घोडेपानीमा तीन वर्षपछि चिनियाँ पर्यटक
म्याग्दी | बैशाख ४, २०८०
म्याग्दी: म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो ।
पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा क्लबले स्वागत गरेका छन् । घोडेपानी र पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा अवस्थित छ । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा पर्यटक आएका हुन् ।
घोडेपानीबाट टाढापानी हुँदै कास्कीको घान्द्रुक भएर पोखरा फर्कने नेपाल बिग माउन्टेन ट्राभल्सका पथ प्रदर्शक सुजित रेग्मीले बताउनुभयो । उहाँका अनुसार यो पदमार्गमा थप तीन वटा चिनियाँ पर्यटकको समूह भ्रमणमा आउँदैछन् । सात दिनको नेपाल भ्रमणमा आएका उनीहरूले सोमबार बिहान समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न पुगेका छन् ।
घोडेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक बढेका छन् । पछिल्लो एक महिनायता प्रतिदिन पाँच सय जना हाराहारीमा पर्यटक भित्रिएका व्यवसायीले बताएका छन् ।
“कोरोना महामारीले ठप्प पर्यटन व्यवसाय यस वर्षको चैत लागेपछि चहलपहल छाएको छ । पुरानो चहलपहल त फर्केको होइन तर दुई–तीन सय विदेशी पाहुना आउँदा सबै होटलमा दुई–चार जना पाहुना भइरहन्छन्”, स्थानीय डमबहादुर पुनले भन्नुभयो, “कोरोनापछि नेपाली आउने क्रम भने बढेको छ । नेपालीहरू अक्सर दुई–तीन दिन बिदा हुँदा र शैक्षिक भ्रमणमा आउने बढी छन् ।”
घोडेपानीमा साना ठूला गरी ३० होटल छन् । पुनहिल प्रवेश तथा पुनहिलमा टि एन्ड कफी सप सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाबाट स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित रु ५६ लाख ६० हजारमा ठेक्का लिनुभएको छ । पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु एक सय ५० शुल्क तोकिएको छ ।
पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे«, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ ।
वसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेर पाखा रङ्गिन बनेका छन् । पहाडको उच्च स्थानमा रहेको घोडेपानी पुनहिल क्षेत्रको जङ्गल र पहाडी भूगोलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट दैनिक करिब तीन सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालय घोडेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले बताउनुभयो ।
भारतीय र नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । रासस
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

