म्याग्दी: मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२आँै शताब्दीमा बनेको हो । समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने बेलामा काठको भर्याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले बताउनुभयो । आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ । यहाँका चित्रहरू पन्ध्रौँ शताब्दीमा बनाइएको हो । पहराको ढुङ्गालाई नै थामको रूप दिई बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पद्मसम्भवको मूर्ति रहेको छ । भुटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ । स्थानीयवासीले यसलाई लुरी कावुङ भन्ने गर्छन् । अर्को किंवदन्तीअनुसार यारागाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । गुम्बापारिको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् । मुख्य गुम्बाभन्दा केही तल पेयुङखोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ । दुवै ठाउँको गुम्बामा नियमित पूजाआजा हुने आनी ढोलकरले बताउनुभयो । लुरी गुम्बाको नजिकैको यारा र घारागाउँमा धर्मशाला र होटलको सुविधा छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टा सवारीसाधनको यात्रापछि पुगिने घारागाउँबाट २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ । लोमान्थाङबाट लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ । चराङबाट घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारागाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकारले सडकबाट लुरी गुम्बा पुग्ने ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका छन् । गाउँपालिका र प्रदेश सरकारको रु १५–१५ लाख बजेटमा उकालोमा करिब तीन सय मिटर पक्की पदमार्ग निर्माण भएको वडाध्यक्ष पासाङ गुरुङले बताउनुभयो । यस वर्ष सार्वजनिक शौचालय बनाउन रु पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो । यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष रानामगरले यहाँ आउने पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण र स्थानीय परिकारबाट प्रभावित हुने गरेका बताउनुभयो । उहाँका अनुसार दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरेको थियोे । यहाँ घरबास स्थापन गरी सञ्चालनमा ल्याउन प्रदेश सरकारले रु ६५ लाख र व्यास नगरपालिकाले रु ३५ लाख लगानी गरेका छन् । परियोजनाअन्तर्गत एक सय १० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको अध्यक्ष रानामगरले जानकारी दिनुभयो । व्यास–१४ वडाध्यक्ष काजीमान श्रेष्ठले पछिल्लो समय यो ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण परिवेशमा रमाउन चाहनेहरू यहाँ आएर आनन्दित हुनुनहुन्छ ।” मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरी पर्यटन प्रवर्द्धन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । यसलाई नमूना बस्तीको रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन तथा कृषिका गतिविधिका माध्यमबाट आर्थिक विकासका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्दै रुम्सीलाई सुन्दर, शान्त, समृद्ध एवं सुरक्षित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।” रुम्सी होमस्टे पुग्नुभएका दमौलीका सविन लामिछानेले यहाँका होमस्टे सञ्चालकको स्वागत, अर्गानिक खाना, प्राकृतिक सौन्दर्यले आनन्दित तुल्याएको उल्लेख गर्नुभयो । यहाँ थप पर्यटन प्रवर्द्धन गर्दै स्थानीय सरकारले रोजगारीका अवसर सिर्जना गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
गण्डकी: कास्कीको मादी गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल कर्पुडाँडादेखि लमजुङको क्व्होलासोथार जोड्ने पदमार्गको निर्माण अघि बढाइएको छ । एक हजार दुुई वर्षअघि गुरुङ समुदायको बसोबास रहेको उक्त समुदायका व्यक्तिहरू त्यहाँबाट बसाई सरेको इतिहास रहेको उल्लेख गर्दै क्व्होलासोथारलाई केन्द्रित गरी पदमार्ग निर्माण सुरु गरिएको हो । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रुपमा पहिचान गरिएको उक्त मार्गअन्तर्गत कर्पुडाँडाबाट तोरोडाँडा खण्डमा पदमार्ग निर्माण गरिसकिएको मादी गाउँपालिका वडा नं २ का पूर्वअध्यक्ष एकजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ३० लाखबाट उपभोक्ता समितिमार्फत उक्त पदमार्ग निर्माण गरिएको हो । यस खण्डमा रहेको अप्ठ्यारो र उकालो स्थानमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ भने केही ठाउँमा माटो काटेर हिँड्न सहज बनाइएको छ । यस खण्डको तीन हजार दुुई सय २० मिटर दूरीको पदमार्गलाई व्यवस्थित गरिसकिएको जानकारी दिँदै उहाँले यस मार्गको गण्डकी प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको बताउनुभयो । “डिपिआरअनुसार कर्पुडाँडाबाट क्व्होलासोथार पुग्नका लागि २० किलोमिटरभन्दा बढी पदमार्ग निर्माण गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “गुरुङ समुदायको प्राचीन थलोको ऐतिहासिकतालाई यस पदमार्गले पर्यटनसँग जोड्नेछ ।” परापूर्वकालमा कास्की र लमजुङका बासिन्दा मनाङ आवतजावत गर्न तथा पशुगोठ लिएर लेकबेँसी गर्न प्रयोग गरेको यो मार्ग पछिल्लो समय प्रयोग नहुँदा झाडी र जङ्गलमा परिणत भएको थियो । उहाँले यही बाटोलाई थप स्तरोन्नति गर्दै पदमार्गका रुपमा विकास गर्न खोजिएको बताउनुभयो । बस्तीदेखि टाढाको जङ्गलमा रहेको यहाँको पदमार्ग निर्माणका लागि ताङतिङका बासिन्दा करिब दुई महिना जङ्गलमै बसेर काम गरेका थिए । समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइमा अवस्थित कर्पुडाँडा हिमशृङ्खला अवलोकन र हिउँ खेल्नका लागि कास्कीको नयाँ पर्यटकीय गन्तव्य हो । गुराँसे जङ्गल, रङ्गीवीरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृ्श्यावलोकन गर्दै पदयात्रा गर्न पाउनु यहाँको विशिष्टता हो । यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यको साथै मनास्लु हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४, अन्नपूर्ण–३ , माछापुच्छे«, मर्दी हिमाल, अन्नपूर्ण साउथ, बुद्ध, मनास्लु, हर्क गुरुङ चुलीको सुन्दर दृश्यले रोमाञ्चक बनाउँछ । कर्पुडाँडादेखि नौ घण्टा पैदलयात्रामा पुगिने क्व्होलासोथार जाने पदमार्ग भएर लमजुङको पसगाउँ, सिङ्दी, घलेगाउँ, घनपोखरा, कास्कीको कोरीडाँडा र मनाङ पनि पुग्न सकिन्छ । पदमार्ग निर्माण भएसँगै स्थानीयवासी, पशुगोठ लिएर लेकबेँसी गर्ने गोठाला र पदयात्री पर्यटकलाई सहज हुने उहाँको भनाइ छ । गुराँसे जङ्गलको बीचमा रहेको पदमार्गबाट गुरुङ समुदायका पुराना बस्ती, पशुगोठ, तालतलैया र हिमाल हेर्दै हिँड्न पाइन्छ । आगामी दिनमा तोरोडाँडादेखि तप्रा हुँदै क्व्होलासोथारतर्फ जोड्ने थप पदमार्ग निर्माण, मोबाइल फोन सेवा विस्तार र खानेपानीको सुविधाका लागि पहल गरिएको गुरुङले बताउनुभयो । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रुपमा पहिचान गरी यसको प्रवर्द्धन र विकासमा जुटेको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो । “हामीले यस पदमार्गको पहिचानसँगै प्रवर्द्धनका कार्यक्रम अघि बढाएका छौँ”, उहाँले भन्नुुभयो, “गत पुसको दोस्रो साता सङ्घले गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मादी गाउँपालिकासँगको सहकार्यमा पहिलो चरणमा उक्त पदमार्गको प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको छ ।” प्रवर्द्धनात्मक पदयात्राका क्रममा देखिएका यहाँका आवश्यकता, चुनौतीसँगै तत्कालै गर्नुपर्ने पूर्वाधार विकासका कामलाई अभिलेखीकरण गरी त्यसको समाधानका लागि सम्बन्धित निकायमा पहल गरिने उहाँले बताउनुभयो । क्व्होलासोथारबाटै नेपाल र विश्वका विभिन्न ठाउँमा गुरुङ समूदाय फैलिएको बताउँदै उहाँले यस समुदायको इतिहास, वर्तमान र भविष्यलाई जोडेर गुरुङ सम्पदा पदमार्गको परिकल्पना गरिएको उहाँको भनाइ छ । क्व्होलासोथारमा पुराना गोलघर, दरबार, घट्ट, घोडा बाध्ने तबेला, भग्नावशेष छन् । पुरातत्व विभागले हालै गरेको उत्खननका क्रममा पौराणिक महत्वका सामग्रीहरू पनि भेटिएका थिए । अहिले यहाँ बस्ती छैन । पाहुनाको सहजताका लागि तीन वटा आश्रयस्थल बनाइएको छ । गुरुङ जातिको मुख्य पुर्ख्यौली थलो क्व्होलासोथारसँगै प्राचीन पशुगोठ र नुन लिन जाने मार्गलाई गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्ने लक्ष्य राखिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुभयो । “हामी गुरुङ समुदायको प्राचीन इतिहास र संस्कृतिसँगै यहाँको प्रकृतिलाई गुरुङ सम्पदा पदमार्गमार्फत पर्यटकीय रुपमा जोड्ने अभियानमा लागेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा यो मार्ग महत्वपूर्ण विकल्प बन्न सक्ने हाम्रो विश्वास छ ।”
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो । अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार चार सय २८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको उहाँले बताउनुभयो । “अघिल्लो वर्ष नौ हजार एक सय ७७ विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेका थिए, उहाँले भन्नुभयो, “गत वर्ष अहिलेसम्मकै सबैभन्दा विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन् ।” मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकमा दक्षिण एशीयाली क्षेत्रीय सहयाग संगठन (सार्क) राष्ट्रका भन्दा तेस्रो मुलुकका विदेशी पर्यटकको सङ्ख्या बढी रहेको उहाँको भनाइ छ । सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको पाइएको छ । “गत वर्ष मनास्लु भ्रमण गर्ने विदेश पर्यटकमध्ये एक हजार एक सय ८१ जना जर्मनी नागरिक, सात सय ९६ जना अमेरिकी नागरिक रहेको कार्यालयको तथ्याङ्क छ, सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै एक सय ५९ जना पर्यटकले मनास्लु पदयात्रा गरेका छन्”, अधिकृत ओझाले भन्नुभयो । त्यस्तै नेदरल्याण्ड्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुग्ने गरेको उहाँको भनाइ छ । मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनस्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्ने छन् । त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित श्रृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन् । मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन् ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो । घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताउनुभयो । “दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,” उहाँले भन्नुभयो, “ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ ।” हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् । आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् ।
गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हँुदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ । यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालक पर्यटन व्यवसायी कृष्ण गुरुङले बताउनुभयो । सिक्लेसदेखि तासा हुँदै कोरी पुग्ने अर्को पदमार्गसमेत रहेको छ । हुगुमा बिहानको खाजा खाएर हिँडेका पर्यटक दिउँसोको खाना खान नौटाखर्क पुग्छन् । यहाँ चिया पसल छ । कोरी सूर्योदय र सूर्यास्त हेर्ने उपयुक्त गन्तव्यसमेत रहेको उहाँको भनाइ छ । कोरी जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउने गरेको छ । प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो । हाल चारवटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउने क्रम निकै बढिरहेको होटल व्यवसायी होम गुरुङले बताउनुभयो । “कोरी हिमाललाई जरोदेखि टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने गन्तव्य हो”, उहाँले भन्नुभयो, “पदयात्राका क्रममा ठाडो उकालोका कारण थकित बनेका पदयात्रीलाई यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्साउने गरेको छ ।” सिक्लेसबाट तसा हुँदै कोरी पुगेका पर्यटक पुरानै बाटो, नौटा हुगु– कपुचे–हुगु– सिक्लेस, ठुलोलेक–गुरुङ देउराली–तिमाङ, ठुलोलेक–क्होलासोथार–करापुडाडा–याङजाकोट अथवा ताङतिङ भएर यात्रा गर्ने विकल्प छ । कपुचे हिमतालसँगै कोरी, क्होलासोँथर र करापुडाँडालाई समेटिएकाले यो पदमार्गलाई ‘फोरके ट्रेक’का रूपमा समेत लिन सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । कोरीको पदयात्रामा जाने पर्यटक पोखराबाट ४१ किलोमिटर दूरीमा रहेको पर्यटकीय गाउँ सिक्लेसबाट त्यसतर्फको यात्रा सुरु गर्दछन् । सिक्लेसमा आएका पर्यटकले यहाँस्थित गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेशभूषा, झाँकी आदिको अवलोकन गर्न पाउने मादी –१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो । कोरीको पर्यटकीय सम्भावनालाई उजागर गर्न मादी गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको पुरुयुमबाट कोरीसम्म केबुलकार सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययनसँगै सार्वजनिक सुनुवाइसमेत भइसकेको छ । सिक्लेसबाट अन्नपूर्ण हिमालको काँखमा समुद्री सतहबाट दुई हजार चार सय २१ मिटर उचाइमा रहेको कपुचे ताल अवलोकन गर्दै कपुचेमा नै बस्ने वा हुगुमा आएर बस्ने विकल्प छ । त्यहाँबाट पर्यटक कोरीतर्फको यात्रा तय गर्ने उहाँले जानकारी दिनुभयो । कोरीबाट छ हजार नौ सय ८८ मिटर उचाइको लमजुङ हिमाल, सात हजार नौ सय ३७ मिटर उचाइको अन्नपूर्ण दोस्रो, छ हजार नौ सय ९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र आठ हजार एक सय ५६ मिटर उचाइको मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ । कोरी पदयात्रासँगै हिमाल अवलोकनको उपयुक्त गन्तव्य रहेको बताउनुहुने पर्यटक पथप्रदर्शक गङ्गा घले आफूले यस पदमार्गमा धेरै पर्यटकको समूहलाई लिएर आइसकेको बताउनुभयो । “यहाँ आइसकेपछि जोकोही पर्यटक हिमालसहितको मनोरम दृश्य देखेर रमाउने गरेका छन्”, उहाँले भन्नुभयो, “जरैदेखि टुप्पोसम्म एकसाथ हिमाललाई नियाल्न पाउनु नै यहाँको प्रमुख विशेषता हो ।” करिब १० वर्ष अघिसम्म सेताम्य हुने हिमाल अहिले भने खुइलिएको देख्दा आफूलाई धेरै चिन्तित बनाएको बताउँदै उहाँले पहिला सेताम्य हिमाल देखेर गएका विदेशी पर्यटक दोहोर्याएर आउने क्रममा हिमाल खुइलिएको देख्दा चिन्ताले रुने गरेको अनुभव सुनाउनुभयो । “पहिले यहाँबाट देखिने सेताम्य हिमालमा अहिले हिउँ नै छैन”, उहाँले भन्नुभयो, “पछिल्लो १० वर्षयता हिमाली क्षेत्रमा तापमान वृद्धिको धेरै असर परिसकेको छ ।” हिमाललाई बचाउने नसके हाम्रो पर्यटनमा पनि गम्भीर असर पर्ने बताउँदै उहाँले जथाभावी प्लाष्टिकजन्य वस्तु नजलाउन र वातारण प्रदूषण हुने कुनै किसिमका गतिवधि नगर्न सुझाउनुभयो । कोरीडाँडासहित यस क्षेत्रको पदयात्रा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रूपमा यहाँको प्रवर्द्धन र विकासलाई जोड दिएको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो । सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहयोगमा पुसको दोस्रो साता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पुडाँडा हुँदै याङ्जाकोटसम्मको पदयात्रा सम्पन्न गरिएको कार्यक्रम संयोजकसमेत रहनुभएका उहाँले बताउनुभयो । प्रवर्द्धनात्मक कार्यक्रममा अवसरमा कोरी र त्यहाँको पर्यटकीय सम्भावना, आवश्यकता आदिबारे स्थलगत पहिचान गरिएको बताउँदै उहाँले त्यहाँ विद्युत्, खानेपानी, सञ्चारलगायत अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने देखिएको बताउनुभयो । “कोरीमा पर्यटकीय आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो, “राज्यले उक्त स्थानमा तत्काल बिजुली, खानेपानीका साथै सञ्चार सुविधा पुग्नेगरी व्यवस्था गरिनु अपरिहार्य देखिएको छ ।”
म्याग्दीः केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ । सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला यहाँ थोगी नसक्नुको भीड छ । पुस लागेयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय अगुवा भरत केसीले जानकारी दिनुभयो । उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताउनुभयो । अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको पर्वत कुश्माका हरिश गौतमले बताउनुभयो । रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ । तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् । पहेलँै फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् । रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डको कालोपत्र सडकको दायाँ र बायाँतर्फ खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीयवासी नेत्रबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, “रत्नेचौर पर्यापर्यटनको आकर्षक स्थल बनेको छ । रत्नेचौरको मौलिकतालाई जोगाएर कृषि पर्यटकीय गाउँ बनाउन यहाँका स्थानीय लागिपरेका छन् ।” केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको स्थानीय सन्तोष महतले बताउनुभयो । रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । “पुलमा खेल्न, तोरीमा रमाउन र वनभोज खान मानिस आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको छ” स्थानीय महतले बताउनुभयो । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रियस्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमका बेलामा प्रवर्द्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रवर्द्धन हुने र व्यापक रूपमा पर्यटक भित्र्याउन सकिने थापाको भनाइ छ ।
गण्डकी: लमजुङको मस्याङ्दी गाउँपालिका–१ घनपोखराका ६० वर्षीय विजय गुरुङ ३० वर्षअघिसम्म बर्खायाममा भेडाबाख्रा र गाईभैँसीको गोठ लिएर कास्कीको मादी गाउँपालिकामा पर्ने ठूलोलेकमा पुग्ने गर्नुहुन्थ्यो । समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको ठूलोलेक कास्की र लमजुङका किसानहरूको चरनखर्क मात्र नभएर परापूर्वकालमा नुनदेखि सुनसम्मको व्यापारका लागि मनाङ आवतजावत गर्ने नाका समेत हो । परापूर्वकालमा पशुगोठ र बटुवाहरूको चहलपहल हुने प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठूलोलेक र आसपासका ऐतिहाँसिक ठाउँहरू यतिखेर भने सुनसान छन् । “वैदेशिक रोजगारको बढ्दो प्रभावसँगै वर्षायाममा पशु र गोठालाहरुले भरिने ठूलोलेकलगायत खर्कहरू सुनसान मात्र नभएर लेकबेंशी गर्न प्रयोग भएका गोरेटो बाटाहरू झाडीले पुरिएका छन्,” पूर्वशिक्षक समेत रहेका गुरुङले भन्नुभयो, “परापूर्वकालमा गुरुङ समुदायको बसोबास रहेको क्होलासोथार वरपरको भूगोल हामी गुरुङहरूको इतिहास पनि हो ।” ऐतिहासिक स्थल क्होलासोथारमा एक हजार दुई सय वर्षअघिसम्म गुरुङ समुदायको तीन वटा बस्ती थियो । त्यसबेलाका घर, दरबार, घट्टलगायत भौतिक संरचनाका भग्नावशेष अझै इतिहासको साक्षीका रुपमा रहेका छन् । क्होलासोथार नेपालका आदिवासी जनजाति गुरुङ समुदायको इतिहास, वर्तमान र भविष्यसँग जोडिएको छ । क्लोलासोथारलाई केन्द्रित गरेर पुर्खाको पदचाप पछ्याउँदै गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गको खोज, अनुसन्धान, पहिचान गरी प्रर्वद्धन र पूर्वाधार निर्माण थालेको छ । सङ्घका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले कास्कीको मादी, लमजुङको क्होलासोथार, मस्याङ्दी, दूधपोखरी, मनाङको चामे र नासो गाउँपालिका जोड्ने पदमार्ग संस्कृति र प्रकृतिको संगम भएको बताउनुभयो । “नुनदेखि सुनसम्मको ब्यापार गर्न मनाङ जान–आउन, भेडाबाख्रा र गाईभैंसी चरनका लागि लेकबेंशी गर्न पुर्खाहरुले प्रयोग गरेको बाटोलाई पछ्याउँदै तयार पारिएको पदमार्गको नक्साङ्कनपछि प्रचारप्रसार र पूर्वाधार निर्माणको काम सँगसँगै अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “गुरुङ समुदायको इतिहाससँग जोडिएको प्राकृतिक रुपमा सुन्दर यस क्षेत्रको संस्कृति संरक्षण गर्दै प्रकृतिमा पर्यटकलाई भुलाउने, रोजगारी सिर्जना र देशको अर्थतन्त्रमा योगदान गर्ने उद्देश्य रहेको छ ।” ताङतिङदेखि–करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलोलेक–थुर्जु–दूधपोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँशीशहरसम्मलाई समेटेर गत जेठ महिनामा पहिचान गरिएको पदमार्गको गत साउन महिनामा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा। टकराज गुरुङको उपस्थितिमा नक्सा सार्वजनिक र घोषणा गरिएको थियो । सहायक गन्तव्यहरु पन्ध्र दिनको मुख्य पदमार्गअन्तर्गत सहायक गन्तव्यहरू पनि पहिचान, प्रवद्र्धन र पूर्वाधार निर्माणको काम थालिएको छ । पर्यटकले इच्छा, क्षमता र अनुकुलता अनुसार लामो र छोटो अवधीको यात्रा गर्न पाउने विकल्प खुल्ला छ । यस पदमार्गमा कम्तीमा दुई दिनदेखि अधिकतम् १५ दिनसम्म यात्रा गर्न सकिन्छ । नेपाल पर्यटन बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा यही २०८१ पुस ६ देखि ११ गतेसम्म पहिलो चरणअन्तर्गत पर्यटन व्यवसायी, पथप्रदर्शक र जनप्रतिनिधिहरूको टोलीले सिक्लेस– कपुुचे– क्होलासोँथर– करापुडाँडा– याङ्जाकोट हुँदै पुनः पोखरा जोड्ने (राउण्ड मादी) पदमार्गमा पदयात्रा गरेका थिए । गुरुङ पर्यटन व्यवसायीसँग गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले यस आर्थिक वर्षमा दोस्रो चरणमा क्होलासोँथरबाट घलेगाउँ–घनपोखरा–भुजुङ–पसगाउँ–ताप्रो हुँदै क्होलासोँथरबाट सिक्लेस हुँदै पोखरा र तेस्रो चरणमा मस्र्याङ्दी गाउँपालिकाबाट घनपोखरा– मैदु– थुर्जु–कोप्लेक खर्क–सिउरुङ–हरसिंडाँडा हुँदै पोखरासम्मको पदमार्ग प्रवद्र्धन गर्ने योजना रहेको छ । “प्रकृति, संस्कृति र इतिहासको सӶ्गम गुरुङ सम्पदा पदमार्गको सबै भूगोल र विशेषतालाई समेटेर प्रर्वद्धन गर्ने कार्यक्रम बनाएका छौँ,” उहाँले भन्नुभयो “नक्सा, बुकलेटको साथै भिडियो वृत्तचित्र र मल्टिमिडियाको प्रचार सामग्री तयार पारेर प्रचारप्रसार गर्न थालेका छौँ ।” सडक सञ्जाल विस्तारसँगै पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा पर्यटकीय राजधानी पोखराको नजिकै रहेको गुरुङ सम्पदा पदमार्ग महत्वपूर्ण विकल्प बन्नसक्ने अध्यक्ष गुरुङको भनाइ छ । पोखरामा पर्यटकको बसाई लम्बाउनका लागि गुरुङ सम्पदा पदमार्गका गन्तब्यहरूलाई विकास गर्नुपर्ने उहाँले बताउनुभयो । ‘फोरके ट्रेक’ ट्रेकका रुपमा पनि लिन सकिने गुरुङ सम्पदाका पर्यटकीय गन्तव्यहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० भित्र पर्दछन् । मादी गाउँपालिका–१ सिक्ले र २ ताङतिङमा पर्ने सिक्लेस–कपुुचे–क्होलासोँथर–तप्रो– करापुडाँडा–याङ्जाकोट लाई समेटिएको छ । कपुचे, कोरी, क्होलासोँथर र करापुडाडा समेटिएकाले यो पदमार्गलाई ‘फोरके ट्रेक’ का नामले पनि लिन सकिन्छ । मादी नदीको दाया र बाया किनारमा रहेका दुई वटा वडालाई फन्को लगाइने भएर यसलाई गुरुङ सम्पदा पदमार्गअन्तर्गत राउण्ड मादी नामाकरणका लागि प्रस्ताव गरिएको हो । बढीमा सात दिन लाग्ने चक्रीय मादी पदमार्गमा खोला, मनोरम पोखरी, ठूलाठूला खर्क, तालसँगै आकर्षक पाटनहरू भेटिन्छ । साथै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिन्छ । सिक्लेस–लमजुङ हिमालको काखमा झुरुप्प ढुङ्गे घरहरू रहेको गुरूङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिको संगम सिक्लेसको नेपालको राजनीतिक परिवर्तनको इतिहाससँग जोडिएको छ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो स–साना गल्ली, गल्छेँडा र तगारा यहाँका सौन्दर्य हुन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक हुनुभएको थियो । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । यहाँ शान्ति स्मारक पनि बनेको छ । सिक्लेस पुग्ने पर्यटक गुरूङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरूङ जातिको मन्दिर, मौलिक संस्कृति, भेषवभूषा, झाँकी, नाचगीत आदिमा रमाउने मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ गुरुङले बताउनुभयो । सिक्लेस–हुगु–कपुचे, सिक्लेस–तस–कोरी, सिक्लेस–ताङतिङ, सिक्लेस–ताराहिल–घलेखर्क, सिक्लेस–खिलाङ–चिप्ली पदमार्ग छन् । कपुचे हिमतालः अन्नपूर्ण हिमालको काँखमा समुन्द्री सतहदेखि दुई हजार चार सय २१ मिटर उचाईमा रहेको कपुचे हिमताल मादी गाउपालिका–१ मापर्छ । दश हजार चार सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुुुचेलाई विश्वकै कम उचाईमा भएको हिमतालका रुपमा दाबी गरिएको छ । हरियो र निलो मिश्रित रङ्गको तालको पानीमा घामका किरणहरू पर्दाको दृश्यले पदयात्रीलाई रोमाञ्चित बनाउछ । यहाँ अन्नपूर्ण चौथो हिमालबाट हिउँ पहिरो खसिरहन्छ । पर्यटकहरुको सुविधाका लागि कपुचे र हुगुमा रेष्टुरेन्ट र अस्थायी संरचनाका होटलहरू छन् । काठले बारेका घरमा निगालोको चोयाले बनेका चित्राले छाएका घरहरुमा पर्यटकलाई बास बस्ने व्यवस्था मिलाएको हुगुका होटल व्यवसायी कृष्ण गुरुङले बताउनुभयो । सिक्लेसदेखि सिधै कपुचे पुगेर त्यही बास बसेर भोलिपल्ट फर्किन सक्ने अथवा फर्किएर हुगुमा आएर बास बस्न सकिन्छ । कोरीडाँडाः हुगुदेखि नौलाखर्क, नौटा हुदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुन्द्र सतहदेखि तीन हजार आठ सय ५० मिटर उचाइको कोरीडाँडा पुगिन्छ । सिक्लेसदेखि तास हुँदै कोरी पुग्ने अर्को पदमार्ग पनि छ । हुगुमा खाजा खाएर हिडेका पर्यटक दिउँसोको खाना खान नौटा खर्क पुग्छन् । यहाँ चिया पसल छ । माछापुच्छ्रे, अन्नपूर्ण २, ४, थ्रि सिस्टर, मादी र लमजुङ हिमाललाई नजिकबाट नियाल्न पाउनु कोरीडाँडाको प्रमुख बिशेषता हो । कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरु बास बस्ने थलो र गोठालाको खर्क थियो । चार वटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटकहरू आउने क्रम बढेको होटल व्यवसायी होम गुरुङले बताउनुभयो । सिक्लेसदेखि तसा हुँदै कोरी पुगेका पर्यटकहरु पुरानै बाटो, नौटा–हुगु–कपुचे–हुगु–सिक्लेस, ठुलोलेक–गुरुङ देउराली–तिमाङ, ठूलोलेक–क्होलासोथार –करापुडाडा–याङजाकोट अथवा ताङतिङ भएर यात्रा गर्ने विकल्प छ । ठूलोलेकः कास्की र लमजुङका किसानहरुले परापुर्व कालमा गोठ लैजाने ठूलोलेक समुन्द्री सतहदेखि चार हजार ५० मिटरको उचाईमा अवस्थित छ । कोरीदेखि तीन घण्टा पैदलयात्रा गरेपछि ठूलोलेक पुगिन्छ । विशाल पाटनयुक्त ठूलोलेकदेखि थुर्जु देउराली हुँदै मनाङ र क्होलासोथार निस्कने पदमार्ग छन् । लमजुङको घलेगाउँ, घनपोखरा, पसगाउँ जाने पदमार्ग पनि छ । ठूलोलेकमा तीन वटा आकर्षक र मनमोहक तालहरू छन् । बहुमूल्य यार्सागुम्बा पाइने योकस्तुरी मृग र डाफेको बासस्थान पनि हो । क्होलासोथारः कास्कीको मादी गाउँपालिका–२ को भूगोलमा पर्ने क्होलासोथार गुरुङ समुदायको ऐतिहासिक बस्ती हो । गुरुङ पर्यटन ब्यवसायी सङ्घका महासचिव तुल गुरुङका अनुसार एक हजार दुई सय वर्ष अघिसम्म क्होलासोथारमा गुरुङ समुदायको बसोबास थियो । यहाँबाट बसाई सरेका गुरुङहरू नेपाल र विश्वका विभिन्न ठाउँमा फैलिएको उहाँले बताउनुभयो । गुरुङ समुदायको इतिहाँस, वर्तमान र भविष्यलाई जोडेर गुरुङ सम्पदा पदमार्गको परिकल्पना गरिएको उहाँको भनाई छ । पुराना गोलघर, दरवार, घट्ट, घोडा बाध्ने तबेला आदिका भग्नावशेष रहेको यहाँ पुरातत्व विभागले गरेको उत्खनन्मा पौराणिक महत्वका सामग्रीहरू भेटिएका थिए । ठूलोलेक र तप्रोदेखि दुई तर्फबाट क्होलासोथार जोड्ने परम्परागत मार्ग छन् । ठूलोलेकदेखि क्होलासोथार जाने पदमार्गमा पर्ने ‘बनको छेउ’ नामको पहाडलाई स्थानीयबासीले देवताको रुपमा पुज्ने गर्दछन् । क्होलासोथार नजिकै तत्कालीन घले राजाको घोडा दौडाउने र मेला लाग्ने चौर पनि रहेको छ । ठूलोलेक र तप्रोदेखि क्होलासोथार पुग्न करिब पाँच घण्टा पैदलयात्रा गर्नुपर्छ । करापुडाँडाः मादी गाउँपालिका–२ मा पर्ने करापुडाँडा समुुन्द्री सतहदेखि दुई हजार नौ सय मिटर उचाईमा छ । कोरी– ठूलोलेक–क्होलासोथार–तप्रो हुदै यात्रा गर्दा क्होलासोथारदेखि चार घण्टा हिडेर पुगिने तप्रोमा बिहानको खाना खाएपछि थप पाँच घण्टा डाँडैडाडा पहाड, जङ्गल र हिमाल हेर्दै यात्रा गरेपछि करापुडाँडा पुगिन्छ । गुराँसे जङ्गल, रङ्गीबिरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृ्श्यावलोकन गर्दै पदयात्रा गर्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिनुको साथै मनास्लु हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४, अन्नपूर्ण–३ , माछापुच्छ्रे, मर्दी हिमाल, अन्नपूर्ण साउथ, वुद्ध, मनास्लु, हर्क गुरुङ हिमाल देखिन्छ । यहाँको क्याम्पिङ साइटमा एउटा धर्मशाला छ जहाँ नजिकै पानीको स्रोत र क्याम्प बस्न मिल्ने सुविधा छ । टेन्ट र अस्थायी टहराहरूमा पर्यटक बास बस्न पाउने गुरुङ पर्यटन व्यवसायी सङ्घका कोषाध्यक्ष भुपाल गुरुङले बताउनुभयो । करापुडाँडाको फेदीमा रहेको ताङतिङमा होमस्टे र होटलको सुविधा छ । करापुडाँडाबाट ओरालो करिब चार–पाँच घण्टा डाँडा र जङ्गलको बाटो हुँदै याङ्जाकोट पुगिन्छ । शुरुको करिब २० मिनेट बाटो भिरालो र अप्ठ्यारो छ, डोरीको आवस्यक पर्नसक्छ । यो ठाउँमा पदमार्ग सुधार र मर्मत गर्नु जरूरी छ । क्होया डाँडा, देउराली, चौतारा, बाघ खोर, ठाटी पौवा, तउरो हुँदै याङजाकोट पुगिन्छ । सञ्चार, विद्युत् र खानेपानी सुविधा आवश्यक पर्यटन व्यवसायी बलराम थापाले गुरुङ सम्पदा पदमार्गले धेरै सम्भावना बोकेको बताउनुुहुन्छ । तत्काल सडक पुग्न नसक्ने र पुरानो पदमार्ग भएकाले यसलाई सामान्य मर्मत तथा केही पूर्वाधार विकास गर्नुपर्ने उहाँले बताउनुभयो । क्होलासोँथार, तप्रो र ठूलोलेकमा रेष्टुरेन्ट आवश्यक रहेको र पुराना पदमार्गको मर्मत, सुधार गर्नुपर्ने, सङ्केत चिन्ह राख्नुपर्ने थापाले बताउनुभयो । कोरी, करापुडाँडामा खानेपानी, विद्युत र सबैजसो ठाउँमा तीव्र गतिको इन्टरनेट सुविधा विस्तार गर्नुपर्ने अर्का पर्यटन ब्यवसायी गङ्गा घलेले बताउनुभयो । मादी गाउँपालिका–२ का पूर्व वडाध्यक्ष एकजङ्ग गुरुङले यसवर्ष गण्डकी प्रदेशको रु ३० लाख बजेटबाट करापुडाँडादेखि तप्रोतर्फ पदमार्ग निर्माण गरिएको बताउनुभयो । अर्को शीर्षकमा विनियोजन भएको रु ४० लाख बजेटबाट पनि पदमार्ग निर्माणको तयारी भएको बताउँदै उहाँले थप बजेटका लागि पहल गरिएको बताउनुभयो । सिक्लेस कोरी मनाङ पदमार्गका लागि पनि संघीय सरकारबाट यस वर्ष रु एक करोडभन्दा बढी विनियोजन भएको छ ।
गण्डकी: आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका रुपमा विकास भएको छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट जम्मा दुई हजार चार सय २१ मिटर उचाइमा रहेको छ । कूल दश हजार चार सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुचेलाई विश्वकै कम उचाइमा भएको हिमतालका रुपमा दाबी गरिएको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो । आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य नै यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा क्हफुचे भनिने बताउँदै वडा अध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भूभाग भन्ने रहेको बताउनुभयो । क्हफुचेबाट अपभ्रंस हुँदै यस ताललाई कपुुचे, कफुचे आदिका रुपमा लिने गरिएको उहाँले जानकारी दिनुुभयो । बजारदेखि नजिकको हिमताल कपुचेको शान्त वातावरणसँगै वर्षातको समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गी, वीरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन् । पर्यटकीय गाउँ सिक्लेसदेखि हुगु हुँदै छ घण्टा पैदलयात्रा गरेपछि कपुचे पुग्न सकिन्छ । बाटोमा पर्ने इदी झरना मनमोहक र आकर्षक छ । पर्यटकको सुविधाका लागि कपुचे र हुगुमा रेष्टुराँ र अस्थायी संरचनाका होटल बनिसकेका छन् । परम्परागत रुपमा यसअघि बनेका कतिपय भेडीगोठलाई स्तरोन्नति गर्दै पर्यटकस्तरीय होटेलका रुपमा विकास गर्न खोजिएको देखिन्छ । काठले बारेका घरमा निगालोको चोयाले बनेका चित्राले छाएका घरमा पर्यटकलाई बास बस्ने ब्यवस्था मिलाएको सिक्लेस–कफुचे मार्गस्थित हुगुमा होटेल आइसफल चलाउँदै आउनुभएका पर्यटन व्यवसायी कृष्ण गुरुङले बताउनुभयो । जङ्गलको बीच र मादी नदीको किनारमा रहेको हुगु यस क्षेत्रमा प्राचीन गोठहरू भएको क्षेत्र हो । अहिले प्राचीन गोठहरू हराउँदै गए पनि तिनै गोठहरू रहेका स्थानमा पर्यटक लक्षित गरी होटेल लगायतका पूर्वाधार विकास गर्न खोजिएको उहाँले बताउनुभयो । हुगुका होटेलको आगनबाट टाउको ठडाउने बित्तिकै लमजुङ हिमाललाई आँखै अगाडि देख्न सकिन्छ । पछिल्ला समयमा हिमताल र हिउँ पहिरो अवलोनका लागि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको कपुुचे हिमतालसम्म पुग्नका लागि बाटो लगायत पूर्वाधारलाई राज्यले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । सिक्लेसदेखि सिधै कपुचे पुगेर त्यही बास बसेर भोलिपल्ट फर्किन सक्ने अथवा फर्किएर हुगुमा आएर बास बस्ने दुवै विकल्प छन् । हुगुमा परापूर्वकालमा हिउँदमा सिक्लेसवासीको गाईभँैसी र भेडागोठ राख्ने चलन थियो । हुगुदेखि सिक्लेस फर्कन र नौटा हुँदै अर्को गन्तव्य कोरी पुग्न सकिन्छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ । तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटकमाझ पु¥याउँदै यसको प्रवद्र्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवद्र्धनलाई जोड दिएको मादी–१ का वडाध्यक्ष गुरुङले बताउनुभयो । सिक्लेसबाट कपुचेसम्म पुग्ने पैदलमार्गलाई व्यवस्थित गर्नेतर्फ आफूहरूको चासो र सक्रियता बढेको बताउँदै उहाँले यसबीचमा गाउँपालिकासहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय ताल प्राधिकरण, गण्डकी प्रदेश सरकार आदि निकायबाट तालको पूर्वाधार विकाससँगै तालसम्म जाने बाटो आदिका लागि सहयोग प्राप्त भई केही कामहरू अघि बढेको जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुुसार हराउँदै गएको घोडचढी संस्कृतिको जगेर्नालाई लक्षित गरी गाउँपालिकाले सिक्लेसबाट कपुचेसम्मका लागि ५० अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको भएपनि त्यसतर्फ युवाहरूको आकर्षण देखिएन । ताल कहिले बन्यो भन्ने यकिन तथ्य नभए पनि उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहे पनि अहिले भने छैनन् । सिक्लेस–कपुुचे मार्गमा पर्ने हुँगु र कपुचे दुवै स्थान प्राचीन भेडी गोठ रहने क्षेत्र हो । कपुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुगु पुग्न सक्छन् । हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ । पोखराबाट छोटो दूरीमा रहेको कपुुचेलाई समेटेर सिक्लेसहुँदै कपुचे–कोरी क्होलासोथार–कर्पुु हुँदै याङजाकोटलाई गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्दै प्रवद्र्धनका काम अघि बढाइएको गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो । सङ्घले प्राचीन गुरुङ बस्ती रहेको सिक्लेससहित गुरुङ गाउँ र जोडिएका प्राचीन भेडीगोठ एवं नुन बोक्ने मार्गलाई समेटेर बृहत् अवधारणका साथै गुरुङ सम्पदा पदमार्गको अनुसन्धान, एवं अन्वेषण गरी त्यसको प्रवद्र्धन र विकासमा जोड दिएको उहाँले बताउनुभयो । सङ्घकै आयोजनामा पुसको दोस्रो हप्ता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पु हुँदै याङ्जाकोटसम्ँमको गुरुङ सम्पदा पदमार्ग प्रवद्र्धन सम्पन्न गरिएको सङ्घका महासचिव तुल गुरुङले बताउनुभयो । पोखराबाट नजिक रहेको कपुचे हिमतालको महिमा र गरिमासँगै यहाँको पर्यटकीय आकर्षणलाई विश्व पर्यटन बजारमा पु¥याउनुु जरुरी रहेको उहाँले बताउनुभयो ।