काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन्। आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिए। उनका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने ग्रेड वृद्धिको परीक्षा दुई सय ७२ जनाले दिँदैछन्। कास्की जिल्लामा यस वर्षको एसइईमा १० हजार चार सय ४२ जना विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नारायण सुवेदीले जानकारी दिए। उनका अनुसार जिल्लामा साधारणतर्फ १० हजार एक सय ४३ र प्राविधिकतर्फ दुई सय नौजना विद्यार्थी परीक्षामा सहभागी बन्दैछन् भने ग्रेड वृद्धि परीक्षा दिने ८६ छन्। एसइईको पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा सौहार्दपूर्ण रुपमा सञ्चालन भएको उनले बताए।
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन्। नेकपा (एमाले),नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए। राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ। राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्। शुक्रबार विश्वासको मत लिने प्रयोजनका लागि आज मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई आवश्यक व्यवस्थापन गरिदिन चिठी पठाएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए। 'उहाँले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनु हुनेछ,' सचिव बुढाथोकीले भने, 'शुक्रबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बसेलगत्तै मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेगरी आवश्यक व्यवस्थापन गरिरहेका छौं।' नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीको विश्वासका मतका लागि अहिलेसम्म सत्ता साझेदार दल एमाले, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कसैसँग छलफल नभएको बताए। शुक्रबार लिइने विश्वासका मतका लागि सबै दलहरुसँग छलफल गरेर विश्वासको मत दिने वातावरण बनाइने उनले बताए। a कर्णाली प्रदेशसभामा नेपाली कांग्रसेका १४, नेकपा (माओवादी केन्द्र)का १३, एमालेका १०, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक-एक गरी ४० सदस्य रहेका छन्।
न्युयोर्क : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लागेको छ । लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनलाई फौजदारी अभियोग लगाएको हो । अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । जुरीको उक्त निर्णयसँगै उनको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुनाका साथै पुनः राष्ट्रपतिमालड्ने उनको योजना चकनाचुर भएको छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अघि ट्रम्पले अश्लिल चलचित्रकी नायिका स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न उनलाई भुक्तान गरिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । डेनियलले पनि आफूलाई ट्रम्पले मौन रहन रकम दिएको दाबी गरेकी छन् । पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएको उक्त आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भनेका छन्। उनका छोरा एरिकले आसन्न राष्ट्रपतिको चुनावलाई लक्ष्य गरेर विपक्षीले उक्त आरोप लगाएको आरोप लगाएका छन्। म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उनका वकिलसँग सम्पर्क गरिएको बताएका छन् । हाल फ्लोरिडामा रहेका ट्रम्प आगामी मंगलबार न्युयोर्कको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ । अदालतमा उनले आफू निर्दोष रहेको दलिल प्रस्तुत गर्दै अपील गर्ने सम्भावना छ । उनलाई अदालतले धरौटीमा रिहा गर्ने सम्भावना पनि रहेको छ । शुक्रबार नै उनलाई आत्मसमर्पण गर्न भनिएको थियो तर उनका वकिलहरूले केही समय माग गरेका थिए ।
पोखराको महेन्द्रपुलस्थित रजनी सुुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराज पक्राउ परेका छन् । गहतराजले बिलबिनाको ८० लाल सुन किनेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो । प्रहरीले जनाए अनुसार उनले किनेको सुन हत्या भएको महिलाको हो । गत आइतबार म्याग्दे गाउँपालिकास्थित पिपलटार खानेपानी ट्यांकीमा ४४ वर्षीया शान्ती श्रेष्ठको शव भेटिएको थियो । धादिङ्ग गंगाजमुना गाउँपालिकाकी श्रेष्ठ पोखराको अमरसिंहचोकमा बस्दै आएकी थिइन् । श्रेष्ठलाई काभ्रे स्थायी घर भई पोखरामै बस्दै आएका चित्र भनिने प्रकाश सुनारले हत्या गरी उनको सुन लुटेको प्रहरी उपरीक्षक अवधेश विष्टले जानकारी दिए । विष्टका अनुसार सुनारले लुटेको गहना गहतराजले किनेका हुन् । ‘हामीले रविनको पसलबाट सुनसमेत बरामद गरेका छौं’ विष्टले भने । प्रहरीले गहतराज र सुनारलाई तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कत्र्तव्य ज्यान मुद्धाको प्रक्रिया अघि बढाइएको छ ।
पशुपतिनगर: इलाम कारागारबाट एक कैदी फरार भएका छन् । देशकै नमुना सुधारगृह बनाइएको इलाम कारागारबाट थुनुवाका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय मनराज राई फरार भएका हुन् । विहीबार साँझ कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको कारागार प्रशासनले जनाएको छ । गणनाका क्रममा उनी फेला नपरेपछि फरार थुनुवाको खोजतलास भइरहेको इलामका एसपी दिलिप घिमिरेले जानकारी दिनुभयो । उहाँले सिसि टिभी फुटेज हेर्दा बिहिबार नै कैदी भागेकोसमेत देखिएको बताउनुभयो । "हामी कारागारबाट कैदी फरार कसरी भयो भन्ने अनुसन्धान गर्दैछौ," एसपी घिमिरेले भन्नुभयो । डाँका मुद्दामा सजाय भोगीरहेका राई २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए । इलाम कारागारमा केहि दिनअघि कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो । जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा छानविन गरिए पनि उक्त भिडियो १० महिना अगाडीको रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो समय नमुना मानिएको इलाम कारागार विवादित बन्दै गएको छ ।
काठमाडौँ: आज (शुक्रवार) देश सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) को तथ्याङकनुसार देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले परीक्षामा सहभागिता जनाएका छन् । परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् ।
काठमाडौं: शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा तोकिएको छ। बिहीबार युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। बिहीबाररको तुलनामा आज युरो ३८ पैसा बढेको हो। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४७ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रूपैयाँ १२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४८ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २ पैसा र बिक्रीदर ३५ रूपैयाँ १८ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ७२ पैसा र बिक्रीमा २९ रूपैयाँ ८६ पैसा पाइन्छ। शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ४३० रूपैयाँ ५९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५० रूपैयाँ २० पैसा तोकिएको छ।
काठमाडौं : शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
दोधारा चाँदनी : भारतको विभिन्न ठाउँबाट हुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको हो । “भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, 'पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।' सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ । “अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ,' पन्तले भने,'यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।” कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए। प्राथमिकताका आधारमा खोप लगाइने उन ले बताए। 'अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ,' उनले भने, “आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।' नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन । त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । “खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ,' पन्तले भने।

