पोखरा:   गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ ।      पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय ग...

पोखराः   तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ«े गाउँपालिका ८÷९ स्थित घलेलमा २५ औं ल्होछार घलेल महोत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २० गतेसम्म २५ औं ल्होछार महोत्सव आयोजना गरिने क्लबका अध्यक्ष बिराज गुरुङले जानकारी दिए ।   उनका अनुसार ल्होछार घलेल महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, पौढ भलिबल, ठेलो, रस्साकस्सी, अन्धानिशान, सामुहिक नृत्य, घोडा दौडे, महिला  कुर्ची दौड प्रतियोगिता समावेश गरिएको छ ।   अध्यक्ष गुरुङले ल्होछार घलेल महोत्सवमा आयोजित गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६० हजार र उपविजेताले नगद ४० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।    उनका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा  सहभागि हुन एक समूहलाई ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।   यस्तै प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका र उपविजेताले २ वटा भालेसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन एक समुहलाई ३ हजार दर्ता शुल्क कायम गरिएको छ ।   यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको छ ।    यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फोड प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् ।    मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेषप्रस्तुती दिने आयोजकले जनाएको छ ।  

म्याग्दी:     केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ ।   पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए । पछिल्ला वर्षमा घोडेपानीका होटल व्यवसायीले पर्यटकलाई लक्षित गरेर सुविधासम्पन्न होटल खोल्ने लहर नै चलेको छ । पुराना होटल व्यवसायीले होटलको क्षमता र सुविधा बढाएका छन् । पहिले छाप्रोबाट होटल सुरु गरेका व्यवसायीले अहिले घोडेपानीमा पक्की घर नै बनाएर सुविधायुक्त होटल सञ्चालन गरिरहेका छन् ।  होटलको क्षमता र सुविधा विस्तारले पर्यटकलाई सुविधा पुगे पनि पुनहिल क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या घट्दै गएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर गर्वुजा पुनले बताउनुभयो ।   “घोडेपानीमा एक दिनमा एक हजार दुई सय जनालाई सहजैरूपमा खाना  र बसोबासको प्रबन्ध मिलाउन सक्ने क्षमता छ, व्यवसायीले पनि होटल क्षेत्रमै सुविधा बढाउन र स्तरीय बनाउन लगानी गरिरहेका छन्, तर विदेशी पर्यटक आउने सङ्ख्या हरेक वर्ष घट्दै गएको छ”, उहाँले भन्नुभयो । गत साउनदेखि मङ्सिर दोस्रो सातासम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।   विगतका वर्षको तुलनामा यस वर्षको विदेशी पर्यटकको सङ्ख्या कम रहेको होटल व्यवसायी बताउँछन् । घोडेपानी पुनहिल क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नुलाई मानिएको छ ।   जर्मनका १२ पर्यटकलाई पुनहिल क्षेत्रको भ्रमणमा ल्याउनुभएका मल्टि एडभेन्चर कम्पनीका डाइला शेर्पाले अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोको कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको बताउनुभयो ।  विगत २० वर्षदेखि अन्नपूर्णलगायतका मुलुकका विभिन्न क्षेत्रमा पर्यटक घुमाउने काममा सक्रिय शेर्पाले पदमार्गलाई मास्ने र विस्थापित गर्नेगरी खनिएका सडकका कारण पुराना स्थापित पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको रोजाइ घट्दो रहेको बताउनुभयो । सडकको पहुँचले आन्तरिक पर्यटकको आगमन भने बढ्दो छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–शिख–चित्रे हुँदै घोडेपानीसम्म सडक पुगे पनि देशका विभिन्न स्थानका विद्यालय, कार्यालय, सङ्घसंस्था, समूहबाट पुनहिल क्षेत्रको भ्रमणमा पुग्ने बढेका छन् ।   आन्तरिक पर्यटक बढे पनि समग्रमा पर्यटन क्षेत्रको प्रभाव विदेशी पर्यटकमै निर्भर हुने भएकाले विदशी पर्यटकको आगमन घट्दै जाँदा पर्यटन व्यवसायी चिन्तित छन् । पुनहिल घोडेपानी पुग्ने पुरानो पदमार्गमध्येमा पर्ने पोखरेबगर–घार–शिख–चित्रे–घोडेपानी पदमार्ग पूर्णरूपमा सडकले विस्थापित गरेको छ । यो पदमार्गमा आउने पर्यटकलाई लक्षित गरी दूरविनडाँडा, घार, शिखलगायतका क्षेत्रमा खोलिएका होटल पूर्णरूपमा बन्द भइसकेका छन् । घोडेपानी पुनहिल पुग्ने मुख्य पदमार्गमध्ये कास्कीबाट उल्लेरी हुँदै आउने पदमार्गसमेत अधिकांश सडकले मासिएको भन्दै पथप्रदर्शक चिन्तित छन् ।   सडक विस्तार गर्दा पदमार्गलाई जोगाउने गरी सडकको नक्सा¬ङ्कन र विस्तार गर्न उनीहरूले माग गरेका छन् । घोडेपानीमा कास्कीको घान्द्रुक भएर आउने पदमार्गका साथै अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्ग हुँदै मोहरेडाँडा र फूलबारी हुँदैसमेत पर्यटक पुग्ने गर्छन् । 

पोखरा:   नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा बर्सेनि मनाउँदै आएको पर्वतीय महोत्सव शुक्रबारबाट पोखरामा सुरु हुँदैछ । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस पनि हुने भएको छ । महोत्सवको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नेछन् । आयोजक नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारका अनुसार महोत्सवको पहिलो दिन शुक्रबार नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइनेछ । ‘गिद्धको महत्व र उपयोगिता देखाइनेबारे बालबालिकाले नै नाटकबाट प्रस्तुत गर्नेछन्,’ उनले भने । महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र देखाइने सिन्दुराकारले जानकारी दिए । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन् ।  महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे पनि बहस हुने भएको छ । ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ ?’ शीर्षकमा डब्लुडब्लु एफका डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितले वार्तालाप गर्नेछन् । उक्त बहस डिसेम्बर ११ मा दिउँसो १ बजेदेखि सुरु हुनेछ । महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रर्दशनमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उनले भनिन् ।

काठमाडौं:   विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । नेपालमा ट्रेकिङको सम्भावना र महत्त्व देखेर नै विश्वका नागरिक यहाँ यसैका लागि आउने गर्दछन् । तर पनि यसको अस्तित्व जोगाउन भने हम्मेहम्मे परिरहेको देखिन्छ । अर्कातर्फ साहसिक पर्यटन भएकाले पनि व्यक्तिगत शारीरिक तथा स्वास्थ्य समस्या अर्को ठुलो चुनौती हो । जोखिम मोलेरै गर्ने यात्रा हो ट्रेकिङ । यसबाट प्राप्त हुने मजा भने हरेक व्यक्तिले फरकफरकरुपमा लिन सक्दछन् ।  प्रकृतिले दिएको अनुपम उपहारको फाइदा उठाइरहँदा त्यसको संरक्षणमा जुट्नु सम्बद्ध निकायको दायित्व हो । तर पनि यसको सट्टा पदमार्ग रुट एकपछि अर्को गरी खण्डहर बनाउने काम जारी छ । यसका कारण नेपाली पर्यटनको मौलिकता हराइरहेको छ ।  सडक निर्माणका कारण अर्ग्यानिक ट्रेकिङ रुट हराउँदैछन् । कतिपय स्थानमा न्यूनतम पूर्वाधारको पनि अभाव छ । जथाभावीरुपमा शुल्क उठाउने प्रवृत्ति र आधुनिकताका नाममा अघि सारिएका निर्माण र व्यवहारले ट्रेकिङ क्षेत्रको मानमर्दन गरिरहेको पनि देखिएको छ । त्यसमा पनि व्यवसायीका कतिपय नकारात्मक गतिविधिलेसमेत असर गरिरहेको त छँदैछ । जे भिल नेपाल ट्रेकिङ एण्ड एक्सपेडिसनका सञ्चालक होमनाथ भट्टराई शुल्क तिरेअनुसार चाहिने खास पूर्वाधार नभएकाले पैसा उठाउने मात्रै नीतिले समस्या परिरहेको बताउनुहुन्छ । उहाँका अनुसार अन्नपूर्णमा परमिट लिन्छ । लाङटाङ, मनास्लु पनि छ । मुस्ताङमा त ५०० अमेरिकी डलर नै लिन्छ । डोल्पोमा पनि प्रतिदिन शुल्क लिने गरेको छ । त्यो सबै संरक्षण क्षेत्रले लिन्छ । तर पूर्वाधार केही नभएको उहाँले बताउनुभयो । टानका सचिवसमेत रहनुभएका उहाँले भन्नुभयो, “बाटो अलिअलि बनाएका छन् अरू केही छैन । अप्ठ्यारो पर्दा हेलीमा उठाएर लैजानेभन्दा अरू विकल्प नै छैन । त्यसरी पैसा लिने गरेपछि बिमा पनि गरे हुन्थ्यो । पर्यटनलाई केन्द्रित गरेर सहयोग गरौँ भन्ने नै देखिँदैन । सल्लाह दिन खोज्यो कुन पार्टीको मान्छे हो भनेर हेर्ने गरिन्छ ।” उहाँका अनुसार मनास्लु जानुपर्‍यो भने त्यसको छट्टै कर छ, अलिकति अन्नपूर्ण छुन्छ, त्यहाँ छुट्टै लिन्छ । लजका आफ्नै मूल्य छन् । दुई लिटर पानी उमालेर दिएको रु पाँच सय तिर्नुपर्छ । एउटा अण्डाको रु पाँच सय तिरेर खानुपर्ने अवस्था पनि छ । उहाँले विदेशको अनुभव सुनाउँदै बाहिर पैसा लिने गरे पनि त्यहीअनुसारको पूर्वाधार राम्रो हुने गरेको र सुविधा दिने गरेको बताउनुभयो ।  अहिले त धेरै ठाउँमा बाटो पुगिसकेकाले त्यो ठाउँमा ट्रेकिङ हुन्न । रुट पनि सकिने अवस्थामा छन् । नयाँ रुट खोज्नुपर्ने र गाडी हिँड्ने रुट फरकफरक हुनुपर्ने उहाँको सुझाव छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अनुसार ट्रेकिङ नेपालको उत्कृष्ट गन्तव्य हो । धेरै पर्यटक यसैका लागि नेपाल आउँछन् । तर सम्भावना भएर पनि चुनौती थपिँदै गएको टानको भनाइ छ । यो मौसममा मनमोहक दृश्य देखिन्छ तर हिमपात सुरु भएकाले प्राकृतिक चुनौती पनि उत्तिकै छ ।  टानका महासचिव विनोद सापकोटाका अनुसार यसपालि अब ट्रेकिङको याम सकिने क्रममा छ । सेप्टेम्बर, अक्टोबर नोभेम्बर, मार्च, अप्रिल, मे मुख्य ‘सिजन’ हो । तर अहिले नजाने भन्ने होइन । विदेशी अहिले कम जान्छन् भने आन्तरिक पर्यटक बढी गइरहेका छन् । सावधानी अपनाउँदा भने ट्रेकिङ गर्नलाई जुनसुकै समयमा पनि समस्या नहुने उहाँ बताउनुहुन्छ । त्यसरी जाने पनि छन् । अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा बेसक्याम्प, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा क्षेत्र ट्रेकिङका लागि राम्रा गन्तव्य हुन् ।  नेपालमा अनुमानित दुई लाख बढीले ट्रेकिङ गर्ने गरेका बताइन्छ तर यकिन तथ्याङ्क भने छैन । नेपालमा ट्रेकिङ क्षेत्रमा पनि पर्यटक बढ्न थालेकाले व्यवसायी हर्षित भएका छन् । व्यवसायी संसारको सबैभन्दा राम्रो टे«किङ गन्तव्य नेपाल भएको दाबी गर्छन् । नेपालमा अझै पनि दुई सय ५० जति सम्भावित टे«किङ क्षेत्र रहेका बताइन्छ । त्यसमध्ये नौर१० वटाबाट मात्र फाइदा लिन सकिएको छ । अन्नपूर्ण, सगरमाथा, लाङटाङ, मुस्ताङ अनि डोल्पालगायत आकर्षक गन्तव्यका रूपमा चिनिन्छ । केही नयाँ रुटको प्रचार हुन सकेको छैन । चिसोमा ट्रेकिङ: मजा र जोखिम दुवै  केही दिनदेखि हिमपात भएको र चिसो बढी हुन थालेकाले यो बेलामा विशेष सावधानी अपनाउनुपर्ने महासचिव सापकोटाले बताउनुभयो । विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित छ भने कतिपय ठाउँमा यातायातसमेत अवरुद्ध हुन पुगेकाले ट्रेकिङमा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारहरूले बताउँछन् ।  यसपालि गत वर्षकोभन्दा चाँडो चिसो बढेकाले जाडो बढी नै हुने अनुमान गरिएको छ । तपाईँमा बाक्लो हुस्सु लागेर चिसो बढ्ने क्रममा रहेको छ । देशैभरको मौसम चिसो हुँदा प्रत्यक्ष प्रभाव ट्रेकिङ क्षेत्रमा पनि हुन्छ । ट्रेकिङको मौसम करिब सकिएको भए पनि साहसिक पर्यटक नियमितजसो नै जाने गर्छन् । अहिले पनि सयौँ पर्यटक ट्रेकिङमा छन् ।  महासचिव सापकोटा हिमपात भएसँगै ठुला हिमालमा हिउँ थपिने र दिउँसो घाम लागेर हिमपहिरो आउने, हिमपात हुने बताउनुहुन्छ । यस्तो समयमा बढी जोखिम हुन्छ । त्यसैले त्यस्तो जोखिम क्षेत्र पहिचान गरेर हिँड्नुपर्छ । अनुभवी व्यक्ति विना ट्रेकिङ जानु हुन्न । हिमाली क्षेत्रबाहेक अन्य क्षेत्रमा जाँदा पनि चिसोबाट जोगिने उपायसहित जाँदा राम्रो हुन्छ ।  “यसरी जाँदा कपडा पनि क्षेत्रअनुसार सुहाउँदो लगाउनुपर्छ, हिउँ परेर बाटो पुरिएको हुनसक्छ, बाटो चिनेको मान्छेसँग हिँड्नुपर्छ । पर्यटक एक्लै पनि हिँड्ने गर्छन्, त्यसरी हिँड्नु थप जोखिम हुन्छ”, सापकोटा भन्नुहुन्छ, “यतिबेला माथिल्लो लेयरमा हिउँ पर्छ । एउटा लेयर जमेर बसेको हुन्छ । त्यसमाथि नयाँ हिउँ गएर थपिन्छ, जब घाम लाग्छ, अनि पानी छिरेर लेयर छुटाइदिन्छ र माथिल्लो भाग झर्नसक्छ त्यसकारण हिउँ खस्ने सम्भावित क्षेत्र हो भनेर पहिचान भएका व्यक्ति लिएर जानुपर्छ ।” त्यहीअनुसार हिउँमा हिँड्न मिल्ने जुत्ता, हिउँबाट जोगिने कपडा लगाउनुपर्ने उहाँको सुझाव छ ।  नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य एवं कोरियन आल्पाइन फेडेरेशनका नेपाल प्रतिनिधि ङावा ङिमा शेर्पा मनोराम दृश्य हेर्ने पर्यटकका लागि अहिले उपयुक्त मौसम भए पनि जोखिम भने बढी हुने बताउनुहुन्छ । उहाँका अनुसार यस्तो बेलामा हिमपहिरो आउने सम्भावना हुनेहुँदा बिहानै घाम लाग्नुभन्दा पहिला नै गन्तव्यमा पुग्नुपर्ने हुन्छ ।  “बेलुका चिसोले हिउँ सेट भएको हुन्छ । दशदेखि ४ बजेसम्म हिउँ पग्लिँने हुँदा जोखिम बढी हुन्छ । त्यही भएर पथप्रदर्शकले ख्याल गर्नुपर्‍यो । अनुभवी पथप्रदर्शक ‘गाइड’को निर्देशनमा हिँड्नुपर्छ”, ट्रेकिङ क्षेत्रका अनुभवी शेर्पा भन्नुहुन्छ, “अर्को जोखिम भनेको हिउँ परिहाल्यो भने बाटो भुल्न सक्छ, खाल्डोमा पर्न सकिन्छ । अनि हिउँ परिरह्यो भने चिसो बढेर बिरामी बनाउन सक्छ । कपडा न्यानो लगाउनुपर्‍यो खाना त्यहीअनुसार तातो खानुपर्छ र वासस्थानको पनि सोहीअनुसार व्यवस्थापन गर्नुपर्छ ।” उहाँले यो समयमा होटल पनि बन्द गरिने भएकाले राम्रो अध्ययन गरेर होटल छन्, छैनन् सबै यकिन गरेर मात्रै पदमार्गमा जानुपर्नेमा जोड दिनुभयो ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले चिसो बढेकाले विशेष गरी ट्रेकिङमा जानेहरूले सावधानी अपनाउनुपर्ने जनाएको छ । तराई क्षेत्रमा हुस्सु बढ्न थालेको छ । शीतलहरूसमेत सुरु हुने भएकाले अब हिमाली क्षेत्रको हिमपात, तपाई क्षेत्रको शीतलहर र पहाडी क्षेत्रको उच्च चिसोबाट जोगिन विपद् व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाडो छल्न आगो ताप्ने क्रममा आगलागी हुने भएकाले त्यसतर्फ पनि ख्याल गर्न अनुरोध गर्नुभएको छ ।  जनस्वास्थ्यविद्को सुझाव जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेका अनुसार ट्रेकिङमा जाँदा ठुलो कुरा अक्सिजनको अभाव हुन्छ । जति उचाइमा जान्छौँ अक्सिजनको मात्रा कम हुने गर्छ । जाडोमा चिसो पनि धेरै हुन्छ । त्यसकारण पर्याप्त तयारी गर्नुपर्छ । श्वाससम्बन्धी वा दीर्घ रोग छ भने पर्याप्त औषधी लैजान भुल्नु हुन्न । हिमपात, हिमपहिरा खस्ने र बाटो पुरिने पनि हुन्छ । यस्ता विषयमा पहिले नै ध्यान दिनुपर्छ ।   यस्ता ठाउँमा जाँदा हिमाल चढिरहेका विज्ञ पथप्रदर्शकसँगै जानुपर्ने हुन्छ । हिमाल चढ्दा धेरै दुर्घटना हुने गरेको छन् । “चिसोले, अक्सिजनको कमीका कारण विभिन्न समस्या आउने, निलो भएर झमझमाउने, अचेत हुने, ‘सेन्स’ हराउने पनि हुन्छ । जति तापक्रममा जान्छौँ, त्यहीअनुसारका कपडा लगाउनुपर्ने हुन्छ । अक्सिजन पनि आवश्यकताभन्दा बढी लिएर जाँदा राम्रो हुन्छ”, डा पाण्डेले भन्नुभयो ।   हिमपात नहुने क्षेत्रमा तातोपानी र तातो खाना खानुपर्छ । रुघाखोकी लाग्ने हुँदा चिसोबाट जोगिने र औषधि लैजाने गर्नुपर्छ । श्वास फेर्न समस्या हुनसक्ने भएकाले त्यहीअनुसारको तयारी गर्नुपर्छ र चिप्लिने सम्भावना हुने भएकाले त्यहीअनुसारका कपडा र जुत्ता प्रयोग गर्नुपर्छ । यस्तो अवस्थामा एक्लै नभई समूहमा हिँड्न पनि उहाँले सुझाव दिनुहुन्छ ।  यस्तो छ मौसम  हाल नेपालमा पश्चिमी वायुका साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ्ग’ नामक सामुन्द्रिक आँधीकोसमेत आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, मधेस प्रदेश साथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।   कोशी प्रदेशका र मधेस प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ । काठमाडौँको न्यूनतम तापक्रम यसपालि ७.४ सम्म झरिसकेको छ । जोमसोममा सबैभन्दा कम माइनस ५.५ डिग्रीमा तापक्रम झरेको छ । दोलखाको जिरीमा १ डिग्री, जुम्लामा माइनस ३.८ सम्म झरेको छ । मनाङमा दैनिक हेर्ने स्टेसन नभएकाले कति भनेर यकिन भन्न सकिने अवस्था नभएको विभागले जनाएको छ । चिसो बढ्ने क्रममा रहेको जनाइएको छ । 

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ ।  समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ ।  पानी जमेर तालमाथि मानिस सहजै हिँडडुल गर्न सकिने बनेको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुुरुङले राससलाई जानकारी दिनुुभयो । “हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको ताल जमेर हिडडुुल गर्न सकिने भएको छ,” उहाँले भन्नुुभयो “पर्यटकहरुले जमेको ताललाई अनौठो मानेर अवलोकन गर्ने र सहासिक यात्रा गरेर रमाउन थालेका छन् ।” प्राकृतिक सौन्दर्यले भरिपूर्ण पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साउँछ । आधार शिविरबाट वरिपरि हिमालले घेरिएको छ । हिमतालकै वरपर वर्षौँदेखि जमेका हिमनदीका अनौठा आकृति, आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने गत हप्ता आधार शिविर पुगेर फर्कनुभएका गाडपारका बासिन्दा सुकबहादुर गर्बुजाले बताउनुुभयो ।   हिमनदी क्षेत्रमा फैलिएको यो हिमताल गर्मी याममा पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड राखिएको  हो । सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो राखेका थिए ।  हिमालको फेदीमा रहेका कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा शेर्पाहरूले डिकिचो ताल नामकरण गरेका भए पनि स्थानीयवासीले तालको भू–बनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेका यहाँका ज्येष्ठ नागरिक बताउँछन् । तालको परिसरमा हिन्दू धर्मग्रन्थ रामायणका पात्र कागभुसुण्डि ऋषिले तपस्या गरेको डाडा भएकाले यो ठाउँका धार्मिक महत्व पनि रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।  नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै दुई दिनको यात्रामा पञ्चकुण्ड पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ । निलो रङले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिने कास्कीका सोमलाल सुवेदीले बताउनुभयो ।  “वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो छ,” पूर्वमुुुख्य सचिव रहेका सुुवेदीले भन्नुुभयो “तालमा देखिने हिमालको छाया र उज्यालो बढ्दै जाँदा गाढा हुँदै जाने तालको पानीको निलो रङले पहिलोपटक पुग्ने जो–कसैलाई आश्चर्यमा पार्छ ।”  ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवालय र गुम्बासमेत निर्माण गरिएको छ । हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालको मूलबाट सङ्कलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवालयमा र गुम्बामा पूजाआजा गर्दै आएका छन् । पञ्चकुण्ड तालबाट निस्कने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षितरूपमा अवलोकन गर्ने पूर्वाधार बनाउन गुरुयोजना तयार पार्न लागिएको गाउँपालिकाका ईञ्जिनियर ईश्वर भण्डारीले बताउनुभयो ।  सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । उहाँले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै ०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै नारच्याङको हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ । 

मनाङ:    कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।  सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताउनुभयो । उहाँका अनुसार अक्टोबर महिनाम सबैभन्दा बढी पाँच हजार एक सय ९८ पर्यटक भित्रिएका छन् । साथै, सन् २०२३ को जनवरीमा एक सय ८४, फेब्रुअरीमा चार सय ९९, मार्चमा दुई हजार सात सय ३६, अप्रिलमा चार हजार दुई सय २१, मेमा एक हजार पाँच सय ७१, जुनमा दुई सय ५२, जुलाईमा दुई ५६, अगस्टमा तीन सय १६, सेप्टेम्बरमा दुई हजार दुई सय ५७, अक्टुबरमा पाँच हजार एक सय ९८ र नोभेम्बरमा तीन हजार दुई सय ४८ पर्यटक भित्रिएका छन् ।  सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएका छन् । फ्रान्सका दुई हजार चार सय ८५, इजरायलका एक हजार ८३, जर्मनका एक हजार आठ सय ३७, बेलायतका एक हजार चार सय ७३, अमेरिकाका एक हजार दुई सय १३, रसियाका एक हजार एक सय ६७, अस्ट्रेलियाका एक हजार एक सय पाँच, नेदरल्याण्डसका नौ सय ७० र भारतका आठ सय ९७ पर्यटक भित्रिएको एक्याप मनाङले जनाएको छ । सन् २०२२ मा मनाङमा १५ हजार नौ सय तीन विदेशी पर्यटक भित्रिएका थिए । कोभिड महमारीको समयमा पनि सन् २०२० मा एक हजार नौ सय ७६ र सन् २०२१ मा दुई हजार तीन सय ७३ बाह्य पर्यटक भित्रिएका थिए । साथै सन् २०१९ मा २६ हजार छ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए । कोभिड महामारीपछि मनाङमा हालसम्मकै बढी पर्यटक भित्रिएका हुन् ।  मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन् । विश्वकै १० औँ उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् । रसियन पर्यटक लुले प्राकृतिक वातावरणको अनुभव गर्न नेपाल आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रविधिमार्फत एकै ठाउँमा बसेर धेरै स्थान पुग्न सक्छौँ । तर, शारीरिकरुपमै पुगेर प्रकृतिसँग रमाउनुको मज्जा नै छुट्टै छ ।नेपाल प्राकृतिकरुपमा धनी छ । यसको महसुस गर्न सक्नुपर्छ । सबै देशका मानिस एक नेपालको प्रकृतिसँग रमाउन आउनुपर्छ ।” उहाँ जस्तै अधिकांश विदेशी पर्यटक नेपालको रमणीय प्रकृतिसँग रमाउन आउने गरेका छन् । 

तनहुँ:  सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहँकोटका होटल खचाखच भएका छन्।   सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ।   असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल भ्यू टावरका सञ्चालक प्रेम रावतले बताए।   आफूहरुसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको उनले सुनाए। ‘मानहुँकोटमा अहिले पर्यटकको चाप बढ्दा होटल पनि खचाखच भरिएको छ,’ रावतले भने, ‘पर्यटकीय याममा दुई/तीन दिन पहिले नै होटल बुक हुने गर्दा हामीलाई पनि राहत मिलेको छ।’   पर्यटकको चाप बढेपछि मानहुँकोटमा १० वटा होटल सञ्चालनमा आइसकेका छन् । धेरै पर्यटक मानुहुँकोट आउन भन्ने उद्देश्यले आफूले समूहमा आउनेलाई लक्षित गरी एक रात बास, दुई छाक खाना, नास्ता र चियासहित प्रतिव्यक्ति एक हजार एकसय कायम गरेको होटल मानहुँकोट एण्ड रिसोर्टका सञ्चालक पूर्ण श्रेष्ठले बताए।   आफूले तीन वटा त्रिपालबाट मानहुँकोट आउने पर्यटकलाई सेवा दिएको मानहुँकोट होटलका सञ्चालक ३० वर्षीय मिलन थापामगरले बताए ।   आफूले प्रतित्रिपालको शुल्क प्रतिरात रु १ हजार लिने गरेको बताए। ‘मैले त्रिपालमा राखेर पर्यटकलाई सेवा दिँदै आएको छु, एउटा त्रिपालमा चार जनासम्म सुत्न मिल्छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको चाप बढेपछि होटलको क्षमता विस्तार गर्ने योजनामा छु।’   आफूहरुले दैनिक ५० जनासम्म राख्ने गरी होटल सञ्चालनमा ल्याएको अम्रेला होटल एण्ड रिसोर्ट सञ्चालक सुनिल सुनामले बताए।   होटलमा दैनिक दुई/तीन सय जनालाई सेवा दिइरहेको उनको भनाइ छ।   आफूलाई मानहुँकोटबाट देखिने सूर्योदय र बादलको दृश्य निकै आकर्षक लागेको धरानबाट आउनुभएकी ५२ वर्षीया निरु राईले बताइन्।  ‘बादलको दृश्य पनि यस्तो राम्रो देखिएला भन्ने मैले सोचेको थिइन, अझै यसको प्रचारप्रसार गर्न सके सबैलाई मानहुँकोटको बारेमा जानकारी हुने थियो,’ उनले भने।   मानहुँकोटको विकासका लागि आफूहरुले पर्खाल निर्माणलगायतको काम गरिरहेको व्यास नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल)ले बताए।   समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको मानहुँकोट तनहुँको दमौलीबाट करिब सात किलोमिटरको यात्रामा पुग्न सकिन्छ।   जाडोको मौसममा अन्य दिन दुई/तीन सय जना र बिदाको दिन आठदेखि नौ सय जनासम्म मानहुँकोट पुग्ने गरेका छन् ।

कास्की:  जीविकोपार्जनको लागी दिगो पर्यटन परियोजना र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त साझेदारीमा मर्दी हिमाल पदमार्गको हुमालमा पर्यटक सुचना केन्द्रको शिलान्यास गरिएकोे छ ।    केन्द्रकाे शिलान्यास गर्दै पालिका उपाध्यक्ष सिता अधिकारीले पर्यटकको सुरक्षा र सूचना पहुँचमा टेवा पुग्ने विचार व्यक्त राखिन् । परियोजनाको ४५ र पालिकाको ५५ प्र्रतिशत लगानी रहेको केन्द्र निर्माणमा करिब ३० लाख रुपैयाँ खर्च हुने अधिकारीले जनाइन् ।    साथै, पदमार्ग क्षेत्रमा सञ्चालित होटल, लजलाई ऐन नियमको परिधिमा समेटेर व्यवस्थापन गरिने जनाउँदै अधिकारीले यस विषयमा सरोकारवालासँग छलफल गरी अघि बढ्ने उल्लेख गरिन् ।    ‘पदमार्गमा अवस्थित होटल तथा लजहरुलाई सरोकारवालासंगको समन्वयमा कानुनी तवरबाट नै व्यवस्थित गरी करको दायरमा ल्याउने योजनामुताविक कार्य भईरहेको छ’ उपाध्यक्ष अधिकारीले भनिन् ।      पालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्यालले यस सुचना केन्द्र स्थापना पश्चात यस पदमार्गमा आउने स्वादेशी तथा विदेशी पर्यटकहरुको तथ्यांङक संकलन,सुचना प्रवाह, सुरक्षा तथा पर्यटन गुरुयोजना निर्माणमा सहयोग पुग्ने धारणा राखे ।    त्यस्तै, वडा नं ५अध्यक्ष एवम् वन वातावरण तथा विपद व्यावस्थापन समिति संयोजक नारायणप्रसाद पौडेलले सुचना केन्द्रले पर्यटकलाई पर्यावरणीय सन्तुलन अनुकुलका गतिविधी अवलम्वनमा सुझाव दिने,पदमार्गमा रहेका जगंलमा तथा हिमाली क्षेत्रमा  पाईने जनावर आदिबारे सूचना दिने उल्लेख गरे ।      पालिकाका आर्थिक विकास समिति संयोजक तथा वडा ८ अध्यक्षराम बहादुर गुरुङले विश्वविख्यात मर्दी हिमाल पदमार्गमा सुचना केन्द्र स्थापनाले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बिचार राखे ।    सोही अवसरमा वडाध्यक्ष गुरुङले पालिकाका मुख्य दुई पर्यटकीय खुमै र मर्दी हिमाल पदमार्गमा पर्यटकबाट शूल्क लिइन थालेको जनाए । शूल्कबाट पालिकाले ‘डिजिटल ट्रेक कार्ड’ उपलब्ध गराउने, शौचालय, प्रतीक्षालय, पिउने पानी, फोहोर मैला व्यावस्थापनलगायतमा खर्च गर्ने उनले जानकारी दिए ।    कार्यक्रममा मर्दी हिमाल व्यावसाय तथा व्यवस्थापन समिति उपाध्यक्ष खेम तामाङ र अमृत तामाङले सुचना केन्द्र स्थापना कार्यको प्रशंसा गर्दै भने पर्यटन सेवा शुल्कका विषयमा स्वादेशी पर्यटकको विषयमा कुनै गुनासो नआएको धारणा राखे ।    शिलान्यासमा पालिकाभित्रका वडाध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

गलकोट:    यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् । यतिबेला घरबास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ । तर भेगनमा आबद्ध पर्यटक भने घरबास सञ्चालकलाई काममा सघाउँछन् । काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले घरबास सञ्चालकसँगै कतिपयले कोदो टिप्छन भने कतिले साग केलाउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले बताए । भेगनमात्रै होइन, बाह्य पर्यटकसमेत खेतबारीमा पुगेर काममा सघाउँछन् । हालै कोरियाबाट एउटा समूह घरबास पुगेर फर्किसकेको छ । घरबासमा बढीजसो अमेरिका, क्यानडा, दक्षिण कोरिया, चीनलगायत मुलुकबाट बढी पर्यटक आउने गरेका छन् । बाह्य पर्यटकले घरबासमा अग्र्यानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीयस्थलको भ्रमण गर्ने र घरबास सञ्चालकलाई काममा सघाउने गरेका थापा बताउँछन् । ‘यतिबेला भकुण्डेमा कोदो भित्र्याउने चटारोमा पुगेका बाह्य पर्यटकले कोदो ठटाउने र केलाउने गरेका छन्, घरबास सञ्चालकसमेत दिउँसो कोदो काट्न पुग्छन् तर भेगनमा आबद्ध पर्यटक रमाइलो गर्न काम गर्छन्’, थापाले भने, ‘बाह्य पर्यटकले कोदोको बाला टिप्ने, साग टिपेर केलाउने गर्नुहुन्छ, उनीहरु यसमै रमाउने गरेका छन् ।’ नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुगेको आफूले अनुभव गरेको घरबास सञ्चालिका इन्द्रा थापाले बताए । पाँचौं समूहअन्तर्गत अमेरिकाका चार, क्यानडा र जर्मनकीका एक–एक पर्यटक तीन दिन अतिथि घरबासमा रमाएका पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए । बाह्य पर्यटकले त्यहाँका स्थानीयले गर्दै आएका हरेक क्रियाकलापमा सहभागी हुने गरेको उनले बताए । मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको हरेक काममा आफैं अग्रसर भएर सहयोग गर्दै आफूलाई त्यही काममा रमाइलो मान्ने गरेको उनको भनाइ छ । ‘अहिलेको बाह्य पर्यटकको समूहसँगै भकुण्डेमा पाँच समूह आइसकेको छु, उनीहरू पदमार्ग हुँदै भकुण्डे पुग्छन्’, शर्माले भने, ‘बाह्य पर्यटक हिमाल, दृश्यावलोकन, कला–संस्कृतिसँगै आफैं काम गरेर रमाउँछन् ।’ भकुण्डेबाट बौडैचौर हुँदै बौरसम्मको दुईदिने पदयात्रा मार्ग आफ्नै पहलमा रेखाङ्कन गरिएको शर्माको भनाइ छ । पर्यटनमैत्री पूर्वाधारको खाँचो रहेको उनी बताउँछन् । पुराना पदमार्गमा ढुङ्गा छापेरै जीवन्त दिनुपर्ने शर्माले बताए । जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन् । घरबास सञ्चालनमा आएसँगै भुकण्डेले मुहारै फेरेको छ । भुकण्डेको शिरमा रहेको मुलाबारी भ्यूटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने माध्यम बनेका छन् । घरबासमा एक रातमा ८० जना बस्न मिल्ने सञ्चालक प्रेम थापाले बताए । घरबासमा पर्यटकको बसाइ लम्ब्याउन उद्यानसमेत निर्माण गरिएको छ । घरबासमा हेलिकोप्टरमार्फत विदेशी पर्यटक आउने गरेका छन् । बागलुङ बजारबाट तीन घण्टाको पैदल र डेढ घण्टाको यातयात साधनमा पुग्न सकिनछ । घरबास २०७३ सालमा सञ्चालनमा आएको हो । घरबास सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् ।