दाङ: दाङको घोराहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको । आज (सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खैरामा लु २ ख ४८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार खैराकै १७ वर्षीय गोपाल विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिनुभयो । मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मोटरसाइकलमा सवार विकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार ट्रकलाई ुओभरटेकु गर्ने क्रममा मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।
पोखरा: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको भन्ने समाचारका विषयमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयका सचिव डा. दामोदर रेग्मी तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीलाई मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गर्ने गरेका विषयमा आएका समाचारका बारेमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठका स्वकीय सचिव रमेश विकले जानकारी दिनुभयो । केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको समाचार बाहिरिएको थियो । सोही घटनाको विषयमा थप सत्यतथ्य छानबिन गरी दोषी देखिएकालाई विभागीय कारबाही गर्नसमेत मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । रासस
पोखरा: पोखरा महानगरपालिका १३ कुँडहरस्थित दुइमुहाने नहरमा पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सेती नदीबाट ल्याइएको नहरमा करिब अन्दाजी ५० वर्षीय पुरुषको शव आज बिहान फेला परेको हो । उक्त शवको सनाखत हुन नसकेको जानकारी दिदैंकास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकले फेला परेको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दिए । सो घटनाबार थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । कार्यवाहक प्रधानन्यायाधीशले न्यायपालिकाको नेतृत्व गरेको एक वर्ष बितेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच सहमति भएको हो । सोमबार बिहान एमाले अध्यक्ष ओलीको निवास बालकोटमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने प्रस्ताव गरेका थिए । प्रमुख प्रतिपक्ष दलका नेता ओलीले प्रस्ताव स्वीकार गरे । “प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्ने हुन्छ (जसमा प्रतिपक्ष दलको नेता पनि सदस्य हुन्छ), संवैधानिक परिषद्को बैठक राखेर सिफारिस गरौँ भनेर प्रधानमन्त्रीले प्रस्ताव राख्नुभएको छ,” बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, “प्रमुख प्रतिपक्षी दलका नेता मानननीय केपी शर्मा ओलीले हुन्छ भन्नुभएको छ ।” गत वर्षको फागुन १ गते तत्कालीन प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सिंगो न्यायपालिका कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको छ । यसबीचमा न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भए । उनले कायममुकायममै गएको असोजमा उमेरहदका कारण अवकाश पाएका थिए । त्यसपछि गएको मंसिर २७ मा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश भए । जबराले निलम्बित अवस्थामै अवकाश पाएपछि कार्कीले अझै कायममुकायम भएर काम गरिरहेका छन् ।
म्याग्दी: म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा क्लबले स्वागत गरेका छन् । घोडेपानी र पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा अवस्थित छ । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा पर्यटक आएका हुन् । घोडेपानीबाट टाढापानी हुँदै कास्कीको घान्द्रुक भएर पोखरा फर्कने नेपाल बिग माउन्टेन ट्राभल्सका पथ प्रदर्शक सुजित रेग्मीले बताउनुभयो । उहाँका अनुसार यो पदमार्गमा थप तीन वटा चिनियाँ पर्यटकको समूह भ्रमणमा आउँदैछन् । सात दिनको नेपाल भ्रमणमा आएका उनीहरूले सोमबार बिहान समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न पुगेका छन् । घोडेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक बढेका छन् । पछिल्लो एक महिनायता प्रतिदिन पाँच सय जना हाराहारीमा पर्यटक भित्रिएका व्यवसायीले बताएका छन् । “कोरोना महामारीले ठप्प पर्यटन व्यवसाय यस वर्षको चैत लागेपछि चहलपहल छाएको छ । पुरानो चहलपहल त फर्केको होइन तर दुई–तीन सय विदेशी पाहुना आउँदा सबै होटलमा दुई–चार जना पाहुना भइरहन्छन्”, स्थानीय डमबहादुर पुनले भन्नुभयो, “कोरोनापछि नेपाली आउने क्रम भने बढेको छ । नेपालीहरू अक्सर दुई–तीन दिन बिदा हुँदा र शैक्षिक भ्रमणमा आउने बढी छन् ।” घोडेपानीमा साना ठूला गरी ३० होटल छन् । पुनहिल प्रवेश तथा पुनहिलमा टि एन्ड कफी सप सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाबाट स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित रु ५६ लाख ६० हजारमा ठेक्का लिनुभएको छ । पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु एक सय ५० शुल्क तोकिएको छ । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे«, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । वसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेर पाखा रङ्गिन बनेका छन् । पहाडको उच्च स्थानमा रहेको घोडेपानी पुनहिल क्षेत्रको जङ्गल र पहाडी भूगोलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट दैनिक करिब तीन सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालय घोडेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले बताउनुभयो । भारतीय र नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । रासस
पोखरा: युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका ३३ तल्लो पुँडिटारमा रहेको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताहव्यापी कार्यक्रम अन्तरगत आइतबार भुलभुला आधारभुत विद्यालयमा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण गरेको हो । पुस्तकालयको पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै युनाइटेड क्लबद्धारा स्थापना गरिएको पुस्तकालयको संरक्षण र पुस्तकालयमा पुस्तकको ब्यवस्थाको लागि आफ्नो वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडाको विकासका लागि आफु हरदम लागीरहेको बताउदै भुलभुला देवी मन्दिर रहेको स्थानलाई पर्यटकीय स्थल बनाउन सकेको खण्डमा पुँडिटारमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सकिने उल्लेख गरे । युनाइटेड क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले युनाइटेड क्लबले स्थापना कालदेखि समाजमा उल्लेखनीय काम गर्दै आईरहेको सन्दर्भमा पोखरा ३३ तल्लो पुंडीटारमा रहेको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरि शिक्षाको स्तरोन्नतीमा पुर्याएको सहयोग प्रति धन्यवाद व्यक्त गरे । यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर पोखरेलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि पुस्तकालय स्थापना गरेकोमा धन्यवाद व्यक्त गरे । विद्यालयका प्रध्यानाध्यापक छविलाल पौडेलले पोखरा महानगरपालिका भित्र रहेतापनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पुस्तकालयको अभाव खड्किरहेको अवस्गथामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी पुस्तकालय स्थापना गरेकोमा युनाइटेड क्लबलाई धन्यवाद ब्यक्त गरे । ३३ नम्बर वडा महानगरको पनि कर्णाली जस्तो दुरदराजमा रहेकाले विद्यार्थी संख्या न्युन रहेको उनको भनाइ रहेको थियो । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा काम गर्दै आइरहदा एकदर्जन वढी सामुदायिक विद्यालयहरुमा अक्षयकोष, छात्रावृत्ति कोष, पुस्तकालय स्थापना, शैक्षिक सामाग्री बितरण जस्ता कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भमा भुलभुला आधारभुत विद्यालयमा आएर पुस्तकालय स्थापना गर्न पाउदा खुसी लागेको बताउदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उज्जवल भविष्यको समेत कामना गरे । युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुलभुला सामुदायिक बनका अध्यक्ष बैकुण्ठ गोदार, भुलभुला आमा समुहकी अध्यक्ष इश्वरी पोखरेल लगायतले बोलेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले गरेका थिए । क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश तिमिल्सिनाले धन्यवाद मन्तव्य राखेका थिए ।
काठमाडौँ: नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा आज (सोमबार) बालकोट पुगेका छन् । एक सातादेखि ज्वरोका कारण अस्वस्थ रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक विषयमा छलफल गर्न शीर्ष दलका प्रमुखहरू बालकोट पुगेकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । ओलीसँगको भेटमा संवैधानिक परिषद् सम्बन्धि विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने सचिवालयले जानकारी दिएकाे छ ।
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका गाडी चालक गम्भीर घाइते भएका छन्। सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट लडेर उनका निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा घाइते भएका हुन्। दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएका थिए । उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। प्रहरीका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामिछानेसहितकाे टाेली आइतबार बेलुका चितवन आइपुगेका थिए। गम्भीर घाइते भएका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
दाङ: दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । आत्म हत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार डिउटीमा रहेको समयमा ३५ वर्षीय केसीले आइतबार साँझ ८: ४० बजे तिरको समयमा एसएलआरले आफैलाई गोली हानी आत्महत्या गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण सहायक हवाल्दार केसीले आत्महत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । ‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले घरायसी विवादका कारण आत्महत्या गरेको खुल्न आएको छ’,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक मल्लले भने,‘घटनाबारेमा थप अनुसन्धानको काम भइरहेको छ ।’ ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत सहायक हवाल्दार केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४÷५ दिन पहिले मात्रै आएको प्रहरीले जनाएको छ ।

