पोखरा: मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । आफु स्वास्थ्यमन्त्री बन्न पार्टीका केही मान्छेलाई २ करोड रकम बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद डा. श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको रास्वपा गण्डकी प्रदेश स्रोतले जनाएको छ ।
पोखरा: कास्कीका केही पदमार्गहरु यतिबेला ट्रेण्डिङमा छन् । पोखरादेखि कम समयमा हिउँ खेल्न र शाहसिक पदयात्रामा रम्न चाहनेहरुका लागि पदमार्गहरु औलामा गन्न सकिने छन् । घोरेपानी, पुनहिल, खुमैडाँडा, मर्दी, कोरी तथा अन्नपूर्ण आधार शिविर कास्कीका मुख्य पदमार्गहरु हुन् । अहिले सामाजिक सञ्जालमा देखिएको लोकप्रियताका आधारमा खुमैडाँडा –कोर्चाङ पदमार्ग (ट्रेक) सबैभन्दा अघि देखिएको छ । यससँगै मर्दी पदमार्ग र मादी गाउँपालिकाको कोरी पदमार्गमा कैद गरिएका तस्बिरहरु सामाजिक सञ्जालमा व्यापक देखिएका छन् । जहाँबाट माछापुच्छ्रे लगायतका धेरै हिमश्रृङ्खलालाई नजिकैबाट मन अघाउन्जेल नियाल्न सकिन्छ । कुनैबेला मर्दीपदमार्ग लोकप्रिय थियो, यो वर्ष खुमैडाँडाले उछिनेको छ । यिनीहरुको लोकप्रियतालाई कोरी ट्रेकले पछ्याइरहेको छ । कोरीको प्रवद्र्धनका लागि सरकारी नियायको खासै भूमिका छैन । स्थानीय पर्यटन व्यवसायीको पहलकदमीले कोरी पदमार्गले केही स्थान पाएको छ । यद्यपी अन्य पदमार्गहरुको तुलनामा कोरी पदमार्ग होटलहरुको व्यवस्था कम छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको कोरीबाट माछापुच्छ्रे , अन्नपूर्ण, लम्जुङ तथा गणेश हिमाल लगायत हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिन्छ । साथै सदावहार हिउँले ढाकिने कोरीमा स्केटिङसमेत खेल्न सकिन्छ । कसरी जाने कोरी ? कोरी जान पोखरादेखि सिक्लेससम्म सवारी साधनमा जान सकिन्छ । बिहान ६ बजेनै पोखराबाट सवारी साधनमा हिडेपनि दिउँसो सिक्लेस पुगिन्छ । त्यसपछि खाना खाएपछि पैदल यात्रा सुरु हुन्छ । त्यो रात हुँगुमा बिताइन्छ । जहाँ ३ वटा होटल छन् । अर्काे दिन बिहानै उठेर कपुचे डेढ घण्टाको यात्रामा कपुचे ताल पुगिन्छ । त्यपछि फेरि हुँगुमै फिर्ता हुनुपर्छ । यदि कपुचे ताल जान चाहेको खण्डमा । त्यसपछि कोरीतर्फ अघि बढिन्छ । त्यो रात न्होटामा बिताइन्छ । र बिहान त्यहाँबाट उकालो लागेपछि कोरी पुगिन्छ । जहाँ ३ वटा होटल छन् । कोरीको त्यो बसाइपछि अर्काे पदमार्ग हुदै सिधै सिक्लेस फिर्ता हुन सकिन्छ । कति लाग्छ खर्च ? स्थानीय पर्यटन व्यवासायी तथा नमस्ते गेष्ट हाउसका सञ्चालक धन बहादुर गुरुङ (माइला) का अनुसार कोरी जान ४ दिन समय लाग्छ । त्यसका पदमार्गीको समुहका आधारमा खर्च लाग्ने उनले बताए । ‘गेष्टको गु्रप हेरेर कति खर्च लाग्छ भन्ने हुन्छ, पर्यटन व्यवसायी गुरुङले भने, ‘सामान्य खर्च गर्ने हो भने ७/८ हजारले कोरी जान सकिन्छ ।’ उनले कोरी जानका लागि ट्रेकिङ गाइडको अपरिहार्यता रहने बताए । ‘कोरी जानका लागि गाइड लानैपर्छ । किनभने अन्य ट्रेकिङ लाइनमा जस्तै सबैको व्यवस्था छैन’ गुरुङले भने । तस्बिरहरू:- तस्बिर: माइला दाई (नमस्ते गेष्ट हाउस सिक्लेस)
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन्। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ। हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन्। काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन्। अहिले काठमाडौँसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ। स्वास्थ्य कार्यालय काठमाडौँका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ। यस्तै काठमाडौँका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन्। केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ। मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ।
पोखरा: धौलागिरी बेसक्याम्प नजिक एभरेष्ट एयरको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै ‘आकस्मिक फोर्स ल्याण्डिङ’ भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए । उनका अनुसार एयर डाइनेस्टीको हेलिले पाइलट र अर्का एकजनालाई उद्धार गरेर पोखरा ल्याउँदै गरेको जानकारी दिए ।
पोखरा: ठेकेदारले कामदार नपाएपछि पोखरा महानगरपालिका १ को नाला बनाउने योजना अपलत्र परेको छ । पोखराको बगरस्थित धोबिगौडादेखि मानसडक जाने सडक किनारको नाला बनाउने कार्य कामदार नपाएपछि गत हप्तादेखि अलपत्र परेको हो । सो नाला बनाउने ठेक्का स्काई कन्स्ट्रक्सन एण्ड विल्डर्सले ठेक्का पाएको थियो । ठेक्का पाएको कम्पनीका सञ्चालक मनोज देवकोटाले मजदुर नपाएकाले निर्माणकार्य रोकिएको स्वीकारे । उनले पहिलेका कामदारले राम्रो काम नगरेपछि अन्य कामदारको खोजी गरिरहेको बताए । ‘गुणस्तरीय काम गर्छु भनेर ठेक्का लिएको हो । काम गर्न राखेका कामदारले राम्रो काम गरेनन्, सुनगाभा न्यूजसँग देवकोटाले भने, ‘कामदारले राम्रो काम गरेन भने कम्पनीको बदनाम हुन्छ भनेर राम्रो कामदार खोजेको हो त्यसैले नयाँ कामदार खोज्दा ३/४ दिन काम रोकिएको हो ।’ उनले नयाँ कामदार आज (आइतबार) आइपुग्ने बताउदै रोकिएको कामलाई अघि बढाउने बताए । यतिमात्र नभएर स्थानीयले नाला बनाउने महानगरको योजनामा विरोध जनाएकाले पनि काम रोकिएको सुनाए । ‘मापदण्ड अनुसार काम गर्नुपर्ने हुन्छ, मापदण्डमा केही दिन स्थानीयको अवरोध रह्यो । निर्माण समितिबाट समस्याको समाधान गरेर काम सुरु भयो, फेरी कामदारले राम्रो गरेनन्, उनले भने, ‘त्यसैले नयाँ कामदार खोज्दा केही दिन काम रोकिएको हो । योजना अलपत्र परेको होइन ।’ स्काई कन्स्ट्रक्सन एण्ड विल्डसले पोखरा महानगरसँग २०७९ फागुन २६ गते पोखरा महानगरपालिका १ धोविगौडा-मानसडकमा नाला निर्माण गर्न ७७ लाख ३३ हजार ९ सय ३० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सो योजना चालु आर्थिक वर्षको असार १५ भित्र योजना सम्पन्न गर्नुपर्ने सम्झौता छ । तर अबपनि काम गर्न ढिलाई गरेको खण्डमा योजना अधुरै रहने प्रष्ट । त्यसैले काम रोकिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । योजना अलपत्र परेपछि पोखरा महानगरपालिका १ का वडाध्यक्ष सहारा प्रधानले ठेकेदारले योजना निर्माणमा कामदार फेरबदल गर्न लागेपछि काम रोकिएको बताए । ‘सम्झौता भएर योजना अगाडि बढ्दा ल्याएका कामदारले राम्रो काम गरेन भनेर ठेकेदारले गुनासो गरेपछि कामदार फेर्ने कुरा आएको थियो, वडाध्यक्ष प्रधानले भने, ‘अन्य योजनामा भएका कामदार ल्याएर काम अगाडि बढाउने ठेकेदारसँग कुराकानी भएको छ । फलोअप गरिराखेको छु ।’ उनले ठेकेदारलाई नयाँ कामदार ल्याएर यथाशिघ्र काम अगाडि बढाउन दिर्नेशन दिएको बताए । धोविगौडा/मानसडक खण्डमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले योजना अलपत्र हुँदा व्यवसायमासमेत असर परेको गुनासो छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले पोखरेललाई चैत २४ गते प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। ‘राष्ट्रपतिज्यूले मलाई प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो,’ पोखरेलले सेतोपाटीसँग भने। पोखरेल राष्ट्रिय सूचना आयोगका आयुक्तसमेत भएर काम गरेका थिए। उनी नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत हुन्।
रुकुम: रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले संकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन्। दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ । दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।
चितवन : आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ छ । 'सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन्', उनले भने, 'राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ ।' निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने भन्दै उनले अहिलेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालनका लागि सुरक्षा योजना बनाइ गृहकार्य अघि बढाइएको उनको भनाइ छ । 'जनताले सुरक्षित महशुस गर्ने गरी सुरक्षाकर्मी परिचालन हुन्छ, सबै मतदान स्थलमा वैशाख ७ गतेभित्र सुरक्षाकर्मी पुगिसक्नुहुन्छ', उनले भने। उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार ६९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलापछि रिक्त भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ ।
धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' धनगढी पुगेका छन्। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड केही समयअघि धनगढी आइपुगेका हुन्। आइतबार बिहान बुद्ध एयरको उडानबाट धनगढी आइपुगेका प्रधानमन्त्री प्रचण्ड अब केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिएका छन्। दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोककुमार राईलगायतको सहभागिता रहनेछ। विश्वविद्यालयबाट पासआउट भएका ८५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए । प्रधानमन्त्री कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

