चितवन: चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताउनुभयो ।
पोखरा: पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे । उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । खेलको म्यान अफ दी म्याच भारती टिमका ७३ वर्षिय खेलाडी तथा क्याप्टेन लोकमणि भट्ट घोषित भए । ६० वर्षमाथिको खेलमा चार टिमको सहभागिता रहेको थियो । बगर भाइखलकले यस अघिका संस्करणमा ४० वर्षमाथि उमेर समुहको मात्र प्रतियोगिता गराएपनि हाल तीन विधामा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ४० वर्षमाथि उमेर समूह, ५० वर्षमाथि उमेर समूह र ६० वर्ष माथि उमेर समूहको प्रतिस्पर्धा गराएको हो । भोलि सनिबार ४० र ५० वर्षमाथि उमेर समूहको फाइनल खेल हुँदैछ । ५० वर्षमाथि आयोजक बगर भाइ खलक र संगम भेट्रान उपाधिका लागि भिड्ने छन् भने, ४० वर्षमाथि नागस्वेती भेट्रान हेटौंडा र जोरपाटी भेट्रान काठमाडौं भिड्नेछन् । प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हिमालयन ब्रुअरी प्रा.लिको मुख्या प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । माघ २१ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।
पोखरा: फागुन ११ गतेदेखि नेपाली हलमा प्रदर्शन हुन लागेको गोर्खा वारियर फिल्मी निर्माता टोली प्रचारप्रसार गर्दै आज (शुक्रबार) पोखरा आइपुगेको छ । ‘कथा हाम्रो व्यथा पुर्खाको’ गोर्खा वारियरको प्रदर्शन मिति नजिकिएसँगै निर्देशक मिलन चाम्स प्रचारप्रसार गर्न देश दौदहामा निस्किएका हुन् । शुक्रबार पोखरा आइपुगेका गोर्खा वारियरका निर्देशक मिलन चाम्सले पत्रकारहरुसँग गफिदै करिव ७० वर्ष अगाडिको इतिहासलाई चलचित्रमा समावेश गरिएको सुनाए । ‘कथा हाम्रो व्यथा पुर्खाको हो । गोर्खालीहरुको करिव २ सय ९ वर्षको इतिहाससँग जोडिएका धेरै विरताका कथाहरु छन्, यो करिव सातौ पुस्ताको कथालाइ चलचित्रमा समावेश गरेका छौं, निर्देशक चाम्सले भने, ‘जंगलवारको युद्धमा गोर्खाली सेनाहरुको वास्तविक कथावस्तुमा आधारित करिव ७०÷८० वर्ष अगाडिको इतिहासलाई चलचित्रमा समावेश गरेका छौं ।’ नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो जंगलवार चलचित्र भएको निर्देशक चाम्सले बताए । ‘नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो जंगलवार मुभी, यता बित्रिसमा हेर्ने हो भने त जंगलवार पहिलो मुभी हो ।’ उनले भने । उनले जंगलवारमा गोर्खालीको इतिहास, बहादुर र हाम्रा पुर्खाले भोगको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र निर्माण गरेकोसमेत बताए । ‘गोर्खा वारियर चलचित्रमा पुर्खाको कथालाई समावेश गरेका छौं । गोर्खालीको इतिहास, बहादुर र हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र परिवेशलाई समेटेका छौं, उनले भने, ‘यस सिनेमाले आम नेपाली जनता यो देशको रक्षक हौं भन्ने विषय समेटेको छ, सिनेमा मात्र बोल्दैन, कल्चर मात्र बोल्दैन ।’
पोखरा: वन समुहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ पोखरा १९ को भेलाले डोलराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ । सो समितिको उपाध्यक्ष पिताम्वर पौडेल, सचिव कविता आचार्य, कोषाध्यक्ष दुर्गा लम्साल आचार्य र सदस्यहरुमा गंगाबहादुर केसी, प्रोणराज बास्तोला,शिव पौडेल,मैया सुनार,सूर्यकला अधिकारी,मुकुन्द गौतम र भगवती बास्तोला रहनु भएको छ । पोखरा महानगरपालिका वडा नं. १९ का वडाअध्यक्ष पुष्पेन्द्र पाण्डेले भेलाको उद्घाटन गर्दै वन क्षेत्रलाई उत्पादनसंग जोड्नुको विकल्प नभएको बताउनुभयो । जंगलको विस्तारसंगै बाँदर लगायतका बन्यजन्तुले कृषकलाई गाउँमा वस्नै नसक्ने स्थिती सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । डाँडाको टुप्पोबाट रुखमा चढेको बाँदर भुईमा नझरि रुखैरुख घरको छानोमा आउने गरि जंगलको विकास हुँदा स्थानीय वासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै वडा अध्यक्ष पाण्डेले भन्नुभयो, वन पैदावारमा आधारित उद्यम सञ्चालन गर्नुपर्ने अपरिहार्य भएको छ । वन क्षेत्र जोगाउने गरि हाँगा काट्ने व्यवस्था गर्नुपर्नेमा जोड दिंदै उहाँले थप्नुभयो कानूनी प्रकृया मिलाएर मात्र वन व्यवस्थापन गर्नु स्थानीय वासिन्दालाई आग्रह गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोलाले दाउरालाई काठमा परिणत गर्ने खालको प्रविधि भित्र्याउन सम्वन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता औल्याउनुभयो । मुलुकको वन क्षेत्रमा मुल्यवान काठ कुहिएर खेर जाने र विदेशी काठ, आलमुनियम, युपिभिसी जस्ता वस्तु आयात हुँदा बार्षिक खरवौ रुपैया विदेशीने अवस्थाको अन्त्य गर्दै हरित रोजगार सिर्जना गर्न गर्नका लागि सातै प्रदेशमा कम्पोजिट प्लाण्ट स्थापना गर्नुपर्नेमा उहाँको जोड थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सरकारी तवरबाट समुहले कहा गल्ती गर्दछन् भनेर चियाउनु भन्दा उपभोक्तालाई अधिकारका सम्वन्धमा सचेत गराउनेतर्पm लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । वन ऐन, विधेयक तथा कार्ययोजनाका आधारमा वनमा व्यवस्थापन गर्नु समुह सचेत हुनु पर्नेमा जोड दिंदंै उहाँले सानो कमजोरीमा उपभोक्तालाई दुःख नदिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । महासंघ अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा वन महासंघ गण्डकी प्रदेश सदस्य जित बहादुर बस्नेत, महानगर महासंघ उपाध्यक्ष भरतराज आचार्य, जमुना सुवेदी लगाएतले वनको महत्व र उपयोगका बारेमा चर्चा गर्नुभएको थियो । भेलामा बाँदर आतंकको अन्त्य हुनुपर्ने, वन पैदावार सहजरुपमा उपयोग गर्ने नितीको खाँचो, वनको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिनुपर्नेमा सहभागिको जोड थियो । वडाका २१ वटा सामुदायिक वन समुहका ६० जना उपभोक्ताको सहभागिता रहेको थियो ।
पोखरा: पोखराको मदरल्याण्डमा बुधबारबाट सुरु भएको त्रिदिवसीय बृहत् सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी तथा विविध सम्मान शुक्रबार विद्यालय प्राङ्गणमा संस्कृति संरक्षणमा जोड दिँदै सम्पन्न भएको छ। कक्षा नर्सरीदेखि १२ सम्मका करिब एक सय चालिस प्रस्तुतिहरू राख्दै सम्पन्न भएको उक्त कार्यक्रममा २ हजारभन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएको विद्यालयले जनाएको छ । तीन दिनसम्म नै सङ्गीतमय बनेको त्यस विद्यालयको कार्यक्रममा विविधतामयी नेपाली संस्कृतिलाई पूर्ण रूपमा समेट्ने विषयवस्तुका साथ पृथ्वी तथा प्रकृति जोगाउनुपर्छ, परोपकार गर्नुपर्छ, अरूमाथि दया देखाउनुपर्छ, संस्कृतिको संरक्षण गर्नुपर्छ आदिजस्ता सन्देशमूलक विभिन्न गीत तथा नृत्य, गायन, नाटकरप्रहसन, भजन, गाईजात्रा आदि प्रस्तुत गरिएका थिए । कार्यक्रमको समापन समारोहमा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले संस्कारयुक्त जीवन उपयोगी सिप प्रदान गर्ने कुरामा प्रष्ट पार्दै बाल बालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षक अभिभावक नै भएको बताए। सोही अवसरमा विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी देश तथा विदेशसम्म आफ्नो पहिचान बनाउन सफल भएको प्रशंसा गर्दै आचार्यले अब कमजोर सामुदायिक विद्यालयलाई सघाउँदै अगाडि बढ्न सुझाव दिए। कार्यक्रममा विद्यालय निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य लगायतले संस्कार र संस्कृतिको प्रवर्द्धन, विकास र संरक्षणमा विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकले विशेष भूमिका खेल्न सक्ने कुरामा जोड दिँदै बोलेका थिए। त्यसै गरी कार्यक्रममा मानव जीवनसँग सम्बन्धित समसामयिक विषयवस्तु समेटिएका मुहारचित्र, दृश्यचित्रहरू, स्केच तथा विभिन्न रङको संयोजनका साथ विद्यार्थीद्वारा तयार पारिएका कला तथा चित्रहरू पनि प्रदर्शन तथा बिक्री गरिएको कुरा विद्यालयका कला शिक्षक डिबी गुरुङले बताए।
पोखरा: पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन १ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १७ औं संस्करणसम्म निरन्तर आइपुगेका छौ, अध्यक्ष थापाले भने, ‘यस प्रतियोगिताले फुटलबको विकासमा थप सघाउ पुग्ने विश्वास लिएका छौं ।’ अध्यक्ष थापाले फागुन १ गतेदेखि प्रतियोगिता सुरु गर्ने बताउदै टिमको सहभागिताको आधारमा समापनको मिति तय गरिने जानकारी दिए । ‘हाम्रो प्रतियोगिता पोखराको चर्चित र लोकप्रिय प्रतियोगिता हो, अध्यक्ष थापाले भने, ‘त्यसैले यसमा सहभागि हुन धेरै टिमहरु इच्छुक हुनुहुन्छ । उहाँहरुको सहभागिताकै आधारमा समापन मिति पनि तय हुनेछ ।’ यस्तै सो प्रतियोगिताको विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए । उनका अनुसार उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । उनले प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफिसहित नगद रु १० हजारले पुरस्कृत गरिने बताए । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८÷८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ । टिम सहभागिताका लागि नगद रु ९ हजार निर्धारण गरिएको सो प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । यसअघिको संस्करणको उपाधि पोखरेली क्लब गन्नी एफसीले जितेको थियो ।
काठमाडौं: काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ स्थित सिप्रदी बल्खु पुलमा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी प्रभाग बलम्बुमा कार्यरत सहायक हवल्दार हेमराज एलजीको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो । बिहीबार राति सवा ११ बजे प्रहरीको बा।१ झ ७४१८ नम्बरको भ्यानबाट उनी सडकमा खसेका हुन् । भ्यानको पछाडी बसेका हेमराज ओर्लने क्रममा लडेर टाउकोमा चोट लागेको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए । एआईजी थापाले भने–‘घटनाबारे छानबिन हुँदैछ ।’ सतुंगल नजिकैको डेरामा जाने बेलामा ओर्लने क्रममा उनी भ्यानबाट खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । हेमराज भ्यानको पछाडीको भागमा सवार थिए । प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ । भ्यानको चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर: कोशी प्रदेश सरकार र प्रदेश १ को पुन: नामकरण संयुक्त सङ्घर्ष समितिबिच भएको वार्तामा आज ५ बुँदे सहमति भएको छ । वार्तामा प्रदेश पुन: नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन दुवै पक्षले राजनीतिक तथा संविधानसम्मत पहल र छलफल अगाडि बढाउने सहमति भएको हो । वार्तामा आन्दोलनरत पक्ष आन्दोलनको स्वरुप परिवर्तन गर्न सहमत भएका छन् । सहमतिको दोस्रो बुँदामा भनिएको छ ‘आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि बल प्रयोग नगर्ने ।’ यसैगरी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा भएका घाइतेको उपचारको व्यवस्था मिलाउने र सहिद परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने विषयमा पनि वार्तामा सहभागी दुवै पक्षबिच सहमति भएको छ । आन्दोलनका क्रममा विभिन्न मुद्दामा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउन प्रदेश सरकार सहमत भएको छ । सरकारी वार्ता टोली र पहिचान पक्षधर संयुक्त सङ्घर्ष समितिबिच आगामी फागुन १० गते अघि नै पुनः वार्ता गर्ने र आपसी समझदारीमा वार्ताको मिति तय गर्ने सहमति भएको छ । शुक्रबार बिहान ८ बजेबाट सुरु भएको वार्ता दिउँसो १ बजे पाँचबुँदे सहमति गर्दै टुङ्गिएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगू, सदस्य पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र सदस्य सचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । आन्दोलनरत पक्षबाट डकेन्द्रसिंह थेगिम, गोविन्दबहादुर आङ्बुहाङ, युवराज राई, विवश राई, लाक्पा शेर्पा, कुमार लिङ्देन, पदम लिम्बू, अर्जुन जम्नेली राई, डम्बर लावती, पदम जबेगू र चन्द्रकुमार चौधरीले हस्ताक्षर गरेका छन् । कोशी प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यस विरुद्धमा पहिचानवादीहरु आन्दोलनरत छन् । उनीहरुले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दैआएका छन् । यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले गत असार ४ गते एक पटक औपचारिक वार्ता सङ्घर्ष समितिसँग गरेको थियो । त्यतिबेला सरकार फेरबदल र अस्थिरताका कारण वार्ताले निरन्तरता पाउन सकेको थिएन ।
भरतपुर: कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् । चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा आउने क्रममा शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको बताए । ‘अहिलेको नेपालमा दूध बढी उत्पादन गर्ने समय हो । दूध बढी उत्पादन हुने समयमा हामीले पाउडर र बटर बनाएर राख्न सक्छौँ । अहिले खपत हुन नसकेको दूध पाउडर वा बटर बनाएर राखौँ । फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन’, मन्त्री भुसालले भने। उनले भण्डारण भएर रहेको पाउडर दूध बिक्री भएपछि किसानको बाँकी भुक्तानी प्रदान गरिने बताए। ‘फागुन लागेपछि भण्डारण भएको दूध बिक्री हुन्छ । त्यसपछि किसानले रकम पाउनुहुन्छ’, मन्त्री भुसालले भने, ‘अहिले पनि केही रकम त पाइरहनुभएको छ । बाँकी फागुनभित्रमा पाउनुहुन्छ ।’ चितवनका किसानले तीन महिनादेखि दूधको रकम पाउन सकेका छैनन् । भण्डार भएको दूध बिक्री नभएपछि चितवन मिल्क उद्योग बन्द भएको छ ।

