काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी कोकिनसहित एकजना भारतीय नागरिक पक्राउ गरेको छ। चैत्र १४ गते इण्डिगो एयरको उडानबाट दिल्ली प्रस्थान गर्ने क्रममा लागुऔषध ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट तीन किलो कोकिन बरामद गरेको प्रहरी स्रोतले बताएको छ। प्रस्थान कक्षको एक्सरे मेसिनमा जाँच गर्दा तीन किलो कोकिनसहित भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतीय नागरिक भन्लालमी भएको प्रहरी स्रोतले बताएको छ। उनको बयानबाट थप एकजना भारतीय नागरिक पनि संलग्न रहेको पाइएको छ। घटनाबारे जानकारी दिन दिउँसो २ बजे लागुऔषध नियन्त्रण व्युरोले पत्रकार सम्मेलन गर्दैछ।
म्याग्दी: बेनीकी ४९ वर्षीया विष्णु गुरुङलाई यतिखेर एसइई परीक्षाको चिन्ता छ । भोलि (शुक्रबार) देखि सुरु हुने एसइई परीक्षामा राम्रो अङ्क ल्याएर पास गर्ने रहर गुरुङमा जागेको छ । घरको कामधन्दा सँगै गुरुङ एसइईको तयारीमा जुट्नुभएको छ । भोलि देखि परीक्षा हो भन्छन् मनमा डर लागिरहेको छ उहाँले सुनाउनुभयो । ‘‘सानै उमेरमा विवाह भएपछि पढ्ने अवसरबाट वञ्चित भइयौँ’’,गुरुङले भन्नुभयो, ‘‘पढाई नहुँदा धेरै ठाउँमा ठक्कर खाएँ,त्यसैले उमेर नाघे पनि पढ्ने इच्छा जागेर आयौँ । राम्रो अङ्क ल्याएर एसइई पास गर्ने रहर छ ।’’ सात कक्षा पास गरेर आठ कक्षामा पढ्दै थिए बुवा आमाले विवाह गरिदिनुभयो गुरुङले भन्नुभयो, ‘विवाह पछि छोराछोरी जन्माउने,हुर्काउने र पढाउन तीर लागियो आफूले पढ्ने भन्ने हरायो ।’ छोराछोरी हुर्काउने र पढाउने काम सकेपछि बल्ल आफूलाई पढ्ने फुर्सद भयो गुरुङले सुनाउनुभयो । गुरुङले भन्नुभयो,‘बेनीको उज्यालो विद्यालयमा हामी जस्तालाई पढ्ने अवसर दिएकाले ८ कक्षामा भर्ना भएर पढ्न थाले अहिले एसइईको परीक्षा दिने भएकी छु ।’ बेनीमा अल्लो उद्योग व्यवसाय गर्दै आउनुभएकी गुरुङलाई शिक्षा नहुँदा धेरै ठाउँमा ठक्कर खानु परेको अनुभव सुनाउनुभयो । नयाँ प्रविधिको विकास भएको छ उक्त प्रविधिलाई प्रयोग गर्न पनि शिक्षा जरुरी रहेछ उहाँले भन्नुभयो । एसइईमा राम्रो अङ्क आए त्यसपछि क्याम्पस पनि पढ्ने रहर भएको उहाँले बताउनुभयो । यस्तै रघुगंगा गाउँपालिका–७ चिमखोलाकी ५७ वर्षीया राधा पुनलाई पनि एसइई पास गर्ने रहर जागेर आएको छ । ‘छोराछोरीले एसइई पास गरिसके मैले पनि यसपालि एसइई पास गर्ने हो ।’ उहाँले भन्नुभयो । रघुगंगा गाउँपालिका १ बेगखोला स्थायी ठेगाना भई हाल बेनीमा बसोबास गर्नुहुने ५० वर्षीया डिलकुमारी पुर्जाले पनि एसइईको तयारीमा हुनुहुन्छ । ‘‘सानो हुँदा भेडा बाख्रा चराउन जानुपर्दथ्यो,गोठमा दिनहरू बिते,विद्यालयमा टेक्ने अवसर पनि पाइएन,’’ पुर्जाले भन्नुभयो, ‘‘गोठमा बाजेले अलिअलि कखरा पढाउनुभयो । अनि विवाह भयो पढ्न पाइनँ ।’’ पुर्जाको छोराछोरीले १२ कक्षा पास गरिसेका छन् । अहिले पढ्न थालेपछि छोराछोरी पनि खुसी भएका छन् । परिवारले पनि हौसला दिन्छन् उहाँले सुनाउनुभयो । उहाँहरू सहित उज्यालो वैकल्पिक विद्यालयबाट ९ जना आमाहरू यसपालिको एसइई परीक्षामा सहभागी हुनुहुन्छ । ३५ वर्षीया सङ्गीता छिनाल, ३९ वर्षीया धनकुमारी विक, ४० वर्षीया रामदेवी पुन, ३७ वर्षीया इन्द्र मति फगामी, २८ वर्षीया पूजा छन्त्याल र ५२ वर्षीया तुलकुमारी खत्री एसइई परीक्षामा सहभागी हुँदै हुनुहुन्छ । बुधबार विद्यालयले एसइई परीक्षामा सहभागी हुने आमाहरूलाई एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयअन्तर्गत स्थापित उज्यालो वैकल्पिक विद्यालय सामाजिक विकास कार्यालय रहेको भवनको भुईँ तलाको ६ कोठामा सञ्चालन गरिएको छ । बिचमै पढाई छाडेका लागि उज्यालो विद्यालयले पढ्ने अवसर दिएको छ । विद्यालय पुगेर औपचारिक शिक्षा नपाएका वा बिचैमा पढाई छोड्न बाध्य गृहिणीलाई शिक्षाको मूलधारमा ल्याउन २०७३ देखि समुदायको सक्रियतामा उक्त विद्यालय खुलेको हो । विद्यालय सञ्चालन गर्न बेनी नगरपालिकाले केही रकम अनुदान दिने र बाँकी दाताको चन्दा सहयोगबाट चलेको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । सरकारले दरबन्दी कायम गरेर शिक्षक उपलब्ध गराइदिए आगामी दिनमा विद्यालय सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।
काठमाडौं: आज रामनवमी पर्व मनाइँदैछ। चैत्र शुक्ल नवमीको अवसरमा भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ। त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको मानिन्छ। सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ। त्रेतायुगमा भगवान राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो । राम नवमीको अवसरमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ।
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सयले घटेर प्रतितोला १ लाख ८ हजार २०० कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार सुन ५००ले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटेपनि चाँदी मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं : बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा थियो। यो मूल्य अघिल्लो दिनको २४ पैसा बढेको हो। युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८८ रुपैयाँ १६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ११ पैसा पाइन्छ।युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८९ पैसा पाइन्छ। बिहीबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५० रुपैयाँ १५ पैसा तोकिएको छ।
पोखरा: यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ। हाल २ वटा उडान गर्दै आएको सौर्यले चैत १९(अप्रिल २) देखि ४ उडान गर्ने बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले दैनिक बिहान ८:३० बजे, ९:३५ र दिउँसो २:४० र ३:३० मा उडान गर्ने तालिका तयार भएको जानकारी उहाँले दिनुभयो । जेट विमानको यात्रा पोखरेलीहरुले धेरै रुचाएको कारण अन्य गन्तव्यको उडान कटान गरेर पोखरामा थप गरिएको कम्पनीले जनाएको छ। जेट विमानबाट पोखरामा २० मिनेटमै पुग्न सकिने र हाल पोखराको हवाई भाडा ४ हजार रुपैयाँ निर्धारण गरिएको छ। सौर्यले हाल २ वटा जहाजमार्फत विराटनगर, भद्रपुर र पोखरामा मात्र उडान गर्दै आएको छ । अहिले धनगढी र भैरहवाको उडान केही समयका लागि स्थगन गरिएको समेत कम्पनीले जनाएको छ।
काठमाडौं : उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङका क्रममा १६ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । स्कुल बस निर्देशिका बमोजिम मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १६ जना स्कुल बसका चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस संचालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिहेको छ । जसमा बसको अवस्था ठिक नराख्ने ८ जना र लापरबाहीका साथ बस चलाउँदै गरेका ८ जना रहेका छन्। चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य ३१४ जना चालक समेत कारबाहीमा परेका छन्। काठमाडौं उपत्यकाको आवागमनलाई सहजीकरण गर्न,सवारी दुर्घटना न्यूनिकरण गर्न र ट्राफिक नियमको पालना गराउन ट्राफिक प्रहरीले नियमित तथा विशेषा चेकिङ गर्दै आएको छ।
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बागमती सभ्यताहरूको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्। बुधबारबाट सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। ‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ ,' उनले भने,' हामी बागमती सभ्यता जोगाउन खोज्दैछौँ। यो मान्छेभन्दा अघिको सभ्यता हो। त्यसको लागि हिजो मात्रै अनुरोध गरेको थिएँ, पहिला भएका सम्पत्ति जोगाऔं, त्यसपछि लिपुलेक जोगाउँला,लिम्पयाधुरा पनि जोगौंला।' यस्तै शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिँदै यसपटकको सरकार केही समयलाई टिकाइदिन भनेका छन् । सम्मेलनमा बोल्दै मेयर शाहले स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुँदा सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने बताएका थिए। उनले यसका लागि यसपटकको सरकार केही समय टिकेमा आफूलाई समन्वय गर्न सहज हुने बताए। ‘हाम्रो स्थानीय सरकार भनेको स्थायी सरकार हो, पाँच वर्षका लागि,' बालेनले भने, ‘जस्तो अहिले सम्माननीयज्यू यहि हुनुहुन्छ, मन्त्रीज्यू यहि हुनुहुन्छ । उहाँहरूको सरकार टिकिदिँदैन र हामीलाई कहिलेकाँही गाह्रो हुन्छ । सम्माननीय प्रधानमन्त्रीज्युलाई पनि यसपालि सरकार चाहिँ केही समयलाई टिकिदिए पनि हामीलाई समन्वय गर्न सजिलो हुन्छ । किनभन्दा धेरै कुराहरु जोडिदो रहेछ । स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुन्छन् ।’ त्यस्तै उनले सम्बन्धित नगरपालिका उपप्रमुखहरूलाई आफ्नै क्षेत्रबाट न्याय दिन पनि वातावरण बनाउन आग्रह गरे। उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभाश दिलाउनुपर्ने बताए। 'साँच्चै सरकार सिंहदरबारमा मात्रै नभएर पालिका पालिकामा छ,न्याय भनेको केन्द्रमा मात्रै नभएर पालिका पालिकामा छ भन्ने कुरालाई आगामी दिनमा साँच्चै अवलम्बन गर्न सकियोस,’कार्यक्रममा बोल्दै मेयर शाहले भने,‘न्याय माग्नका लागि ११ दिन हिँडेर काठमाडौं महानगरपालिकामा आउन नपरोस् । आफ्नै पालिकामा यस्तो न्याय पाइयोस्।। यसका लागि तपाईंहरू जिम्मेवार हुनुहु्न्छ।'
वालिङ: यस वर्षको एसइईमा स्याङ्जाबाट ४ हजार ४८१ जना परीक्षार्थी सहिभागी हुँदैछन् । जिल्लामा एसइईको सबै तयारी पूरा भएको बताइएको छ । जिल्ला शिक्षा इकाई प्रमुख विश्वराज आचार्यका अनुसार सबै परीक्षा केन्द्रमा तोकिएको स्थानमा प्रश्नपत्र र उत्तरपुस्तिकाहरु पुगिसकेका छन् । जिल्लामा १६९ विद्यालयका ४ हजार ४८१ परीक्षार्थीले एसइई दिने भएका हुन् । सामुदायिक विद्यालयबाट एसइई दिनेको सङ्ख्या धेरै देखिएको छ । ३ हजार ५ सय नियमित र ७७ जना ग्रेड वृद्धिगरी सामुदायिक विद्यालयबाट ३ हजार ५७७ जना विद्यार्थी एसइईमा सहभागी हुने आचार्यले जानकारी दिनुभयो । यस्तै, संस्थागततर्फ ९ सय ३ नियमित र १ जना ग्रेड वृद्धिगरी ९०४ जना परीक्षार्थी सहभागी हुने आचार्यको भनाइ छ । प्राविधिक विषयतर्फ १३७ जना बाली विज्ञानमा ७३ र कम्प्युटर साइन्समा ६४ जना विद्यार्थीले एसइई दिने भएका हुन् । जिल्लामा परीक्षाका लागि ३४ केन्द्र निर्धारण गरिएको छ । ३४ केन्द्राध्याक्षलाई अभिमुखीकरण तालिम समेत प्रदान गरिसकिएको शिक्षा इकाई प्रमुख आचार्यले जानकारी दिनुभयो । परीक्षालाई शान्तपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक तयारी पूरा गरिएको शिक्षा इकाई कार्यालयले जनाएको छ ।

