फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

काठमाडौं:    वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका तथा बिदामा आउँदा ज्यान गुमाएका नेपालीहरूले प्राप्त गर्ने बीमा रकम ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै ठगी गर्ने ६ जनालाई सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले ज्यान गुमाएका तथा बिदामा नेपाल आउँदा ज्यान गुमाएका भएका नेपालीहरूले बीमाबापत पाउने रकम मृतकका आफन्तहरूलाई केहीमात्रै दिई अन्य रकम आफूले नै ठग्ने गिरोहका छ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो । प्रहरीले चैत २३ गते दिउँसो काठमाडौंको गोङ्गबुबाट रामबहादुर तामाङसमेत छ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिए । उनले पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण कागजात फेला पारी उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको बताए ।  पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका-८ का ३४ वर्षीय विनोदकुमार लामा, त्यही ठाउँकै ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन नगरपालिका-२ का ३९ वर्षीय रुद्रमान गोले रहेका छन् ।   प्रहरी वरिष्ठ उपरीक्षक केसीले विदेशबाट पठाइएका मृतक शवको बीमामा ठगी गर्न यस्तो गिरोह नै रहेको र उनीहरूले मृतकका परिवारलाई वासस्थानमा नै गई भेट्ने र बीमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताए । उनीहरूले मृतकको शव आइसकेपछि मृतकका परिवारलाई काठमाडौंमा बीमाको रकम लिन बोलाउने र कोठामा थुनी आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको बताए । उनका अनुसार गिरोहका सदस्यहरू विदेशमा ज्यान गुमाएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बीमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पोखरा:   मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले पालिकाका स्थानीयले सेवा सुविधासहितका विषयमा दुख पाएको गुनासो गरेका छन् ।  आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले बुधबार आयोजना गरेको लोमान्थाङ गाउँपालिकाको समृद्धि र सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङले गाउँपालिकाका नागरिकले प्रायः सुविधा पाउन नसकेको गुनासो गरेका हुन् ।  ‘हामीले यहाँका आम नागरिकका दुख र पीडाका विषयमा केन्द्रमा बारम्बार जानकारी गराएका छौं,’ उनले भने, ‘हाम्रो समस्याका विषयमा केन्द्रबाट वेवास्ता भइरहेको छ ।’ कार्यक्रममा अध्यक्ष गुरुङले ठेकेदार र सरकारको प्रणालीले गर्दा जिल्ला लगायत गाउँपालिकाको विकासको काम सम्पन्न गर्न ढिलाई भइरहेको गुनासो गरे । नेपाल तथा चीनको नाका कोरलामा लामो समयदेखि दुवै देशका नागरिकलाई मध्यनजर गर्दै मेला हुने भए पनि कोरोना महामारी पछि हुन नसकेको उनले बताए । ‘हरेक २ वर्षमा आयोजना हुने मेलालाई विषेश प्राथमिकता दिएर सञ्चालनका लागि पहल गर्न केन्द्र सरकारले समन्वय गर्नुपर्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने । अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले गाउँपालिकामा हाल नियम, कानुन र ऐन बनाउने प्रक्रिया जारी रहेको र छिट्टै लागू गर्ने तयारी भइरहेको जानकारी दिए । गाउँपालिकाका आम नागरिकसँग नजिकको सम्बन्ध बनाउने प्रयास जारी रहेको बताए । ‘यहाँ आलु, उवा, जौ लगायत खाद्यान्नको राम्रो उत्पादन हुन्छ, यसलको प्रवद्र्धनका लागि पकेट क्षेत्र बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘कृषकलाई कृषि सम्बन्धी तालिम दिइरहेका छौं ।’ गाउँपालिकामा ५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरेर गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिएका छन् । आफूहरु आम नागरिकले अनुभुति गर्ने खालको विकास तथा समृद्धिका लागि प्रतिबद्ध रहेको उनले बताए ।  फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगरले लोमान्थाङ गाउँपालिकाका हरेक स्थान आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय हिसाबमा उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको भौतिक विकासका लागि पत्रकारले समेत भूमिका खेल्नुपर्ने बताए । फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस र महासचिव धनबहादुर गुरुङले लोमन्थाङको समृद्धि र समस्या समाधानका लागि फोनिज कलम चलाउन र आवाज उठाउन तयार रहेको बताए ।   

काठमाडौं:    नेकपा एमालेकी सांसद विद्या भट्टराईले  सरकारले संविधान र कानुन विपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छिन् ।  शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडामा सरकारले गरेको सो परिपत्र फिर्ता लिएर संविधान सम्मत ढङ्गले अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराईन् ।  उनले संविधान र कानुनको ख्याल गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराईन् । सांसद भट्टराईले भनिन्, ‘‘नेपाल सरकारले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा सबै वडामा परिपत्र गरेको छ। संवैधानिक र कानुन व्यवस्थाको ख्याल नगरी जारी गरिएको सो परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ। परिपत्रले संविधान र कानुनले साबित गरेको आमाका पहिचान र अस्तित्वलाई अस्वीकार गरेको छ। संविधान र देवानीसंहिता अनुसार पुन परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’’ सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाको जन्मदर्ता उनीको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि बताईन् ।

काठमाडौं : थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट १४०२ नमूना परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट २७२ र एन्टीजेनबाट ११३० नमुना परीक्षण गर्दा पीसीआरबाट ६३ र एन्टिजेनबाट २२ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा २७ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

एसइईका विद्यार्थीहरूका लागि एसइई २०७९ अफर उपलब्ध गराउने भएको छ।    यस अन्तर्गत कम्पनीले एसइई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने कम्पनीले बताएको छ।    चैत २४ गतेदेखि उपलब्ध हुने उक्त अफर महिना ९० दिनसम्म लागू हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध हुनेछ।   उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ। सिमकार्ड प्रयोगमा आउना साथ ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुने टेलिकमले बताएको छ।    विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफर उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।    नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन्।    साथै, एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन्।    यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा ५०० एमबी डाटा प्रयोग गर्न सकिनेछ।    यस अनुसार ३० दिनसम्म तीन हजार एमबी डाटा, ५०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ।   नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ।   यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि १०० एमबी डेटा चलाउन नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध रिचार्जमा महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ।     बोनस प्राप्त भएका तीन दिनभित्र प्रयोग गरिसक्नु पर्ने टेलिकमको भनाइ छ। 

रुकुमपूर्व : रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका-३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन्। बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरू आज बिहान मृत फेला परेका हुन्।   स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगर मृत फेला परेका गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिए।    बुधबार साँझ हराएका दुई बालिकाको स्थानीयले खोजी गर्दा आज बिहान रन्मा गाउँकै भिरमा मृत फेला पारेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन्।    घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको उनको भनाइ छ। बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने स्थानीयको आशंका छ।

पोखरा:  पोखरा हुने होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशन चैत २५ र २६ गते पोखरामा हुँदै छ ।  होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनको तयारी पूरा भएको आज (बिहीबार)पोखरामा पत्रकार सम्मेलन गदैं महाधिवेशनको तयारी पूरा भएको अध्यक्ष अर्जुन चोखालले जानकारी दिए ।   ‘मुलुक संघीय संरचना अनुसार गठित भएपछि होटल व्यवसायीहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै पर्यटन व्यवसायलाई गुणस्तरीय बनाउने लक्ष्य हो, चोखालले भने, ‘ चैत २५ र २६ गते हुने प्रथम महाधिवेशनमा गण्डकीका ११ जिल्लाका १ सय २० जना प्रतिनिधि पर्यवेक्षकहरुले भाग लिनेछन् ।’ उनले होटल व्यवसायी महासंघ गण्डकीको प्रदेशको महाधिवेशनको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आउने बताए ।  महासंघ गण्डकीका अध्यक्ष चोखालले महाधिवेशनमा करिव १२ लाख खर्च हुने अनुमान गरेको बताए ।‘महाधिवेशनमा करिव १२ लाख खर्च हुने अनुमान गरेका छौं, गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा बसोबास गर्ने जातजातिका मौलिक संस्कृति झाँकी प्रस्तुत गर्ने छौं ।’ उनले भने ।  होटल रेष्टराँ तथा पर्यटन व्यवसायीहरुको प्रादेशिक छाता संगठनको रुपमा स्थापित होटल व्यवसायी महासंघ गण्डकी प्रदेशमा ६ हजार ५० बढी होटल सञ्चालनमा रहेको जनाएको छ । अनमानित ५४ हजार बढीलाई रोजगारी दिएको महासंघ गण्डकीले होटल व्यवसायमा ६२ अर्व लगानी रहेको र अहिले त्यो बढेर गएको अध्यक्ष चोखाले बताए ।  पोखरामा हुने होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनले आगामी तीन वर्षका लागि नया नेतृत्व चयन गर्नेछ । 

काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजार ८ अंक बढिले घटेर बन्द भएको छ। नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले घटेर ३५३.०३ विन्दुमा पुगेको छ।   अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ८.३९ अंकले बढेको थियो। सो दिन ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँको सेयर कारोबार भएको थियो।   यसदिन बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ।   आज २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँमा खरिदबिक्री भयो।   दुईवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। कालिञ्चोक दर्शनको ९.९८ र सिटिजन्स म्‍युचुअल फन्डको ९.९४ प्रतिशतले बढ्यो।   स्यामलिङ पावर कम्पनीको ७.४३ प्रतिशतले सेयर मूल्य घटेको हो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीषस्थानमा रह्यो।  सो कम्पनीको ४ करोड ९२ लाख ६७९ रुपैयाँको सेयर कारोबार भयो।   कारोबारमा आएका १३ उपसमूहमध्ये १० को घट्यो भने ३ को मात्रै बढ्यो। ​​​​​​​बैंकिङ उपसमूह,ननलाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक ० प्रतिशत बढिले बढेको हो।

सुर्खेत:  पछिल्लो समय राउटे समुदाय सङ्कटमा पर्न थालेको छ। राउटे समुदायमा समस्या बढ्दै गए पनि उनीहरुका पक्षमा सरकारी लगानी भने घट्दै गएको छ।   जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएको यो समुदायलाई सरकारी तथा गैर सरकारी संस्थाले उत्थानका नाममा गरिएका सहयोगले राउटेले आफ्नो मुल पेशा नै बिर्सन थालेका छन्। फरक खालको संस्कृति बोकेका राउटे यिनै संस्थाका कारण अहिले आफ्नो अस्तित्व मास्ने मात्रै होइन परनिर्भरतामा धकेलिदै गएका छन्। यति मात्रै होइन राउटेको प्रजनन स्वास्थ्यमा समेत असर पर्दै जाँदा जनसङ्ख्यासमेत घट्दो क्रममा छ।    कानुनी रुपमा नागरिकता प्राप्त नगरे पनि राउटेलाई दैलेखको गुराँस गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएको छ। सरकारले मासिक सामाजिक सुरक्षा वापतको रकम उपलब्ध गराउँदै आएको छ। तर त्यो रकम मदिरा तथा सुर्तीजन्य पदार्थमा खर्च गर्ने बानी राउटे समुदायमा बढ्दै गएको छ।    पैसा छोयो भने पाप लाग्छ भन्ने राउटे समुदाय काठका सामग्री बनाएर अन्नसँग साटेर जीविको पार्जन गर्थे। तर संरक्षित जंगलमा काठ काट्न नपाएपछि उनीहरुको पेशा सङ्कटमा परेको छ। उनीहरुलाई प्रकृतिसँगै रम्न नदिएर सामाजिकीकरण गर्न थालियो। तर पछिल्लो समय उनीहरुले आफ्नो पम्परागत पेशा सङ्कटमा परेपछि माग्ने र सरकारले दिने भत्ताले जीविकोपार्जन गर्दै आएका छन्।    राउटे समुदायको परिवर्तनका लागि काम गरेका विभिन्न सङ्घ संस्थाले उनीहरुलाई खाद्यान्न, पैसा सहयोग गर्दै आएका छन्। पहिले मदिरा नखाने राउटे मदिराको लतमा लागेका छन्। पैसा तथा अन्नपात माग्नका लागि गाउँ शहर पसे। उनीहरुले पैसा पाउन थालेपछि मदिरा खान थालेका छन्। जसले गर्दा आर्थिक प्रलोभनमा पर्दा उनीहरु असुरक्षित बन्दै जाँदा पछिल्लो समय कर्णाली प्रदेश सरकारले राउटे लक्षित बजेट घटाउँदै गएको छ।   २०७८ सालमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले लोपोन्मुख राउटे समुदायको संरक्षण र संवर्धन गर्न भन्दै एकीकृत नीति ल्याउने योजना बनाएको थियो। यो अहिलेसम्म पनि योजना मै सीमित भएको छ। सामाजिक विकास मन्त्रालयको महिला तथा बालबालिका महाशाखा प्रमुख अनिता ज्ञवालीले नीतिको प्रारम्भिक मस्यौदा तयार पारिसकेको र विज्ञको सुझाव लिने काम भइरहेको बताउनुभयो।    सरकारले राउटे समुदायका हरेक व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वापत चार हजार रुपियाँ नगद दिनुको सट्टा उनीहरुलाई काठका भाडा बनाउन चाहिने सामग्री खरिद गरिदिनुपर्ने अधिकारकर्मी हिरासिंह थापाले जानकारी दिनुभयो।