पोखरा: सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाहीको माग गर्दै पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पर्क कार्यालयमा केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेपछि बैशाख ३ गते क्याम्पसले घोषणा गरेको निर्वाचन मितिमा असहमति जनाउँदै चार विद्यार्थी संगठनले स्ववियु निर्वाचन सम्पर्क कार्यालयमा पुनः तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्दै अखिल क्रान्तिकारी विप्लवका पिएन क्याम्पस अध्यक्ष सचिन सीले लोकतन्त्रमा निष्पक्ष निर्वाचन हुन नसकेको सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्दै तालाबन्दी गरेको बताए । ‘लोकतन्त्रमा पनि स्ववियु निर्वाचन निष्पक्ष रुपमा क्याम्पस प्रशासनले गराउन सकेन, क्याम्पसबाट सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही हुनपर्छ भन्ने हाम्रो माग हो, सीले भने, ‘कुनै राजनीतिक दलको दवावमा क्याम्पस प्रशासनले सहमति विपरित निर्वाचनको तालिका निकाल्नु हाम्रो माग विपरित हो त्यसैले सम्पर्क कार्यालयमा तालाबन्दी गरेका हौं ।’ अनेरास्ववियू, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी सयुक्त र अखिल छैठौले सयुक्त रुपमा विज्ञप्ती निकाल्दै तालाबन्दी गरेका हुन् । सयुक्त रुपमा चार विद्यार्थी संगठनले विज्ञप्ती जारी गर्दै प्रथम वर्षको परीक्षालाई असर पर्ने गरी निर्वाचन तालिका निकालिएको , क्याम्पस प्रशासन, स्ववियु निर्वाचन समितिले एकलौटी र मनोमानी रुपमा स्ववियु निर्वाचनको मिति घोषणा गरेको आरोप लगाइएको छ । सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग समेत चार विद्यार्थी संगठनले राखेका छन् । उनीहरुले स्ववियु निर्वाचन समिति प्रमुख विकास केसी र सदस्य सचिव बोधराज ढकालको भूमिका शंकास्पद र गैरजिम्मेवारी रहेको भन्दै निर्वाचन तालिका खारेज गरी निर्वाचन प्रक्रिया नरोक्किनेजेल सम्म क्याम्पस प्रशासन र निर्वाचन सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हुन् । क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यालयमा तालाबन्दी नखुलेपछि बिबिए भवनमा सम्पर्क कार्यालय स्थापना गरेको थियो । चार विद्यार्थी संगठनले सोही सम्पर्क कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।
काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचि शंकरदास बैरागी र रक्षासचिव किरणराज शर्मा सहभागी छन्। बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, सम्भावित बाह्यका सुरक्षाका चुनौतीलगायत विषय बैठकको एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं : ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन्। सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको त्रिअबि प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए। अर्का एक जन भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए। उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ। प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्याउने गरिएको छ। मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं: कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिको आज (मङ्गलबार) मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।
सिन्धुपाल्चोक: एक साताका लागि तातोपानी नाका बन्द भएको छ । आंशिक रुपमा सञ्चालन भइरहेको उक्त नाकाबाट मालबाहक कन्टेनर आउन ठप्प भएपछि तातोपानी नाका सुनसान भएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले चिनियाँ सुरक्षा अधिकारीको भनाइ उद्धत गर्नुहुँदै चिनियाँ क्षेत्रमा भौतिक पूर्वाधारका काम गरिरहेकाले चीनले तातोपानी नाका ठप्प गराएको जानकारी दिनुभयो । ‘‘तातोपानी नाका सात दिन बन्द हुने खबर आएको छ,’’ प्रजिअ न्यौपानेले बताउनुभयो । चीनको स्वाशासित क्षेत्र खासा, न्यालम लगायतका क्षेत्रमा भौतिक पूर्वाधारका अत्याधुनिक भवन, सडक र अन्य संरचना पुनः निर्माण भइरहेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आगामी वैशाख १८ गतेदेखि उक्त नाका खुल्ने तयारीका कारण चिनियाँ पक्षले पुनः निमार्ण गरिरहेको हुन सक्ने अनुमान छ ।
काठमाडौं : मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ४ जनाविरूद्ध भ्रष्टाचार कसूरमा आरोपपत्र दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्काली कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल,गमबहादुर विश्वकर्मा,नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध ९३ लाख ६६ हजार २०९ रुपैयाँ भ्रष्टाचार कसूरमा मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। आर्थिक वर्ष २०७२/०७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखितबाट उठेको राजश्व रकम दाखिला नगरी हिनामिना गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम सजाय माग गर्दै आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। उनका अनुसार जग्गा किनबेचका क्रममा रकम हिनामिना गरेको उजुरी निवदेनका आधारमा अनुसन्धान गर्दा उनीहरू भ्रष्टाचारजन्य कसूरमा संलग्न रहेको पाइएको हो। उनीहरूबिरुद्ध हिनामिना रकमको दोब्बर रकम बीगोसहित सजाय माग गरिएको छ।
काठमाडौं: मङ्गलबार पुँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अङ्कमा कायम भएको हो । आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार सात सय २० कित्ता शेयर ३५ हजार दुई सय ३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय ३९ दशमलव ९१ र जीवन बीमा समूहको उपसूचक ८६ दशमलव १० अङ्कले बढेको छ । बैंकिङ समूह १६ दशमलव ७७, विकास बैंक समूह ७९ दशमलव १८, वित्त समूह ३७ दशमलव ४८, होटल तथा पर्यटन समूह ५३ दशमलव २२ र जलविद्युत् समूह ३७ दशमलव ९४ अङ्कले बढेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव ७६, लघुवित्त समूह ४९ दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव १६, निजीवन बीमा समूह ६२ दशमलव ९२, अन्य समूह १७ दशमलव ४६ र व्यापार समूह २१ दशमलव ९८ अङ्कले बढेको छ । पछिल्ला दिनहरुमा लगातार सकारात्मक सर्किट लाग्दै आएको कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ६९ प्रतिशतले बढेको छ । असानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ । आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु सात करोड १० लाख ९३ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको एक लाख ८७ हजार पाँच सय ९४ कित्ता शेयर किनबेच भएको छ ।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोफिजुल इस्लाम र देवसिस कुमार साह रहेका छन्। उनीहरू विमान बंगलादेश ३७२ उडानबाट बंगलादेशको राजधानी ढाका जान लागेका थिए। उनीहरूलाई त्रिअबि प्रहरीले अन्तिम सुरक्षा जाँचका क्रममा मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ। विमानस्थल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालमणि आचार्यले अमेरिकी डलरसहित बंगलादेशी नागरिक पक्राउ परेको पुष्टि गरे। प्रारम्भिक बयानका क्रममा उनीहरूले उक्त रकमको स्रोतको बारेमा केही बताउन नसकेको प्रहरीको भनाइ छ। उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ।
काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूमा कसले ब्याजदर निर्धारण गर्छ भन्ने विषयमा जवाफ दिएका छन्। मंगलबार आयोजित पत्रकारहरूको जिज्ञासामा उनले ब्याजदर निर्धारणबारे जवाफ दिएका हुन्। उनले विसं २०४६ देखि नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर निर्धारण बजारलाई दिएको बताए। उनले त्यो प्रथा हालसम्म निरन्तरता पाएको स्पष्ट पारे। उनले बजारले नै बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर निर्धारण गरिरहेको बताए। 'नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण गर्ने जिम्मा बजारलाई दिएको २०४६ देखि हो। त्यो अहिलेसम्म निरन्तर छ। बजारमा तरलता सहज छ भने ब्याजदर तल झर्छ। यदि तरलता क्रन्च भयो भने ब्याजदर माथि जान्छ,' उनले भने, 'राष्ट्र बैंकले त्यसको मोनिटर भने गर्छ।' ब्याजदरको अन्तिम लाभग्राही सर्वसाधारण हुनुपर्ने आफूहरूको हुनुपर्ने गर्भनर अधिकारीको भनाइ छ। त्यसैले निक्षेप र कर्जाको अन्तर ४.४ प्रतिशतको सीमा तोकेको उनले बताए। 'निक्षेप र कर्जाको अन्तर ४.४ प्रतिशत हामीले राखेका छौं। बैंकले पाउने भनेको ४.४ प्रतिशत नै हो। घटे बढेको खण्डमा कुनै बेला डिपोजिट गर्नेले पाउँछन्, कुनै बेला ऋणीले पाउँछन्,' उनले भेन। उनले ब्याजरबाट पीडित धेरै जनाले यसबारे प्रश्न उठाएको भन्दै उनले कर्जाको सही सदुपयोग भयो भएन भन्ने मुख्य कुरा भएको बताए। 'बैंकको ब्याजदरका कारण धेरै जना बिरक्तिनुभएको छ। ब्याज बेसी भएर हो कि अरु आर्थिक गतिविधि नभएर हो? व्यवसाय ऋण र ब्याजको कुरा त मात्र नहोला। एउटा उत्पादनको कम्पोनेन्टभित्र ब्याजको हिस्सा कति हुन्छ?,' गर्भनर अधिकारीले प्रश्न गरे, 'कर्जाको सही प्रयोग भयो कि भएन? कर्जाको मिस्युज भयो भन्ने पनि छ। मिस्युज भएकाहरूलाई कारबाही पनि गरिरहेका छौं।' उनले कर्जा मिस्युज गर्नेहरूलाई फौजदार कानुन लगाउनुपर्ने सुझाव आएको भन्दै बैंकिङ कसुरको डिग्री हेरेर कारबाही भइरहेको बताए।

