पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

पोखरा: पोखरा महानगरपालिका वडा नं.१२ मा प्लाष्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ ।  ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं. १२ (पीएमसी) बिच सो परियोजना कार्यान्वयनको सम्झौता गरिएको हो ।  वडा स्तरमा प्लाष्टिक जन्य फोहर न्यूनीकरणको मोडेल विकासका लागि ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) मार्फत युएनडिपी नेपालको आर्थिक सहयोग तथा कार्यान्वयनको रूपमा सीईईएनले यस परियोजनाको नेतृत्व गर्नेछ । ब्लु वेस्ट टु भ्यालु प्रा.लि (बीडब्लुटुभी) र ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रा.लि ९((जीआरडब्लुएम) ले यस परियोजनाका लागि सीईईएनको प्राविधिक साझेदारका रूपमा काम गर्नेछन् ।   परियोजना अन्तरगत ठोस फोहर मैला व्यवस्थापनको वर्तमान परिदृश्य, प्लाष्टिकको प्रयोग र प्रयोग हुने प्लाष्टिकका वस्तु लगायत प्लाष्टिक प्रति मानिसको धारणा सम्बन्धमा प्रारम्भिक तथ्याङ्क सङ्कलन, समुदायमा आधारित शून्य प्लाष्टिक फोहोर व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयन, प्लाष्टिक प्रयोग न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन तथा अन्य वातावरण अनुकूल स्थानीय सामग्रीहरूको प्रवर्द्धन सहित प्लाष्टिकजन्य सामग्रीहरू प्रतिस्थापन गरिनेछ ।  यस्तै समुदायमा आधारित शून्य प्लाष्टिक फोहोर व्यवस्थापन कार्यान्वयन गर्न तुलनात्मक डेटाको लागि वडा नं.१२ का किराना पसलहरूमा पर्यावरण–अनुकूल कपास झोला र बायोडिग्रेडेबल ब्यागहरूमा अनुदानको व्यवस्था र पीईटी बोतलको खपत कम गर्न वडामा पानीका बोतल रिफिल गर्न मोबाइल पिउने पानीको व्यवस्था पनि मिलाइनेछ ।  प्लाष्टिक रोकथामका लागि कार्य योजना बनाउने, प्रयोगबाट प्राप्त निष्कर्षका आधारमा विभिन्न प्रकारका प्लाष्टिकजन्य फोहरको न्यूनीकरण, पुनः प्रयोग, पुनः प्रयोग र विसर्जन तथा सरोकारवाला निकायहरू नगरपालिका, वडा र सम्बन्धित संस्थासँग सहकार्य गरी वडाद्वारा उत्पादित प्लाष्टिकजन्य फोहरको उचित व्यवस्थापन गर्ने नीति समेत अवलम्बन गरिने सम्झौतामा उल्लेख छ । यसमा प्लाष्टिकजन्य फोहर न्यूनीकरण सम्बन्धी पुस्तिका तथा अन्य सम्बन्धित सचेतनामूलक सामग्री वितरण पनि गरिनेछ । सम्झौता अनुसार बहुउद्देश्यीय स्रोत पुनप्र्राप्ति केन्द्रको स्थापना, फोहर मैला व्यवस्थापन मोडेलको प्रदर्शन, सानो सभा हल र नमुना ड्रप–अफ केन्द्र पनि सञ्चालन गरिनेछ ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनाले प्लाष्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै वडाको शून्य प्लाष्टिक फोहोर व्यवस्थापनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “सहरको स्वच्छता प्रवर्द्धनका लागि प्लाष्टिक प्रयोग गर्ने बानीलाई त्याग्नु पर्दछ, प्रमुख आचार्यले भन्नुभयो, अहिले वास्तव मै प्लाष्टिक नै वातावरणीय प्रदुषणको मुख्य कारक बनेको छ ।” प्लाष्टिकको प्रयोगलाई अन्त्य गर्दै वातावरणीय स्वच्छता प्रवर्द्धनको अभियानमा सामेल हुन उहाँले आग्रह समेत गर्नुभयो ।  स्रोत मै फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा बेलाबखतमा सहरका सडकहरू दुर्गन्धित हुने गरेको बताउँदै उहाँले सकेसम्म फोहोरको उत्पादन कम गर्न र उत्पादित फोहोरको उचित व्यवस्थापन गर्न सुझाव समेत दिनुभयो । महानगरपालिकालाई सुन्दर बनाउने आम नगरवासीको समेत दायित्व हुने भन्दै प्रमुख आचार्यले पर्यटकीय नगरीमा मानवीय सभ्यताको प्रतिकुल हुने गरि वातावरण प्रतिको निर्ममता स्वभनिय नहुने स्मरण गराउनुभयो ।  पोखरा महानगरपालिका वडा नं.१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले वडाको विकास, स्वच्छता र नागरिक सेवाको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले दातृसंस्थाहरूको सहयोगमा वडामा सञ्चालन गर्न लागिएको यस परियोजनालाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल समेत गर्नुभयो ।

हेटौंडा : बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ ।   आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको १३ जिल्लाका पत्रकारको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको हो ।    मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले दिएको जानकारी अनुसार ६३ करोड ४० लाख रुपैयाँ बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो ।     चैत्र ५ बाट लागू हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कूल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा १ लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीलाई उद्धृत गर्दै कार्कीले बताए ।   आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रदेश सरकारले यस्तो योजना ल्याएको बताए। उनले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थालाई समेत पत्रकारको क्षमता अभिवृद्धि गर्न सहयोग गरिएको जानकारी दिए । 

काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसले गर्दा देशको पहाडी भू-भागहरूमा आंशिक बदली भइ बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने  मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।    आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।   आज मंगलबार राती कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षा हुने महशाखाको बुलेटिनमा उल्लेख छ।   त्यस्तै बिहीबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।   बिहीबार राती पहाडी भू-भागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा हल्का पानी पर्ने छ।   शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही ठाउँमा मेघ गर्जन / चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  

पोखराः    आज चैते दशैँ मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने असार र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ ।   चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनीलगायत पीठमा आज विशेष पूजा हुन्छ । त्यस्तै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन विशेष पूजा गरिन्छ । काठमाण्डौ उपत्यकाबाहिरका शक्ति पीठमा पनि आज पूजा तथा मेला लाग्ने गर्छ ।   चैते दशैँ पर्वका अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिनुभयो । 

ताप्लेजुङ:    नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।  पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ । यसअघि मुगुको भिइ केन्द्रविन्दु भएर यही चैत १० गते चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो ।

पोखरा:  पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका सदस्यहरुको संख्या ३८०३ अर्थात कूल सदस्य संख्याको ४३ प्रतिशत रहेको छ । हाल संस्थामा ८७९४ जना सदस्यहरु रहेका छन् । सार्वजनिक भएको युवा सदस्यको तथ्याँक बमोजिम २७९४ जना महिला सदस्य र १००९ जना पुरुष सदस्य रहेका छन् । तथ्याँक बमोजिम १८ देखि २५ वर्षसम्मका मात्र आँकाडा हेर्दा जम्मा सदस्यहरु ६०५ जना र २५ देखि ४० वर्ष सम्मका युवा सदस्यहरुको संख्या भने निकै अधिक अर्थात ३१९८ रहेका छन् । यसले सहकारी आवद्ध सदस्यहरु मध्ये युवाहरुको अवस्था हेर्दा केहि न केहि पेशा वा व्यवसायमा आवद्ध रहेका, विश्वविधालयका पढाई सकेका र युवाहरु मध्ये विवाहित सदस्यहरुको बाहुल्यता रहेको तथ्याँकले बताउछ । संस्थामा कूल युवा सदस्यहरु मध्ये २३२४ जना अर्थात ६१ प्रतिशत सदस्यहरु विवाहित रहेका छन् ।  ग्लोवल मनी विक २०२३ को साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले गत चैत्र ६ देखि १२ गतेसम्म युवा लक्षित विविध गतिविधीहरु सञ्चालन गरेको थियो । सप्ताहको अन्तिम दिन संस्थाले उक्त तथ्याँक सार्वजनक गरेको हो । साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले १८८ युवा सदस्यहरुलाई सम्मान तथा स्वागत, दुई वटा विधालयका ४२ जना विधार्थीहरुसंग कफि गफ र सहकारीको अवलोकन, बाल बचत कर्तालाई खुत्रुके बक्स वितरण, वित्तीय साक्षरता सम्वन्धमा दैनिक रुपमा चेतनामूलक सामग्री प्रकासन, “सुन्दर भविष्यको लागि बचत”  शिर्षकमा अन्तर कर्मचारी निवन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा ३३ जना कर्मचारीहरुले भाग लिएका छन् । सहभागि मध्ये उत्कृष्ठ ३ जना कर्मचारीलाई ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कृत गर्ने र उत्कृष्ठ निवन्धलाई अनलाईन मार्फत प्रकासन गरिनेछ ।  त्यसरी नै युवा सदस्यहरुलाई सहकारीको विषयमा थप ज्ञान तथा शीप सिकाउने उद्धेश्य बमोजिम नयाँ वर्ष २०८० को वैशाख पहिलो हप्तामा १०० यूथ, सहकारी दूत गोष्ठी सम्पन्न गर्ने निणर्य समेत गरेको छ । गोष्ठीले युवालाई सहकारीमा आकर्षण गराउने, व्यवसाय गर्न चाहने युवा सदस्यहरुलाई आवश्यक शीप र पूँजीको लागि व्यवस्थापन गर्ने र युवा अवस्थादेखि नै असल सहकारीकर्मी बनाउने गरि गोष्ठीको योजना बनाईएको छ ।

वालिङ:  स्याङ्जाका ९० प्रतिशत घरपरिवारले सहज रूपमा खानेपानीको उपभोग गर्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा धारा र पाइपको प्रयोगमा ८९ दशमलव ५ प्रतिशत नागरिकले सहज रूपमा खानेपानीको उपभोग गर्दै आएको पाइएको हो ।    जिल्लाका ६८ हजार ९५९ घरपरिवार मध्ये ६१ हजार ६९२ परिवारले धारा पाइपको पानी घरभित्र र परिसरमै उपभोग गर्दै आएको तथ्याङ्कमा समावेश गरिएको छ । झण्डै छ हजारले मुलधाराको र एक हजार परिवारले खुल्ला इनारको पानी उपभोग गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।    तथ्याङ्कको सुविधा र साधनमा ६५ दशमलव ७ प्रतिशत अर्थात् ४५ हजार २९३ परिवार काठ र दाउरा मार्फत खाना बनाउने इन्धनका रूपमा प्रयोग गर्दै आएका छन् । एलपी ग्याँसको प्रयोग गर्ने नागरिकको सङ्ख्या २२ हजार ६४३ रहेको छ । बायोग्यास र विद्युत प्रयोग गर्नेको सङ्ख्या करिब दुई प्रतिशत मात्रै छ ।    तथ्याङ्क अनुसार जिल्लाका ५० हजार ३३० ले सुविधा सम्पन्न र १५ हजार परिवारले साधारण शौचालयको प्रयोग गरेको देखिन्छ । शौचालयको रूपमा दुई हजार छ सयले सार्वजनिक ढल प्रयोग गर्दै आएका छन् भने एक प्रतिशत घरपरिवारको शौचालय नै छैन ।   बत्ती बाल्न प्रयोग हुने इन्धन तर्फ ९९ प्रतिशत घरपरिवारले विद्युत उपभोग गर्दै आएको तथ्याङ्कमा देखिन्छ । नेपालकै ठूलो १४४ मेगावाटको जलविद्युत ‘कालीगण्डकी ए परियोजना’ मार्फत विद्युत प्राधिकरण र ९ दशमलव ४ मेगावाटको बुटवल पावर कम्पनी (बीपीसी) आँधीखोला वितरण केन्द्रले जिल्लाका शतप्रतिशत घरधुरीका नागरिकले विद्युत सेवा उपभोग गरेको दाबी गरेका छन् ।    जिल्लामा २५ हजार घरपरिवारले इन्टरनेटको प्रयोग गर्दै आएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार ८ हजार घरपरिवारले ल्यापटप वा कम्प्युटर प्रयोग गरेका छन् भने करिब २ हजार घरपरिवारले कार, जिप भ्यान प्रयोग गरेको देखिन्छ । झण्डै २० प्रतिशतले हुने १५ हजार घरपरिवारले मोटरसाइकल वा स्कुटर प्रयोग गर्दै आएको तथ्याङ्कले देखाउँछ ।    साधन र सुविधा अन्तर्गत स्याङ्जाका करिब ९८ प्रतिशत घरपरिवारले कुनै न कुनै साधन र सुविधा प्रयोग गर्दै आएका छन् । रेडियो ३४, टेलिभिजन ६४, साधारण मोबाइल ८० प्रतिशत घरपरिवारले प्रयोग गरेका छन् भने, स्मार्ट मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या करिब ७६ प्रतिशतले हुने ५३ हजार घरपरिवार रहेको छ ।

बागलुङ:  दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ। यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ। मेलाको त्यो रमझमका बीचमा आठ/दश बूढापाका र अर्धबैँसे युवा आफ्नै धुनमा देखिन्छन्।    चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ। तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा बढी देखिन्छ।    त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्छन्। उनी हुन्, जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक। पहिले–पहिले चैते दसैँमा अत्यधिक मात्रामा डालो र नाङ्लो बिक्री हुने हुँदा यसपालि पनि विकसहित बडिगाडदेखि १५ जना विक्रीका लागि आएका हुन्।   एक दशक अगाडिसम्म डाला र नाङ्ला व्यापार गर्न उनीहरुलाई भ्याइनभ्याइ हुने गथ्र्यो तर विगत केही वर्षयता यसले बजार पाएको छैन। मेला छेउकै बाँझो जमिनमा निकै अकर्षकरुपमा फूलबुट्टा भरेको डालो र नाङ्लो मेला भर्न गएकाले नियाल्छन् तर किन्दैनन्।   डाला र नाङ्लासँगै  छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम बिक्री भइरहेको देखिन्छ। झन्डै एक सय किलोमिटर पश्चिमबाट डालो र नाङ्लो बेच्न आएका उनीहरुलाई खाली हात घर फर्किनुपर्ला कि भन्ने चिन्ताले सताएको छ।    दिनभरिमा दुई/चार वटा  डालो बिक्री भए पनि त्यो खाना र बस्नका लागि ठिक्क भएको छ। मेलामा मात्रै होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि यस्ता सामग्रीले बजार पाउन सकेको छैनन्। उत्पादन भएका सामग्री नै बिक्री नभएपछि सीप नै हराउन थालेको छ। चार दिनमा आठ/दशवटा डालो मात्रै बिक्री भएको विक बताउँछन्।    उनी कमाईका लागि गाउँभन्दा धेरै टाढा व्यापार गर्न आएको र  मेला सकिँदासम्म बिक्री नभए सित्तैमा छोडेर जानुको विकल्प नभएको गुनासो गर्छन्।    विक भन्छन्,‘चैते दसैँ बागलुङको मेलाभन्ने बित्तिकै व्यापार गर्ने मेला भनेर सम्झिन्थ्यौँ, गाउँमा भएका सबै उत्पादनहरु बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला झण्डै रु एक डेढ लाख बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलेको भन्दा धेरै कम डालो–नाङ्लो ल्याएर आए पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ, किन यसरी बिक्री हुन छोड्यो अचम्म लागेको छ, न बजार ल्याएको सान फर्काएर गाउँ लैजानु, समस्या होला जस्तो छ।’   उनीहरुको समूहले करिब दुई हजार सानाठूला आकारका डालो र पाँच सयको हाराहारीमा नाङ्लो ल्याएका छन्। सोही ठाउँका हेमबहादुर विकले पनि यतिका दिनसम्म आफूले ल्याएको सामानको व्यापार हुन नसकेको गुनासो गर्छन्। बडिगाडबाट चार हजार पाँच सय गाडी भाडा तिरेर व्यापार गर्न आएको तर त्यही भाडा पनि उठाउन मुस्किल भइरहेको उनी बताउँछन्।    चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरूको तुलनामा किनै बलियो हुने भए पनि अहिले गाउँगाउँसम्म प्लास्टिकका भाँडाकुँडाका साथै  डालो र नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामान कम प्रयोग कम हुँदै गएको  हेमबहादुर उल्लेख गर्छन्।    उनी भन्छन्,‘यति ठूलो मेला लागेको छ, हजारौँ मान्छेले किनमेल गरिरहेका छन्, किनमेल हुने अधिकांश सामान विदेशमा बनेका छन्, ती सामानको गुणस्तर पनि त्यत्ति राम्रो हुन्न, देख्दा हाम्रो उत्पादनभन्दा राम्रो त होला तर टिकाउका हिसाबले स्थानीय उत्पादन नै राम्रो हुन्छन्, पाँच वर्ष भयो यो मेलामा पनि बिक्री कम–कम हुँदै गएको छ, यस वर्ष त झनै कम भएको छ, अर्को वर्ष त यहाँ आउनुभन्दा पहिले धेरै सोच्नुपर्ने देखियो, दुःख मात्रै हुन्छ आएर के फाइदा?, अहिले खाली हात फर्किनुपर्ने स्थिति आउला जस्तो छ, बरु कतै बिक्री हुन्छ भने भन्दिनून।’   केही वर्ष एक पाथीदेखि पाँच पाथीसम्मका डालाले राम्रो बजार पाएकामा अहिले सानाठूला कुनैले पनि बजार पाएको छैन। आफूहरुले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको ३० वर्षभन्दा बढी भएको उनको भनाइ छ।    बजारमा नयाँ–नयाँ प्रविधिका सामग्रीहरु आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको अर्का विक्रेता गुमानसिंह थापा बताउँछन्। परम्परागत नापतौल गर्ने बस्तुका रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएपछि मानापाथीका डालोहरु बिक्री नै नहुने उनको भनाइ छ। डालो र नाङ्लो गजिङ, वा मालिङकाबाट चोया निकालेर बुन्न निकै समय लाग्ने तर बजार नपाउँदा आफूहरुको मेहनत खेर गएको गुमानसिंहको गुनासो छ।    विगतमा घर व्यवहार धान्ने यो पेसा पछिल्लो समय व्यापार कम भएपछि धेरैले पेसा परिवर्तन गरिरहेकामा केही वर्षयता ओझेलमा पर्दै गइरहेको उनको भनाइ छ।   अचेल ठेकी पनि बिक्दैनन्    त्यही मेलाकै छेउमा बागलुङ नगरपालिका–१२ अमलाचौरका अशोक चुँदाराले काठबाट बनेका ठेकी बिक्रीका लागि राखेका छन्। दुई दिनअगाडि ठेकीहरु लिएर यहाँ आउनुभएका उनी आफूले सोचेअनुसार बिक्री हुन नसकेको सुनाउँछन्।    उनले टेउवादेखि पाँच पाथीसम्मका टेकी बिक्रीका लागि राखेका छन्। ठेकीसँगै मदानी पनि छन्।  सबैभन्दा बलियो र स्वास्थ्यका लागि गिठा (एक प्रकारको रूख) को ठेकी राम्रो हुने र आफ्ना पुर्खाहरुको मुख्य पेसा नै ठेकी बनाउने भएको हुँदा आफूले पनि यही पेसा अङ्गाल्दै आएको अशोक बनाउनुहुन्छ। पहिले–पहिले ठेकीले राम्रो बजार पाउने गरेकामा अहिले बिक्री नै हुन छोडेको छ।   अशोक भन्छन्, ‘अहिले मान्छेहरु आफ्नो सामानभन्दा अरूको सामानलाई मन पराउन थाले, गाउँमा उत्पादन भएका चीजहरु यतिकै खेर गएका छन्, गाउँलेहरु बजारबाट आयातीत सामान ल्याएर प्रयोग गर्छन्, यसले त सीप हराउँछ, मौलिकता हराउँछ र हामी पनि पूरै परनिर्भर हुन्छौँ।’ उनले दुई सय ५० देखि २० हजारसम्मका ठेकीहरु बिक्रीमा राखेका छन्। पछिल्लो समय गाउँमा पनि यस्ता परम्परागत भाँडावर्तनहरु प्रयोगमा आउन छोडेका छन्। 

फिदिम : पाँचथरको फालेलुङ गाउँपालिकामा आन्दोलनकारीले तालाबन्दी गरेका छन्।    ‘कोशी’ नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरहरूले तालबन्दी गरेका हुन्।    पालिकाका सूचना अधिकारी रणजित आङ्बुहाङका अनुसार कार्यालयका तीनवटा कोठामा आन्दोलनकारीले तालाबन्दी गरेका हुन्।    प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित लेखा र योजना फाटको कार्यकक्ष बन्द गरिएको हो। फालेलुङका वडा कार्यालयहरूमा पनि तालान्दी गरिएको छ।    तत्कालीन १ नं. प्रदेशका सम्पूर्ण पालिका बन्द गरिएको आन्दोलनरत पक्षका नेता मधु केरुङले जानकारी दिए। ‘हामी न्यायको लडाइँमा छौँ,’ केरुङले भने ‘कोशी नाम खारेज गरेर पुनः नामाकरण गर्नुपर्छ भन्ने माग राखेर पालिकाहरूमा कामकाज ठप्प पारेका हौँ।’   प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि शुक्रबारसम्म स्थानीय सरकारका कार्यालय बन्द गर्न आह्वान गरेको छ।    ऐतिहासिक तथा पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै पहिचान पक्षधर आन्दोलित बनेका हुन्। ‘कोशी’ नाम खारेज गरी पुनः नामांकन गर्नुपर्ने संघर्ष समितिका संयोजक काङसोर तुम्बापोको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।    आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारको क्रममा मृत्यु भएपछि आन्दोलनरत पक्षले थप विरोधका कार्यक्रमहरू ल्याएको हो। लाजेहाङको मृत्युको छानबिन गर्न सरकारले एकतर्फी समिति गठन गरेकोप्रति उनीहरूले आपत्ति जनाएका छन्।   ‘कोशी’ नाम खारेज गरी पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने, मृतक लाजेहाङलाई सहिद घोषणा गर्नुपर्ने, उनको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ।