फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

काठमाडौं:  बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।   नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।    बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ८९ पैसा घटेको हो।   युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८७ पैसा पाइन्छ।    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५८ पैसा पाइन्छ।   बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा तोकिएको छ।    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७६ पैसा र बिक्रीमा २९ रुपैयाँ ९० पैसा पाइन्छ।   बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८१ पैसा तोकिएको छ।

पोखरा:   बलियो नेपाल कप यू-१९ टि-२० क्रिकेटमा घरेलु टोली पोखरा क्रिकेट एकेडेमी र कर्णाली क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । पोखरा रंगशालमा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेश विजयी भएको हो । टस हारेर व्याटिङमा उत्रिएको कर्णालीले २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १३४ रन जोडेको थियो । तर जवाफी व्याटिङमा उत्रिएको पलसर सिइसीले १९.५ ओभरमा सबै १० विकेट गुमाउँदै १२४ रन मात्रै जोड्न सक्यो । कर्णालीका लागि विराट भण्डारीले ५२ बलमा ५९, खेमराज खड्काले ४९ बलमा ४९ रन बनाउँदा मनिष थापाले ९ रन बनाएका थिए । यता पल्सर सिइसीका लागि २९ रन खर्चिएर ४ विकेट लिएका थिए । जवाफी व्याटिङमा पल्सर सिइसीका लागि सन्दिप विष्टले ३७, विपिन न्यौपानेले २० र १६ रन बनाए भने कर्णालीका लागि विराट भण्डारीले २, लक्की वमले र भरत क्षेत्रीले १ विकेट हात पारे । खेलमा विराट भण्डारी म्यान अफ दि म्याच घोषित भए । यता दोश्रो खेलमा घरेलु मैदानको फाइदा उठाउँदै पोखरा क्रिकेट एकेडमीले जनकपुर क्रिकेट एकेडेमी विरुद्ध ६ विकेटले महत्वपूर्ण जित हात पारेको छ । पोखरा विरुद्ध व्याटिङको सुरुवात गरेको जनकपुरलाई २० ओभरमा १०१ रनमा खुम्चाएको पोखराका लागि प्रदिप अर्यालले महत्वपूर्ण ३ विकेट हात पारेका छन् । जनकपुरका लागि साजन कुमार अग्रवालले १२ र अखिल श्रवणले ८ रन बाहेक अन्यले खासै दोहोरो रन जोड्न सकेनन् । जनकपुरका विरुद्ध व्याटिङका उत्रिएको पोखराका लागि खेलमा म्यान अफ दि म्याच समेत रहेका सिव्रिन श्रेष्ठले २१ बलमा नट आउट रहँदै २७, सोहेल कुंवरले २७ बलमा २७ रन सफल श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । जनकपुरका लागि राजेश कुमार दाश र रोहन यादवले समान १–१ विकेट हात पार्दा अखिल श्रवणले २ विकेट झारे । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्य खेल पर्यटन विकासका लागि यस्ता खेल कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । दुई समूहमा विभाजन गरी हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने छ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसै गरी म्यान अफ दि म्याचमा समेत नगद २ हजार ५ सय प्रदान गरिने छ । २७ गतेसम्म संचालन हुने प्रतियोगिताको पोखरा क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी र पल्सर सिइसिको सहभागिता रहेको छ ।

पोखरा:   होटल सङ्घ पोखराले नयाँ वर्षलाई लक्षित गरी आयोजना गरेको १८ औं नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।  पोखराको लेकसाइडमा तीन दिनसम्म सञ्चालन हुने नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगको आज (बिहीबार) पत्रकार सम्मेलन गरेर होटल संघ पोखराले जानकारी दिएको हो । यही चैत २९, ३० र वैशाख १ गते पोखरामा १८ संस्करणको फेवा नववर्ष महोत्सव हुँदै छ ।   पत्रकार सम्मेलनमा बोल्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड-१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनःउत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवरद्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको बताए ।  ‘कोभिड लगायत विविध कारणले पर्यटन व्यवसाय फस्टाउन सकेको छैन, सुवेदीले भने, ‘पर्यटन क्षेत्रमा परेको असरलाई उकास्न महोत्सवले केही सहयोग पु¥याउँछ भन्ने उद्धेश्यले १८ औं संस्करणको फेवा नववर्ष महोत्सव सञ्चालन गर्दै छौं ।’ उनले कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्र पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको सुस्त गतिमा स्तररोन्नति हुँदा असर गरेको बताए ।  ‘कोरोना पछि लयमा आउन लागेको पर्यटन व्यवसाय पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरउन्नतिले असर पु¥याएको छ, उनले भने, ‘पर्यटन क्षेत्रसँगै आर्थिक क्षेत्रमा परेको समस्या समाधान गर्न राज्यले उचित निर्णय लिन आवश्यक छ ।’ पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा चैत २९, ३० र वैशाख १ गते पोखरामा १८ संस्करणको फेवा नववर्ष महोत्सव महोत्सव हुने आयोजकले जनाएको छ । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका होटलले २० प्रतिशतसम्म छुट दिने आयोजकले जनाएको छ । 

काठमाडौं :  वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ।   उनीविरूद्ध परेका तीन वटा उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ।   ‘उहाँविरूद्ध परेका तीन वटा उजुरीमा दाबी नपुग्ने भएकाले खारेज भएका छन् भने अर्को एउटामा सात दिने स्पष्टीकरण सोधिएको छ,’ जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले सेतोपाटीसँग भने,‘उहाँको उम्मेदवारी कायम भएको छ। अब स्पष्टीकरणबारे निर्वाचन आयोगको केन्द्रीय कार्यालयले निर्णय गर्नेछ।’   लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुन: नागरिकता प्राप्ति गरेको भन्दै युवराज पौडेलले उजुरी दिएका थिए। उक्त उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण सोधिएको हो।   चैत २० गते उम्मेदवारी दर्ता दिएका २४ जनाकै उम्मेदवारी सदर भएको कार्कीले जानकारी दिए।   कार्यालयले बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ। कार्यालयले भोलि नै उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने र चुनाव चिन्ह वितरण गर्ने जनाएको छ।

काठमाडौं:  बलात्कार आरोप लागेका न्यायाधिश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।    जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए।    उनी न्याय परिषदमा कार्यरत छन्। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमै कार्यरत थिए।   गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानेको थियो। न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन।   पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद‍मा पनि निवेदन दिएकी थिइन्।    न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितले पटकपटक सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्ने गरेकी छन्। 

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा 'हेर्न नभ्याइने'मा राखिएको छ।   लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको जिल्ला अदालत प्रशासनले  जनाएको छ।   मुद्दाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो।   यसअघि चैत्र १३ गते मुद्दाको पेशी तोकिएपनि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलास परेपछि सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको थियो। न्यायाधीश घिमिरेले नै गत कार्त्तिक १८ गते सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर,पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको  थियो।   यसअघि  सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।

काठमाडौं : सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी रिट निवेदनमा सुनुवाइ जारी छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ।   मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा रिटको पेसी तोकिए पनि पछि हेर्न नमिल्नेमा राखिएको थियो।  रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो।     अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।    यसअघि नै उनले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले नागरिकता विवादमा लामिछानेलाई दोषी ठहर गरेको थियो।    फैसलासँगै लामिछानेको सांसद ,उप्रधानमन्त्री,गृहमन्त्री पद गुमेको थियो। पछि जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन्।   महान्यायाधिवक्ता डा.पोखरेलले यही चैत छ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।  जिल्ला सरकारी वकिलको कार्यालयहुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेपछि सो निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको हो।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर निवास फर्किएका छन्।   गत शनिबार पेट दुख्नेजस्ता समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको थियो।   राष्ट्रपति पौडेलको सचिवालयले दिएको जानकारीअनुसार स्वास्थ्यलाभ पछि राष्ट्रपति पौडेल बुधबार निवास फर्किएका हुन्।   त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले राष्ट्रपति पौडेल आज डिस्चार्ज भएको विज्ञप्ति निकालेर जानकारी गराएका छन्।  

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतसँग एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसले भेट गरेका छन् । बुधबार बिहान अर्थमन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको थियो ।    दातृ निकायसँग चरणबद्ध छलफल चलिरहेको र यसैक्रममा आज भेटघाट भएको मन्त्री डा. महतले जानकारी दिए । उनले भने, 'दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन नसकेकोबारे उहाँहरूले चिन्ता व्यक्त गर्नुभएको छ । विकास निर्माण कार्यमा ढिला सुस्ती भएर ठेक्का प्रक्रियाका कामहरु अगाडि बढ्न नसकेकोमा पनि दातृ निकाय चिन्तित रहेका छन् ।’    यदि काम छिटो हुने हो भने अझ धेरै सहयोग उपलब्ध गराउन दातृ निकाय तयार रहेको डा. महतले बताए । विश्व बैंकका प्रतिनिधिले पनि अनुदान र सफ्ट लोन दिएर सहयोग गर्न चाहेको उनको भनाइ छ। जलविद्युत र सडक निर्माणमा सहयोग गर्ने विषयमा छलफल भएको थियो । मन्त्री डा. महतले भने,'नेपालमा देखिएको आर्थिक समस्याबारे पनि दातृ निकाय चिन्तित रहेका छन् । यो समस्या चाँडै समाधान होस् भन्ने दातृ निकाय चाहना छ ।’   खर्च गर्ने क्षमतालाई वृद्धि गर्ने र अनुदान रकम वृद्धि र सफ्ट लोन लिनेबारे नेपाल सरकार सचेत रहेको अर्थमन्त्री डा. महतले बताए । मन्त्री डा.महतले मंगलबार विश्व बैंकको प्रतिनिधिमण्डल भेट गरेका थिए ।