फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

काठमाडौं :  नयाँ वर्षको अवसरमा आगामी बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा 'नेपाल टुरिजम फेस्टिभल' हुने भएको छ।   नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहयोग र एनटिपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलो पटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्देश्यले खुल्ला रूपमा नेपाल टुरिजम फेस्टिभल हुन लागेको हो।   आइतबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरेर नेपाल टूरिजम फेस्टिभलको घोषणा गरिएको हो।   यो फेस्टिभल अब हरेक वर्ष हुनेछ। नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत कुरालाई केलाउन फेस्टिभलको आयोजना गरिएको आयोजक एनटिपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए।   दुई दिने फेस्टिभलमा न्यूनतम १० देखि अधिकतम १५ वटा सेसनहरू सञ्चालन हुनेछन्। फेस्टिभलको उद्घाटन सेसन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुनेछ।   यस्तै अन्तिम सेसन 'पर्यटनमा राजनीति मिसन, भिजन र भिजिट नेपाल' पर्यटनमन्त्री सुदन किराँतीको हुने आयोजकले जनाएको छ। फेस्टिभलमा विभिन्न विधामा पर्यटन केन्द्रित गरेर सेसन सञ्चालन हुनेछन्।   यस्तै अन्य सेसनमा 'पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास', 'स्वास्थ्य पर्यटन, स्वास्थ्य सदृश्य र संसार', 'चलचित्र पर्यटन, सिन, सिनेमा र सेलिब्रेटी' हुनेछन्।   यस्तै 'व्यावसायिक पर्यटन, रहर, सहर र पर्यटन बजार', 'पर्यटनमा जलवायू परिवर्तनको असर, हिउँ हिमाल र हिमालय' सेसन पनि सञ्चालन हुनेछ।   नेपालमा रहेका विभिन्न विदेशी राजदूतको 'नेपाल अनुभव' सेसन पनि सञ्चालन हुने फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए।   फेस्टिभलमा 'खेल पर्यटन, खेल, खेलाडी र गोर्खाली' तथा 'कला पर्यटन, संगीत, सौन्दर्य र सुनौलो नेपाल', कृषि पर्यटन सेसन पनि सञ्चालन गर्ने तयारी छ। यसबाहेक शिक्षा पर्यटन, युद्ध पर्यटन, साहित्य पर्यटन लगायतका विषयले पनि प्राथमिकता पाउने आयोजकको भनाइ छ ।   नेपालीको नयाँ वर्ष वैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनीटपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।   'नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन केन्द्रित नीतिगत बहस गर्ने उद्धेश्यले नेपालमा पहिलोपटक नेपाल टुरिजम फेस्टिभल आयोजना गर्न लागेका हौँ' फेस्टिभल संयोजक विष्णु विवेकले भने, 'वैशाख १ र २ गते हुने कार्यक्रममा सरकार, निजी क्षेत्र, पर्यटन क्षेत्रका सरोकारवालाबीच गम्भीर छलफल, बहस तथा अन्तरक्रिया हुनेछ।'   नेपाली तथा विदेशीलाई समेत नेपालका विभिन्न ठाउँमा घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन हुन लागेको फेस्टिभल पहिलोपटक आयोजना भएर वर्षेनी सञ्चालन हुने पनि उनले बताए।   पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपाल फेस्टिभलले पर्यटन क्षेत्रका विविध विधालाई जोड्ने र पर्यटनका नीतिगत सवाललाई उजागर गर्ने बताए।

बैतडी : बैतडीका तीन युवती बेपत्ता भएका छन्। जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन्।     मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएकी उनका देवर निराजन पोखरेलले बताए।   भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ।  सम्पर्कविहीन भएकी लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन्। उक्त दम्पतिका दुई छोरा छन्।    यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता भएकी छतन्। यही चैत १६ गते घरबाट हिंडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ।  पार्वतीका श्रीमान् सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन्। पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ।    जिल्लाको पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता छिन्। यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुबा दिलीप लाबडले जानकारी दिए। चैत १५ गते देहिमाण्डौँ जात्रामा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिलेसम्म घर फर्किएकी छैनन्।    इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरु बेपत्ता भएको जानकारी प्राप्त भएकाले  खोजी जारी रहेको बताए।

सिड्नी : अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो।    देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन्। साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन्।    यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन्। युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन्। ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ।    चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आवद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलव्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ। अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा  टिकटकको मातृ कम्पनी विवादमा पर्दै आएको छ। यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गर्दै आएको छ।   गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२०मा टिकटक र ‘मेसेजिङ एप वी च्याट’लगायत दर्जनौँ चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो। चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो। चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए।    अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएकामा चीनले त्यसको आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको छ। साथै उसले अन्य देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप पनि लगाएको छ। 

रसुवा : बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ। केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले  दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन्।    चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार  १५ करोड बराबरको नेपाली सामग्री चीनको केरुङतर्फ निर्यात  भइसकेको छ। निर्यात भएका  सामग्रीमा बाँसका मुढा, कपडा, कार्पेट, भाँडाकुँडा, हातेकागज, हस्तकलाका सामग्रीसमेत छन्।   उक्त सामग्रीमध्ये बाँसको मुढा मात्रै साढे तीन करोड मूल्य बराबर निकासी भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिनुभयो। यस्तै, आयात तथा निर्यात वस्तुको शुल्कबाट रसुवा भन्सार कार्यालय रसुवाले चालू आवको आठ महिनामा रु चार अर्ब १८ करोड राजस्व आर्जन गरेको छ।   आयात कमी हुँदा सामानका शुल्क बापतको राजस्व कमी भएको र अबका दिनमा केरुङबाट काठमाडौँसम्म नेपाली कन्टेनर सिधा आवतजावतको वातावरणले आयात सामग्रीको परिमाण बढ्न गई राजस्व बढ्ने आशा गरीएको छ।   चीनबाट स्याउ, ओखर, अदुवा, लसुन जस्ता वस्तु आयातमा कमी हुँदै गएको बताइएको छ। जुत्ता, चप्पल, तयारी पोसाक, बच्चाका खेलौना,  मोटरका पार्टपुर्जा, विद्युतीय कार, जिप, स्काभेटर, टिपर, थर्मस, रोल कपडा, इलेक्ट्रिक सामान, जलविद्युत् उत्पादनका उपकरणलगायत विविध  सामग्री आयात भएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए।

चितवन : बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् ।   पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो  ।    ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटना आज बिहान १० बजे भएको हो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । 

काठमाडौं:  ट्विटर इंकको लोगो फेरिएको छ। अब प्रयोगकर्ताहरूले ट्विटर लगइन गर्दा निलो चरोको सट्टा कुकुर देख्नेछन्।   बेलायती दैनिक पत्रिका द गार्डियनका अनुसार ट्विटरले सोमबार आफ्नो लोगो परिवर्तन गरेको हो। ट्विटरको लोगोमा निलो चरो थियो। तर अहिले यसको ठाउँमा एक भाइरल 'मिम'मा देखिने कुकुर छ। उक्त लोगो राखेर ट्विटरले एक लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी- डोजक्वाइनको नक्कल गरेको द गार्डियनमा उल्लेख छ।    ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले सोमबार एक मिम ट्विट गर्दै लोगो परिवर्तन गरेको बारे जानकारी दिएका हुन्। उक्त ट्विटमा डोजक्वाइनले जवाफमा 'धेरै मुद्रा। वाह। धेरै सिक्का। कति पैसा। त्यसैले क्रिप्टो' भन्दै जवाफ दिएका छन्।    मस्कले ट्विटरमा त्यसरी डोजक्वाइनको लोगो प्रयोग गर्नुको कारण भने खुलाएका छैनन्। यसलाई थुप्रै अन्तर्राष्ट्रिय पत्रिकाहरूले मस्कले डोजक्वाइनको प्रचार गर्न खोजेको रुपमा पनि लिइरहेका छन्। ट्विटरमा डोजक्वाइनको लोगो देखिएसँगै डोजक्वाइनको मूल्य अमेरिकी डलर ०.०७९ देखि ०.०९४ पुगेको छ। यो सन् २०२२ को नोभेम्बरदेखि कै सबैभन्दा बढी मूल्य हो।    केहीले भने मस्कको यो कदमलाई अप्रिल फुल (मूर्ख दिवस) मा मस्कले रमाइलो गर्न खोजेको तर उक्त दिन (अप्रिल १ तारिख)मा सार्वजनिक हुन नसकेको भन्दै तर्क दिएका छन्।    यद्यपि मस्कले आफ्नो मुद्दा खारेज गर्न अमेरिकाको अदालतमा निवेदन दिएको भोलिपल्ट नै ट्विटरको लोगो परिवर्तन भएको हो।   हाल मस्कमाथि डोजक्वाइनको पिरामिड शैलीबाट रकम उठाएर क्रिप्टोकरेन्सीमार्फत ठगी गरेको आरोप छ। डोजक्वाइनले मस्कले गरेको विभिन्न कार्यबापत भएको २५८ बिलियन अमेरिकी डलर क्षतिको माग राख्दै मुद्दा दायर गरेको थियो। तर उक्त मुद्दालाई मस्क र उनका वकिलले 'काल्पनिक काम' बताउँदै आएका छन्।    डोजक्वाइनका लगानीकर्ताहरूले मस्कले नियतबस डोजक्वाइनको मूल्य बढाएको र पछि बेवास्ता गरेको आरोप लगाइरहेका छन्। उनीहरूका अनुसार मस्कलाई पहिलेनै सन् २०१९ देखि क्रिप्टोकरेन्सीको मूल्य नहुने थाहा भएको तर पनि नाफा आर्जनको लागि डोजक्वाइनलाई बढावा दिएको आरोप छ।  

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा ट्याक्सी चालक आन्दोलित बनेका छन्। विमानस्थलमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सी चालकहरुले मंगलबार बिहानबाटै सेवा बन्द गरेका छन्।   सोमबार दिउँसो पनि पार्किङको गेटमा उनीहरुले ट्याक्सी राखेर विरोध गरेका थिए। उनीहरुले यस अगाडि देखिनै पार्किङ शुल्क महंगो भएको भन्दै विरोध गर्दै आएका थिए।   चालकहरुले शुल्क घटाउनुपर्ने माग राखेका छन्। विमानस्थलको जग्गा निजी कम्पनीलाई दिएर पार्किङ व्यवस्थापन हुँदै आएको छ। पार्किङ गर्दा महँगो शुल्क तिर्नु परेको गुनासो ट्याक्सी चालकबाहेक अन्य नीजी सवारी धनीले समेत गर्दै आएका छन्।    पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिँदै आएकोमा हाल ८० रुपैयाँ पुगेको छ। पार्किङ शुल्क थप बढाउने कम्पनिको धम्की पछि चालकहरु आन्दोलित बनेका हुन्।

काठमाडौं : मंगलबार सुदूरपश्चिम प्रदेशमा वर्षा हुने भएको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।   मंगलबार राती देशका पहाडी भूभागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

काठमाडौं : चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ।   मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ।   'लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो। चलचित्रकर्मीलाई सरल र सहजताका लागि बोर्ड सदैव साथ मै छ', बोर्ड अध्यक्ष भुवन केसीले भने।   प्रतियोगितामा सहभागी हुनका लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम २०८० वैशाख १० गतेसम्ममा बोर्डको कार्यालय अथवा इमेलमार्फत पेस गर्नुपर्नेछ। प्रतियोगितामा उत्कृष्ट हुने तीन चलचित्रले क्रमशः प्रथम हुने चलचित्रले एक लाख ५० हजार, द्वितीय हुनेले एक लाख र तृतीय हुनेले ७५ हजार प्राप्त गर्नेछन्। पुरस्कृत चलचित्रलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिकरूपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, विशेष प्रदर्शनीमा सहभागी गराउनेछ।   प्रतियोगितामा सहभागी हुने चलचित्र कम्तीमा ५० प्रतिशत नेपालमै छायाँङ्कन भएको र चलचित्रकर्मी नेपाली भएको हुनुपर्नेछ। साथै सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रले मात्र भाग लिन पाउनेछन् र ती चलचित्रले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ।