काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले चिन्तित बनाएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ। राष्ट्रपति पौडेलले भने, ‘सरकारले पूर्णता पाइसकेको छैन। सरकारले पूर्णता पाएलगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु।’ वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलले बताए। मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथ प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए। अध्यक्ष मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन। उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ।’ पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए। आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने अध्यक्ष मल्लले बताए। बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा उनको जोड थियो। कर्जा प्रवाह गरिँदा ब्याजदरमा लकअप प्रणाली लागू गरिनुपर्ने उनले बताए। लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरू मर्कामा नपर्ने चेम्बरको ठहर छ। बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रीकरण एवं वैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन सकिने मल्लले बताए। कृषि कर्जा प्रवाह गर्दा खेत किन्नेलाई नभई खेती गर्नेले पाउने व्यवस्थाका लागि पनि अध्यक्ष मल्लले राष्ट्रपति पौडेलको ध्यानकर्षण गराए।
काठमाडौं : वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो,हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन्। पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन्। ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन्। स्व.ताम्राकारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौं : मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने भएको छ । औपचारिक रुपमा माओवादी केन्द्र गण्डकीको संसदीय दलको बैठक शुक्रबार बिहान बसी सरकारबाट बाहिरिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले बताए । ‘केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्देशन गरेको छ, मन्त्री चुमानले भने, ‘भोलि बिहान दलको बैठक बस्दै छौं, औपचारिक निर्णय बिहान नै गछौं ।’ नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा पर्ने छ ।
पोखरा: आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि देशको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुदैछ । रिक्त रहेको बाराको निर्वाचन क्षेत्र नम्बर २, चितवनको क्षेत्र नम्बर २ र तनहुँको निर्वाचन क्षेत्र नम्बर १ मा एकसाथ उपनिर्वाचन हुनेछ । सोही दिन तनहुँमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट विभिन्न नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । जसमा जिल्ला स्तरीय नेतादेखि हेभीवेटका केन्द्रीय नेताहरुसम्मको चर्चा छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत भइसकेका ‘हेभीवेट’ किरण गुरुङ, नेपाल प्रहरीका पूर्व (महानिरीक्षक) आइजिपी सर्वेन्द्र खनाल, चार पटक हार व्यहोरेका एक बहादुर राना, गण्डकी प्रदेशका पूर्व सांसद राम बहादुर गुरुङ र तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष मोहन बहादुर सुनार उपनिर्वाचनका लागि अघि सरेका छन् । यद्यपी अन्तिम नाम भने पार्टीको बैठकले सार्वजनिक गर्नेछ । उपनिर्वाचन नजिकिदै गर्दा स्थानीयहरुको आंकाक्षा अनुसार उपचुनावमा आफु अघि सर्ने मनस्थितीमा पुगेको किरण गुरुङले बताए । स्थानीयहरुले हेभीवेट नेताको चाहना गरे अनुसार आफु उपचुनावमा अघि बढने संकेत गरे । ‘त्यहाँका स्थानीयहरुमा हेभीवेटले उपचुनाव लड्नुपर्छ भन्ने आशय आएकाले मैले पनि अघि बढ्ने मनस्थिती बनाएको हुँ’ गुरुङले सुनगाभा न्यूजसँग भने । यस्तै नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजिपी) तनहुँ चुँदी स्थायी घर भएका सर्वेन्द्र खनाल पनि उपचुनावमा उम्मेदवारको आकांक्षी रहेको स्रोतले बतायो । ‘उपचुनावमा पार्टीले अघि सारेको खण्डमा तनहुँ नै स्थायी घर भएकै कारण पनि होला पछि नहट्ने कुरा छ’ स्रोतले भन्यो । यस्तै अर्का आकांक्षी मोहन सुनारले पनि उपचुनावमा आफ्नो चर्चा चलेको स्वीकार गरे । उनले गत निर्वाचनमा पार्टीले टिकट नदिलाएपनि उपचुनावमा भने पार्टीले न्याय दिने धारणा राखे । ‘पार्टीको विभिन्न तहमा बसेर धेरै काम गरियो । अघिल्लो निर्वाचनमै आशा थियो तरपनि पार्टीले फरक निर्णय गर्याे, उनले भने, ‘अहिले फेरि उपनिर्वाचन आएको छ । त्यसैले मैले पनि इच्छा जाहेर गरेको छु । यसमा पार्टीले उपयुक्त ठहर गरेर जिम्मेवारी दिएको खण्डमा कसरतमा लाग्ने विचार गरेको छु ।’ उनले आफु फरक समुदायबाट प्रतिनिधित्व गरेको बताउदै टिकट पाउने आशा रहेको सुनाए । ‘यो क्षेत्रमा दलित समुदायको ठुलो बस्ती छ । अहिलेसम्म हाम्रो समुदायले प्रत्यक्ष टिकट पाएको भन्ने इतिहास छैन, उनले भने, ‘त्यसैले पार्टीले यो विषयलाई ध्यान पुर्याएर जिम्मेवारी दिन्छ कि भन्ने आशा लागेको छ ।’ यस अघि सो क्षेत्रमा एमालेका एक बहादुर रानाले चौथो पटक हार व्यहोरेका थिए । यद्यपी फेरि पनि उनी उनै क्षेत्रबाट उपचुनाव लड्न आकांक्षा व्यक्त गरेको बताइएको छ । सो क्षेत्रबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक बहादुर रानालाई हराएका थिए । हालैमात्र पौडेल राष्ट्रपतीमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो । तनहुँसँगै सोही दिन चितवनको निर्वाचन क्षेत्र नम्बर २ र बाराको निर्वाचन क्षेत्र नम्बर २ मा पनि उपचुनाव हुनेछ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लाई सर्वाेच्च अदालतले अयोग्य रहेको आदेश गरेपछि सो क्षेत्र रिक्त भएको थियो भने बाराको क्षेत्र नम्बर २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको हो । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आगामी चैतको १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछ भने २० गते मनोनयन दर्ता हुनेछ ।
काठमाडौं : संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन नभत्काउन निर्देशन दिएको हो। नभत्किएसम्म भत्काउन जरुर नरहेको समितिका सभापति मायाप्रसाद शर्माले बताए। उनले भने, 'विभिन्न कालखण्डका इतिहास बोकेका भवनको संरक्षण गर्यो भने आउने पुस्तालाई साक्षीको रूपमा रहन्छ। पुर्खाको इतिहास मास्न हुँदैन। भवनको संरक्षणतर्फ सबैले पहल गर्नुपर्छ।' निर्माणाधीन संघीय संसद्मा संघीय पुस्तकालय समयसापेक्ष अनुरुप र व्यवस्थित ढंगको हुनुपर्ने सभापति शर्माले बताए। बैठकमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको मौलिकता, संस्कृतिलाई संरक्षण गर्न समितिको मार्गदर्शनलाई मन्त्रालयले स्वीकार गर्ने बताए। पुराना भवनको प्राविधिक अध्ययनअनुरुप कलाकृति संरक्षण गर्दै नयाँ भवन बनाउँदा पुराना आवरण र महत्व भल्किने हुनुपर्नेमा उनको भनाइ छ। सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ भवन प्रविधिमैत्री र व्यवस्थित खालको हुने बताउँदै चैत मसान्तसम्म पुरानो संसद् भवनको संरक्षणका लागि बाक्लो प्लाष्टिकले छोप्ने र पिपलको रुख हटाउने प्रतिबद्धता व्यक्त गरे। बैठकमा समितिका सदस्य मदनकुमारी शाहले आधुनिक प्रविधिका नाममा नेपालको कला, संस्कृति मास्न नहुने, राणाकालीन समयमा बनेको सिंहदरबार अहिले पनि अनुकूल रहेको तर निर्माणाधीन संघीय भवन साँघुरो रहेकाले समयमा सचेत रहन जरुर रहेको बताए। समिति र मन्त्रालयले सहकार्य गरेर पुरानो भवनको संरक्षण गर्नुपर्ने समिति सदस्य तुलसा दाहालले बताइन्। उनले सहरी मन्त्रालयलाई तत्काल पुरानो भवनको संरक्षणका लागि काम अगाडि बढाउन आग्रह गरिन्। त्यस्तै समितिका सदस्यहरूले पुरानो भवनले पञ्चायत, संसदीय व्यवस्था, गणतन्त्र झल्काउने रहेकाले तत्काल संरक्षण गर्न काम सुरु गर्नुपर्ने र नयाँ भवन समयसापेक्षअनुरुप इतिहास जोगाउने हुनुपर्ने, भवनको संरक्षणका लागि समितिले कानुनी सहजीकरण गर्ने विचार व्यक्त गरेका थिए। उहाँहरूले नयाँ भवन प्रविधिमैत्री व्यवस्थित ढंगको हुनुपर्ने, सिंहदरबारको आकर्षणका रूपमा हुनुपर्ने, कार्यान्वयनको गतिलाई प्रभावकारी बनाउनुपर्नेलगायतका विषयमा आ-आफ्ना धारणा राखेका थिए।
काठमाडौं: मिडफिल्डर सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यासको घोषणा गरेका छन्। श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत् संन्यास लिने घोषणा गरेका छन्। उनी संन्यासको घोषणा गरेर अस्ट्रेलिया प्रस्थान गर्दैछन्। उनीसँगै डिफेन्डर रजिन धिमाल पनि अस्ट्रेलिया जाँदैछन्। पछिल्लो समय नेपाली राष्ट्रिय टिमका दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया गइसकेका छन्। त्यहाँको स्थानीय टिमबाट खेल्नका लागि राष्ट्रिय टिम छाडेर खेलाडीहरु पलायन भइरहेका हुन्। बिहीबार संन्यास घोषणासँगै सुजलले आफूले सम्मान महसुस गरेको बताए। नेपालका लागि ११ वर्षमा ५१ खेल खेलेका सुजलको कप्तानीमा नेपालले सन् २०१९ मा दक्षिण एसियाली खेलुकद (साग) मा स्वर्ण जितेको थियो। ‘११ वर्ष, ५१ खेलमा आफ्नो देशको झन्डा छातिमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छ। केहि खुसीका पल त केहि दु:खका, कतै उपाधि त कतै निराश क्षणलगायत य सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो संन्यास घोषणा गर्दछु,’ सुजलको भनाइ छ। उनले अघि लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो। मैले यो गर्व र जोशका साथ निर्वाह गरें। हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरु धेरै क्षमतावान छन्। र म विश्वस्त छु कि भाइहरुले देशको झन्डा झुक्न दिनेछैनन्। अब पालो नयाँ पुस्ताको हो।’ उनले सबै प्रशंसक र प्रशिक्षकलाई धन्यवाद समेत दिएका छन्। ‘सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद, जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए। साथै मलाई विश्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिँदै यहाँसम्म पुर्याउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने यो मेरोलागि उपयुक्त समय हो। जय नेपाली फुटबल,’ उनको भनाइ छ।
जोमसोम : जापानमा मुस्ताङका एक युवाले एकल चित्रकला प्रदर्शनी गरेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसेर निवासी चित्रकार छिरिङ फेन्जो गुरुङले मार्च १८ तारिखमा जापानको तोयोकावा सहरमा चौथो एकल चित्रकला प्रदर्शनी गरेका हुन् । इन्टनेशनल वाटर कलर सोसाइटी अफ नेपालका अध्यक्ष एनबी गुरुङको पहलमा गुरुङ एकल चित्रकला प्रदर्शनी गर्न जापान पुगेका थिए । जापानस्थित उपल्लो मुस्ताङीहरूको सामाजिक संस्था मुक्ति समाज समिति जापानको वार्षिकोत्सव समारोहमा चित्रकार फेन्जोको चौथो एकल चित्रकला प्रदर्शनी गरिएको हो। चित्रकार छिरिङ फेन्जोले जापानको तोयाकावा सहरमा चौथौ एकल चित्रकला प्रदर्शन सम्पन्न गरी बुधबार नेपाल फर्किएका छन् । मुस्ताङको जिवन्त धार्मिक, मौलिक कलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट जापानसम्म पुर्याउ इन्टनेशनल वाटर कलर सोसाइटी अफ नेपाल नामक संस्थाले चित्रकार फेन्जोलाई जापानमा आमन्त्रण गरेको थियो । चित्रकार गुरुङले त्यहाँ आफूले सृजना गरेका धार्मिक,कलासंस्कृति र मौलिकतालाई चित्रकारिताका माध्यमबाट प्रस्तुत गरे । चित्रकला प्रर्दशनीमा मुक्ति समाजका जापानका अध्यक्ष नाक्टी गुरुङ,सोनाम ढुके र नोचुङ लगायतका एक दर्जन पदाधिकारी उपस्थित थिए । चित्रकला प्रर्दशनको गैर आवासीय नेपाली संघ (जापान)का अध्यक्ष दिपक केशीले उद्घाटन गरेका थिए । उनले मुस्ताङको ऐतिहाँसिक,धार्मिक,मौलिक कलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट जापानसम्म उजागर गरिनु सह्रानीय पक्ष भएको बताए । प्रर्दशनीमा चित्रकार फेन्जोले दुरदराजको हिमाली जिल्लाको कलासंस्कृतिलाई जापानमा आएर पस्कन पाउँदा आफू निकै गौरान्वित भएको उल्लेख गरे । उनले यसप्रकारको अवसर अन्य देशहरूमा पाउने विश्वाश व्यक्त गरे । चित्रकला प्रर्दशनी अवलोकन गर्न पाउँदा जापानीज नागरिक पनि उत्साहित र खुसी भएका थिए । चित्रकार गुरुङले यसअघि गृह जिल्ला मुस्ताङसहित नेपालमा ३ वटा एकल चित्रकला प्रदर्शन सम्पन्न गरिसकेका छन् । उनले ३ वर्षअघि गण्डकी प्रदेशस्तरीय एकल चित्रकला प्रदर्शनी पोखरामा गरेका थिए । चित्रकार गुरुङ १६ वर्षको उमेरदेखि नै चित्रकारिता क्षेत्रमा लागेका हुन्। चित्रकारिता र भित्ते लेखनको अभ्यास उनले गाउँमै सुरु गरेका थिए । तिब्बती कलासंस्कृतिको प्रभाव रहेको मुस्ताङमा उनले गुम्बा,छोर्तेन,माने,मठमन्दिर र जैविकलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट दृष्यमा उतार्न पोख्त छन् । गुरुङ गुम्बा,मठमन्दिर र देवीदेवताहरुको मूर्ति सजावट र पेन्टिङ भर्न सिपालु छन् । उनी थान्का पेन्टिङमा पनि उत्तिकै दखल छन् । बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्न सकिने सजिलो माध्यम हो ‘थान्का’ । तिब्बती शब्दमा थान्काको शाब्दिक अर्थ हो अभिलेखिकरण गरिएको शब्द भन्ने बुझिन्छ । गुम्बाहरूमा यो अभिलेखिकरण गरिएको थान्का झुन्ड्याएर सजाउने गरिन्छ ।
काठमाडौं : सप्तरीको सीमा क्षेत्रबाट साढे ६४ किलो अवैध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमा क्षेत्रबाट टाउकोमा बोकेर ल्याउँदै गरेको उक्त गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरीको टोलीले बिहीबार ४ बजे ३-४ जनाले ल्याउँदै गरेको गाँजा बरामद गरेको जनाएको छ। ती मानिसहरू गाँजा फालेर भारततर्फ नै भागेको बताइएको छ।

