कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

दमौली:   तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।   मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

पोखरा:     खराब अवस्थासँग जुध्दै आइरहेको नेपालको अर्थतन्त्र यतिबेला इतिहासकै सबैभन्दा अप्ठ्यारो समयमा छ ।  देशको शाशन व्यवस्था, कुटनितिक सम्बन्ध, प्राकृतिक प्रकोप आदिका कारण विभिन्न समयमा प्रहार भइरहेको नेपालको अर्थतन्त्र सधैँ तंग्रिने प्रयासमा मात्रै रहेको देखिन्छ । अहिलेको अवस्थाबाट नेपाललाई आर्थिक समृद्धितर्फ कसरी लैजान सकिन्छ भन्ने विषयमा आइतबार पोखरामा छलफल भएको छ ।  सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन व्यवसायी निर्वाण चौधरी र अर्थशास्त्री समीर खतिवडासँग छलफल भएको हो, जसको सहजीकरण अर्का व्यवसायी निरञ्जन श्रेष्ठले गरेका थिए ।  अर्थशास्त्री खतिवडाका अनुसार नेपालको अर्थतन्त्रमा दिर्घकालिन रुपमा दुई मुख्य ठूला समस्या रहेका छन् । जसमा आर्थिक वृद्धिदर कजोर हुनु र रोजगारी सिर्जना गर्न नसक्नु हुन् । त्यस्तै निजि क्षेत्र र सरोकारवाला निकायबिच समन्वय नहुनु, सहि ठाउँमा लगानी हुन नसक्नु, अस्वस्थ कर्मचारीतन्त्र आदि अहिलेका समस्या रहेको उनले बताए ।  हाल विद्यमान समस्याका बारेमा बोल्दै चौधरीले नेपालको परम्परागत कृषी पद्धती तथा पर्यटन व्यवसायमा परिवर्तन ल्याउनु पहिलो आवश्यकता रहेको जनाए । देश समृद्धि तर्फ उन्मुख हुने सम्भावना अझ रहेको बताउँदै उनले भने, ‘भारतमा पनि १५÷२० वर्ष अगाडि ब्रेन ड्रेनको समस्या थियो । बिस्तारै सहि दिशामा जाँदैछ । भुटान, बंगलादेश, श्रीलंका पनि नेपालका लागि उदाहरण बनिसकेका छन् ।’ ‘भारतमा स्पेशल इकोनोमिक जोनमा ठाउँ, कर, तथा नीतिगत रुपमा विभिन्न सुविधा दिइएको हुन्छ । त्यसो गर्दा स्थानियले रोजगार पाउँछन् । यो त्यहाँ पछिल्लो १५ वर्षमा देखिएको परिवर्तन हो ।’ उनले भने, ‘अहिले अस्तित्वमा रहेका प्रविधिको प्रयोग गर्न नसक्दा कृषीमा आधारित अर्थतन्त्र भएर पनि हामीले चामल मगाउनुपर्ने अवस्था छ ।’ रातो चामल, कालो चामल जस्ता नेपालका विभिन्न ठाउँमा उत्पादन हुने मौलिक अन्नलाई विश्व बजारमा लैजान नसक्दा त्यसको फाइदा उठाउन नसकिएको उनले बताए ।  त्यस्तै नीतिगत अस्थिरता नेपालको अर्को कमजोरी रहेको खतिवडाले बताए । निजी क्षेत्र असफल हुँदा देशको अर्थतन्त्रमा पनि धक्का लाग्ने जिकिर गर्दै उनले भने, ‘हाम्रोमा जस्तो करको दायरामा चलखेल अरु देशमा देखिँदैन । नीतिगत भ्रष्टाचारले गर्दा निजी क्षेत्र मारमा परेका छन् ।’ साथै नीतिगत रुपमा सहयोग नहुँदा निजी क्षेत्रबाट सरकारले पनि पाउने आर्थिक लय गुमाउने उनले संकेत गरे ।  नीति बनाउनमा निजी क्षेत्रको प्रत्यक्ष हात नभए पनि निजी क्षेत्रले गर्न सक्ने ठाउँ धेरै रहेको चौधरीले बताए । पछिल्लो पाँच वर्षमा खुलेका १५ चाउचाउ कम्पनी मध्ये १० कम्पनी बन्द भएको बताउँदै त्यसमा ति कम्पनीको बजार व्यवस्थापन तथा आन्तरिक रणनीति नै मुल कारक रहेको उनले जनाए । निजी क्षेत्रमै पनि पुरानोलाई बचाउन गाह्रो भइरहेका बेला नयाँमा कसरी लगानी गर्ने भन्ने मानसिकता रहेको उनको भनाइ थियो । साथै नीतिगत रुपमा स्थिरता आएपछि मात्रै आर्थिक समृद्धि हाँसिल हुनेमा उनले जोड दिए ।  आर्थिक वृद्धिको चाहना गरेर जादुको अपेक्षा गर्ने र सिस्टम मै हेराफेरी गर्नु नेपालको अर्को ठूलो समस्या रहेको अर्थशास्त्री खतिवडाले बताए । ‘विहार र युपीमा पनि औद्योगीकरण नभएसम्म वृद्धि हाँसिल गर्न सकिँदैन भन्ने बुझेर लगानी गरेका छन् ।’ भारतका राज्यको उदाहरण दिँदै उनले भने, ‘त्यहाँ गारमेन्टमा काम गर्ने त्यसमा सिप भएका जनशक्ति धेरै छन् । जसलाई मध्यनजर गर्दै त्यहाँको सरोकारवाला निकायले जनतालाई घर मै बसेर काम गर्ने वातावरण बनाइदियो ।’ साथै दक्ष जनशक्ति उत्पादनका लागि राज्यबाट लगानी हुनुपर्ने र त्यसले विदेशी कम्पनीलाई आकर्षित गर्न सक्ने उनले बताए ।   उनका अनुसार नेपालले अहिलेको अवस्थामा बंगलादेशको जस्तो अर्थतन्त्र बनाउनका लागि अझै दश वर्षसम्म ७ प्रतिशतका दरले र श्रीलंका जस्तो बन्नको लागि सोही दर २५ वर्षसम्म निरन्तर आर्थिक वृद्धि गर्नुपर्ने अवस्था छ । नीति बनाउने काम गर्दा उक्त तथ्य सम्झिनुपर्ने र छिमेकी राष्ट्रहरुको सफलताका कथाबाट सिक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘बंगलादेशमा १५ वर्ष अगाडी मात्रै पनि गार्मेन्ट क्षेत्र एकदमै कम थियो । जुन क्षेत्र अहिले बंगलादेश इकोनोमीको एंकरको रुपमा रहेको छ ।’ निजी क्षेत्र प्रतिको धारणा फेर्न र निर्यात कसरी बढाउने भन्नेमा गम्भिर भएर सोच्नुपर्ने उनले बताए ।   त्यस्तै चौधरीले नेपालको आर्थतन्त्र सबल बनाउनका लागि देशको भौगोलिक अवस्थिति तथा अन्तरराष्ट्रिय सम्बन्ध तथा यहाँका प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।  

पोखरा:   महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यबारे त यहाँहरुलाई जानकारी भएकै हुनुपर्छ । म चाहिँ देवकोटाको साहित्यिक पक्षभन्दा देवकोटाको व्यक्तित्व कस्तो थियो । देवकोटाको आनीबानी कस्तो थिए । देवकोटाका रमाइला कुराहरु केके थिए । यस्ता विषयमा केन्द्रीत हुन चाहेको हो  मैले ।  म त्यतै प्रति नै आफुलाई केन्द्रीत हुँदै लैजानेछु । अब महाकवि लक्ष्मीप्रसाद देवकोटा मेरो पिताजी पण्डित सोमनाथ घिमिरे व्यासका मित्र हुनुहुन्थ्यो । मेरो पिता जि पनि नेपाली साहित्य र अंग्रेजी साहित्यमा विद्धान हुनुहुन्थ्यो, लेखक पनि हुनुहुन्थ्यो । हाम्रो मुल घर रामेछाप हो । रामेछापबाट पिता जि बेलाबेलामा भाषा पाठशालामा पढाउनुहुन्थ्यो र काठमाडौं आउने गर्नुहुन्थ्यो । त्यहि आउने शिलशिलामा आफु साहित्य अनुरागी भएको हुनाले लक्ष्मीप्रसाद देवकोटासँग मेरो पिता जि चिनजान गर्न जानुभो । यो चाहिँ विस १९९६ को घटना हो । त्यो बेलादेखि पिता जिको देवकोटासँग परिचय भएको हो । परिचयमा प्रगाढता कसरी थपिदै गयो भने । मेरो पिता जि त्यो बेला श्री ३ भीम शमशेरको टंगाल दरवारमा सम्बन्धित हुनुहुन्थ्यो । त्यहाँ पण्डितको कार्य गर्नुहुन्थ्यो । र यहि टंगाल दरवारमा लक्ष्मीप्रसादकी साइली दिदि पनि कार्यरत हुनुहुन्थ्यो । दिदीको माध्यमबाट देवकोटासँगको मित्रतामा प्रगाढता थपिदै गयो । यसरी आउने जाने क्रम चल्दै गयो ।  मेरो पिता जि धार्मीक कुराहरु लेख्ने । लेखेका कुराहरु देवकोटालाई देखाउनु जानुहुन्थ्यो । देवकोटाले त्यो हेरेर भन्नुहुन्थ्यो रे ‘पण्डित जि तपाईंको चस्माको गलास कहाँको हो । इन्डियन गलास हो की युरोपियन’ । पिता जीले इन्डियन भन्नुभएछ । त्यसपछि देवकोटाले इन्डियाको गलासको काम छैन । युरोपियन चस्मा लगाउनुपर्छ । तपाईंको लेखन रुढिबादी भयो । त्यो इन्डियन क्लासकै प्रभाव हो त्यसैले युरोपियन गलास लगाउनुस् तपाईंले अनि मात्र लेखहरु लेख्नुस् भन्नुभएछ ।  त्यो भन्नुको मतलब तपाईंले आफ्नो लेखनमा दृष्टि विस्तार गर्नुस् । आधुनिक युगलाई सुहाउने खालको पनि लेख्नुस् भन्नृभएको होला भन्ने मलाई लाग्दछ । र यही प्रसंगमा पिता जीले भनेअनुसार देवकोटाको घरमा जानुहुन्थ्यो । देवकोटाको कविताहरु पनि सुन्ने, आफ्नो लेख रचना सुनाउने क्रम चलिरहन्थ्यो । हामी त केटाकेटी थियौं । म चाहिँ १९९८ सालमा जन्मिएको हुँ । मैले ६÷७ वर्षदेखि देवकोटा जिलाई आफ्नो घरमा देख्ने अवसर पाएको हुँ ।  मेरो पिता जि संगीतमा शौख राख्नुहुन्थ्यो । उहाँ तबला पनि बजाउने हार्माेनी पनि बजाउने र देवकोटा जि पनि त्यस्तो संगीतमा चाख राख्ने मेरो पिता जीको बैठकमा उहाँका केही मित्रको जमघट हुने गर्दथ्यो । त्यसमा देवकोटा, उहाँका काइला भाई मधुसुदन देवकोटा, जनकराज शर्मा, रिदयराज शर्मा  यिनीहरुको जमघट हुन्थ्यो । देवकोटा जी हार्माेनियम बजाउँदै गीत गाउन थाल्नुहुन्थ्यो शास्त्रिय संगीत ।  अब देवकोटा जी विरामी हुनुभयो । क्यान्सर रोगले ग्रसित हुनुभयो । मेरो पिता जि टंगाल दरबारसँग सम्बन्धित भएको हुनाले यहाँका राणाहरुको घर कलकत्तामा पनि थियो । त्यो देवकोटालाई पनि थाहा थियो । देवकोटाले पण्डित जी रोगको उपचार गर्न जानुप¥यो । रानी समून्द्रकुमारीको घर हामीलाई उपचार गर्न जानुछ । केही बस्ने व्यवस्था तपाईंले मिलाइदिनुहुन्छ की भनेर भन्नुभएछ । पिता जीले हुन्छ नी किन नहुनु भनेर मिलाइदिनुभयो । उहाँ उपचारका लागि कलकत्ता जानुभयो ।  एकदिन देवकोटाका भाई मधुसुदनले मेरो पिता जिलार्य भन्नुभएछ, पण्डित जि तपाईंलाई दाईले भेट्न खोज्नुभएको छ । एकपटक अस्पताल जानुप¥यो । अनि पिता जी त्यहाँ जानुभयो । जानेवित्तिकै देवकोटा जी जुरुक्क उठेर तल झर्नुभएछ । म बंगभूमिमा मर्ने भएँ । मलाई आफ्रनै भूमिमा पशुपतिनाथ, पवित्र बागमती नदिमा पुग्ने त्यहाँ मर्ने, त्यहाँ जल्ने इच्छा छ मलाई त्यहाँ जाने व्यवस्था मिलाइदिनुस् भनेर देवकोटाले ढोग्दै खोज्नुभएछ । त्यसपछि पिताले उठाउनु भयो । त्यसपछि परिवारप्रति जंगिदै देवकोटाले के भन्नुभएछ भने यीनीहरु मलाई उपचार गर्न आएका हुन् र यहाँ कलकत्ता शयर गर्न आएका हुन् । यहाँ मलाई विरामीलाई छोडेर घुम्न जान्छन् । देख्नुभो अहिले मलाई पागल भन्छन् । देखिहाल्नुभयो होला नी भनेर पिता जीलाई भन्नुभएछ । अनि पिता जीले मैले के सहयोग गर्नुप¥यो । मेरो नेपाल पुग्ने खर्चपर्च जति ल्याएको थिए । सकियो । परिवारसहित काठमाडौं पुग्ने खर्चको व्यवस्था तपाईंले गर्दिनुप¥यो भन्नुभएछ । पिता जीले देवकोटाको भाईलाई सोध्नुभएछः हामीलाई काठमाडौं जान कति लाग्छ । उहाँले ५ सय भए पुग्छ भन्नुभयो । ल म त्यति त दिइहाल्छु नी दिनुभएछ । र महाकविले के भन्नुभएछ भने मैले तमसुक लेख्दिनु प¥यो । त्यसपछि मेरो पिताले भन्नुभएछ मैले तमसुकलाई पत्याएर दिएको हो र मैले त मेरो मित्र लक्ष्मीप्रसाद देवकोटालाई पत्याएर दिएको हुँ । तमसुक समसुक चाहिदैन मलाई । सक्नुभयो भने फिर्ता गरिदिनु होला सक्नुभएन भने मलाई केही चाहिदैन भन्नुभएछ । फेरि महाकविले भन्नुभएछ म त बाच्दिन मरिहाल्छु । व्रमश्वो खाएर मर्छु की भन्ने डर लाग्छ मलाई । भनेर जवरजस्ती गरेर देवकोटाले लेख्नुभएछ अगाडि रहेका किताव र पत्रिकामा लेख्नुभएछ । मैले सोमनाथ घिमिरे व्याससँग ५ सय भारु सापट लिएको छु । त्यो चाहिँ मेरो सन्तानले तिरिदिनु भनेर ४÷५ वटा किताब र पत्रपत्रिकामा लेख्नुभएछ । यो लेखेपछि देवकोटाले भन्नुभएछ, यो देखेपछि मेरो सन्तानले तपाईं पैसा तिर्छन् । अनि मलाई शान्ति मिल्छ ।  (पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा रोचक घिमिरेले ‘महाकवि: महाआख्यान’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश)

पोखरा:       पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता  सम्पन्न भएको छ ।  प्रतियोगिता अन्तरगत समुहगत प्रतिष्पर्धामा बेसलाइन एकेडेमीले उपाधि जित्न सफल भयो । कुल १६ समुहले भाग लिएको यो विधातर्फको उपाधि जितेको बेसलाइनले १ लाख रुपैयाँ हात समेत पा¥यो ।  समुहगततर्फ द्धितिय बनेको निश्चल डान्स एकेडेमीले ५० हजार र तृतीय बनेको कास्की मोडनाइज्ड एकेडेमीले २५ हजार रुपैयाँ हात पारे । समुहगततर्फ पब्लिक च्वाइस अवार्ड इन्ट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडले जित्यो । समुहगततर्फ सहभागी भएको रोटरी क्लब अफ पोखरा लेकसाइडलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।   रोटरी दिवसको छेको पारेर आयोजना गरिएको नृत्य प्रतियोगिता अन्तर्गत एकल प्रतिष्पर्धामा रोट्याक्ट क्लब अफ स्यम्भुका सन्तोष थापा मगरले बाजी मारे । कुल ११ जनाबीच भएको एकल प्रतिष्पर्धाको उपाधि जितेका उनले नगद ५० हजार रुपैयाँ हात पारे । एकलतर्फ द्धितिय बनेकी रोट्याक्ट क्लब अफ वालिङकी विन्दु नेपालीले २५ हजार रुपैयाँ र तृतीय बनेकी रोट्याक्ट क्लब अफ बनेपाकी नीति नर्कमीले १२ हजार रुपैयाँ प्राप्त गरे । एकल तर्फ पब्लिक च्वाइस अवार्ड रोट्याक्ट क्लब अफ पोखराकी कुसुम कुमारी थापाले जितिन् ।   स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो । गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना भएको प्रतियोगिताको निर्णायकमा मन कुमार श्रेष्ठ, रबिन गुरुङ र राज बहादुर गुरुङ रहेको कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले जानकारी दिइन् ।   रोटरी क्लब अफ पोखरा प्याराडाइजका उपाध्यक्ष डा. हरि विक्रम अधिकारीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताका सहभागीलाई हौसला प्रदान गर्न ड्रिष्टिक गर्भनर राजेन्द्र धोजु, ड्रिष्टिक गर्भनर नोमिनी विनोद कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल लगायत पुगेका थिए । कार्यक्रमको थप आकर्षणको रुपमा स्टार्स एकल गुरुङ नृत्य प्रतियोगिता २०७९ को मनोरञ्जनात्मक अवार्ड विजेता अर्चना गुरुङको प्रस्तुती समेत रहेको थियो । रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभाको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा समुहगततर्फ भने खुल्ला प्रतिष्पर्धा गरिएको कार्यक्रम संयोजक गुरुङले खुलाइन् ।   रोटरी क्लब अफ पोखरा प्याराडाइजले सामाजिक कार्य मार्फत आफूलाई स्थापित गर्न खोजिरहेको छ । कार्यक्रमबाट बचत भएको रकम नृत्य मार्फत महिला शसक्तिकरण अभियानको लागि छात्रवृत्तिमा खर्च गरिने आयोजकले बताएका छन् । रोटरी क्लब अफ पोखरा प्याराडाइजका सचिव देवेन्द्र पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मी थापा गिरी र जसु गुरुङले गरेका थिए ।

पोखरा:    पोखरामा मोबाईल चोरी गरेको आरोपमा प्रहरीले स्याङ्जाका प्रेम गुरुङलाई प्रकाउ गरेको छ । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले गुरुङलाई शनिबार प्रकाउ गरेको हो ।   पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित मोबाईल पसलबाट चोरी गरेको आरोपमा स्याङ्जाको विरुवा गाउँपालिका–८ आरुखर्क घर भई पोखरा–१२ माटेपानी गुम्बाफेदी बस्ने २१ वर्षीय गुरुङलाई प्रहरीले प्रकाउ गरेको हो ।    गुरुङको साथबाट प्रहरीले चोरी भएको ४ थान मोबाईल आइफोन १०, आइफोन ११, सामसुङ र रेडमी मोबाईल बरामद गरेको छ ।  प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखरामा अमेरिकन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा मेगबहादुर तामाङलाई प्रहरीले प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले सिन्धुपाल्चोक बाह्रविसेका ३१ वर्षीय तामाङलाई हिजो (शनिबार) पोखरा–१८ खपौदीबाट प्रकाउ गरेको हो ।  सिन्धुपाल्चोक बाह्रविसे घर भई पोखरा घुम्न आएका तामाङलाई अमेरिकन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  प्रकाउ परेका तामाङको साथबाट प्रहरीले अमेरिकन डलर ५० को ५ थान, नेपाली २० रुपैयाँको ४ सय ५० थान रुपैयाँ बरामद गरेको छ ।  प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरे अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।    

पोखरा:   बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलको समिकरण पूरा भएको छ ।   पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (आइतबार) दोस्रो चरणका सबै खेल सकिएसँगै प्रिक्वाटरफाइनलका समिकरण पूरा भएको हो ।   बेलिज एफसी र दिव्यज्योती युवा क्लबबीच आज भएको पहिलो खेल १–१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ५–४ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गर्याे ।   खेलमा बेलीजका लागि नकुल तामाङले १ गोल गरेका थिए भने दिव्यज्योतीको तर्फबाट विशाल गुरुङले १ गोल गरेका थिए ।     यस्तै कलमपोखरी र लामागाउँ टिम ‘ए’ बीच भएको दोस्रो निर्धारित समया खेल गोलरहित भएपछि टाइब्रेकरमा ९–८ गोल अन्तरले लामागाउँ विजयी बन्यो ।   तेस्रो खेलमा एट टु नाइनले लामागाउँ टिम ‘बि’लाई १–० गोल अन्तरले पराजित गर्याे । एट टु नाइनको जीतमा धु्रव घिमिरेले निर्णायक गोल गरे ।    यस्तै चौथो खेलमा म्याक्सवेल पोखराले रत्नसमाज क्लब कस्केरीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । म्याक्सवेलको जीतमा अर्जुन थकालीले निर्णायक गोल गरे । अब म्याक्सवेलले प्रिक्वाटरमा तारा एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।    पाँचौ खेलमा नमस्ते ब्रदर्शले मण्डला एफसीलाई ३–० गोल अन्तरले पराजित गर्याे । नमस्तेको जीतमा शोभित भण्डारीले २ गोल र आशिष छन्त्यालले १ गोलको योगदान दिए ।   यसैगरी आज भएको अन्तिम खेलमा एन टु क्याफेले एपेक्स काँडेमाथि ४–० गोल अन्तरले सहज जीत निकाल्यो । एन टुको जीतमा विक्रान्त लामाले २ गोल गरे भने उर्गेन लिम्बु र अभय राणाले समान १ गोलको योगदान दिए ।  खेल संयोजक रामकाजी गुरुङका अनुसार सोमबारदेखि प्रिक्वाटरका खेल हुनेछन् ।   प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।   प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।  

पोखरा:    पोखरा महानगरपालिका–१४ छिनेडाँडामा प्रथम स्थानीय महोत्सव सुरु भएको छ । ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित पोखरा–१४ को आयोजनामा प्रथम स्थानीय महोत्सव सुरु भएको हो ।  पोखरा महानगरपालिका–१४ वडा कार्यालयले आयोजना गरेको प्रथम स्थानीय महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे ।  सो अवसरमा बोल्दै मेयर आचार्यले मेला महोत्सवले व्यवसायीकरण र बजारीकरणका लागि योगदान पुर्याउने धारणा राखे । ‘मेला महोत्सवमा उत्पादित बस्तुहरुको व्यवसायीकरण र बजारीकरण गर्ने थलो छ, विभिन्न उत्पादक वस्तुहरुको प्रचारप्रसारमा महोत्सवले महत्वपूर्ण भूमिका प्रदान गर्दछ, मेयर आचार्यले भने, ‘पोखरा–१४ ले आयोजना गरेको स्थानीय महोत्सवले वडा भित्र उत्पादन हुने कृषि तथा उत्पादनशील वस्तुहरुको बजारीकरणका लागि सहयोग पुग्नेछ ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वडामा आउने सडक रातको समयमा अन्धकार बन्ने गरेको गुनासो आएकाले त्यसलाई चाँडै नै बत्ती जोड्न समन्वय भइरहेको बताए ।  पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए ।  ‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं’ वडाध्यक्ष कार्कीले भने ।  कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोकर्ण कार्कीले वडादेखि विभिन्न क्लब संघसंस्थाले आयोजना गर्ने मेला महोत्सवले व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।  पूर्व वडाध्यक्ष सम्मानित पोखरा महानगरपालिका–१४ ले आयोजना गरेको प्रथम स्थानीय महोत्सवमा पूर्व वडाध्यक्ष र कर्मचारीहरुलाई सम्मान गरिएको छ ।  महोत्सवको अवसरमा तत्कालिन पोखरा नगरहुँदाका १४ र १८ वडाका पूर्ववडाध्यक्षलाई सम्मान गरिएको हो ।  वडा कार्यालयले महोत्सवको अवसरमा पूर्व वडाध्यक्ष स्वर्गीय तोरणबहादुर केसी, कोमल बहादुर गुरुङ, स्वर्गीय दुर्गाबहादुर कार्की, स्वर्गीय प्रेमबहादुर परियार, जगत बहादुर कार्की, क्षेत्रबहादुर केसी, प्रेमबहादुर कार्की र वडाका कर्मचारीहरुलाई सम्मान गरेको हो ।  महोत्सवमा १ सय स्टल दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा वडाले १ सय वटा स्टल निर्माण गरेको छ । स्थानीय महोत्सवमा पोखरा–१४ भित्रका विभिन्न व्यवसाय प्रवद्र्धनका व्यवसायीहरुलाई १ सय वटा स्टल निशुल्क रुपमा प्रदान गरेको वडाध्यक्ष कार्कीले बताए  ।  महोत्सवमा वडामा उत्पादन भएका कृषि जन्य खाद्यान्न, वडाभित्र उत्पादन भएका उत्पादित वस्तुहरु, अटो इन्जिनिरिङका सामानहरु महोत्सवमा राखिएको छ ।  सोमबारसम्म सञ्चालन हुने महोत्सवमा पोखरा–१४ भित्रका टोलस्तरीय रस्साकस्सी प्रतियोगिता, आमासमूहबीच रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र सेलरोटी पकाउने प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक रामजी केसीले बताए ।  महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कार्यक्रमहरुसमेत रहने उनले बताए ।   

पोखरा:     छवि भन्ने कुराले धेरै अर्थ राख्छ । नेपालमा बस्दासम्म आफ्नो प्रोफेसनभन्दा बाहिर अरुले चिन्ने कुरा पनि भएन । अमेरिकाबाट फर्किएर राजनीतिमा होमिइसकेपछि पनि प्रत्यक्ष जनताले भेट्ने, हेर्ने मौका पाएका थिएनन् । त्योबेला मेरो एउटा छवि बनाइयो, एक हिसाबले मिडियाले नै त्यो बनाइदिएको हो । भन्छन् नि ‘मिस्टिरियस’ छवि ! मान्छेलाई जब केही निषेधित हुन्छ, त्यसप्रति झन आकर्षण बढ्छ । घरबाटै सरकारले निस्किन नदिएपछि अरुले त ‘यो कस्तो खतरनाक मान्छे हो’ भनेर सोचिहाल्छन् । लोकतन्त्र आइसक्दा पनि किन बाहिर जान नदिएको होला ? भनेर लागिहाल्छ । त्यसमाथि ‘मिसाइल इन्जिनियर’को छवि बनाइदिँदा नेपालमा क्षेप्यास्त्र नै हान्न आएको हो कि ? भन्ने अरुलाई लाग्थ्यो ।  पटकपटक पक्राउ पर्थें । २ दजर्नचोटि त पहिले नै थियो । अस्ति भर्खर सांसद भइसकेपछि पनि धोती लगाउँदा पक्राउ परें । कतै बोल्न जाँदा पनि हातमा माइक समात्नेत्तिकै पक्राउ परिहाल्थें । यसले मान्छेहरुलाई स्वभाविक रुपमा जिज्ञासा लाग्ने भयो, ‘सिकेले के बोल्दो रैछ ? मुखबाट आगो निकाल्छ क्याहो ?’ त्यतिबेला मिडियाले मेरो अन्तर्वार्ता लिएको भन्दै एउटा मिडियालाई स्पष्टिकरण नै सोधियो । सायद कारवाही पनि गरियो होला ! मेरो त्यो रहस्यमयी पात्रको छवि कतै न कतै मिडिया नै बनाइदिएको हो । तर, त्यसमा मेरो कुनै दुखेसोचाहिँ छैन । क्रमिक रुपमा मिडियाले नै अहिले स्पेस दिँदै आएको छ । अरुले पनि सुन्न पाएका छन् । हामीसँग भएका जिज्ञासाहरु क्रमिक रुपमा स्पष्ट पार्दै गइराखेका छौं । म झन्डै २०११ मा नेपाल फर्किएँ । अमेरिकामा एउटा राम्रो वैज्ञानिकको जागिर छाडेर आउँदा त्यतिबेला स्वभाविक रुपमा प्रश्न उठ्थ्यो । ‘यो मान्छे कि नेपाल आयो ? अरु मान्छे अमेरिका जान आफ्नो किड्नी बेच्न पनि तयार हुन्छन्, पक्कै पनि केही रहस्य होला ! मिसाइल बोकेर आएको छ कि ?’ भनेर पनि प्रश्न उठ्थ्यो । अमेरिकाबाट किन नेपाल फर्किएको प्रश्न १३ वर्षअगाडि पनि सोधिन्थ्यो । अहिले पनि त्यही सोधिन्छ । लाग्दैछ–यो प्रश्नको आयू धेरै लामो रहेछ । जबसम्म कोही पत्रकार आफैंले त्यो प्रश्न सोध्दैनन्, अरुलाई दिएको जवाफबाट सन्तुष्ट हुनुहुन्न । मेरो जन्म सप्तरीको गाउँमा भयो । त्यतिबेला त्यहाँ प्राथमिक विद्यालयमात्रै थियो । अहिले पनि लगभग त्यस्तै छ । मैले त्यहीं पढें । पछि अर्को गाउँमा १० कक्षासम्मको पढाइ सकें ।  त्यसपछिमात्रै बस चढेर काठमाडौं गएको हुँ । पुल्चोकमा ओभसियर गरें, इन्जिनियरिङमा ब्याचलर गरें । त्यसपछिमात्रै जापान, क्याम्ब्रिज युनिभर्सिटी हुँदै जागिर गरें ।  सुरुदेखि नै गरिब पृष्ठभूमिमा हुर्किएको भएता पनि मेरो बुवा शिक्षक हुनुहुन्थ्यो । दाइहरु कलेजसम्म पढ्न भ्याउनुभएको थियो । त्यहीभएर पनि  बच्चैदेखि मेरो मानसिकता इन्जिनियर बन्छु भन्ने थियो । त्यतिबेला हजार रुपैयाँ लिएर इन्जिनियर पढ्न आएँ । काठमाडौं आउनुभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने पनि हेरेको थिइनँ । एकचोटि अलि टाढाबाट हेरेको थिएँ, त्योभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन । कक्षामा नेपाली पढाइ भए पनि नेपाली खासै बोल्न आउँदैन थियो । लेख्न आए पनि बोल्न आउँदैनथियो । काठमाडौं आउने बस पनि कि विराटनगर कि काँकडभित्ताबाट आउँथ्यो । त्यही बसमा हामी आयौं । त्यतिबेला टिकट नदिएर मुडामा बसालिन्थ्यो । त्योबला अरुले दशथरि गाली गरेको छ, लात्ताले हानेको छ । अहो ! यो कस्तो व्यवहार रहेछ भन्ने बस चढ्नेबित्तिकै विभेदको जुन महसुस हुन्छ, त्यहाँबाट आउन थाल्यो ।  कहिले ‘सामान फाल्दिन्छु भैया’ भन्ने, कहिले के भन्ने, त्यो मलाई बडो विरक्त लाग्यो । गान्धीसँग घटेका घटनाहरु तुलना हुन्थ्यो, त्यतिबेला पनि । काठमाडौं आइसकेपछि नेपाली बोल्न आउँदैनथ्यो । तर, कक्षामा बसेको छु । परिचय दिन मुख खोल्नेबित्तिकै मधेशी टोन त आइहाल्छ नि ! ग्रामेटिकल्ली शुद्ध भए पनि बोल्नेबित्तिकै गल्ल हाँस्थे । त्यो ‘ह्यारेस’ भएर कक्षामा बस्नै मन नलाग्ने हुन्थ्यो । त्यसपछि बाहिर निस्केर हनुमान ढोका जान्थें, म्युजियम जान्थें । कक्षामा जान अलिकति असहज महसुस हुन्थ्यो । पहिलो वर्ष रिजल्ट पनि खासै राम्रो आएन । दोस्रो वर्षमा बुवाले नतिजा राम्रो आएन भनेपछि केही उत्तरदायित्व सम्झिएर गम्भीर भएर यिनीहरुले जति हेपे पनि हेपून्, इग्नोर गर्छु भनेर लागें । त्यो एउटा ट्रान्जिसन थियो । अर्को सेमेस्टर टप गरें । त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । टप गर्न थालेपछि सबैले विस्तारै माया पनि गर्न थाले । पछि इन्जिजियरमा भर्ना भएर त्यसमा राम्रै भएर निस्किएँ । त्योबला म पनि अलि राष्ट्रवादी खालको थिएँ । गोर्खाली कविताहरु लेख्थें । प्रतियोगिताहरुमा भाग पनि लिन्थें । यतिसम्म कि पढाइको पहिलो वर्षमा एकचोटि ‘तराई–मधेश नवजागरण’ भन्ने एउटा संस्था थियो । त्यो संस्थाको सदस्य बन्नुप¥यो भनेर आउँदा किन सदस्यता लिनुप¥यो भनेर आउँदा ‘मधेशी–पहाडी केही पनि हुँदैन’ भनेर हप्काएर पठाइदिएको थिएँ ।  त्यतिबेला म विद्यार्थी थिएँ । राजनीतिमा कुनै चासो थिएन । चुनावमा भोट गर्न पनि जादिन थिएँ, खाली पढाइमामात्रै ध्यान थियो ।  पछिपछि एउटा अपवाफ फैलियो । हृत्तिक रोशनले नेपालललाई घृणा ग¥यो है भनेर कतै छापियो । त्यो फैलिँदैफैलिँदै काठमाडौंसम्म आइपुग्यो । त्यहीबेला सायद गोली लागेर पनि राजबिराजमा एकजना मारिनुभएको पनि थियो । त्यहीबेला काठमाडौंमा मधेशविरोध कार्य भए । काठमाडौंका मधेशीमाथि आक्रमण गर्ने, पसलमा आगो लगाउनेलगायतका त्रासपूर्ण वातावरण बन्यो । काठमाडौंमा कफ्र्युको वातावरण बन्यो । त्यतिबेला विन्टर भ्याकेसन थियो । अरु साथीहरु फर्किसकेका थिए । मभने पढन्ते भएको हुनाले काठमाडौंमै ल्याबमा पढ्न बसेको थिएँ । विभेदको नांगो रुप त्यतिबेलै हो देखेको । मलाई नै एउटा पुलमा समातेर ‘यसलाई फाल है’ भनियो । त्यो घटनामा आर्टिटेक्चरका एकवजा नेवारी साथीले गर्दा जोगिएँ । ‘यो मधेशी होइन, कालोकालो नेवारी हो’ भनेर भनिदिएपछि बाँचें ।   त्यतिबेला काठमाडौंका मजदुरसँग नेपाली हो भने नागरिकता खोई भनिन्थ्यो । नागरिकता देखायो भने खोसेर झोसिदिन्थे, त्यो मैले भोगेको छु । पहिले त सबै साथीहरुले एकदम सम्मान गर्थे । तर, त्यो घटनापछि होस्टल आउँदा पनि गाली गर्न थाले । अर्कै नजरले हेर्न थाले । त्यसपछि मेरो के अपराध भयो ? भनेर सोच्न बाध्य भएँ । त्यतिबेला काठमाडौंमा यस्तोसम्म वातावरण बन्यो कि मधेशीलाई भाडामा दिएकाहरु पनि बाहिरबाछ ताला लगाएर यहाँ कोही छैन भनेर भन्नुपर्ने स्थिति बन्यो । त्यसले पनि मलाई ‘यदि म यो देशको राष्ट्रियताप्रति समर्पित नागरिक हुँ भने किन आक्रमण भइरहेको छछ त ? आखिर म को हुँ ?’ भन्ने प्रश्न गर्न बाध्य बनायो । भारतकै कोही कलाकारले केही बोल्यो भन्दैमा म माथि किन आक्रमण भइरहेको छ ? मेरो राष्ट्रियता के हो ? मेरो पहिचान के हो ? मेरो अधिकार के हो त यो देशमा ? त्यतिबेला मैले सोच्नैपर्ने बाध्यता भयो । त्यतिबेलादेखि नै राजनीतिमा मेरो अलिकति चासो बढ्न थाल्यो । इतिहासहरु खोतल्न थालें । मेरो रुट, मेरो पहिचान के हो ? भनेर खोज्न थालें । त्यहीबेला जापानमा स्कलरसिप पाएर गएँ । बाहिर पनि विभेद भोग्नैपर्यो । तर, त्यहाँ म आफैं फेस गर्नुपर्छ भन्ने लागेको थिएन । म आफैं पनि अध्यात्मिक भएकाले मानवताका बारेमा सोच्नुपर्ने, सत्य खोज्नुपर्ने, किन सानो कुरामा अल्झिराख्ने भनेर आफू कहिल्यै पनि फेस गर्न खोजिनँ । ‘नेपालमा जति हेपे पनि हेपून्, विदेश गइदिम्ला नि त !’ ढुक्क भएर बसेको थिएँ । जापान जाँदा प्लेन चढ्दै गर्दा आफैंलाई प्रमिस गरेको थिएँ, ‘नेपालमा जेजस्तो भयो । सबै कुरा यहीं बिर्सिन्छु । त्यहाँ मैले फ्रेस लाइफ स्टार्ट गर्छु ।’ तर, जापान पुग्दा पनि उस्तै विभेद पाएँ । नेपालीको कार्यक्रम भनेको छ, हामीलाई नै जान दिइएको छैन । नेपालीको रेस्टुरेन्ट जान्छु, त्यहाँ तपाईं नेपाली होइन भनिदिन्थे । नागरिकता बोकेको छु भनेर भन्नुपर्ने । सहपाठी र प्रोफेसरका अगाडि तँ नेपाली होइन भनेर भनिदिँदा साह्रै अप्ठेरो महसुस हुन्थ्यो । त्यतिबेला मधेश आन्दोलन पनि भयो । त्यतिबेला संघीयता भन्ने शब्द उतिसारो प्रयोगमा आइसकेको थिएन, राज्य पुनर्संरचना धेरै भनिन्थ्यो । त्यहीबेला राज्य पुनर्संरचनाले मात्रै हामीलाई पूरा अधिकार दिन सक्दैन भन्ने लागेको थियो । अधिकार, पहिचान र स्वायत्तताको कुरा गर्न सक्दैन भन्ने लाग्थ्यो । तर, त्यतिबेलासम्म पनि खुलेर आइसकेको थिएन । मलाई त्यतिबेलासम्म पनि म जोगी बन्ने हो भन्ने थियो । पहिले नेपाललाई जापानजस्तो बनाउनुपर्छ भन्ने सोच्थें । तर, जापान गइसकेपछि त्यहाँको लाइफस्टाइल देखेर ‘यहाँ जीवन नै छैन । ठूलाठूला भवन छन्, मान्छेमा जीवन छैन । खाना खाने फुर्सद छैन ।  दुनियाँको तीव्र गतिको रेल छ, तर, मान्छेहरु हातमा बर्गर लिएर दौडिराखेका छन्, मान्छेलाई बच्चा जन्माउने फुर्सद छैन’ यस्तो पनि जीवन हुन्छ ? भनेर तुरुन्तै सोचें । भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुुसी छैन । ट्रेनमा निदाएर बस्नुपरेको छ । आँखामा खुसीको चमक कतै देखिनँ । यो त हुँदै भएन भनेर बुवालाई पत्र लेखें, ‘बुवा यता राम्रो छैन ।’ ००० अमेरिका बोस्टनमा एउटा राम्रो खालको नेपाली कम्युनिटी छ । त्यहाँ म पुगेको त्यस्तै ३, ४ महिनाजत्ति भएको होला ! उहाँहरुले बोलाउनु भएको थियो । त्यसमा नेपालबाट संविधान सभाको सदस्यहरु पनि जानु भएको थियो । त्यसमा एकजना धोती लगाउने पनि जानुभएको थियो । तर, धोती लगाएकै कारण उहाँलाई कार्यक्रममा वञ्चित गरियो । धोती नेपालीको पहिचान नभएको भन्दै पस्न दिइएन । म त अमेरिकामा भर्खर पुगेको थिएँ । मलाई फोन आयो, हामीलाई यस्तो दुव्र्यवहार गरियो । हामीलाई स्वागत नगर्ने ? भन्नु भयो । उहाँहरुलाई म र एकजना साथी मिलेर डिनर स्वागत गर्यौं । त्यतिबेलासम्म नेतालाई मनै पराउँदिनथिएँ । उहाँहरुले मधेश पहिलेभन्दा धेरै विकसित भएको तर्क गर्नुभयो । त्यसको एक महिनापछि नेपाल फर्किएँ । मधेश कतिको बनेको रैछ ? भनेर मेचीमहाकाली यात्रा त्यहीबेला गरेको हुँ । कमैया, बेरोजगार, किसान, भूमिहीन सबैसँग कुरा गरें । कञ्चनपुरबाट फर्किनेबला थारुहरुको विस्थापित बस्तीमा छिरें, त्यो बस्तीमा छिर्दा त बुज्रुकहरु खुट्टा समातेर रुन थाले । उनीहरु घर,जग्गा बनाउने ठाउँ दिनुपर्यो, प्रहरी आएर कुटेको कुट्यै गरे भनेर भन्नुभयो ।  न म सरकारी कर्मचारी हुँ न म सिडिओ न प्रहरी हँ । त्यहाँ पनि यहाँ कञ्जनपुरको आदिवासी समुदायले त्यसरी खु्ट्टा समाथेर रुन थालेपछि कि समाजप्रति मेरो उत्तरदायित्व छ भन्ने बोध यो ।  अमेरिका त विकसित छ, त्यहाँको रकेट त अरुले नै बनाइदेलान् । यहाँको म आफैं गर्नुपर्छ भन्ने बोध भयो ।  गाउँमा कोही नेता आयो भने ‘तपाईंहरुलाई के चाहिन्छ ?’ भनेर सोधिन्छ मैले पनि सोधें । उनीहरुले बाटोघाटो मागेनन् । खेतमा बोरिङको व्यवस्था गरिदिनुप¥यो बाबु’ भनेर भने । ‘खेतमा बाली र पेटमा अन्न प¥यो भने घोडासम्म त के छातीसम्म हिलो भए पनि हिँड्न तयार छन्’ भनेर भने । उनीहरुले मागेको ठिकै थियो । त्यसपछि म बोरिङको लागि कोशिस गरें । लाहानको कार्यालयमा सम्पर्क गरें । अझ अमेरिकाबाट आएको भनेर बढाइचढाइ पनि गरें । तर, नेपालको सिस्टमले एउटा पनि बोरिङ ल्याउन सकिनँ । अमेरिकामा ठूलो वैज्ञानिक हुँला, सबैभन्दा पढेको हूँला । तर, एउटा बोरिङसम्म आफ्नो गाउँलेका लागि ल्याइदिने मेरो हैसियत रैनछ भन्ने गाहा भयो । त्यसपछि नै मैले यो तबसम्म बद्लिँदैन जबसम्म म राजनीतिमा आउँदिनँ भन्ने बोध भयो ।  अब म फर्केर यो समस्या समाधान गर्छु भनेर आफैंसँग वाचा गरें । त्यसको करिब १ वर्षैपछि नेपाल फर्किएको हुँ । नेपाल फर्केर एउटा खुलामञ्चमा भाषण गरें । तर, भाषण गर्नेबित्तिकै सबबै त्रसित भए । अमेरिकाबाट फर्कियो, हाइप्रोफाइल किन नेपाल आयो भनेर वाचलिस्टमा राखे । जहाँ जाँदा पनि जासुस लागिरह्यो । पछि विचार राख्ने त्र,mममा धरपकड हुन थालेपछि चर्चाको विषय बन्दै गयो । यहीबीचमा कसरी विभेद भइराखेको छ भन्ने लेखें ।  हामी कर्णाली सबैभन्दा पिछडिएको भन्छौं । थियो, कुनैबेला, छ । पक्कै पनि कर्णाली, सुदूरपश्चिम विकसित हुनुपर्छ । तर, आजको दिनमा महोत्तरी जिल्ला, जुम्लाभन्दा पनि पछाडि छ ।  २०७८ कै पनि तथ्यांक हेर्दा साक्षरता दर जुम्लाभन्दा करिब २० प्रतिशत कम छ । समग्र मधेशको झन्डै  ६३ प्रतिशत छ, कर्णालीको ७६ प्रतिशत छ ।  यही कुरा बोल्दै गएपछि सरकारलाई असह्य भएको हो । धरपकड हुन थाल्यो । यतिसम्म सरकारले दियो फ्रि डा सिके राउत भन्दा पनि समातेर जन्मकैद हुनुपर्छ भन्न थालियो । फोटोकपी पेपरमा फ्रि डा सिके राउत भनेर उभिँदा पनि जन्मकैदको मुद्दा लाग्ने कस्तो खालको लोकतन्त्र हो ? भन्ने लाग्थ्यो । अदालत तारिख लिन जाँदा कसैले सिके राउत जिन्दावाद भन्दा पनि जन्मकैद ठोकिदिन्थ्यो । अन्तिममा यतिसम्म भयो कि राजनीतिक कुरा गर्न नदेला भनेर जनकपुरमा विवाह पञ्चमीमा पानी खुवाउन पानी राख्दा पनि पानी खुवाउने मान्छेलाई पनि समातेर मुद्दा लगाइदिए । भनेपछि तीर्थालुलाई खुवाउन नदिनेसम्मको दमन गरियो ।  हामीलाई बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानीसमेत खुवाउन नपाउने भएपछि हामीले यही तरिकाले अगाडि जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यौं । अब मूलधारमै आएर जति गर्न सकिन्छ, गरौं भनेर संविधानभित्रै बसेर केही गरौं भनेर आएको हो । म जतिबेला फर्किएँ त्यतिबेला यहाँ संविधान बनिसकेको थिएन, संघीयता आइसकेको थिएन । तर, २०७५ सालसम्म आइपुग्दा संविधान आएर पनि स्थानीय तहमा अधिकार गइसकेको थियो । राजनीतिक परिवर्तन पनि केही सकारात्मक ढंगले अगाडि बढिसकेको थियो । म अमेरिकाबाट फर्किंदा र ०७५ सालको राजनीतिक अवस्था एउटै थिएन । त्यहीबेला सरकारले वार्ता टोली गठन गरेर अगाडि बढिसकेका थियौं । यो जेल जानुभन्दा अगाडिको कुरा हो । पछि राममनोहर घटना घट्यो । उहाँको हिरासतमा मृत्यु भयो । हामी तयसलाई हत्या भन्छौं । त्यो पनि लोकतन्त्रको कालोधब्बा हो । उहाँमाथि कुनै मन्त्रीज्युलाई कालोझन्डा देखाउनु भयो भनेर आरोप लगाइयो । पछि समातेर उहाँको मृत्यु भयो, हत्या भयो । त्यसपछि यो सविधानले जति अधिकार दिएको छ, त्यो अधिकार दिएको छैन भनेर कालो दिवस मनायौं । त्यसको प्रतिसोध राख्न छापा मारेर मलाई जेलसम्म पु¥याइदिए । जेल बस्दा वार्ता अगाडि बढ्न सकेन । पछि धेरै गृहकार्यपछिमात्रै वार्ता सफल भयो । पछि पार्टी गठन ग¥यौं । लगत्तै कोरोना महामारी सुरु भयो ।  मूलधारको राजनीतिमा हामी परिवर्तन गर्न सकिन्छ भनेरे आएका हौं । योभन्दा अगाडि संसदमा संसदमा पुगिसिकेपछि धेरै कुरा गर्न सकिन्छ भन्ने थियो ।  तर, त्यहाँ गइसकेपछि बोल्न पनि पाइँदैन भनेर थाहा पाएँ । त्यहाँ को कहिले बोल्ने पालो हुन्छ । अर्को, संसदमा कोसँग कति राम्रो र महत्वपूर्ण विषय छ भनेर महत्व राख्दैन । त्यहाँ कसले कति बोल्ने भन्ने उनीहरुको सिट संख्याका आधारमा हुने रहेछ । (पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा डा सिके राउतले ‘मधेश मन्थन’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश । उक्त सत्र खगेन्द्र संग्रौलाले सहजीकरण गरेका थिए ।)