पोखरा: १८ औं संस्करणको सफल पोखरा म्याराथन केन्याली धावकले जितेका छन् । शनिबार सम्पन्न म्याराथनमा पहिलो, दोश्रो र तेश्रो स्थान नै केन्याली धावकहरुले जितेका हुन । ४२.१९५ किलोमिटरको दौडमा केन्याली धावक जुलियस मुरिला वाहोमले २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पार गरे । अघिल्लो वर्षको प्रतियोगितामा उनी दोस्रो भएका थिए । आफ्नो दौडमा सुधार गर्दै यो वर्ष उनले उपाधिमा कब्जा जमाएका हुन् । दोस्रो पुरस्कार पनि केन्याकै इसाक किहारा कामिरीले हात पारे । उनले २ घण्टा २० मिनेट ५ सेकेन्डमा दुरी पार गरेका हुन् । यस्तै तेस्रो स्थान केन्याकै इड्वीन किप्लागेटले जिते । उनले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दुरी पार गरेका हुन् । नेपालका किरण बोगटी सान्त्वना बने । उनले २ घण्टा २४ मिनेट २ सेकेन्डमा दुरी पार गरेका हुन् । विजयी बनेका धावकहरुले क्रमश ५ लाख, ३ लाख २ लाख र ३० हजार प्राप्त गरे । यस्तै गण्डकी प्रदेशतर्फ सफल लामा, देव प्रसाद जलारी र मनोज अधिकारी क्रमश पहिलो, दोश्रो र तेश्रो भए । गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरे । यस्तै महिला २१ किमितर्फ सन्तोषी श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कोर्स रेकर्ड दर्ता गरिन् । उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै नगद रु १ लाख ५० हजार प्राप्त गरिन् । २१ किमि महिलातर्फ केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा राममायाँ बुढा १ घन्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै तेश्रो र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दुरी पार गरेकी फुलमती राना चौथो भइन् । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै पुरुष १० किमि दौडमा ३१ मिनेट १५ सेकेण्डमा दुरी पार गरी टंक बहादुर कार्की पहिलो, सुवास कार्की दोश्रो हुँदा ३२ मिनेट ३७ सेकेण्ड लगाए भने, तेश्रो भएका सन्जिब नेपाली तेश्रो ३३ मिनेट २९ सेकेण्डमा दुरी पार गरे । १० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे । महिला १० किमि दौडमा ४२ मिनेट १६ सेकेण्डमा दुरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी सिमा चौधरी दोश्रो र ४४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै नम्रता गुरुङ तेश्रो भएकी छन् । ५ किमि छात्र दौडमा तेन्जन रोका मगर पहिलो, प्रकाश थिङ दोश्रो र इश्वर ढकाल तेश्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गिता श्रेष्ठ दोश्रो र एन्जीला जिटी तेश्रो भइन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ प्राप्त गरे । ५ किमि भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, निम बहादुर थापा क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पगेनी क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गरे ।
पोखरा: पोखरामा १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज (शनिवार) प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नेपाल सहित १५ राष्ट्रका १०८ जना धावकले सहभागिता जनाएका छन् । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमीमा ५९०, छात्रामा ४८० को जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक सहभागी छन् । म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेलकुद मार्फत पोखराको प्रवर्द्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास गरिएको छ । पोखरा म्याराथनको यसपटक रुटमा समेत परिवर्तन गरिएको छ । यस अघिका संस्करणहरुमा प्रयोग हुँदै आएको रुटमा परिवर्तन गरिएको हो । नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमि र बाकीँको दौड फेवातालको सिरानतर्फ जानेछ । यस पटक प्रतियोगिताको समापन समेत फेवातालस्थित हल्लनचोकको क्यापिङ साइटमा हुनेछ । यस्तै प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि चिप्सको प्रयोग गरिएको छ । यस अघि म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८ औं संस्करणमा भने सबै विधामा प्रयोग गरिएको छ। जसले धावकको समय निर्धारण गर्नेछ ।
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान ९ः३० बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुनेछ । अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो । नेपाल र नेदरल्यान्ड्सले यसअघि तीन पटक एकदिवसीय खेल खेलेका छन् । जसमा नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेको छ । नेपालको घरेलु मैदानमा खेल्ने नेदरल्यान्ड्स विश्व कप खेलेको अनुभव रहेको उच्च स्तरको टोली पनि हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
पोखरा: पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना सम्बन्धी परियोजना कार्यान्वयनका लागि सरोकारवालाहरूसँग छलफल गरिएको छ । साइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्न आवश्यक परियोजना कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच सम्झौता भएको थियो । परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई अभिवृद्धि गर्न उपयुक्त माध्यम सिर्जना गर्दै महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण सहित हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । यस्तै ग्रीन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना र हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो आरयू उद्यमहरूलाई बढवा दिन महानगरपालिकाले उपयुक्त वातावरण सिर्जना गर्ने र पर्याप्त तथा आवश्यक मानव संसाधनहरूको व्यवस्थापन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमहरूलाई अभिवृद्धि गर्न दिगो नीतिको सुनिश्चितता सहित परियोजनाको स्वामित्व समेत लिनेछ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले यस परियोजना मार्फत युवाहरूका लागि रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ । दिगो रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको कोइकाले बताएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना गर्दै युवाहरूलाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने बताउनुभयो । “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ ।” उहाँले भन्नुभयो । परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजनाले रिसाइकल र अप–साइकल मार्फत नयाँ सामाग्रीहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।
पोखरा: मुलुकमा कार्यान्वयनमा आएको सङ्घीय शासन प्रणालीलाई थप सुदृढ र बलियो बनाउनुपर्नेमा वक्ताहरुले जोड दिनुभएको छ । गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसर आज पोखरामा आयोजित समारोहमा प्रदेश संरचना सङ्घीयताको आधारस्तम्भ भएको उहाँहरुको भनाइ थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको सफल कार्यान्वयनसहित समुन्नत र आत्मनिर्भर गण्डकी बनाउन सरकार केन्द्रित रहेको बताउनुभयो । सीमित स्रोत, साधन र अधिकारकाबीच प्रदेश सरकारको औचित्य स्थापित गर्न आफूहरु दृढसङ्कल्पित भएर लागिपरेको उहाँको भनाइ थियो । “गण्डकी प्रदेशको स्थापनाकालदेखि बनेका सरकारले गरेका कार्यसम्पादन, उपलब्धि र सामाथ्र्य नै प्रदेशका आधारस्तम्भ हुन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राजनीतिक इच्छाशक्ति, संविधानप्रतिको प्रतिबद्धता, सामूहिक भाव र नागरिकप्रतिको जिम्मेवारी नै समन्नुत गण्डकी प्रदेशका मार्गचित्र बनिरहेका छन् ।” उहाँले प्रदेश सरकारको अधिकार क्षेत्रमा थप स्पष्टता ल्याउन आवश्यक रहेको धारणा राख्नुभयो । सङ्घ सरकारले साझा अधिकारभित्र पर्ने कतिपय कानुन निर्माण नगरेकाले प्रदेश सरकार सञ्चालनमा कठिनाइ उत्पन्न भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । प्रदेश सरकारले पाउने संवैधानिक अधिकार, राजश्व व्यवस्थापन, जग्गा प्राप्ति, बजेट विनीयोजन, खर्च, वित्तिय हस्तान्तरणलगायत विषयमा सङ्घ सरकारको निरन्तर ध्यानाकर्षण र खबरदारी गरिएको उहाँले बताउनुभयो । “प्रदेश सरकारलाई अधिकार दिने विषयमा सङ्घीय संसद्मा पनि आवाज उठोस्”, पाण्डेले भन्नुभयो, “हामीले पटकपटक सङ्घ सरकारसँग यो विषय उठाइरहेका छौँ । बिडम्वना प्रदेश संरचना बनेको छ वर्ष बितिसक्दा पनि कुनै सुनुवाइ हुन सकेको छैन ।” मुख्यमन्त्री पाण्डेले सरकारको नीति, नेतृत्व र कार्यशैली चुस्त र नतिजामुखी हुन सकेमा मात्र शासन व्यवस्थाप्रति नागरिकको विश्वास बढ्ने बताउनुभयो । निर्माणको चरणमा रहेको प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले आगामी योजनाको प्राथमिकता र आवश्यकताको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री पाण्डेले प्रदेशलाई अनावश्यक र आर्थिक बोझ थपिने खालका संरचनाको पुनरावलोकन तथा पुर्नगठन गरिने बताउनुभयो । गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा सबै दल एकठाउँमा उभिनुपर्ने बताउनुभयो । “राजनीतिक परिवर्तन ल्याउन सङ्घर्ष गरेका दलहरु आज पनि मिलेरै अगाडि बढ्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनका लागि कतिपय कानुन नयाँ बनाउनुपर्ने छ, कुनै संशोधनको आवश्यकता छ ।” प्रतिनिधिसभा सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयताको प्रमुख आधार नै प्रदेश संरचना भएको बताउनुभयो । सङ्घीय प्रणालीले मुलुकको शासनसत्तामा परिवर्तन ल्याउनुका साथै राज्यको संरचनामा नै फेरबदल गरेको उहाँको भनाइ थियो । “प्रदेश सरकारले काम गर्न सकेनन्, अस्थिरताको कारक बने भनेर बेलाबेला प्रश्न उठ्ने गरेको छ”, गुरुङले भन्नुभयो, “प्रदेश सरकारले आफ्नो शासकीय क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ । स्रोतसाधनको अधिकतम प्रयोग गरेर प्रदेशको सामथ्र्यलाई बढाउनेतिर लाग्नुपर्छ ।” केन्द्रीकृत शासनको ठाउँमा सङ्घीय शासन प्रणाली आएको भन्दै प्रतिनिधिसभा सदस्य गुरुङले कार्यसम्पादनमा भएका कमजोरीलाई लिएर सङ्घीयताप्रति नै नकारात्मक धारणा फैलाउन खोजिएको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई अधिकार दिने कुरामा सङ्घ सरकार अनुदार देखिएको धारणा राख्नुभयो । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले नेपालको सङ्घीयताको सबैभन्दा सुन्दर पक्ष नै प्रदेश तह रहेको बताउनुभयो । प्रदेश सरकार बनेपछि स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सिँचाइलगायत भौतिक पूर्वाधार र मानव विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाइ थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तीन तहका सरकारबीचको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । आफैँले गरेका प्रतिबद्धता कार्यान्वयन गर्नबाट चुक्दा सरकारप्रति नागरिकको गुनासो बढेको भन्दै समयसीमाभित्र तोकिएका काम सम्पन्न गरी नागरिकलाई सरकार भएको अनुभूति दिनुपर्नेमा जोड दिनुभयो ।
पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (शुक्रबार) भएको पहिलो खेलमा मालेपाटन युुथ क्लबले मसिना बगरलाई २–१ गोलको अन्तरले पराजित गर्याे । यस्तै दोसो खेलमा म्याक्सवेल पोखराले चाउँथे एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै म्याक्सवेल अघिल्लो चरणमा प्रवेश गर्याे । तेस्रो खेलमा एट टु नाइनले मेरो नेपाललाई १–० गोल अन्तरले हराउँदै मडला दोस्रो चरणमा प्रवेश गर्याे । यस्तै चौथो खेलमा तारा एफसीले पसगाउँ एफसीलाई ४–० गोल अन्तरले पाखा लगायो । भिमकाली टिम ‘बि’ र एपेक्स क्लब काँडेबीच भएको पाँचौ खेल गोलरहित निर्धारित समय सकिएपछि टाइब्रेकरमा एपेक्सले भीमकालीलाई ५–४ गोल अन्तरले पराजित गर्याे । छैटौं खेलमा नमस्ते ब्रदर्शले डक्टरर्स टिमलाई ५–० गोलको फराकिलो अन्तरले नमस्ते ब्रदर्श विजयी बन्यो । क्लबका अनध्यक्ष असिम थापाका अनुसार आज २ वटा दोस्रो चरणका खेल सम्पन्न भएको छ । उनका अनुसार दोस्रो चरणको पहिलो खेलबाट मेनीमोरले भदौरे क्लब टिम ‘ए’लाई ३–० गोल अन्तरले पराजित गर्दै मेनीमोर प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । नदीपुर युनाइटेड र शुक्लागंगा क्लब हेमजाबीच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समया सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै नदीपुर प्रिक्वाटरफाइनलमा स्थान बनायो । अध्यक्ष थापाले शनिबार पनि दोस्रो चरणकै ८ खेल सञ्चालन हुने जानकारी दिए । दोस्रो चरणको खेलबाट विजयी टिम प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । सो प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको छ । सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८÷८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
पोखरा: वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसी कुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख सहयोग हस्तान्तरण गरेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य समेत रहेका गुरुङले आफ्नो परिवारका तर्फबाट नगद २ लाख र हङकङस्थित नेपाली दाजुभाई बाट संकलित नगद ३ लाख गरी कुल ५ लाख नगद सहयोग हस्तान्तरण गरेका हुन् । गुरुङले हस्तान्तरण गरेको उक्त रकम १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत प्रथम पुरस्कार राशीका लागि रहेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् । सोही अवसरमा सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ र प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाहकार एवं समाजसेवी सुनिल गुरुङले समेत् नगद ५–५ हजार सहयोग प्रदान गरेका छन् । सहयोग रकम हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष गुरुङले आयोजकले अब सम्पूर्ण ध्यान पोखरा म्याराथन सफल बनाउन तर्फ केन्द्रित गर्नु पर्ने बताए । उनले भने–“अब अन्तिम समय आइपुगेको छ । कोही रिसाउँछ की भनेर चिन्ता गर्नु पर्दैन । अब सफल रुपमा सम्पन्न गर्न यहाँहरुको ध्यान पुग्न आवश्यक छ ।” उनले पोखरालाई अब लिने मात्रै नभई दिने पनि बनाउन सक्नुपर्ने कुरा औंल्याउँदै पोखरा म्याराथनमा शुरक्षाको विषय प्रमुख रहेको बताए । नेपाललाई नै अब खेलकुदको माध्यमबाट ‘फिट’ राख्नुपर्ने कुरा औंल्याउँदै तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक समेत रहेका गुरुङले आफूले सोही उद्धेश्य अनुरुप पोखरामा फिट नेपाल परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको बताए । पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि हङकङमा रक्ष (रक्स) गुरुङको संयोजकत्वमा तेक्वान्दोका ग्रान्ड मास्टर चौ बहादुर गुरुङले सहयोग गरेका छन् । त्यस्तै सहयोग गर्नेहरुमा गंगा गुरुङले १ लाख, अर्जुन गुरुङले ७० हजार, सुरेश गुरुङले ३० हजार, सुरज ९नारायण० गुरुङले ३० हजार सहयोग गरेको अन्तर्राष्ट्रिय सम्पर्क संयोजक तेज बहादुर गुरुङले जनाएका छन् । त्यस्तै हङकङबाट सहयोग गर्नेहरुमा वुद्धि गुरुङ र सुरेन्द्र ढकालले समान हङकङ डलर १–१ हजार, दिनेश गुरुङले ७ सय, भिम गुरुङले ५ सय, रक्ष (रक्स) गुरुङले ५ सय, डम्वर कुमार गुरुङले २ सय ५१ हङकङ डलर सहयोग गरेका छन् । हङकङबाट २६ जनाले पोखरा म्याराथनलाई सहयोग गरेको संयोजक गुरुङले जानकारी दिए । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सहयोग प्रति आभार व्यक्त गर्दै विदेशमा बस्ने नेपालीहरु दाजुभाईको सहयोगले पोखरा म्याराथनलाई सहजरुपमा सञ्चालन गर्न सहयोग पुगेको बताए । सो अवसरमा अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरुङले आफू पोखरा म्याराथनका लागि भनेर नै हरेक वर्ष सहभागि हुन आएको बताउँदै अर्को वर्ष भने अस्ट्रेलियन नागरिकलाई सहभागि गराउने गरी आफूले प्रयास गर्ने बताए । उनले भने–“अहिले हामीले जति सकिन्छ नेपाली दाजु भाईबाट संकलित रकम सहयोग हस्तान्तरण गरेका छौं । अर्को वर्ष आफ्नो निरन्तरता संगै अस्ट्रेसियन नागरिकहरुलाई समेत पोखरा म्याराथनमा सहभागिता गराउन प्रयास हुनेछ ।” पोखरा म्याराथनमा फुल म्याराथनमा सहभागिता जनाउन लागेका चन्द्र प्रकाश गुरुङले गैर आवाशिय नेपाली संघ अस्ट्रेलियाको नगद सहयोग १ लाख र विभिन्न साथी भाईबाट संकलित १ लाख ३७ हजार ५ सय गरी कुल २ लाख ३७ हजार ५ सय नगद सहयोग मञ्चलाई हस्तान्तरण गरिसकेको छन् ।
पोखरा: साहित्यकार सरुभक्त श्रेष्ठका ६ बाल पुस्तकको एकसाथ लोकार्पण गरिएको छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलका अवसरमा शुक्रबार बाल पुस्तकहरुको लोकार्पण गरिएको हो । उपन्यास ‘अध्याँरो कोठा’, नाटक संग्रह ‘राक्षस र बालबालिका’, चित्रकथा ‘गाँडाहरुको गाउँ’, ‘पशुपंक्षीको जुलुस’, कथा संग्रह ‘नातीका कथा’, ‘झ्याउँ झ्याउँ झ्याँकिरी’ कविता संग्रह लोकार्पण भएको छ । सरुभक्तसँगै साहित्यकार ध्रुव घिमिरे, बालपाठक मनुषी भण्डारी, पुस्तकका चित्रकार पल्पसा मानन्धर, अर्पिता शाक्य र प्रकाशन गृह परिचय पब्लिकेशनका निर्देशक दीपेन्द्र भट्टले पुस्तकको लोकार्पण गरे । लोकार्पण भएको ‘अध्याँरो कोठा’ को केही भाग यस अगावै प्रकाशन भएको थियो । बाल्यकालमा सुनेका कथा कविता गीतबाट आफु आकर्षित भएर साहित्यमा लागेको सरुभक्तले बताए । बालबालिकाकको साहित्यमा अभिरुची हुने भएकाले बाल सहित्यका कृति सिर्जना गर्ने उनको भनाइ छ । ‘आफैंलाई बालक उमेरदेखि नै बाल साहित्यमा अभिरुची हुन्छ भन्ने मनभित्रबाट भावना उत्पन्न भएको थियो । त्यो भावनको कारणले बेलाबेलामा विभिन्न व्यस्तताको बीचमा पनि बाल साहित्यका कृति सिर्जना गरेको छु’, उनले भने । उनले प्रत्येक दिन जसो राती सुत्ने बेला नातिलाई कथा सुनाउने गरेको स्मरण गरे । ‘आफुले देखेका, भोगेका र पढेका विभिन्न सन्दर्भहरु जोडेर तत्काल कथाहरु सिर्जना गरेर नातिलाई सुनाउथें । नाति मेरो कथा सुन्दासुन्दै कतिखेर निदाइसक्थ्यो । पछि यी कथाहरु मैले कति पटक दोहो¥याएर नातिलाई सुनाए कि मलाई कण्ठस्थ भो’, उनले भने, ‘एक दिन मैले के सोचे भने यी कथाहरुलाई यत्तिकै छोड्नुभन्दा लिपिबद्ध गरे अरु नातिनातिनाहरुका लागि पनि उपयुक्त हुन्छ होला भन्ने हो । ती कथाहरुमध्यबाट केही छानेर यो पुस्तक जन्मेको छ ।’ उनले धेरैजसो साहत्यिकारले बाल साहित्यलाई अपहेलना गरेको सुनाए । बालसाहित्यलाई महत्वपूर्ण रुपमा लिनुपर्ने साहित्यकार सरुभक्तको भनाइ छ । बाल पाठक कुमुदिनी होम्सकी विद्यार्थी मानुषी भण्डारीले रुची अनुसारको विषयबस्तु पाठ्यक्रममा नहुने भएकाले साहित्यिक पुस्तक पढ्ने बताइन् । ‘जान्न र बुझ्न मन लागेका विषय पाठ्यपुस्तक भन्दा फरक पुस्तकबाट पाइन्छ’, उनले भनिन् । उनले सामाजिक सञ्जालको प्रयोगले पुस्तक छान्ने उल्लेख गरिन् । साहित्यकार ध्रुब घिमिरेले बालबालिका केन्द्रित पुस्तक लेख्नु भविष्यका लागि लेख्नु काम भएको उनले बताए । बाल साहित्यले बाल मनोविज्ञानलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । मास मिडियाले बाल साहित्यलाई समेट्न नसकेको घिमिरे बताउँछन् । ‘अहिले जमाना मास मिडियाको हो । मास मिडियामा विभिन्न किसिमका खबरहरु पुग्ने क्रममा बाल साहित्यको खबर पु¥याउन प्रयोग हुनुपर्ने’, उनले भने, ‘एउटा फेसबुक पेजबाट पनि सूचनाहरु प्रकाशन गर्न सक्छौं अथवा एफएमहरु । यत्तिका एफएमहरु छन केहीले मात्रै बालबालिकाको कार्यक्रमहरु सञ्चालन गरेका छन् । टेलिभिजनको कुरा गर्दा पनि बाल कार्यक्रम कम भएका छन् ।’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठको ३ दर्जन बढी पुस्तक प्रकाशित छन् । उनको पागल बस्ती उपन्यास निकै प्रख्यात छ । यस अगाडि सरुभक्तले बाल साहित्यका पुस्तक बजारमा ल्याएका थिए । परिचय प्रकाशनले यस लगत्तै सरुभक्तको ९ पुस्तक बजारमा ल्याउनेछ । नेपाल लिटरेचर फेस्टिबलमा यो संस्करणमा बालबालिका केन्द्रित सेसनहरुलाई प्राथमिकता दिएको छ ।
पोखरा: ‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु ’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्डी भनेपछि रचना भएको शब्द हो यो । कानुन विद्यार्थी अञ्जनालाई शिक्षकले घमण्डी भनेर गाली गरेपछि उनको मनमा लाग्यो । त्यसपछि उनले यो शब्दको रचना गरेकी हुन् । लयात्मक रुपमा भावना पोख्ने सजिलो माध्यम हो कविता । भाव मिलाएर कविताले प्रहार गर्छ । कुण्ठा पोख्ने सरल र आक्रोशपूर्ण बाटो कविता नै हो । विम्बको प्रयोग गरेर कविताले प्रहार गर्छ । यो कलात्मक लयले चोटिलो प्रहार गर्छ । अञ्जना सुबेदी पनि कुण्ठा पोख्ने सकरात्मक माध्यम कविता रहेको सुनाउँछिन् । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिनको सेसन ‘विद्यार्थीका कविता कुरा’ सत्रमा बोल्दै उनले सो विचार राखेकी हुन् । सत्रमा साहित्यमा लागेका ७ विद्यार्थीसँग विमर्श गरिएको थियो । कानुन अध्यनरत अञ्जनालाई सत्र सहजकर्ता अव्यग्र अस्मितको प्रश्न थियो –कानुन र साहित्य फरक विषय लाग्छ यसलाई कसरी सँगसँगै लैजानुभएको छ ? कानुन र साहित्य भिन्न नभएको उनको विचार थियो । दुबै हाम्रो जीवनमा अपरिहार्य विषयवस्तु रहेको सुनाउँछिन् उनी । ‘मैले कानुन र साहित्यलाई फरक भन्नै सक्दिनँ । साहित्य हुँदैनथ्यो भने कानुनकै एउटै शब्द छ गालीबेइजती सायद गाली बेइजतीले धेरै व्यक्तिहरु जेलमा हुन्थे होला, उनले भनिन्,‘ साहित्यकै मार्फत विभिन्न विम्ब प्रतिकको प्रयोग गरेर आफनो रिस क्रोधलाई पनि सकरात्मक रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्छ ।’ अञ्जना जस्तै सहारा खतिवडा पनि साहित्य हरेक विधामा समावेश हुने सुनाउँछिन् । साहित्यमा रुची राख्ने सहाराको साहित्यीक यात्रा उस्तै रोचक छ । खेलकुदमा क्रियाशिल उनी सानैदेखि हरेक प्रतियोगितामा प्रथम आउँथिन् । विद्यालयका सबै प्रतियोगितामा प्रथम हुने सहारा ६ कक्षमा हुँदा प्रथम उपराष्ट्रपति कपमा तेस्रो आइन् । यसको चोट उनको मनमा यति गहिरो बन्यो । कापीमा शब्द पोखिए । मनका भावना पोख्दा कविता बने । ‘एकैपटक तेस्रो भएँ । यस्तरी धक्का लाग्यो मेरो मनमा त्यहाँबाट कलम चल्यो वेदना पोख्दा पोख्दै कविता बन्यो । त्यसरी सुरु भयो साहित्य,’उनले सुनाईन् । सानै उमेरदेखि कविता लेख्न थालेकी उनलाई थाहा थिएन आफूले लेखेको कविता हो भनेर । सामान्य ‘नोट प्याड’ लाग्थ्यो उनलाई । कक्षा ११ मा आएपछि विद्यालयमा कविता प्रतियोगिता भयो । प्रतियोगितामा सहभागि भइन् । त्यसपछि आफनो साहित्यक यात्रा सुरु गरेकी सहारा कविता होइन भावना लेख्ने बताउँछिन् । ‘मेरो विचारमा कलम चल्नका लागि कि त एकदम खुशी हुनुपर्ने रहेछ कि त एकदम नै दुखी तब मात्र कुनै कुराको रचना गर्न सहज हुने रहेछ । म यो शिर्षकमा लेख्छु भनेर लेख्दिनँ म भावना पोख्छु,’उनले भनिन् । कविताको रचना लय सबैको फरक हुन्छ । कोही गद्यमा रचना गर्छन् कोही छन्दमा । आशिष पौडेल पद्य कविता लेख्न रुचाउँछन्् । आफनो रुची अनुसार कविता लेख्न सकिने भनाइ राख्छन् उनी । ‘कसैलाई छन्द ज्ञान भएपनि गद्यमा लेख्न मनपर्छ आफूलाई जस्तोमा लेख्न मनपर्छ रुची जे मा छ त्यसमा लेख्दा हुन्छ म चाहिँ पद्यमा लेख्न रुचाउँछु,’उनले भने । कविताले शब्द मार्फत समाजपनि देखाउँछन् । व्यक्तिको चिन्तन विकास गर्ने अनुपम रिजाल बताउँछन् । सहजकर्ताको प्रश्न ‘कविताको महत्व कति छ पठनपाठन ?,’प्रश्नमा उत्तर दिँदै अनुपम रिजाल कविताले मानिसको चिन्तन विकासमा भूमिका खेल्न सुनाए । पाठ्यपुस्तकमा भएका कविताले समाजको चिन्तन विकास सिकाउने उनको भनाइ छ । ‘पाठ्यकपुस्तकमा कविताहरु राखिन्छ नि त्यसको भूमिका धेरै छ । कक्षा १० बाट कक्षा ११ जाँदा अंग्रेजी पुस्तकमा भएको कविता देखेर म झसंग भएको थिएँ यो लेबलको कविता । १० सम्म पढेको कविता सामान्य लागेका ११ मा गएर लेबल अप भयो भिन्न लाग्यो त्यो किसिमको शब्द चयन चिन्तनले भूमिका खेल्छ । समाजको चिन्तन हुन्छ,’उनले प्रश्नको उत्तर दिँदै भने । चाहे पाठ्यपुस्तक मार्फत होस् वा विभिन्न कविता प्रतियोगिता । त्यसले विद्यार्थीलाई साहित्यमा तानिरहेको छ । जसैमध्येकी एक हुन् बिना घिमिरे । विद्यालय स्तरको कविता प्रतियोगिताले उनलाई साहित्यमा रुची दिलायो । ‘एन प्याब्सनको बाल वृहत कविता प्रतियोगितामा भाग लिएको थिएँ । मैले पनि त्यहाँ वााचन गर्ने मौका पाएँ । वाचन गरेर प्रथम स्थानमा आइपुग्दा खुशी लाग्यो । सोचेको पनि थिईन्ँ । साहित्यमा नजिकिएको व्यक्तिपनि थिईनँ । दगं परेँ । मलाई कविताप्रति रुची बढ्यो । हजुरबुबा पनि कवि नै हुनुहुन्छ,’ उनले सुनाईन् । साहित्यले जीवनमा पनि परिवर्तन ल्याउने विद्यार्थीले सुनाएका थिए । जीवनको बुझाइ साहित्यले सजिलो ढंगले सिकाउने उनीहरुको भनाइ थियो । अलिमियाँ कक्षमा भएको विद्यार्थीका कविता सत्रमा बिना घिमिरे, लिना गुरुङ, अनुपम रिजाल, अन्जना सुबेदी, आशिष पौडेल, करुणा विश्वकर्मा र साहारा खतिवडा वक्ताको रुपमा थिए ।

