पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

पोखरा:    अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भइरहेको रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक तस्वीर प्रर्दशनीमा गर्न एक हप्ता समय थपिएको छ ।  फोटो प्रदर्शनी अवलोकनकर्ताले अभिरुचि देखाएकाले समय थपिएको संग्रहालय कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् । ‘पोखरामा पहिलोपटक भएर होला ! धेरैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । अल्पकालीन रुपमा फोटो प्रदर्शनी गरिएकाले अब यो मौका आउँदैन’, न्यौपानेले भनिन्, ‘अहिलेलाई एकहप्ता फेरि समय थपेका छौं ।’ फोटो प्रर्दशनी अब फागुन ७ गतेसम्म चल्नेछ । संग्रहालयले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा फोटो प्रदर्शनीमा राखेको थियो । माघ २२ गतेदेखि सुरु भएको फोटो प्रदर्शनीमा एकहप्तामा ३ हजार २ सयजना भन्दा बढीले अवलोकन गरेको संग्रहालयले जनाएको छ । माघ २२ गते ललितपुरका मेयर चिरिबाबु महर्जन र पोखराका मेयर धनराज आचार्यले संयुक्त रुपमा फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए । दिवसको अवसरमा प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनीमा राखिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिएको छ । ‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ न्यौपानेले भनिन् । प्रदर्शनीमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व युद्धका लागि तयार पारिएका नेपाली सेना, १९९० सालको महाभूकम्प आदि झल्कने २२ तस्वीर पनि राखिएको छ । साथै, २१ औं पर्वतीय संग्रहालय दिवसको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९५५ मा अन्नपूर्ण चौथो आरोहण गरेका थिए । उनले अन्नपूर्ण चौथोसँगै चुलु, काङगुरु, दक्षिण लमजुङ हिमाल आदि आरोहण गरेका थिए ।  

पोखरा:     गण्डकी प्रदेशका भलिबल खेलाडी स्व. सन्तोष थापामगरको स्मृतिमा स्याङ्जाको चापाकोटमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।    चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको प्रतियोगिता संयोजक राजन दलार्मीले जानकारी दिए ।    दर्लामीले आगामी फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने दोस्रो चापाकोट महोत्सवमा स्वर्गीय थापामगरको स्मृतिमा आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको संयोजक दर्लामीले बताए ।    ‘गण्डकी प्रदेशका भलिबल खेलाडी सन्तोष थापामगर भलिबल प्रतियोगिता खेलेर गत कात्तिकमा घर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परेर निधन भयो’,  प्रतियोगिता संयोजक दर्लामीले भने, ‘प्रदेशले महत्वपूर्ण भलिबल सदस्य गुमाएको छ । त्यसैले सन्तोषको सम्झनामा हामीले चापाकोट महोत्सवको अवसरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेका हौं ।’   उनका अनुसार चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा हुने सो प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।    चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुद छ ।    फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा  कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

पोखरा:     गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ । माघ २९ गते सोमबार बागलुङको ऐतिहासिक तथा धार्मिकस्थल पञ्चकोट बैठकमा बस्ने तयारी भएको प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन् । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलहरुमा मन्त्रिपरिषद् बैठक बस्ने योजना अन्तर्गत पहिलो गन्तव्य पञ्चकोटलाई रोजिएको प्रदेश सरकारको भनाइ छ ।

काठमाडौं:     पछिल्लो समय रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन्। परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारी अनुसार रूसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपाली युवाको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा छन्। यसैगरी कन्सुलर सेवा विभागमा करीब १४० जनाका परिवारले उद्धारका लागि आवेदन दिएका छन्। यस बाहेक केकति संख्यामा नेपाली नागरिक रूसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थपरक विवरण छैन। मन्त्रालयले हालसम्म गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, कुन्दनसिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रूसी सेनामा कार्यरत रहँदा मृत्यु भए जनाएको छ। यसैगरी रूस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन्। त्यस्तै, रूसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। रूसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ। रूसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसा मार्फत खाडी मुलुकबाट त्यहाँ गएका पाइएको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रूस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए। साथै, उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए। मन्त्रालयले नेपालीलाई रूसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रूस सरकारलाई अनुरोध गरेको छ। गत महीना युगान्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनमा भेट भएका रूसका सहायक विदेशमन्त्रीसँग  नेपाल सरकारका प्रतिनिधिले रूसी सेनामा नेपालीलाई भर्ना रोक्न र स्वदेश फर्काउन कुरा गरेको मन्त्रालयले जनाएको छ। नेपाली युवा रूसी सेनामा भर्ना भएको भन्ने सूचना सार्वजनिक भएपछि मन्त्रालयले गत साउन १६ गते पहिलो पटक प्रेस विज्ञप्ति मार्फत परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको थियो। त्यसैगरी, मन्त्रालयले सरकारी कामकाज, रूस सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रूस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने ‘नो अब्जेक्शन लेटर’ लिन अपील गरेको छ। कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन मन्त्रालयले अनुरोध गरेको छ।   उपरोक्त व्यवस्थालाई विस्तार गरी हाल भारत, बाङ्लादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार, ओमान र बहराइनबाट समेत रूस यात्रा गर्नुपरेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरूबाट जारी गरिने ‘एनओसी’ लिएर मात्र यात्रा गर्न मन्त्रालयले अपील गरेको छ। नेपाल सरकारले रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरूको अवस्थाबारे रूस सरकारबाट आधिकारिक रूपमा यथाशीघ्र जानकारी गराउन स्पष्ट अडान राखे पनि हालसम्म यस सम्बन्धमा यकीन तथ्यांक प्राप्त हुन सकेको छैन। हाल परराष्ट्रमन्त्री एनपी साउद अस्ट्रेलिया र न्यूजिल्यान्डको भ्रमणमा रहेको र उनले स्वदेश फर्के लगत्तै यस विषयमा कार्यक्रम गर्ने योजना रहेको प्रवक्ता राईले जानकारी दिए। मन्त्री साउदले काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करीब २०० नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको हुन सक्ने बताएका थिए। हराइरहेका र घाइते भएको भन्ने मन्त्रालयमा प्राप्त आवेदनका आधारमा त्यसभन्दा केही बढी नेपाली भर्ना भएको हुन सक्ने उनको भनाइ थियो। पछिल्लो समय रूस–युक्रेन युद्ध चर्किंदै गएपछि र ‘रेडजोन’ मा पठाउन थालेपछि रूसी सेनामा भर्ना भएका नेपाली नागरिकले आत्तिएर आफन्त मार्फत उद्धारको याचना गर्ने गरेका छन्। यही वर्षको दशैं लगत्तै रूसी सेनामा भर्ना हुन गएका एक नेपालीका आफन्तले कहिले सम्पर्क हुने र कहिले नहुने गरेको दुखेसो पोख्दै उद्धारका लागि आग्रह गरेका छन्।  

काठमाडौं:   नेकपा (एकीकृत समाजवादी)ले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मुल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला  पुरस्कृत हुने जनाइएको छ ।  महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण अभियानलाई थप गतिशील बनाउन यस किसिमको कार्यक्रम ल्याइएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । यही माघ २५ देखि आगामी चैत २५ गतेसम्म देशभर सञ्चालन हुने सो  अभियान समाप्त भएलगत्तै जिल्लाको छनोट गरी पुरस्कृत गरिने उनले जानकारी दिए । सो पार्टीले सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय तोकेको छ । आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएकाले केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्यक्षेत्रका सदस्यलाई जानकारी गराउन पार्टीले निर्देशन दिएको छ । महाधिवेशनमा सहभागिताका लागि पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन गरिसकेको छ ।

पोखरा:      साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे ।  कार्यक्रमका प्रमुख अतिथि रहेका सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रम मात्रै भएको बताए । उनले जुनसुकै छोटा विधाका रचना लेख्न पनि पनि उत्तिकै मिहिनेत लाग्ने धारणा राखे । कृतिको सङ्ख्या कति पुग्यो भन्ने कुराभन्दा कति ओजिलो छ भन्ने कुराले महत्व राख्ने सरुभक्तको भनाइ थियो । उनले दीपक समीपलाई लामो सोचविचार गरेर लेख्ने साहित्यकारका रूपमा आफुले चिनेको बताए । कृतिको समीक्षा गर्दै डा. ईश्वरमणि अधिकारीले ६६ ओटा लघुकथा समेटिएको ‘नदीको राजमार्ग’ नेपाली लघुकथाकै एक मुख्य राजमार्ग भएको दाबी गरे ।  अर्की समीक्षक सरस्वती प्रतीक्षाले समीपका लघुकथा सामाजिक यथार्थवादी धारामा केन्द्रित रहेको बताइन् । कतिपय सूत्रकथा जस्ता लाग्ने लघुकथा समेटिएको कृतिका अधिकांश लघुकथा सबैलाई मन पर्ने उनको भनाइ थियो । ‘नदीको राजमार्गमा समेटिएका लघुकथाको प्रमुख विशेषता नै मुक्तिकिलो झट्का दिनु हो’ प्रतीक्षाले भनिन्, हास्यव्यङ्ग्यको प्रचूर प्रयोग भए पनि चुट्किला बन्नबाट समीपका लघुकथा जोगिनुले उनलाई परिपक्व लघुकथाकारका रूपमा स्थापित गरेको छ ।’ कथाकार समीपले लघुकथा लेख्नु अलि उमेर पुगेपछिका मानिसले सियोमा धागो छिराए जस्तै भएको धारणा राखे । भने, ‘छोटो लेख्नु ज्यादै कठिनसाध्य काम हो, लघु आकारको कथामा सिङ्गो वैचारिक झट्का दिनु सजिलो छैन ।’ वि.सं. २०५४ र २०५५ मा राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा उत्कृष्ट लघुकथाकारको पुरस्कार जितेका समीपले आफूले साथीहरूको हौसलाबाट सिङ्गो कृतिलाई पुग्ने लघुकथा लेख्न सकेको अनुभव सुनाए ।  यसअघि उनका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह, २०६२) र अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह, २०७८) प्रकाशित छन् । पोखरेली युवा सांस्कृतिक परिवार र गजल सन्ध्याका पूर्व अध्यक्ष उनी लघुकथा प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष हुन् । साहित्यकार जीवन सागर भण्डारीले स्रष्टा परिचय दिएका कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, उषा शेरचन, हरिदेवी कोइराला, प्रकाशक पेज टर्नरका जयराम तिमिल्सिनालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन पोखरेली युवा सांस्कृतिक परिवारकी उपाध्यक्ष रीता अधिकारीले गरेकी थिइन् ।

पोखरा:    भावना रानाभाटले कौसी क्विन पोखरा २०८० को उपाधि जितेकी छिन् । शनिवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले १८ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै पोखरा ६ कि कौसी कृषक रानाभाटले कौसी क्विन प्रतियोगिता २०८० को उपाधि जितेकी हुन् ।  विजेता रानाभाट वडा स्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आबद्ध छिन् । उनले उपाधिसँगै नगर रु १५ हजार, ट्रफी, कौसी क्विनको ताज, कप र प्रमाण पत्र समेत हात पारिन । प्रतियोगितामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ उपविजेता भएकी छिन् । यस्तै पोखरा ८ की कान्ति कुमारी अधिकारी तेस्रो र पोखरा १७ की गायत्री अर्याल सान्त्वना भएकी छिन् । उनीहरूलाई क्रमशः नगद रु।१० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाण पत्र र कप पुरस्कार स्वरूप प्रदान गरिएको छ । प्रतियोगितामा कौसी खेतीमा संलग्न १९ जना कौसी कृषकहरूले भाग लिएका थिए । यस्तै शनिवार नै भएको वडा स्तरीय कौसी बाली प्रतियोगितामा पोखरा ८ प्रथम भएको छ । वडा स्तरीय कृषि सञ्जालका बिचमा भएको उक्त प्रतियोगितामा कृषि सञ्जाल पोखरा ८ प्रथम भएको हो । उसले नगद रु१० हजार पुरस्कार प्राप्त गरेको छ । कृषि सञ्जाल पोखरा १७ दोस्रो, पोखरा ७ तेस्रो र पोखरा ९ सान्त्वना भएका छन् । उनीहरूलाई क्रमशः नगद रु७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको छ । विजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार प्रदान गर्नुभएको हो । प्रतियोगितामा विजेताहरूलाई पुरस्कार प्रदान गर्दै नगर प्रमुख धनराज आचार्यले तरकारीको आयातलाई प्रतिस्थापन गर्न यस प्रकारको गतिविधि निकै प्रभावकारी हुने बताउनुभयो । पोखरा महानगरपालिकाको सहरी वडाका करिब ३० हजार घरधुरीमा कौसी खेती गरिएको उहाँले बताउनुभयो । यसले ३० हजार परिवारलाई विशेष परिस्थिति बाहेकको अवस्थामा तरकारीमा आत्मनिर्भर बनाएको र अर्ग्यानिक उत्पादनको प्रयोगले स्वास्थ्यमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको उहाँले बताउनुभयो । कृषकहरूको अर्थोपचार र कृषि उपजको बजार सुनिश्चितता सहित उनीहरूका समस्याहरू समाधानका सम्बन्धमा पोखरा महानगरपालिका गम्भीरताका साथ लागिरहेको उहाँले बताउनुभयो । बाँदर नियन्त्रण राष्ट्रिय स्तरमा समेत चर्चाको विषय बनेको उल्लेख गर्दै उहाँले बाँदरका कारण समस्या झेलिरहनु भएका कृषकहरूलाई विशेष व्यवस्था सरकारको तर्फबाट हुने विश्वास दिलाउनु भयो ।  कृषिजन्य उत्पादनमा महानगरपालिकालाई आत्मनिर्भर बनाउने कार्यमा कृषकहरूको उल्लेखनीय भूमिका रहने बताउँदै उहाँले कृषियोग्य भूमिलाई बाँझो नराख्न र सम्भव भएसम्म कौसी र करेसाहरूमा समेत तरकारी लगाउन आह्वान गर्नुभयो । महानगरले कृषकहरूलाई मल, बिउ र घाँस लगायतमा अनुदान र साझेदारी कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कौसी करेसा खेतीले पोखराको आर्थिक विकासमा मत्वपुर्ण टेवा पुगेको बताउनुभयो । क्लिन सिटी ग्रिन सिटीको अवधारणालाई सार्थक बनाउन कौसी करेसा कृशहरूको भूमिका उल्लेखनीय रहने उहाँले बताउनुभयो । महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले कौसी खेतीले स्वच्छ उत्पादन र स्वस्थ उपभोगमा जोड दिने बताउनुभयो । वडा नं.८ का वडा अध्यक्ष रुद्रनाथ बराल र वडा नं.९ का दीपेन्द्र मर्सानीले कौसी खेतीले महिला दिदीबहिनीहरूलाई तरकारीमा आत्मनिर्भरता र फोहोर व्यवस्थापनमा प्रोत्साहन मिलेको बताउनुभयो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कौसी करेसा खेतीमा संलग्न कृषकहरूको हौसलाका लागि यस प्रकारको कार्यक्रम गरिएको बताउनुभयो । पोखरा नगर क्षेत्रमा कौसी करेसा खेती गर्ने कृषकहरूका लागि मल, बिउ र तालिम लगायतका कार्यक्रमहरूमा महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताको मुल्याङकन समितिमा कौसी खेती विज्ञ नारायण अधिकारी, कृषि विज्ञ लेखनाथ आचार्य, प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ रहनुभएको थियो । यस्तै कृषि सञ्जाल तर्फ बागवानी स्रोत केन्द्र मालेपाटनका प्रमुख गोविन्द कोइराला, कृषि विकास अधिकृत दामोदर अधिकारी र महानगरको सरसफाइ शाखा प्रमुख कल्पना बराल रहनु भएको थियो । कार्यक्रममा सयपत्री फुलको ७ हजार मालाको प्रतिगोता रु २० का दरले १ लाख ४० हजार उपलब्ध गराइएको छ । महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङले कृषकहरूलाई सो समर्थन मूल्य प्रदान गर्नुभएको हो ।

काठमाडौं:    एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो ।  भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो। नेपालका सीता राना मगरले अविजित ३२ र रुविना क्षेत्रीले अविजित १७ रन बनाइन । कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भइन । नेपालले ११ रन अतिरिक्त पाएको हो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो । भुटानका नवाङ छोडेनले २५ रन जोडिन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन वाङ्गमोले १७ रन बनाइन । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो । नेपालको २ खेलमा ४ अङ्क भएको छ । पर्सि मंगलवार माल्दिभ्ससँग हुने खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । त्यस्तै फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।

झापा:    झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं। ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न।को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय रामकृष्ण पौडेलको उपचारका लागि अस्पताल पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी २१ बर्सिया लीला गौतम घाइते भएका छन् । दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको गिरीले बताएका छन् ।