फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

काठमाडौं :  छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेले एक शिक्षकलाई कैद र जरिवानाकाे फैसला गरेको छ।    प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद सजाय सुनाएको हो।    यस्तै १५ हजार जरिवाना र चार सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न भनेको छ।   त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।    अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडिओ देखाएको अभियोग पुष्टि भएको थियो। यसअघि धरौटीमा रिहा गरिएका विष्ट हाल फरार छन्।    बालयौन दुर्व्यवहार अभियोगमा विष्टलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो।   २०७८ फागुन १२ गते भएको उक्त घटनामा संलग्न शिक्षकले पाठ्यक्रमसँग सम्बन्धित सामग्री विद्यार्थीलाई देखाएको बयान दिएका थिए। जिल्ला प्रहरी कार्यालय धुलिखेलले फरार शिक्षक विष्टको खोजी भइरहेको जनाएको छ।

पाेखरा:   बौद्ध​ धर्मगुरू दलाई लामाले हालै भएको एक घटनामा माफी मागेका छन्। भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाको एक बालक सँगको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो।   उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर  सोध्छन्।   दलाई लामाको उक्त व्यवहारको तीव्र आलोचना भएपछि उनले सोमबार माफी मागेका हुन्।   दलाई लामाको सामाजिक सञ्जालमा राखिएको वक्तव्यमा उनले आफूले भेटेका मानिसहरूसँग  निर्दोष तरिकाले जिस्किने गरेको उल्लेख गरेका छन्। ‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु,’  दलाई लामाको वक्तव्यमा भनिएको छ।    

काठमाडौं: नेकपा (एमाले)का सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।   सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद रावलले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ मुछिएका हुन्/होइन ? सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको हो ।   आइतबार (हिजो) सांसद श्रेष्ठले मन्त्री बन्नका लागि दुई करोड चाहिएको भन्दै व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो विभिन्न सञ्चार माध्याममा सार्वजनिक भएपछि त्यो सामाजिक सञ्जालमा भइरल भइरहेको छ भने रास्वपाले सांसद श्रेष्ठलाई निलम्बित गरी २४ घण्टै स्पष्टिकरण सोधेको छ ।   सांसद रावलले त्यस्ता घटना सत्य हुन् वा होइनन् ? तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,  ‘‘हामीले देखिरहेका छौं अहिले दुई करोडको अडियो एकदमै भाइरल भइरहेको छ । यसमा सरकारको के छ ? यो के हो ? यसको तथ्यसत्य के हो ? हामीले भनिरहेका छौं–घुस लिने र दिने राज्यको शत्रु हुन् । यो कारबाहीको दायरामा आउनु पर्छ भनिरहँदा यो घटना आइरहँदा यो पार्टी विशेषको भन्दा पनि, पार्टीले कारबाही गर्नेभन्दा पनि राज्य, सरकारले यसको तथ्यसत्य छानबिन गरेर कारबाहीका दायरामा ल्याउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’’   सांसद रावलले सरकारलाई संविधान र कानुन अनुसार अघि बढन पनि सचेत गराउनुभयो ।

पोखरा:   गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले मगर समुदायको मातृभाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।   पोखरामा शनिबार आयोजित मगर कथानक चलचित्र ‘उखान’को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै उहाँले मगरा समुदायको अस्तित्व हराउने बताउदै भाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको हो ।   उहाँले मगर समुदायको पहिचानसँग जोडिएका साँकृतिक पक्षहरुको संरक्षण गर्ने जिम्मा युवाको काँधमा आएको  बताउनुभयो । ‘मगर समुदायमा भएका रचनाहरुको इतिहासको खोजी गर्ने, संरक्षण र संर्वद्धन गर्ने दायित्व अबको पुस्ताको हो, मन्त्री गाहामगरले भन्नुभयो’ ‘चाहे त्यो कौडा, सोरठी, सालैजो, घाटु लगायत अन्य नाचहरुको इतिहास खोज्ने संरक्षण र संर्वद्धन गर्ने जिम्मा युवाहरुको हो ।’   मन्त्री गाहामगरले भाषा संस्कृतिको संरक्षणमा अब ध्यान दिन नसके मगर मगर्नी हुनुको कुनै अर्थ नरहने उल्लेख गर्नुभयो । ‘मगर समुदायको इतिहास, पहिचान, लिपी, भाषा र संस्कृतिको संरक्षण गर्न युवापुस्तामा शिक्षाको आवश्यक छ, उहाँले भन्नुभयो, ‘पुर्खाले जोगाएको वीरता संरक्षण गर्नु हाम्रो दायित्व हो ।’ उहाँले फरक प्रसंगमा बोल्नुहुदै आदिवासी जनजाति समुदायले राजनीतिक दलहरुले भोटको लागि मात्र प्रयोग गरेको भन्दै नेतृत्वका लागि अब प्रतिस्पर्धामा आउन आग्रह गर्नुभयो । ‘जुनसुकै राजनीतिक पार्टीले जनजाति समुदायलाई भोटको लागि मात्र प्रयोग गरेको पाइन्छ, उहाँले भन्नुभयो, ‘मुख्य प्रतिस्पर्धामा किन लिन चाहँदैनन्, मुलुकको समृद्धिको लागि अब जनजाति समुदायले नेतृत्व गर्न आवश्यक छ ।’   यस्तै मगर कथानक चलचित्र ‘उखान’का निर्देशक मेक आलेमगरले चलचित्र प्रर्दशनबाट संकलित रकम साामाजिक कार्यमा खर्च गर्ने बताउनुभयो । ‘चलचित्र प्रर्दशनबाट आएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य हो । उखान चलचित्रले मगर समुदायका भाषाको आवश्यक छ र सबैले मगर समुदायले भाषाको संरक्षण गर्नुपर्ने सन्देश दिएको छ,’ उहाँले भन्नुभयो ।   एक्सन फिल्मसको ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ काठमाडौंको राष्ट्रिय नाचघर जमलमा माघ १८ गते र पोखरामा गत शनिबार प्रदर्शन भएको हो ।   

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उहाँले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिनुभयो ।    “सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस्  जायज माग पूरा गरियोस्”, उहाँले भन्नुभयो । उहाँले काठमाडौँका जनप्रतिनिधिलाई यस प्रक्रियामा सम्मिलित गराउन समेत आग्रह गर्नुभयो ।    काठमाडौँ महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा सङ्घीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन । “काठमाडौँ महानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन संसद्मा ल्याइयोस् । हामी काम गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।    बागदरबार र सिंहदरबारबीच टकराव देखिएको भन्दै उहाँले भन्नुभयो, “स्थानीय सरकारले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, भाषा, लवज ठीक कि बेठिक यो विषयमा बहस गरौँला ।”

काठमाडौँ:  अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।   भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभयो ।    “आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरु के हुन् तपाईंहरुलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, म यहाँहरुलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।”    आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको उल्लेख गर्दै उहाँले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशित गर्नुभयो ।    “जवाफदेही र जिम्मेवार बनाउने परम्पराको हामी सुरुआत गरौँ”, उहाँले भन्नुभयो । धेरै कारणबाट राजस्व घटेको र राजस्व घट्नुमा भन्सारको सम्पूर्ण दोष नरहेको भन्दै उहाँले राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग पनि गम्भीर छलफल गरिएको बताउनुभयो । उहाँले दुवै सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा निगरानी गर्न आग्रह गर्नुभयो ।    “धेरै भन्सार नाकाबाट राजस्व सङ्कलन घटेको छ । ती नाकाबाट पनि राजस्व चुहावट भएको खबर छ । भैरहवा, वीरगञ्ज, रसुवा नाकामा पनि त्यस्तै अवस्था छ । यसलाई गम्भीर ढङ्गबाट लिनुहोला”, मन्त्री महतले भन्नुभयो ।    साधारण खर्च धान्न नसक्ने गरी आय घट्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उहाँले अहिलेको अवस्थालाई राजनीतिक नेतृत्वले उच्च महत्व दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्व यसमा गम्भीर छ । यो गम्भीरतालाई मध्यनजर राखेर जहाँजहाँ समस्या छन् ती समस्यालाई समाधान गर्न हाम्रोतर्फबाट कुनै कसर बाँकी राखिने छैन ।”    उद्योगी व्यवयायीलाई अनावश्यक झन्झट, पीरमर्का परिरहेकाप्रति आफूहरु संवेदनशील रहेको भन्दै मन्त्री डा महतले यस विषयमा भन्सारका अधिकारीहरुले पनि ध्यान दिनुपर्ने बताउनुभयो ।  

काठमाडौं:  काठमाडौं महानगरपालिकाले सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन।   शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए।   बालेनको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।   ‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर सिंहदरबारको फोहोर सबै कार्यालयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’   यस्तै राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवासमा पनि हिजोदेखि नै फोहोर उठेको छैन।   सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।   सरकारसँग कुरा नमिलेसम्म फोहोर कुनै पनि भिआइपी एरियाबाट फोहोर नउठ्ने मेयर बालेनका स्वकीय सचिव भूपदेवले बताएका छन्।

पोखरा: रोट्रयाक्ट क्लब अफ मणिपाल  कलेज अफ मेडिकल साइन्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।   आइतबार मणिपाल  अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरे ।   क्लबको ११औँ चार्टर डेको अवसरमा कार्यक्रम गरिएको हो । रोट्रयाक्ट क्लब अफ मणिपालकी अध्यक्ष रञ्जना केसीले क्लबले विविध समयमा सामाजिक कार्यहरु गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन् ।   ‘हामीले विभिन्न दिवस वा अन्य समयमा विविध सामाजिक कार्यहरु गर्दै आइरहेका छौँ । हामी मेडिकल सेक्टरकै भएको भएर विशेषतः मेडिकल फिल्डसँग सम्बन्धीत कार्यहरु गर्दै आइरहेका छौँ । आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा यस्ता कार्यक्रमहरु गर्नेछौँ,’अध्यक्ष केसीले भनिन् ।    

पोखरा:  पाल्पाली समाज पोखराको अध्यक्षमा बालचन्द्र परियार निर्वाचित भएका छन् ।  संस्थाको २० औं साधारणसभा तथा ११ औं अधिवेशनले परियारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो ।  संस्थाको महिला उपाध्यक्षमा उमा सापकोटा सर्वसम्मत भएकोमा उपाध्यक्षहरुमा श्रीधर पराजुली, केशव नेपाल र अनन्त अधिकारी छन् । प्रथम, द्वितीय र तृतीय उपाध्यक्षको वर्गीकरण टुंगाउने जिम्मा नेतृत्वलाई दिइएको छ । महासचिवमा सञ्जय आत्रेय, उपमहासचिव रमेश पौडेल, सचिव युमाया पचभैया र किरण पाण्डे, सहसचिव गीतादेवी शर्मा र सुमन आचार्य, कोषाध्यक्ष पदमप्रसाद पोखरेल र सहकोषाध्यक्ष गिरिराज पोखरेल छन् ।  सदस्यमा धनबहादुर झेंडी, दामोदर बस्याल, पिताम्बर तिमिल्सिना, कृष्णप्रसाद मिश्र, बुद्धिप्रसाद न्यौपाने, भुवन लोहनी, डा. खेमराज अधिकारी, इन्दिरा कँडेल, सम्झना अर्याल, सीता राना, अनुपमान कर्माचार्य, मनिला राना, दीपक सुवेदी र तिलबहादुर थापा चयन भए ।  पूर्व अध्यक्ष बाबुराम खनाल संयोजक रहेको निर्वाचन समिति सदस्यमा पूर्व अध्यक्षहरु ताराप्रसाद पोखरेल, जगदीश गौतम, नारायणप्रसाद पौडेल र कानुनी सल्लाहकार विष्णुप्रसाद लम्साल थिए ।  नवनिर्वाचित अध्यक्ष परियारले संस्थालाई डिजिटल प्रविधिमा लैजाने तथा भोक राहत कोष स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । डिजिटल प्रविधिको लागि पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल र भोक राहत कोषका लागि महासचिव संजय आत्रेयलाई संयोजक जिम्मा दिइएको छ ।  यसअघि कार्यक्रम उद्घाटन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पाल्पाले गर्व गर्नलायक धेरै काम गरेको बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पंगेनी, गण्डकी प्रदेश कार्यालयका सचिव अणप्रसाद न्यौपाने, रामपुर वडा १ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कपिल खाँण, रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, गुल्मेली समाज पोखराका अध्यक्ष नारायणप्रसाद न्यौपाने लगायतले पाल्पालीले पोखरामा आइ उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।  कार्यक्रममा पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु चिरञ्जीवी श्रेष्ठ, जगदीश गौतम, ताराप्रसाद पोखरेल, कुलप्रसाद घिमिरे, सल्लाहकारहरु जनपुकार मुनकर्मी, डा. यज्ञमान शाक्य, युवाउद्यमी मनोहर श्रेष्ठ लगायतले बोलेका थिए ।  सो अवसरमा समाजको हितका उल्लेख्य योगदान पु¥याएकोमा निवर्तमान अध्यक्ष एवं पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरेलाई सम्मानपत्र गरियो । समाजका अध्यक्ष रेशम रचकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष बालचन्द्र परियार र संचालन महासचिव केशव नेपालले गरेका थिए । सहयोगीलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।