फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने टिप्पणी गरेका छन्।    बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले कार्यकर्ता भर्तीकेन्द्र मात्रै भएकाले प्रदेश सरकारको औचित्य नरहेको बताएका हुन्।    उनले प्रदेशका नाममा पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्च भएको बताउँदै त्यो पैसाले लाखौंलाई रोजगार बनाउने गरी रोजगारी सिर्जना गर्न सकिने बताए।    ‘प्रदेश दुई कारणले मात्रै आवश्यक छ। एउटा पहिचानका लागि र अर्को देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्नका लागि चाहिन्छ। संघीयता काहीँ नअटाएका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो। यसरी विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन,’ उनले भने।    सांसद शाहीले सरकाले विदेशबाट ऋण ल्याइरहेपनि हरेक दिन बेरोजगारीको संख्या बढिरहेको बताए। हालका प्रधानमन्त्री र यसअघिका प्रधानमन्त्रीहरूल‍े विदेशबाट ल्याएको ऋणको हिसाबकिताब देखाउनुपर्ने उनले बताए।     ‘त्यो पैसा कहाँ गयो ? एकएक हिसाबकिताब अहिलेको प्रधानमन्त्री र आजसम्म भएका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ शाहीले भने। 

काठमाडौं : लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ।   विसं २०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका चार वटा टावरको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ। प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएसँगै करिब तीन सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ।   नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो।   बाढीले क्षति पुर्‍याएका टावरको पुनर्निर्माणमा केही समय लाग्ने देखिएपछि उदीपुर सबस्टेसनबाट निजी क्षेत्रले निर्माण गरेको दोर्दी खोला–१ जलविद्युत् आयोजनासम्म दोर्दी करिडोरको लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१ को प्रसारण लाइन प्रयोग गरी लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो।   वैकल्पिक व्यवस्थाका रुपमा दोर्दी खोला–१ को साढे तीन किलोमिटर प्रसारण लाइन प्रयोग गरी निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजनाहरुको विद्युत् जोडिएको थियो।    टावरको पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत् आयोजनाहरुको विद्युत् कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको आयोजना प्रमुख रमेश पौडेलले बताए।   प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना जोडिएका छन्।   निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत्सहित त्यस करिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत् यही लाइनमा जोडिने छ। उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युत्गृहको स्वीचयार्डमा विद्युत् जोड्ने व्यवस्था गरिएको छ।   यसका लागि निर्माणाधीन दुई सय २० केभी मर्स्याङ्दी करिडोरको करिब छ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ। निर्माण अन्तिम चरणमा रहेको उदीपुर सबस्टेसन असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ।    करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो। प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ। आयोजनाले नै कीर्तिपुरमा एक य ३२ केभी, १० एमभिए क्षमताको सबस्टेसन निर्माण गरेको छ।   विसं २०७७ मै निर्माण सम्पन्न भएको प्रसारण लाइनका चार वटा टावर २०७८ को असारमा असारमा दोर्दी खोलामा आएको बाढीले बगाइदिएको थियो। आयोजना २०७४ सालमा सुरु गरिएको थियो। 

पोखरा:   सशस्त्र प्रहरी बलको गोताखोरले पोखराको सेती नदीमा विश्वबहादुर गुरुङको शव फेला पारेको छ ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थायी घर भई पोखरा लामाचौर बस्दै आएका ४४ वर्षीय गुरुङको शव गोताखोर सशस्त्र प्रहरीले सेती नदीमा ७३ दिनपछि फेला पारेको हो ।  

काठमाडौं : प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित  ६ जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी -१ लाबरबोटेका २३ वर्षीय सरोज याख्खासहित तीनजना र बर्दिया बढेयाताल गाउँपालिका २ फुटाहबाट २४ वर्षीय दिपक विकसहित ३ जना रहेका  छन्।   अवैध लागुऔषध गाँजा करिब ६ किलोग्रामसहित याख्खाको समूहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।   यस्तै ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-२ बस्ने  विकसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौं : प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कोशी प्रदेशको नामाकरण सच्याउन पहल गर्ने बताएका छन् ।   पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका पार्टी निकट जनवर्गीय संगठनसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका हुन् ।   पार्टी निकट विभिन्न जनवर्गीय संगठनहरूले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री प्रचण्डसमक्ष ज्ञापनपत्र पेश गरेका थिए । किराती राष्ट्रिय मुक्ति मोर्चा,नेपाल,लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चालगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् ।   प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको छ।

स्याङ्जा: समयमै विद्युत महसुल नबुझाउने ५३३ ग्राहकको नेपाल विद्युत प्राधिकरण स्याङ्जाले लाइन कटान गरेको छ ।    ११ पालिका रहेको स्याङ्जा प्राधिकरण स्याङ्जा शाखाले गत साउन १ गतेबाट अभियान अगाडि बढाएर कारबाही गरेको हो । विद्युत प्राधिकरण महसुल सङ्कलन विनियमावली २०७८ अनुसार लाइन कटान गरिएको हो ।    विद्युत बालेर ६० दिन सम्म महसुल नबुझाउने ग्राहकको विना सूचना लाइन काट्न मिल्ने महसुल सङ्कलन विनियमावली भित्र रहेर लाइन कटान गरिएको कार्यालय प्रमुख प्रताप बरालले बताउनुभयो ।    महसुल नबुझाउने धेरै साना ग्राहक रहेको बताउँदै बरालले लाइन कटान पश्चात् ४८९ ग्राहकले ४० लाख ३३ हजार ४७२ रुपियाँ ९६ महसुल बुझाएर पुनः लाइन जडान गरेका छन् । लाइन कटान गरेका ४४ जनाले जडान नगरेका हुन् ।  प्राधिकरणको स्याङ्जामा २४ हजार र मिर्मीमा सात हजार ३७८ गरी ३१ हजार ३७८ ग्राहक रहेका छन् । यहाँ ग्राहकबाट दुई करोड ६२ लाख ३६२ रुपियाँ ५४ पैसा महसुल बक्यौता रहेको प्रमुख बरालले बताउनुभयो 

धरान : सशस्त्र प्रहरीले धरानबाट ठूलो परिणामको  प्रतिबन्धित लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको टोलीले बुधबार राती  धरान- १६ नौलो बस्तीबाट एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय राजेश परियार रहेको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए। पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाजा ५० ग्राम र  घरेलु हतियार बरामत गरिएको रिजालले बताएका छन्।    धरान लागू औषध कारोबारको अखडा बनेपछी सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको सप्रनाउ रिजालले बताए। पक्राउ परेका परियारलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको  रिजालले बताए।

काठमाडौं:  बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भयो।   उक्त दिन सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भयो।   सो दिन सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार रुपैयाँ बढेर प्रतितोला मूल्य एक लाख ११ हजार रुपैयाँ पुग्यो।   बिहीबार भने नेपाली बजारमा सुनको मूल्य घटेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।    बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।   याे मूल्य अघिल्लाे दिनकाे तुलनामा प्रतितोला आठ सय रुपैयाँ घटेकाे हाे। ​ त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।   बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं:  मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।    विहीबार बिहान जिल्लाको  ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी  रन्जन कुमार दाहालले जानकारी दिए।   ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने,‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।’    नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक  लुईटेलले बताए। सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ।     ‘प्रवेशपत्रको  फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिए। भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्र अध्यक्ष लुईटेलले भने।    सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ। ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो।