पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

काठमाडौं:  मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।   शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो ।    कुँवरसँगै श्यामलाल ज्ञवाली पनि आईजीपी बन्ने चर्चामा थिए ।

पोखरा:   नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको छ ।  आज (शुक्रबार) बसेको माओवादीको दलको बैठकले केन्द्रको निर्देशन अनुसार प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको एक सांसदले बताए ।  ‘दलको बैठकको निर्णय अनुसार प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेका छौं, सांसदले भने, ‘अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दलको सयुक्त बैठक बसेको छ, बैठकपछि मुख्यमन्त्रीलाई राजीनामा बुझाउने माओवादी केन्द्रको तयारी छ ।’ गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दलका नेता एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मन्त्री छन् । उनीहरुले केही बेरमा नै मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिने एक सांसदले  जानकारी दिए ।  माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिए नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा पर्ने छ । माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिए मुख्यमन्त्री अधिकारीले ३० दिन भित्र विश्वास मत लिनुपर्छ ।  गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।   

राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा अनुसार नेपालमा  जम्मा ७५,५२,०६६ वटा घर संरचना रहेको छ ।   जसमध्ये मुख्य रूपमा आवासका लागि प्रयोग भएका घर ७१.७ प्रतिशत, गोठ/धन्सार/मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग/कलकारखाना र संस्थागत तथा सरकारी ०.४/०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन् ।     प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ७५.० प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ६८.० प्रतिशत घरहरू मुख्य रुपमा आवासको लागि प्रयोग भएका छन् ।     त्यस्तै परिवारले आवासीय रुपमा प्रयोग गरिरहेको घरको स्वामित्वमा कुल ६६,६०,८४१ परिवारमध्ये ८६.० प्रतिशत परिवारहरु आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासीय एकाइमा बसिरहेका जनगणनामा उल्लेख छ । गत २०६८ सालको जनगणनामा यो मान क्रमशः ८५.३ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो ।   त्यस्तै, कुल ६६,६०,८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४.५ प्रतिशत परिवारहरुसँग अझै पनि शौचालयको पहुँच नभएको तथ्यांक जनगणनाको नतिजाले देखाएको छ ।   प्रदेश अनुसार हेर्दा मधेश प्रदेशमा शौचालय नभएको परिवार सबैभन्दा बढी १२ प्रतिशत देखिन्छ भने लुम्बिनी प्रदेशमा ५.६ प्रतिशत रहेको छ । शौचालय नभएका परिवारहरु वाग्मती र गण्डकी प्रदेशमा सबैभन्दा कम (१ प्रतिशत) रहेका छन् ।  

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायले मुलुकको सुखी नेपाली समृद्धमा सहयोग पु¥याउने बताएका छन् ।  पोखरामा होटल पौवाको ११ औं शाखाको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन् ।  ‘मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवाहरु विदेश पलायनमा लागेका छन्, मुख्यमन्त्री अधिकारीले भने, ‘सामुहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारी अवसरसँगै व्यापार व्यवसायले मुलुकको सुखी नेपाली समृद्ध नेपालमा सहयोग पुग्दछ ।’ यस्तै कार्यक्रममा पर्यटनकर्मी गणेश भट्टराईले राजनैनिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको बताए ।  ‘राजनीतिककर्मीहरु देश सञ्चालन भन्दा राजनीतिक भागबन्दामा लाग्दा युवा नागरिकहरुले नेपालमा भविष्य देखेनन्, भट्टराईले भने, ‘राजनीतिकर्मीहरुले देश सञ्चालनमा ध्यान नदिदा राजनैतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको छ ।’ उनले देशको कठिन परिस्थितिमा पनि व्यवसायमा लगानी गर्नु आफैमा चुनौती पूर्ण रहेको बताउँदै धैर्य गरेर अगाडि बढे सफलता प्राप्त गर्ने बताए ।  मिशन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७ औं वर्षको अन्तरालमा ११ औं शाखा पोखरामा सञ्चालन ल्याएको होटलका निर्देशक विष्णु ज्ञवालीले बताए ।  ‘७ वर्ष अगाडि रुपन्देहीको सालझण्डीबाट शुरु गरेको १ सय मिशनको यात्रा ११ औ शाखाको रुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुशी छौं, भण्डारीले भने, ‘पाँच प्रदेशमा होटलको शाखा पु¥याएको पौवाले कर्णालीको जुम्ला देखि गण्डकीको पोखरामा आइपुगेका छौं ।’ उनका अनुसार १२ औं शाखा काठमाडौंमा खोल्ने तयारी समेत होटल पौवा प्रालिले गरेको छ ।  करिव १० करोडको लगानिमा पौवा प्रालिले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो ।  होटल पौवा पोखराले आजदेखि तीनसम्म होटलमा स्वाद उत्सवको रुपमा लिएको छ । स्वाद उत्सवमा भोलि (शनिबार) गजलकार थानेश्वर गौतमको एकलसाँझ समेत आयोजना गरेको छ । 

काठमाण्डाै :  नेपालको जनसङ्ख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । प्रारम्भिक तथ्याङ्कभन्दा अन्तिम जनसङ्ख्या घटेको छ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको १२औँ जनगणना–२०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ४८ दशमलव ९८ प्रतिशत पुरूष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१ दशमलव ०२ प्रतिशत महिला रहेका छन् ।   कुल जनसङ्ख्यामा अन्य लिङ्गी दुई हजार ९ सय २८ जना रहेका छन् । यसअघि २०७८ माघ १२ मा तत्कालीन केन्द्रीय तथ्याङ्क विभागले (अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालय) ले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको थियो ।   विस्तृत र अन्तिम प्रतिवेदनमा २७ हजार ९ सय २ कम जनसङ्ख्या देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई मानिएको छ । प्रतिवेदन अनुसार सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला काठमाण्डौ रहेको छ । काठमाण्डौमा २० लाख ४१ हजार ५ सय ८७ जनसङ्ख्या छ भने सबैभन्दा कम मनाङमा पाँच हजार ६ सय ८५ जना रहेका छन् ।   भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसङ्ख्याको ५३ दशमलव ६१ प्रतिशत अर्थात् १ करोड ५६ लाख ३४ हजार ६ जना, पहाडमा ४० दशमलव १ प्रतिशत अर्थात् १ करोड १७ लाख ५७ हजार ६ सय २४ जना र हिमाली क्षेत्रमा ६ दशमलव ०८ प्रतिशत अर्थात् १७ लाख ७२ हजार ९ सय ४८ जनसङ्ख्या रहेको छ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२औँ राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गएको वर्ष माघमै सार्वजनिक गरिएको थियो ।   नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । जनगणनाबाट मुख्यतः देशको जनसाङ्ख्यिक अवस्थासहित सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय समेटिने गरेको छ ।   बसाइँसराइको स्थिति, देशबाहिर रहेको जनसङ्ख्यालगायतका विवरण पनि जनगणनामा समेटिन्छ । जनगणनाको अद्यावधिक नतिजाले तीनै तहका सरकारलाई आफ्ना नीति तथा प्राथमिकता तयार गर्न सघाउ पुग्छ । सरकारले उपयुक्त नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सक्छ ।   त्यस्तै सङ्घ, प्रदेश र पालिकामा हुने राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा राष्ट्रिय बजेट निर्माणमा जनसङ्ख्याको उल्लेखनीय भूमिका रहन्छ । १२औँ राष्ट्रिय जनगणना सम्पन्न गर्न सरकारले झण्डै ३ अर्ब रकम खर्चेको थियो भने गणकसहित ५० हजार कर्मचारी खटिएका थिए ।

काठमाडौँ:  प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहित ९ जना उच्च प्रहरी अधिकृत शनिवारबाट अवकाशमा जाँदैछन् ।   अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा बिदाइ गरिँदै छ । मध्यान्ह ४ बजे आईजीपी सिंह र अरू अवकाशमा जान लागेका उच्च अधिकारीहरूलाई बिदाइ कार्यक्रम राखिएको छ ।    प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह उनको ब्याचका ९ जना अवकाश हुँदैछन् । अवकाश हुनेमा ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ जना डिआइजी र दुईजना एसएसपी छन् । अवकाश हुनेमा एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी छन् । डिआइजीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदै छन् ।   २०४९ चैत ११ मा सेवा प्रवेश गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि सेवा निवृत्त भएका छन् । ३० वर्षे सेवा अवधिका कारण उनीहरू अवकाशमा गएका हुन् । 

विराटनगर:  कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।   यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका  ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।धरान उपमहानगरपालिका–१५ घर भएका लिम्बु लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् ।   कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए । लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो ।   पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले चैत ५ गते विराटनगरमा प्रदर्शन गरेको थियो । प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले चार राउण्ड हवाई फायर र दुई दर्जन सेल अश्रुग्याँस प्रहार गरेको थियो ।   प्रहरीले बल प्रयोग गर्दा लिम्बुको टाउकोमा चोट लागेको थियो । चोट लागेका उनी घरमै उपचाररत थिए । तर चैत ८ गते बेलुका अचानक बेहोस भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।   प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका लिम्बुलाई शहीद घोषणा गर्दै घटनाको छानबिन गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले माग गरेको छ ।

काठमाडौं : सुनको मूल्य आझ फेरि उकालो लागेको छ। अघिल्लो कारोबार दिन बिहीबार १२ सय रुपैयाँले बढेको सुन आज ८ सयले बढेको हो। यसअघि  चैत्र ५ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० पुगेको हो।   यस्तै तेजाबी सुन १ लाख ९ हजार ३०० पुगेको छ।   आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।   रूस–युक्रेनको युद्ध सुरु भएसँगै बढ्न थालेको सुनको मूल्य दिनप्रतिदिन महँगो हुँदै गएको सरोकारवालाको भनाइ छ। द्वन्द्व,अस्थिरता र अराजक गतिविधि बढ्दै गएमा मानिसले सम्पत्ति सुरक्षित गर्ने क्रममा सुन किन्ने हुँदा मूल्य बढ्ने प्रवृत्ति छ।   अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य अत्यधिक बढ्न थालेकाले तुलनात्मक रूपमा यसको प्रभाव नेपालमा पनि परेको हो।

काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ।   सोल्टी होटलमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्।   राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।