संघ अन्तर्गत रहेको हिमालय आँखा अस्पतालको आयोजनामा हुने शिविरको तयारी पूरा भएको पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सचिव यदुनाथ बन्जाराले बताए ।
काठमाडौँ: नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो ‘भीष्म प्रतिज्ञा’ भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा कुँवरले भने–‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो, त्यसबाट म किञ्चित पनि डगमगाउने छैन ।’ प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने अवस्था नभएको कुँवरले बताए । ‘प्रहरी समाजकै अङ्ग हो, त्यसैले राम्रा नराम्रा सबै समाजका पात्र नै आउने हुन्’ आईजीपी कुँवरले भने–‘यहाँ सुधार आवश्यक छ, अब बाटो बिराएकाहरू सुध्रिनुको विकल्प छैन ।’ विधिको शासन र मानव अधिकारको प्रत्याभूति गराउन प्रहरी उच्च सतर्कताको साथ परिचालित भएको उल्लेख गर्दै नवनियुक्त आईजीपी कुँवरले प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने बताए । प्रहरीको वृत्ति विकासमा अवसरको पहुँचमा निष्पक्षता कायम गर्ने कुँवरले दाबी गरे । ‘यहाँ सुधार आवश्यक छ’ कुँवरले भने–‘ अब त्यसका लागि दिन गनेर बस्ने अवस्था छैन ।’ अनुचित प्रभाव र दबाबका सामु कहिल्यै सम्झौता नगर्ने कुँवरले बताए ।

