पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

पोखरा:     पोखरा महागनरपालिका वडा नम्वर ३ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । अघिल्लो पाँच बर्षमा वडा नम्वर ३ मा विभिन्न कारणले वडा मेलमिलाप केन्द्र स्थापना हुन सकेको थिएन । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले सोमबार उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले स्थानीय तहमै विवाद समाधान गर्दा पैशा र समयको बचत हुने बताउदै विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको बताउनुुभयो ।   स्थानीय तहका विवादमा सिधै अदालत पुग्दा पैशा र समय दुवै खर्च हुने मात्रै नभएर सामाजिक रुपमा बदलाको भावना उत्पन्न हुने अवस्था आउने भएकाले मेलमिलाप मार्फत दुवै जनाले जित्ने अवस्थाले शान्ति स्थापनामा भुमिका खेल्ने बताउनुुभयो । उहाँले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउँदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे जानकारी गराउनुुभयो । न्यायिक समितिका सदस्य कालिदास पोखरेलले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराउनुुभयो । वडा नम्वर ३ का अध्यक्ष प्रकाशमान उदासले मेलमिलाप केन्द्र स्थापनाले विवाद समाधानमा सहज हुने बताउनुुभयो । उहाँले आफनै वडामा बसेर विवाद समाधान गर्दा समाजिक सद्भाव कायम हुने विश्वास ब्यक्त गर्नुभयो । वडा मेलमिलापकर्ता संयोजक बसन्त कतिलाले वडाभित्रका विवाद समाधान गर्न आफनो तर्फबाट भुमिका खेल्ने बताउनुुभयो ।  न्यायिक समितिले महागनरका ३३ मध्य चार  वटामा मेलमिलाप केन्द्र स्थापना हुुन सकेको थिएन ।  न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ । 

बारा:    निजगढ नगरपालिका –७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रोहित वर्कसप लेथका सञ्चालक सोही ठाउँ बस्ने वडा –५ का ४५ बर्षे रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेसप्रसाद काफ्लेले बताए ।  फलाम काट्नेक्रममा ग्याँस सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएको मगरको वीरगञ्जस्थित नेपाल मेडिसिटी व्योधा अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो ।  सोही अस्पतालमा उपचार गराइरहेका अन्य घाइतेहरु वीरगञ्ज महानगरपालिका –९ बस्ने ३४ वर्षीय फिरोज देवान, सोही ठाउँका २० वर्षीय रितु रजत, भारतको गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल, सोही ठाउँ रामगढवा बस्ने २० वर्षीय अरविन साहको उपचार भइरहेको उनले जानकारी दिए ।  यसैगरी निजगढ नगरपालिका –५ बस्ने ४५ वर्षीय सुर्यबहादुर थापाको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।  सोमबार दिउँसो १२ बजेतिर ग्याँस सिलिण्डरको सहयोगले फलाम काट्नेक्रममा सो सिलिण्डर विस्फोट हुँदा सो घटना भएको प्रहरीले जनाएको छ । 

काठमाडौं:     प्रतिनिधिसभाको फागुन १८ मा बस्ने बैठकमा सरकारले विवादित मन्त्री र विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने भएको छ ।  प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेको थियो । १५ मिनेट प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख र दलहरूबीच आगामी बैठकमा सरकारले जवाफ दिने समझदारी भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी थिए । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आगामी बैठकमा दलहरूले उठाएका प्रश्नको जवाफ दिन ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभाको सोमबारको दैनिक कार्यसूचीमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्ने रहेको छ ।

गुल्मी:     गुल्मी जिल्लाका ४ स्थानीय तहले मगर दिवसको अवसरमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिएका छन् । जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् । ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् । सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

कपिलवस्तु:    अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका–४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रूकुम भुमे गाउँपालिका–२ घर भई दाङ लमही नगरपालिका–४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छ्न् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका(२ लिङ्गेटबाट नेपालबाट भारततर्फ जाँदै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम, रेगदोन तामाङलाई ५ किलो ३ सय ६५ ग्राम, थल बहादुरलाई ४ किलो ६ सय १५ ग्राम र साङ जोमलाई ५ किलो ४ सय ८० ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको हो । यस्तै थप अनुसन्धानको क्रममा भावना बुढाको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई कृष्णनगर नगरपालिका(१ शिवानगरबाट थप ३ किलो ५ सय ४५ ग्राम चरेशजस्तो देखिने वस्तुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:    सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पर्वत फूलबारी–२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।   उनले भने, “दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन् ।” गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ ।

काठमाडौं:    प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधि सभाको सोमबारको बैठक स्थगित भएको छ। एमालेका सांसदहरूले विवादित मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए। सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूले राजीनामा दिनुपर्ने नभए प्रधानमन्‍त्रीले बर्खास्त गर्नुपर्ने बताएका थिए। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीले पदबाट राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग छ। एमालेका सांसदहरूले बसेको ठाउँबाट उठेर नाराबाजी गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहयोग गरिदिन उनीहरूलाई आग्रह गरेका थिए। तर एमाले सांसदहरूले अवरोध गरिरहेका थिए। सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको बताएका छन्। 

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ।  प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना भएको हो। बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गका साथै म्याग्दी, मुस्ताङ, बाग्लुङ, पर्वतमा विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई छिटो बनाउने उद्देश्यले बेस राखिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक श्यामकुमार पौडेलले जानकारी दिए। ‘दुर्घटना, बाढी पहिरो, नदीमा डुबेको, आगलागीजन्य विपद्को अवस्थामा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन तालिमप्राप्त जनशक्तिको व्यवस्थापन गरेर एकाइ राखिएको हो,’ उनले भने, ‘पायक पर्ने र नजिकै तालिमप्राप्त जनशक्तिको टोली भएपछि खोज तथा उद्धार कार्य प्रभावकारी हुनेछ।’ यसअघि म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङमा खोज तथा उद्धारका लागि पोखरा र कुरिनटारबाट सशस्त्र प्रहरी बलको टोली बोलाउने गरिएको थियो। टाढाबाट टोली आउन ढिलाइ हुँदा खोज तथा उद्धार कार्यमा ढिलाइ हुने गरेको थियो। एकाइमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त जनशक्ति रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक फडिन्द्र गोलेले बताए। स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–जोमसोम–कोरला सडकमा हुने दुर्घटना, कालीगण्डकी र आसपासका नदीमा डुबेर बेपत्ता हुने, भिरमा अड्किने, पदयात्रामा हराएकाको खोजी र हिमाल आरोहणका टोलीलाई पर्ने समस्या समाधानका लागि विपद् व्यवस्थापन बेस भएपछि सहज हुने अपेक्षा गरिएको छ। गत असोज महिनायता बेनी–जोमसोम सडकबाट मोटरसाइकलसहित भिरमा खसेका एक जना पर्यटक र कालीगण्डकीमा खसेर स्थानीय अर्का युवाका ज्यान गएको छ। नारच्याङमा जलविद्युत् आयोजनाले बनाएको भवनमा सशस्त्रको बेस राखिएको छ । अन्नपूर्ण गाउँपालिकाले भवनको व्यवस्थापन गरेको हो। सो भवनमा कोरोना महामारीको समयमा अस्थायी अस्पताल सञ्चालन भएको थियो। यसैबीच सशस्त्र प्रहरीले म्याग्दीमा समुदायस्तरमा खोज तथा उद्धारका लागि आधारभूत सीप हस्तान्तरण गर्न थालेको छ। छ स्थानीय तहबाट पाँचरपाँच जनालाई विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम दिन लागिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। यही फागुन १६ र १७ गते गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा खोज तथा उद्धारको नमूना प्रदर्शनी गरिने उनले बताए। 

पोखरा:     सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जना मृत फेला परेका छन् ।  पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका २ जना मध्य १ जनाको शव गएराति फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एव्म प्रहरी निरीक्षक सुर्यबहादर रानामगरले जानकारी दिए । ‘आइतबार बेलुका पोखरा स्थित सेती नदीमा माछा मार्ने क्रममा २ जना बेपत्ता भएको सूचना आएको थियो’, प्रहरी निरीक्षक रानामगरले भने, ‘माछा मार्ने क्रममा २ जना बेपत्ता भएको सूचनापछि खोजी कार्य गर्दा एकजना मृत फेला परेका छन् भने, अर्का एक जनाको खोजी कार्य जारी छ ।’ उनका अनुसार आइतबार बेलुका सेती नदीमा माछा मार्न गएका ५ जना मध्ये मंगा तामाङ र सक्से तामाङ बेपत्ता भएका थिए ।  सेती नदीमा बेपत्ता भएका मंगा तामाङलाई सशस्त्र प्रहरी बल, नम्बर २४ कालिका गण र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले १ः१० बजेको समयमा मृत फेला पारेको छ ।  यस्तै सेती नदीमा बेपत्ता सक्से तामाङको खोजी कार्य बिहानबाट पुनः सुरु भएको प्रहरी निरीक्षक रानामगरले जानकारी दिए ।  नदीमा मृत भेटिएका मंगा तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । माछा मार्न गएका कुमार तामाङ, शम्शेर तामाङ लामा र रोहित कुँवर भने सकुशल छन् ।