काठमाडौं: एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप क्रिकेट आजदेखि नेपालमा सुरु हुँदैछ । नेपालसहित १० वटा देशले खेल्ने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । मलेसियासँगका पछिल्ला ५ वटा खेलमध्ये नेपाल सबैमा विजयी भएको छ । आज हुने अर्को खेलमा हङकङ र सिङ्गापुरले मूलपानी मैदानमा खेल्नेछन् । प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह बी मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
लमजुङ: चक्रिय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि एकसय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । केही हप्ताअघिसम्म यस पदमार्गमा न्यून रहेको पर्यटक अहिले भने बढ्दै गएको यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “केही हप्ता अघिसम्म दैनिक ४०÷५० जना पर्यटक आउने गरेकामा सो सङ्ख्या बढ्दै एक सय ५० जनासम्म दैनिक रुपमा आउने थालेका छन् । यस याममा विगतका वर्षमा दैनिक पाँच सयजनासम्म पनि आउने गरेका थिए, तर त्यति पर्यटक नआए पनि केही हप्ताअघिको तुलनामा पर्यटक वृद्धि भइरहेको उहाँको भनाइ छ । पर्यटक सङ्ख्या अझै बढ्दै जाने अपेक्षा पर्यटन व्यवसायीहरुले गरेका छन् । मस्र्याङ्दी गाउँपालिका-४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भन्नुभयो, “पर्यटक नआउँदा होटलको व्यवसाय सुस्ताएको थियो तर यतिबेला दैनिक आम्दानी बढ्न थालेको छ ।” पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार यस पदमार्ग आसपासमा सैयौँ सङ्ख्यामा होटल व्यवसायहरु सञ्चालनमा छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका अनुसार यहाँ आउने पर्यटकमध्ये फ्रान्स, जर्मन लगायतका देशका नागरिक बढी छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । यस पदमार्ग आसपासमा रहेको पर्यटन व्यवसायीहरुले अन्नपूर्ण पदमार्गमा आउने पर्यटक गाइड बिना पनि आउन पाउने माग राख्दै जिल्ला प्रशासन कार्यालय लमजुङ, मस्र्याङ्दी गाउँपालिकालगायत सम्बधित निकायमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । मनाङ-लमजुङ होटल व्यवसायी समितिका उपाध्यक्ष खुशिराम गुरुङले भन्नुभयो, “केही समयअघि टानले गरेको निर्णयले एकल पर्यटक आउन रोकिएपछि व्यवसायसमेत घट्न थालेकाले सो निर्णय फिर्ता लिनका लागि विभिन्न निकायमा आज ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छौँ ।” यस्तो निर्णयले गाइड बिना आउन चाहने पर्यटकलाई पनि बढी पैसा खर्च हुने हुँदा पर्यटक अन्यन्त्र मोडिन थालेकाले व्यवसायीदेखि नेपाललाई नै घाटा हुने उहाँको भनाइ छ । मनाङदेखि लमजुङको होटल व्यवसायहीहरुको संयुक्त हस्ताक्षरसहित उक्त माग राख्दै ज्ञापनपत्र बुझाउने भएको छ ।
काठमाडौं: नेपाल एअरलाइन्सले दुर्गम क्षेत्रमा उडान बढाउनका लागि तीन वटा साना जहाज किन्ने तयारी गरेको छ । जहाज किन्न निगमले बनाएको उपसमितिले दुर्गम क्षेत्रका नागरिकको माग सम्बोधन र हवाई कनेक्टिभिटी बढाउन तीन वटा जहाज किन्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निगम व्यवस्थापनलाई बुझाइसकेको छ । विशेष पहल गरी यथाशक्य छिटो जहाज खरिद कार्य सम्पन्न गर्नका लागि निगम सञ्चालक समितिले सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिरशमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । यो उपसमितिले कामसमेत सुरु गरिसकेको छ । तीन वटा जहाज निगमले आफ्नै आन्तरिक स्रोतबाट पारदर्शी रूपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमले नयाँ तीन वटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने जनाएको छ । साथै पर्यटन प्रवर्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास रहेको निगमको भनाइ छ ।
पोखरा: राज्यले बिर्सिएको सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङलाई गुरुङ समुदायले सम्झिएको छ । सुब्बा नाथ प्रल्हाद प्रतिष्ठान कास्कीले नेपाल र अंग्रजबीचको राजगढको युद्धमा दुईसय वर्ष अगाडि वीरगति प्राप्त गरेका कास्कीका सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै स्मृति दिवस मनाउने भएको हो । प्रतिष्ठानले पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाल र अंग्रेजबीचको युद्धमा विरगति प्राप्त गरेका भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेकाले सँगै लडेका सुब्बा नाथु प्रल्हादलाईसमेत राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको प्रतिष्ठानका अध्यक्ष धर्मध्वज गुरुङले बताए । ‘तत्कालिन समयमा नेपाल एकीकरणमा सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङले नेपाली सेनामा भर्ती भएर एकीकरणमा योगदान पु¥याएपनि राज्यले उचित सम्मान दिन सकेन, गुरुङले भने, ‘सँगै युद्धमा लडेका भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने तर नाथु प्रल्हादलाई किन नगर्ने रु’ उनले प्रश्न गरे । उनका अनुसार सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङको १२ औं पुस्ता कास्कीको माछापुच्छ«े गाउँपालिका ५ रिभानमा स्थायी बसोवास गर्दै आएका छन् । अंग्रेजसँगको लडाइमा वि।स १८८७ सालमा सुब्बा प्रल्हाद गुरुङले युद्धमा नै वीरगति प्राप्त गरे, भने युद्ध अन्त भएपछि गाउँ फर्केका सुब्बा नाथु गुरुङको वि।स १८७९ पुस २९ गते मृत्यु भएको बताइएको छ । सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान कास्कीले आगामी बैशाख ६ गते प्रा।डा जगमान गुरुङको प्रमुख आतिथ्यतामा माछापुच्छ«े गाउँपालिका २ मै स्मृति दिवस मनाउने प्रतिष्ठानले जनाएको छ ।
पोखरा: नयाँ वर्षको मध्यरातमा पोखरा महानगरपालिका १२ स्थित शितलादेवी मन्दिरको दानपेटिकाबाट नगद चोरी भएको छ । नयाँ वर्ष (शुक्रबार)को मध्यरातमा मन्दिरमा राखिएको दानपेटिकामा भएको नगद चोरीे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुवनप्रकाश आचार्यले जानकारी दिए । उनका अनुसार १ गते राती तीनजना युवाले मन्दिर परिसरमा पुगेर दानपेटिकामा भएको करिब १५/२० हजार नगद चोरी गरेका हुन् । ‘नयाँ वर्षको मध्यरातमा तीनजना युवाहरुले मन्दिरमा राखिएको दानपेटिकाको ताला फुटाएर नगद चोरी गरेको सिसीटिभीमा देखिएको छ, अध्यक्ष आचार्यले भने, ‘दानपेटिकामा अनुमानित १५/२० हजार थियो । नगद चोरी भएपछि वडा कार्यालय रामबजारमा उजुरी दिएका छौं ।’ तीनजना युवाहरुले दानपेटिका फुटाएर नगद चोरी गरेपनि अन्यमा क्षति नभएको आचार्यले बताए । सो घटनाबारे उजुरी दर्ता गरि वडा प्रहरी कार्यालय रामबजारले अनुसन्धान कास्की प्रहरीले जनाएको छ । भिडियो:-
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना गाडी चालक दुर्घटनाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । सोमबार दिउँसो फेसबुकमार्फत उनले चोटका बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक नछर्न आग्रह गरेका छन् । रवि लामिछानेका गाडी चालक शम्भु भनिने दिलबहादुर थापा आइतबार राति छतबाट खसेर गम्भीर घाइते भएका छन् । उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रविले विहानैदेखि आफूले निरन्तर रुपमा चालकको स्वास्थ्य अवस्थाको विषयमा परामर्श गरिरहेको र अहिले अवस्थामा सुधार भएको बताएका छन् । यस्तो बेला आफूसँग भन्ने कुनै शब्द नभएको भन्दै रविले लेखेका छन्, ‘म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला ।’ रविले अगाडि लेखेका छन्, ‘‘मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनुहोला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला ।’
पोखरा: पोखरा स्पोट्र्स अवार्डमा विभिन्न खेल संघ, संस्था, क्लबका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता गराउन सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले सुझाव दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न खेल संघ संस्थाका पदाधिकारीहरुले पोखरा स्पोट्र्स अवार्ड खेलकुदकर्मीहरुको ठुलो इभेण्ट भएकोले उक्त कार्यक्रममा खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा बिद्यार्थीहरुको सहभागिता गराउन वक्ताहरुmले सुझाव दिएका हुन् । वैशाख २३ गते पोखरा सभागृह हलमा आयोजना हुने स्पोर्टस् अवार्डको पूर्व सन्ध्यामा भएको छलफल कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले पोखरा स्पोर्टस् अवार्ड मोफसलको उत्कृष्ट अवार्ड भएको बताए । यसले खेलसंस्कृतिको विकास गर्नका लागि समेत सहयोग पुगेको बताउँदै प्रदेश खेलकुद परिषद गण्डकीको तर्फबाट सहयोगलाई निरन्तरता दिने बताए । नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले मञ्चले अवार्ड कार्यक्रममा हरेका तप्काका खेलाडीहरुलाई समेट्नु राम्रो पक्ष भएको भन्दै यस्ता कार्यक्रमले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । कार्यक्रमलाई सफल बनाउन सबैले अपनत्व लिनेगरि तयारी गर्न सुझाव दिए । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डी.बी. नेपालीले स्पोर्टस् अवार्ड पोखराको एउटा उत्कृष्ठ ‘इभेन्ट’ रहेको बताए । उनले कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाहरुको पनि उत्तिकै भूमिका रहने बताए । अवार्ड कार्यक्रमले खेल क्षेत्रमा उत्साह थपेको बताए । उनले यही क्षेत्रमा केही गर्छु भन्नेहरुका लागि हौषला थप्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सातौं पोखरा स्पोर्टस् अवार्ड-२०७९ का मूल आयोजक समितिका संयोजक दीननाथ बरालले वैशाख २३ गते हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने जानकारी दिए । आफुहरुले अवार्डलाई सभ्य र भब्य बनाउन विभन्नि क्षेत्रका संघ संस्थाहरुसँगको छलफललाई तिव्र बनाइएको बताए । हाम्रोले नभई राम्रोले अवार्ड पाउनेमा निश्चिन्त बन्न उनको आग्रह थियो । सो कार्यक्रममा पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.लगायतले सहयोग गर्ने तय भैसकेको मञ्चका सचिव शशी कुमार पौडेलले जानकारी दिए । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको सचिव पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र तेह्र वटा विभिन्न उपसमिति गठन गरिएको छ ।
काठमाडौं: वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्वपूर्ण कार्य सम्पन्न भएको छ । मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मङ्सिर ४ मा सङ्घ र प्रदेशकको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भने त्यसपछि फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भयो । ती निर्वाचनमा शान्ति र सुरक्षाको जिम्मा पाएको गृह मन्त्रालयले भयररिहत वातावरणमा निर्वाचन सम्पन्न गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । गृहचिव विनोदप्रकाश सिंह सफतापूर्वक सबै चुनाव सम्पन्न गर्नाका साथै अन्य धेरै काम गृहले २०७९ मा गरेको बताउनुहुन्छ । उहाँ मिटरव्याज पीडितको अबस्था अध्ययनपछि पीडितसँग सम्झौता गरी आयोग नै गठन गरिएको र उक्त कार्य कसुर हुने गरी कानून संसोधनको प्रक्रियामा जानु महत्वपूर्ण र ऐतिहासिक कार्य भएको बताउनुहुन्छ । यो समस्या लामो समयदेखि जकडिएर रहेको थियो । पीडितहरु घरबारविहीन अबस्थामा पुगेका थिए । गएको वर्ष गृहमन्त्रालयको तदारुकताले मिटब्याज पीडितसँग ऐतिहासिक सम्झौता भएको र सम्झौता अहिले कार्यान्वयनको चरणमा छ । मिटरब्याजमा रकम लगानी गरी अनियमितता गर्ने व्यक्ति तथा संस्थाको छानबिन तथा पीडितको न्यायका लागि आवश्यक कानुनको मस्यौदा तयार भएको छ । समस्या समाधानका लागि आयोग गठन गरेर काम अघि बढाइएको छ । गृहमन्त्री र गृह सचिवले तीन दशक अघिदेखि विशेष सुत्र वा सुराकी परिचालनसम्बन्धी खर्चको व्यवस्थालाई सरकारले खारेज गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीको कार्यभार सम्हालेपछि उक्त व्यवस्था खारेज गर्न पहिलो निर्णय गर्नुभएको थियो । सोही निर्णयको आधारमा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले अघिल्लो महिना उक्त प्रावधान खारेज गरेको हो । यसअघि तीन दकदेखि गृहसचिवले दैनिक रु २० हजारसम्म र गृहमन्त्रीले रु ५० हजारसम्म खर्च गर्न पाउने व्यवस्था थियो । महालेखालेसमेत यो विषयमा प्रश्न उठाउँदै आएको थियो । यस्तै बहिर्गमित माओवादी लडाकुका लागि रु दुई लाखका दरले राहत दिने सरकारले निर्णय गरेको छ । उक्त निर्णय अहिले कार्यान्वयनको चरणमा रहेको गृहसचिव सिंह जानकारी दिनुहुन्छ । विसं २०७३ देखि नै राहत दिने उक्त विषय अड्किएर बसेकामा यसपाली गाँठो फुकाएर दिन लागिएको हो । अर्को महत्वपूर्ण निर्णय भने सरुवा र बढुवालाई व्यवस्थित गरिएको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी ९सिडिओ०हरूको सरुवाका लागि सुशासन ९व्यवस्थापन तथा सञ्चालन० नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू गरेको छ । यो कार्यविधि पहिलो हो । सबैलाई सबै ठाउँमा अवसर र अनुभव प्राप्त हुने गरी मन्त्रालयले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाजमा गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’ तयार पारी लागू गरेको हो । उक्त कार्यविधिअनुसार अब भने कुनै पनि प्रजिअले आफ्नो गृहजिल्लामा सरुवा हुन पाउने छैनन्। यसले विगतमा हुँदै आएको भनसुन दबाव र प्रभाव रोक्ने विश्वास गरिएको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोह तथा नक्कली कागजात पेश गरेर सक्कली नागरिकता लिने गिरोहलाई कानूनी कारबाहीमा ल्याइएको छ । यस्तै नेपालमा बसेर विदेशी नागरिकलाई ठगी गर्ने तथा नेपालभित्रै बसेर अनलाइन ठगी तथा कल सेन्टर खोलेर ठगी गर्ने गिरोहसमेतलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ । पृथ्वीबहादुर शाहजस्ता ठगीमा संलग्न रहेका आरोपीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउँदा यसले समाजमा महत्वपूर्ण सन्देश प्रवाह गरेको गृहको निष्कर्ष छ । वर्ष २०७९ मा गृहले केही महत्वपूर्ण कानूनी व्यवस्थासमेत गरेको छ । फौजदारी कसुर ९कैद कट्टा० नियमावली २०७९, सामाजिक सुरक्षा ९दोस्रो संसोधन० नियावली २०७९, कारागार ऐन २०७९, कारागार ९पन्ध्रौँ संसोधन० नियमावली २०७९, स्वीकृत भइ कार्यान्वयनमा गएको छ । यसपटक अर्को महत्वपूर्ण उलब्धीका रुपमा ससस्त्र द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनमा घाइते अपाङ्, द्वन्द्वमा आमाबाबुविहीन भएका १८ वर्ष मुनिका ३४ बालबालिका गरी एक हजार ७७ जनालाई रु १२ करोड १६ लाख ५९ हजार राहत रकम वितरण गरिएको छ । प्रशासनिक कार्यहरु असहज रहेको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई ७७ वटै जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट विवरण दर्ता गर्न थालिएको छ । त्यसका लागि ८३० स्टेशन स्थापना भइ काम जारी रहेकाले सेवा प्रभावकारी भएको जनाइएको छ । हालसम्म एक करोड १५ लाख नागरिकको विवरण सङ्कलन भएको छ भने ४६ जिल्लामा अभियान सम्पन्न भइ अन्य १७ जिल्लामा जारी रहेको छ । अहिले विगतमा जस्तो राष्ट्रिय परिचयपत्रका लागि ठूलो भिडभाडमा बसेर नागरिकले सास्ती व्यहोर्न परेको छैन । प्रशासन कार्यालयले टाइम कार्ड लागू गरेर विभिन्न सेवा प्रवाह गरिरहेका छन् । गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन टोल फ्री नम्बर १११२ मा थप चार लाइन जडान गरी गुनासो पोर्टल सञ्चालन गरिएको छ । विद्युतीय शुसासनका लागि गृह र अन्तर्गतका जिल्ला, इलाका र सीमा प्रशासन कार्यालयमा इन्ट्रानेट लिज लाइनमार्फत आफ्नै आइसिटी नेटवर्क स्थापना गरी सञ्चालन गरिएको छ । अध्यागमन विभागबाट जारी हुने सबै प्रकारका हस्तलिखित भिसाको सट्टा क्युआर कोडसहितको सिष्टम जेनेरेटेड भिसा लागू गरिएको छ । सबै अध्ययागमन विन्दु ९पशुपतिनगर, हिल्साबाहेक०बाट आगमन र प्रस्थान हुने यात्रुहरुको जैविक विवरण लिने व्यवस्था मिलाइएको छ । बीस वटा कारागार कार्यालयका २२ सय कैदीबन्दीलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सर्वोच्च अदालतको फैसला बमोजिम बिगो जफत हुने ठहर भएका प्रतिवादीको नाममा विभिन्न बैङ्क खातामा रहेको रु दुई करोड ३५ लाख ६० हजार कसुरजन्य सम्पति व्यावस्थापन कोषमा स्थानान्तरण पनि यही वर्ष गरिएको छ । रासस
पोखरा: नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको ७ वर्ष पुगेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ५९ लाख ८८ हजार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी छन् । हालको जनसँख्या अनुसार नेपालमा कुल २ करोड ९१ लाख ६४ हजार जनसँख्या रहेको छ । सो मध्ये २०.५३ प्रतिशत मात्र नागरिकले बीमा गराएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोर बसौलाले बताए । उनका अनुसार अघिल्लो वर्ष ४५ लाख ७२ हजार ९८९ जनाले स्वास्थ्य बीमा गराएका थिए भने गत वर्ष २९ लाख ८६८ जनाले मात्रै बीमा नवीकरण गरेका छन् । गत वर्षसम्म ६ अर्ब ५६ करोड ८० लाख प्रिमियम प्राप्त भएकोमा यो वर्ष २ अर्ब ४५ करोड ३७ लाख थप भई यस वर्षसम्म रु.९ अर्ब २ करोड १७ लाख प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, महालेखा परीक्षकको प्रतिवेदनअनुसार बीमीतले स्वास्थ्य सेवा लिएको बील भरपाईको आधारमा बोर्डले यो वर्ष ९ अर्ब ९२ करोड ७ लाखसमेत हालसम्म २४ अर्ब ३१ करोड ७१ लाख शोध भर्ना भुक्तानी दिएको छ । हालसम्म बीमा योजनामा सहभागीबाट प्राप्त बीमा प्रिमियमभन्दा रु.१५ अर्ब २९ करोड ५४ लाख बढी दाबी भुक्तानी भएको देखिएकोले दिगो रूपमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने उल्लेख गरिएको छ । नेपालमा २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ जिल्लाका ७४८ स्थानीय तहमा पुगेको छ । स्वास्थ्य बीमा कार्यक्रम योगदानमा आधारित कार्यक्रम भएकाले सक्ने परिवारबाट वार्षिक ३ हजार ५ सय लिने गरिएको छ । यसबापत ५ जनाको परिवारले वार्षिक १ लाख रुपैयाँसम्मको सेवा पाउँछन् । ५ जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य अतिरिक्त ७ सय खर्च गरी वार्षिक १ लाखमा बीस बीस हजारका दरले उपचारको सुविधा पाइन्छ ।

