तनहुँ: बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । सात महिनामा पाँच हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्नेगरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन् ।” उहाँका अनुसार वैशाखमा तीन हजार २९७, जेठमा तीन हजार ३४२, असारमा दुई हजार ७६६, साउनमा दुई हजार ७५, भदौमा एक हजार ८३२, असोजमा तीन हजार ७८६ र कात्तिकमा चार हजार ६२७ जनाले भ्रमण गरेका छन् । त्यसैगरी, आन्तरिक पर्यटकतर्फ ३२ हजार ७६० जनाले बन्दीपुर भ्रमण गरेका छन् । वैशाखमा एक हजार ८९८, जेठमा दुई हजार १३५, असारमा दुई हजार ११५, साउनमा दुई हजार ४५१, भदौमा एक हजार ९८२, असोजमा पाँच हजार १२१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेका हुन् । कात्तिक र मङ्सिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको सङ्ख्या ह्वात्तै बढेको देख्न सकिन्छ । विसं २०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । यतिबेला बन्दीपुरमा रहेका चारवटा घरबास र ७० होटल भरिभराउ छन्, पर्यटको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्, उहाँले भन्नुभयो ।
म्याग्दी: घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको सङ्गम हो । यो ठाउँ समुद्री सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित छ । हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने तीनचुले सुनसान छ । धर्मिक पर्यटकीय क्षेत्र तीनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले तीनचुलेको सम्भावना र सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताए। ‘हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन तीनचुले बराहतालमा तोरण तार्ने धार्मिक मेलामा ताराखोला र मंगलाका बासिन्दा उपस्थित हुनेबाहेक अन्य समयमा पर्यटक आउन सकेका छैनन्’, उनले भने, ‘आधारभूतस्तरको पूर्वाधार तयार पारेर तीनचुलेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रयासमा छौँ ।’ तीनचुलेको आकर्षण तीनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । सिस्नेदेखि माछापुच्छ्रे रेञ्चका हिमशृङ्खला अवलोकन गर्न सकिने विरलै ठाउँमध्येको एक हो तीनचुले । सूर्योदय र सूर्यास्तका साथै म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, नागबेली परेर बगेको म्याग्दी नदी, पहाडी भूगोल जङ्गलको बीच भागको उच्च ठाउँमा अवस्थित तीनचुलेको थप विशेषता हो । मंगला गाउँपालिका–२ का हरि भट्टराईले तीनचुलेमा धार्मिक आस्थासँगै हिमशृङ्खला अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन सकिने अनुभव सुनाए । तीनचुलेमा रहेको गोलो आकारको बराहतालमा हरेक वर्षको कात्तिक पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न तोरण तार्ने चलन छ । शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको ताराखोलाका भपिन्द्र घर्तीमगरले बताए। ‘चुलो आकार हुनेगरी तीनवटा ढुङ्गाका थुम्का भेटेपछि गोठालाले तीनचुले नामकरण गरेका किंवदन्ती छ’, उनले भने, ‘शान्त र एकान्त ठाउँ भएकाले यहाँ ऋषिमुनिहरू तपस्या गर्न आउँथे । सोही क्रममा मन्दिर र आश्रय स्थापना भई पूजाआजा गर्न थालिएको हो ।’ विसं २०२४ देखि बैकुण्ठ चतुदर्शीका दिन तीनचुले नजिकैको माझखर्कमा जम्मा भएर रातभर भजन गाएर जाग्राम बस्ने र कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा तथा बराहतालमा तोरण तार्ने चलन सुरु भएको थियो । तपस्याका लागि तीनचुले पुगेका तत्कालीन अर्मन गाउँ पञ्चायतका केयरसिंह पुर्जाले २०३१ सालमा बनाएको मन्दिरलाई पुनर्निर्माण र व्यवस्थित गरेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गोलो आकारको तीनचुलेको बराहतालमा जस्तोसुकै खडेरीमा पनि पानी नसुक्ने र पानीको स्रोत पनि नदेखिने स्थानीयवासी बताउँछन् । पूर्वाधार तयार गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको छ । ताराखोला गाउँपालिकाको २० लाख बजेटबाट गत आर्थिक वर्षमा तीनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तीनचुलेतर्फ जाने २१० मिटर स्लेट ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण भएको समितिका सचिव पूर्णभद्र निउरेले बताए । स्थानीयवासीले चन्दा संकलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र दुई सय मिटर पदमार्ग निर्माण भएको थियो । तीनचुलेमा दृश्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानमार्फत करिब तीन लाख संकलन भएको समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको ७५ लाख र तालाखोला गाउँपालिकाको १० लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हुँदै तीनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि दुई घण्टाको बाटो २० मिनेटमा छोटिएको छ। मङ्गला गाउँपालिका–५ देउरालीदेखि तीनचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार २०० मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्यांकीमा संकलन र दुईवटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । कसरी पुग्ने ? तीनचुले म्याग्दीको अर्मन र बागलुङको ताराखोला हुँदै सडक तथा पदमार्गको प्रयोग गरेर पुग्न सकिन्छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि किमचौर हँदै दुई घण्टा कच्ची सडकको यात्रा गरेपछि तीनचुले पुगिन्छ । ताराखोलाको दोगाडी, नागबेलीखोला गाउँदेखि तीनचुले नजिकैको माझखर्कसम्म पुग्ने कच्ची सडक छ । टिकावाङ, किमचौर, दोगाडी र नागबेलीखोलाका बासिन्दाले पाहुनालाई खाजा, खाना खुवाउने गर्छन् । ‘क्यापिङ’ पदयात्रा गर्नेहरूका लागि पनि यो ठाउँ उपयुक्त छ । ताराखोला र मङ्गला गाउँपालिकामा मगर समुदायको बाहुल्य बसोबास छ । मगर समुदायको जीवनशैली, संस्कार, संस्कृति, रहनसहन र मेलाजात्रामा रमाउन सकिन्छ । दुई जिल्लाको सम्बन्धको सेतु तीनचुलेले बागलुङ र म्याग्दीको सम्बन्धका सेतुको पनि काम गरेको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने सोलेडाँडालगायत सीमाक्षेत्रमा पर्ने पर्यटकीयस्थल र प्राकृतिक सम्पदाको उपभोगको विषयमा विवाद छ । तर ताराखोला र मङ्गलाका बासिन्दाले सहकार्य, समन्वय र साझेदारीमा तीनचुलेको विकासमा जुटेर सकारात्मक सन्देश दिएका छन् । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ९हिमाल०ले पालिकाको केन्द्र अर्गलस्थित सहिद पार्कदेखि दशवर्षे ‘जनयुद्ध’का समयमा लडाकु र विद्रोही पक्षका नेता कार्यकर्ता आवतजावत गर्ने बाटोलाई गुरिल्ला पदमार्गका रूपमा विकास गर्न लागिएको बताए। अर्गलदेखि सहिदपार्क हुँदै तीनचुले, हिले, दुरलेक जोड्ने पदमार्गको परिकल्पना गरेको र हिलेमा होमस्टे सञ्चालन भएको उनले बताए। मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बेनी नगरपालिका र काठेखोलाको सिमाना बेलढुङ्गा, ताराखोलाको सिमाना गम्फाको धुरी, झाँक्रीपानी, तीनचुले, चाङ्गालगायत स्थानलाई समेटेर पदमार्गको सम्भाव्यता अध्ययन गर्न छिमेकी पालिकाहरूसँग समन्वय गरेको बताए। ‘तीनचुलेलाई केन्द्र बनाएर सातदेखि १० दिनको नयाँ पदमार्ग बनाउन अन्तरपालिकाहरूसँग छलफल चलाएका छौँ’, उनले भने, ‘पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार विकास र ग्रामीण क्षेत्रमा रोजगारी तथा आयआर्जनको अवसर सृजना गराउन सम्भव हुन्छ ।’
गण्डकी: गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए । नेपालमा असोज–कात्तिकलाई मुख्य पर्यटकीय यामका रूपमा लिइन्छ । दक्षिण एसियाली देशमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेका ‘एक्याप’का प्रमुख डा रविन कडरियाले बताए। आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडकमार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका आयोजना प्रमुख डा. कडरियाले बताए। कात्तिकमा पर्यटकीय यामसँगै मुख्य चाडपर्व र बिदाको समय पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको हो । यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ । मुक्तिनाथसहित अन्य धार्मिक गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ ।
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ । डेढ महिनामा सात हजार ४६१ पर्यटकको आगमन भएको एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार याम सुरु भएपछि इजरायलका एक हजार १२७, जर्मनीका पाँच सय एक, बेलायतका चार सय ६६ र अष्टे«लियाका चार सय ४१ जनाले मनाङअन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ (पास), लार्के भञ्ज्याङ (पास), तिलिचो तालको भ्रमण गरेका छन् । “ती देशसँगै विश्वका ८७ देशका नागरिकले मनाङका रमणीय स्थानको भ्रमण गरेका छन् । निराश भएका मनाङवासीका साथै देशकै अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ”, संरक्षण शिक्षा सहायक गुरुङले भन्नुभयो । जेनजी आन्दोलन र मनसुनको अन्त्यमा बाढीपहिराका कारण पर्यटकको आगमनमा समस्या भएकामा अहिले चहलपहल हुन थालेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “मनाङको आयस्तरले देशकै अर्थतन्त्रमा प्रभाव पार्ने गर्छ । जेनजी आन्दोलनले विदेशी पर्यटकले बुकिङ गरेका होटल पनि फिर्ता लिइरहेका थिए । अहिले देशमा शान्ति कायम हुँदै गएपछि आगमन बढ्दै गएको छ ।” जेनजी आन्दोलनपछि सुनसान बनेको मनाङमा विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बढेको छ । मनसुन सकिएपछि पर्यटकको आगमन बढ्नुपर्ने यहाँ मनसुन अन्त्यमा सक्रिय भएर ठूलो धनजनको क्षति हुँदा पर्यटन व्यवासय पनि सुस्ताएकामा अहिले पर्यटन व्यवसायमा अपेक्षाकृत बन्ने व्यावसायीको भनाइ छ । बुकिङ रद्द गरिएका होटल अहिले भरिन थालेका होटल व्यवसायी नवीनविक्रम सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “जति पर्यटकको आगमन हुनुपर्ने हो त्यति भएको छैन । तर अहिले केही मात्रामा विदेशी पर्यटकको आगमनचाहिँ भएको छ ।” विशेषगरी देशकै ठूलो मानिएको हिल्टन होटल जलाइएपछि पर्यटक बढी त्रसित भएको हुनसक्ने पर्यटन तथा होटल व्यवसायीको अनुमान रहको उहाँको भनाइ छ । यस समयमा मनाङका सडक तथा पदमार्गमा पर्यटक प्रशस्त देखिन्थे । तर यस वर्ष त्यति छैनन् । पूर्ण रूपमा पर्यटकको आगमन पनि हुनसकेको छैन । देशको अर्थतन्त्रलाई प्रभाव पार्ने मनाङको पदमार्गको यात्रा तथा सडक सहज बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । अहिले नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा जोडिएको पाइएको छ । यसले पनि स्वदेशी पर्यटन प्रवर्द्धन भइरहेको छ । विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका पाइन्छन् । प्रविधिको युगमा वास्तविक प्राकृतिक मानवीय जीवनको महसुस गर्न आउने गरेका छन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा नै चामे, खाङ्सारसम्म सवारीसाधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्र मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको आन्तरिक आयस्रोतको दरिलो आधारसमेत बन्न पुगेको छ । पुनहिलको फेदीमा रहेको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलको पर्यटन विकास र प्रवर्द्धनमा खिवाङका दिवङ्गत टेकबहादुर पुनको महत्त्वपूर्ण योगदान रहेको छ । “विसं २०३० को दशकमा भारतीय सेनाबाट सेवानिवृत्त मेजर टेकबहादुरले अगुवाइ गरेर लुङटुङको डाँडामा पर्यटक भित्र्याउन पहल नगरेको भए जति नै सुन्दर भए पनि यो क्षेत्र ओझेलमै रहन्थ्यो”, उहाँले भन्नुभयो, “मेजर टेकबहादुरले लुङटुङको डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलियो, पर्यटकीय गतिविधि सुरु भएपछि गाउँलेको आर्थिक हैसियत पनि बदलियो ।” पहिले घोडेपानी पोखरा हुँदै मुस्ताङ नुन बोक्ने, मुक्तिनाथ तीर्थयात्राका क्रममा थकान मेटाउने र बटुवाहरूले घोडालाई पानी खुवाउने थलो थियो । पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरूले खिवाङका बासिन्दाले गाईभैँसी चराउनका लागि बनाएको गोठमा चिया, खाजा बनाएर खान्थे । उल्लेरीदेखि घोडेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे । दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने लुङटुङ डाँडामा गोठाला जाने क्रममा दिवङ्गत मेजर टेकबहादुरले देखेको पर्यटकीयस्थल बनाउने सपना साकार भएसँगै घोडेपानी र पुनहिलको परिचय फेरिएको गाउँपालिकाका पूर्वअध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रका बारेमा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको उहाँले बताउनुभयो । स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा स्थानीयवासीको श्रमदानमार्फत पुनहिलबाट दृश्यावलोकनका लागि २०३५ सालमा काठको टावर बनाइएको थियो । काठको टावर दिगो नभएपछि मेजर पुनकै ज्वाइँ लेप्टेन राजु पुनको पहलमा चन्दा सङ्कलन गरी २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यूटावर निर्माण गरिएको थियो । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता भएको पथप्रर्दशक रूपक रिमालले बताउनुभयो । “चैतवैशाखमा पाखाभरि ढकमक्क फुल्ने थरिथरिका लालीगुराँससँग रमाउन र पुसमाघमा यहाँ हिउँ खेल्न पाइन्छ”, उहाँले भन्नुभयो, “प्रकृतिप्रेमी पर्यटकका लागि घोडेपानी–पुनहिल क्षेत्र उत्कृष्ट गन्तव्य हो, शान्त र एकान्त वातावरणमा रमाउन पाउँदा यहाँ आउने पर्यटकले यात्राको थकान पनि भुल्छन् ।” घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५४ लाखमा ठेक्का सम्झौता गरेको छ । विदेशीले प्रतिव्यक्ति रु एक सय ५० र नेपालीले रु ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का लिएका व्यवसायी सुदीप पुर्जा पुनले पछिल्लो एक हप्तायता दैनिक एक सय ५० देखि दुई सय जनासम्म विदेशी पर्यटक आएका बताउनुभयो । “गत वर्ष यही याममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए”, उहाँले भन्नुभयो, “जेनजी प्रदर्शन र प्रतिकूल मौसमका कारण यसपालि पर्यटक आगमन केही घटेको छ ।” घोडेपानीमा बास बसेका पर्यटकहरू एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ वटा सुविधासम्पन्न होटल छन् । पर्यटकलाई अग्र्यानिक खानाका परिकार, सुविधासम्पन्न कोठा, इन्टरनेटलगायत सुविधा उपलब्ध गराइएको छ । समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर पनि घोडेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिने गरी पदमार्गहरू सञ्चालनमा छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति कार्य भइरहेको छ । कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । “पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ ”, उहाँले भन्नुभयो, “पदयात्रा गर्न रुचाउने विदेशी पर्यटकसहित सवारीसाधनको सुविधा खोज्ने आन्तरिक पर्यटकलाई पनि पुनहिलमा भित्र्याउन प्रयास गरिरहेका छौँ ।” हालै मार्ग खुलेको कास्कीको नयाँपुलदेखि घोडेपानी हुँदै पोखरेबगर जोड्ने सडकलाई पोखरा–जोमसोम आवतजावतका लागि छोटो र विकल्पका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।
म्याग्दी: मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमताभन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ । आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । पदमार्ग तथा आधार शिविरका टेन्ट र आश्रयस्थलको भवनमा एक दिनमा ५० जनासम्म बास बस्ने क्षमता छ । दैनिक एक सय ५० जनाभन्दा बढी पर्यटकहरु आउन थालेपछि आवास व्यवस्थापनमा कठिनाइ भएको अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताउनुभयो । “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले पक्की संरचना बनाउने अनुमति नपाइने भएकाले गाउँपालिकासँग समन्वय गरेर गत वसन्त यामदेखि टेन्ट टाँगेर पर्यटकलाई खाने, बस्ने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो “क्षमताभन्दा तीन गुणा बढी पाहुनाहरु आउन थालेपछि समस्या भएको हो ।”फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा स्थानीयबासीले गत वैशाख महिनादेखि स्थायी संरचना बनाएर पाहुनालाई खाना, खाजा खुवाउने र सुत्ने व्यवस्था मिलाएका छन् । अपेक्षा गरेको भन्दा धेरै सङ्ख्यामा पर्यटक आएकाले व्यवस्थापनका लागि टेन्टको सङ्ख्या थप गर्न लागिएको पुर्जाले बताउनुभयो । होटल तथा लजको सुविधा नभएकाले यसअघि खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत समान आफैँले व्यवस्था गर्नुपर्ने समस्या थियो । आधार शिविरको भ्रमण गरेर आउनुभएका बेनीका सन्दीप खत्रीले तीन जनाको क्षमता भएको टेन्टमा सात जना सुत्नुपरेको बताउनुभयो । मानव बस्तीदेखि टाढा रहेको उक्त क्षेत्रमा सञ्चार, विद्युत् अभाव र आवास व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो । अर्का पदयात्री बिशाल खत्रीले भुसकेतदेखि आधार शिविर सम्मको तीन घण्टाको पदमार्गमा संकेत चिन्हहरुको आवश्यकता महसुस गरेको अनुभव सुनाउनुभयो । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोँच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै वि।सं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि।स। २०७७ मा मौरिस हर्गोज नामकरण गरी खुलाएको थियो । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु. पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको र थप पूर्वाधार निर्माणका लागि पहल गरेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
म्याग्दी: मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाले बताए । दसैँ तिहारको बिदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । सहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउदै छोटो समयको पदयात्राका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर उपभोगी भएको गोरखाबाट आएका सन्दिप भट्टले बताए । ७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै २०६७ सालमा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा मौरिस हर्गोज नामकरण गरी खुलाएको थियो । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नीगिगत व्यवस्था अनुसारको प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरुले फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङ सञ्चालन गरेका छन् । पर्यटकलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती क्यापिङ क्षेत्रहरुमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्ने क्षमता रहेको छ ।
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा राखेर मुस्ताङ स्थित घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्यमा कार्यक्रम भएको हो । खासगरी पछिल्ला वर्षहरुमा नेपालको सिमावर्ती तराई र सँगैका भारतीय शहरबाट पर्यटकहरु एकै दिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम चलेपछि सरोकारवालाहरुको ध्यानाकर्षण भएको हो । समुन्द्र सतहबाट एक सय मिटर हाराहारी उचाईमा रहेको तराई क्षेत्रबाट एकै दिन ३७१० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा भएको व्यवसायीहरुले चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले यस विषयलाई नीति निर्माण तहबाटै सुधार गर्न गण्डकी प्रदेश सभामा आफूले कुरा उठाउने प्रतिवद्धता सुनाए । अन्नपूर्ण क्षेत्रको मूल पर्यटन भनेको अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा आधारित पर्यटन भएको भन्दै उनले यस क्षेत्रका विभिन्न ठाउँमा पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामुलक सामग्रीको व्यवस्था हुनुपर्ने सुझाव राखे । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालले अव पर्यटकको संख्यालाई भन्दा पनि गुणस्तरलाई ध्यान दिनुपर्ने सुझाव राखे । भारतीय पर्यटक रातारात एकै दिनमा मुक्तिनाथ पुगेर मुस्ताङ र पोखरा दुबै ठाउँमा रात नकाटी फर्कने परिपाटीले सुरक्षा जोखिम बढेको मात्र नभई बसाई अवधि पनि छोटिन पुगेको बताए । यस्तो जोखिम मोल्दा लेक लागेर कतिपय पर्यटकको ज्यान समेत गएको अध्यक्ष सुवेदीले स्मरण गराए । होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले पर्यटकलाई राम्रो सूचना प्रदान गरेर उनीहरुको बसाई अवधि लम्ब्याउन सकिने सुझाव राखे । यसका लागि पोखरामा एउटा पूर्वाधारयुक्त सूचनाकेन्द्रको आबश्यकता समेत उनले औंल्याए । पर्यटकको सुरक्षा, वातावरण संरक्षण र पर्यटकको बसाई अवधि लम्ब्याउने जस्ता विषय पर्यटनमा महत्वपूर्ण विषय भएको भनाई उनले राखे । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटकलाई हतारमा उचाईमा पुर्याएर जोखिममा पार्ने प्रवृत्तिलाई निरुत्साहित पार्न केही दिन अघि आफ्नो संस्थाले एक विज्ञप्ति निकाली ध्यानाकर्षण गराएको स्मरण गराए । विषयलाई बाहिर ल्याउँदा समेत सरकारी पक्षबाट गंभिरतापूर्वक नलिइनु दुःखद भएको भनाई उनले राखे । आयोजक संस्था घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले छोटो समयमा एकैपटक होचो भूभागबाट २८०० मिटर माथीको उचाईमा पुग्नु जोखिमपूर्ण हुने विषय स्मरण गराए । यो विषय धेरै पर्यटकले समेत थाह नपाएको हुन सक्ने भन्दै उनले पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा जानुपर्ने विषय जानकारी गराउनुपर्ने भनाई राखे । समथल ठाउँबाट आउने कतिपय पर्यटकले उचाईमा पनि उस्तै त होला नी भन्ने खालको शोच राख्ने गरेको उनले सुनाए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा। रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सचेत रहेको बताए । एक्याप क्षेत्रमा २४५० होटल रहेको तथ्यांक दिंदै उनले त्यस क्षेत्रका व्यवस्थापन समितिसँग मिलेर एक्यापले काम गरिरहेको भनाई राखे । अन्नपूर्ण क्षेत्र साहासिक पर्यटन क्षेत्र भएको भन्दै पर्यटकलाई त्यही अनुसारको तयारी गरेर आउने वातावरणका लागि सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने सुझाव राखे । एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक एकजना नागरिक रहेको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बाहिर ल्याएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र बि।स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउनेहरु पनि भारतीय पर्यटककै संख्या बढी रहन गएको छ । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको सुरक्षाका लागि सचेनामूलक पुस्तिका वितरण गर्ने र आबश्यक ठाउँमा सूचनामूलक बोर्डहरु राख्दा उपयुक्त हुने सुझाव राख्दै यसका लागि बोर्ड सघाउन तयार रहेको प्रतिवद्धता जनाए । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स्) कार्डको अनिवार्य व्यवस्थाले पर्यटकको सुरक्षा बढ्ने भनाई राखे । नाट्टा गण्डकीका उपाध्यक्ष राजेश पहारीले पर्यटकको सुरक्षाका लागि नीति र नियमन दुबै जरुरी भएको भनाई राखे । होटल एवं पदयात्रा व्यवसायी हरि भुजेलले मुक्तिनाथ पुग्ने धार्मिक पर्यटकको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यवसायी र समूहको पहिचान गरिनुपर्ने सुझाव राखे । टान गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थीले सरकारले नै नीति ल्याएर पर्यटकको सुरक्षालाई निश्चित गरिनुपर्ने सुझाव राखे । नेपाल पर्यटक यातयात व्यवसायी संघ गण्डकीका अध्यक्ष दुर्गादत्त दाहालले पर्यटकलाई छोटो समयमा उचाईमा पुर्याउँदा हुने जोखिमका बारे आफ्नो संस्थाले सरकारको ध्यानाकर्षण विगतमा गराइसकेको विषय स्मरण गराए । कार्यक्रममा व्यवसायीले पर्यटक बोकेर जाने सवारी चालकको बोलीबचन मर्यादित हुनुपर्ने विषय समेत राखेका थिए । कार्यक्रमको संचालन घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले गरेका थिए ।
पोखरा: होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायतका जोखिम बढेको संघले विहिबार विज्ञप्ति जारी गरी जनाएको छ । संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा पर्यटकलाई आराम गर्दै वातानुकूल (एक्ल्म्टाइज) हुँदै यात्रा गर्ने वातावरणका लागि सम्वन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र सरोकारवालाहरुसमक्ष अपिल गरिएको छ । थप भनिएको छ– ‘आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्रा प्रवृत्ति नअपनाउन हामी सुझाव दिन चाहन्छौं । यस्तो जोखिमपूर्ण प्रवृत्तिलाई न्यूनिकरण गर्न सरकारीस्तरबाट समेत आबश्यक पहल अगाडि बढाउन हाम्रो अनुरोध छ । यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाई अवधि लम्ब्याउन समेत मद्दत पुग्ने छ ।’ पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौं पर्यटक विभिन्न ठाउँमा आउने जाने गर्छन् । पर्यटनको सन्दर्भमा मानव स्वास्थ्य र सुरक्षाको पाटो महत्वपूर्ण हुने विषय पनि स्मरण गराइएको छ । तर पछिल्ला दिनमा नेपालको दक्षिण सिमावर्ती क्षेत्र र तराइबाट पोखरा हुँदै एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकहरुको ठूलै संख्या भेटिन थालेको विषय संघले उठाएको छ । भनिएको छ– होटल संघ नेपाल, गण्डकी यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरिनु हुन्न भन्ने पक्षमा रहेको छ । समुन्द्र सतहबाट एक सय मिटर हाराहारीको उचाई रहेको तराई क्षेत्रबाट आठ सय मिटर उचाईको पोखरा उक्लिएर उही दिन ३७१० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा हो । होचो उचाईबाट एकै दिन एकतर्फी साडे तीन सय किलोमिटर भन्दा लामो अनि उचाईतिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक धपेडीपूर्ण मात्र नभई बर्खा यामको रात्री कुँदाई अन्यन्त जोखिमयुक्त पनि हुन सक्ने भयो । यस्तो कार्यले एकातिर पर्यटकलाई लेक लागेर ज्यानै जान सक्ने जोखिम बढाएको छ भने अर्कातिर पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने खतरातर्फ पनि संघले सचेत गराएको छ । एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक एकजना नागरिक रहेको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बाहिर ल्याएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र बि.स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउनेहरु पनि भारतीय पर्यटककै संख्या बढी रहन गएको छ । केही दिन अघि काठमाडौंबाट हेलिकोप्टरमा सिधै सगरमाथा क्षेत्र पुगेका एक अष्टे«लियाली पर्यटकलाई लेक लागेपछि काठमाडौं फर्काइएको अर्को उदाहरण पनि छ ।

