फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

  काठमाडौं:    बसुन्धरा-मान प्रतिष्ठानले २०८० सालको बसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ।    प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा  वैशाख ६ गते बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ चिकित्सक डा. रुइतलाई विसं २०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।   त्यसैगरी बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई विसं २०८० को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।   विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मनुभएका डा रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गर्नुभएको छ। रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिनुभएको छ।   विसं २०११ माघ ९ गते म्याग्दी जिल्लाको नाँगीमा जन्मनुभएका डा पुन नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसक्नुभएको छ। 

पोखरा:   आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ ।   संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच लोकार्पण गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् ।   गीतकार मल्लले आफ्नो पेशा संचारकर्म भएपनि साहित्य रूचिको बिषय भएको बताए । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर समेत रहेका मल्लले सन् २०१५ मा मातातिर्थका दिन आमालाई समर्पण गरेर लेखिएको कविता ८ बर्षपछि श्रोता/दर्शक समक्ष ल्याउन पाउँदा खुसी लागेको सुनाए ।   कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आमा शब्द आफैमा महान भएको भन्दै सानैमा आमा गुमाएकाले आमा भन्ने वित्तिकै गला अवरूद्ध हुने गरेको अनुभव सुनाए । नेपाल आमा सबैभन्दा दुःखी रहेको भन्दै श्रेष्ठले नेपाल आमाको मुहारमा खुसी दिन सक्नुपर्ने बताए ।   पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले आम मानिसले बाँचेको जीवनको पाटोलाई गीतले समेटेको बताए । आमा औंसीका दिन सामाजिक सञ्जालका भित्ताहरू फोटाले भरिने गरेको भन्दै बुढेसकालमा आमाहरूलाई वृद्धाश्रममा देख्न नपरोस भन्दै कामना गरे ।   प्राज्ञ तथा बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आमा शब्दको महिमा बिशाल रहेको भन्दै गीतको म्युजिक भिडियो हेर्दे गर्दा आफ्नो आमाको दुःखलाई सम्झिएको बताइन् ।   गायक विनोद बानियाँले कविता निकै मन परेकाले कम्पोजगरी गीतको रूपमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । निर्देशक नेत्र गुरुङले शब्दले निकै मन छोएको सुनाए । कास्कीकोटममा छायांकन गरिएको गीतको भिडियोमा खिमकुमारी सुवेदी र अनिल कार्कीको अभिनय रहेको छ।

पोखरा:  अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । संवैधानिक बाध्यताका कारण उनले वैशाख ९ गतेभित्रै विश्वासको मत लिनैपर्ने हुन्छ ।   प्रदेश सभाको बैठक पनि ९ गते (शनिबार) लाई नै डाकिएको छ । सोही दिनको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै उनले प्रदेशसभा सचिवलाई सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामार्फत पत्र पठाएका हुन् ।   पत्रमा लेखिएको छ, 'संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०/०१/०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु ।'   गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो ।    गएको पुस २५ गते एमाले, माओवादी र राप्रपाको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

काठमाडौं:  राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् । राप्रपा विधानबमोजिम संसदीय दलका नेता राजेन्द्र लिङदेनले उनलाई सचेतकमा मनोनीत गरेका हुन् ।   धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।   राप्रपा दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही छन् ।  

जनकपुरधाम:   महोत्तरीमा सवारी दुर्घटनामा परी एकै घरका तीनजनाको मृत्यु भएको छ ।   बुधबार दिउँसो गौशाला नगरपालिका–१ रामनगरमा निर्माणाधीन रहेको रेल्वे ट्रयाकको २०० मिटर उत्तरपट्टि बसले मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो ।   मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरधाम आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।   उनका अनुसार दुर्घटनामा परेर सिरहाको कल्याणपुर नगरपालिका–१० बस्ने २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजि ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको हो ।   बस चालक फरार भएकाले उनको खोजी भइरहेको छ ।

काठमाडौं:    पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५०  नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो ।     यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।   संक्रमण बढेसँगै  स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।

काठमाडौँ:   सेवा निवृत्त भएका करिब २२ हजार शिक्षकहरूले निवृत्तिभरण (पेन्सन) नपाएको पाइएको छ ।  राज्यसँग पैसा नहुँदा ५२ हजार पूर्व शिक्षकहरूमध्ये २२ हजार शिक्षकले पेन्सन पाउन नसकेका हुन् । उनीहरूले चैत र वैशाख महिनाको पेन्सन पाएका छैनन् । पेन्सन नपाएपछि शिक्षकहरूले विरोध समेत गर्दै आएका छन् । उनीहरूले राज्यको ध्यानाकर्षण समेत गराएका छन् ।    उनीहरूले नियमित पाइरहेको निवृत्तिभरण अकस्मात् रोकिएपछि तत्काल निकासा गर्न माग गर्दै आएका छन् । सेवा निवृत्त शिक्षकहरूको संस्था सेवा निवृत्त शिक्षक समाजले निवृत्तिभरणको भरमा बाँचिरहेका ज्येष्ठ नागरिक शिक्षकहरू प्रभावित भएको जनाएको छ ।    समाजमा महासचिव ईश्वरबहादुर श्रेष्ठले ३० हजार शिक्षकले पाए पनि अझै २२ हजार शिक्षकले नपाएको बताए ।  ‘चैत र वैशाखको पाएका छैनौँ । पैसा नहुँदा अहिलेसम्म नहालेको भन्ने जानकारी दिनुभएको छ । यो महिनामा अन्तिमसम्ममा पैसा हाल्ने कुरा छ,’ उनले भने ।    विगतमा नियमित रूपमा प्राप्त भइरहेको निवृत्ति भरण आर्थिक वर्ष २०७९/८० मा अनियमित भइरहेको छ । जसले गर्दा हजारौँ सेवा निवृत्त शिक्षकहरू प्रभावित हुन पुगेका छन् ।   

गोरखा:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पार पुगेर बुधबार प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन गरेका हुन्।   अहिंसा क्षेत्र घोषणा गरेको १०० वर्ष पुगेको अवसरमा चुमनुब्री छेकम्पारमा महोत्सव आयोजना गरिएको छ। आजदेखि वैशाख ९ गतेसम्म महोत्सव चल्नेछ।   आयोजक चुम श्याग्या शताब्दी मुल समारोह समितिका संयोजकसमेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले अहिंसा क्षेत्रको विश्वमाझ चिनारी गर्ने उद्देश्यले महोत्सव गरिएको बताए।   महोत्सवको सहआयोजकमा चुमनुब्री गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, चुम कल्याण समिति, चुम श्याग्या संरक्षण समिति, राजेन गुम्बा, सिप्रेड, डब्लुडब्लुएफ नेपाल, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश रहेको छ।   करिब एक करोड खर्च गरेर महोत्सव आयोजना गरिएको हो।     तस्बिरहरू/ प्रदीपराज वन्त

नवलपुर:  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले नवलपुरको देवचुली नगरपालिका ६ किर्तिपुरस्थित देउसत खेलामा निर्मित झोलुङ्गे पुल र चुहार गाउँमा निर्मित खानेपानीको उद्घाटन गर्नुभएको छ ।   गण्डकी प्रदेश सरकारद्वारा ६५ लाखमा निर्मित किर्तिपुर–चुहार गाउँ जोड्ने झोलुङ्गे पुलसँगै चुहारगाउँमा सहमती संस्थाद्वारा निर्मित स्वामिघाट खानेपानीको मंगलबार मन्त्री गाहामगरले उद्घाटन गर्नुभएको हो ।   सो अवसरमा बोल्नुहुदै मन्त्री गाहामगरले पुल र खानेपानीको  निर्माणपछि चुहारबासीको केही समस्या हल भएको धारणा व्यक्त गर्नुभयो ।    उहाँले चुहार गाउँमा कम बस्ती भएतापनि स्थानीयको समस्यालाई प्राथमिकताकामा राखेर पुल निर्माण गरिएको बताउनुभयो ।    मन्त्री गाहामगरले पुल निर्माणभएपछि वर्षायामको समयमा चुहरबासी र विद्यार्थीहरुले सास्ती भोग्न नपर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यो देउसत खोलामा पुल नहुदा चुहारका विद्यार्थी भाईबहिनीहरुले वर्षायाममा पढ्न नपाइने अवस्था थियो, मन्त्री गाहामगरले भन्नुभयो, ‘त्यही समस्यालाई मध्यनजर गरेर पुल सम्पन्न भइसकेको छ । अब विद्यार्थीहरुले सास्ती खेप्न नपर्ने विश्वास लिएको छु ।’   उहाँले सहमती संस्था र डब्लु डब्लु एफले निर्माण गरेको खानेपानीले अब चुहार बासीको दैनिकी  अर्थउपार्जनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।     मन्त्री गाहामगरले मगर समुदायको बस्ती रहेको सो गाउँमा सडक, खानेपानी तथा पुलको व्यवस्था भइसकेको बताउनुहुदै यहि वर्षमा विद्युतको पहुँच पुग्ने बताउनुभयो ।    यस्तै देवचुली नगरपालिका ६ का वडाध्यक्ष मिन बहादुर सोतीमगरले प्रदेश सरकारमा रहेर पिच सडक, झोलुङ्गे पुलका लागि भूमिका खेलेको भन्दै आन्तरिक मामिला तथा कानूनमन्त्रीप्रति आभार प्रकट गरे । ‘यो ठाउँको विकासका लागि हाम्रो अग्रज अहिलेको आन्तरिक मामिलामन्त्री रोशन गाहामगरको ठुलो योगदान छ, सोतीमगरले भन्नुभयो, ‘किर्तिपुर आउने सडक कालोपत्रे, पुल निर्माण लगायत विभिन्न क्षेत्रमा उहाँको योगदान छ । त्यसैले हामी उहाँप्रति एकमदमै आभारी छौ ।’    वडाध्यक्ष सोतीमगरका अनुसार सो पुल प्रदेश सरकारको करिब ६५ लाख बजेटमा निर्माण गरिएको हो भने स्वामिघाट खानेपानी योजनामा सहमति संस्थाले करिब १२ लाख र स्थानीयले ४ लाखसहित श्रमदान दिएका थिए ।   सो पुल तथा स्वामिघाट खानेपानीको समुद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी, सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदी, सहमति संस्थाका इन्जिनियर तेज प्रसाद ओझा, सहमति संस्थाका कार्यक्रम संयोजक दिनेश बास्ताकोटी, देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्ले, जिल्ला खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुषाल, लगायतले बोलेका थिए ।    स्वामीघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मञ्जरी सिंजालीमगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्थानीय तिलक सोतीमगरले गरेका थिए ।