पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

काठमाडौं:     केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो ।  केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको  जानकारी दिनुभयो । विभागले एकजना कैदीबन्दीको लागि रु। तीन हजार ५०० उपलब्ध गराएर स्वास्थ्य बीमा गरिदिएको हो । कैद भुक्तान गरेर कारागार बाहिर निस्किएपछि उक्त बीमा स्वतः खारेज हुने उहाँले बताउनुभयो । कारागार प्रशासक ललित बस्नेतले कैदीबन्दीको स्वास्थ्यका लागि सहयोग पुग्ने उद्देश्यले कैदीबन्दीका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उक्त कार्यक्रम सञ्चालन भएसँगै अब कैदीबन्दीले रु। एक लाख बराबरको उपचार बीमाबाट गर्न पाउने उहाँको भनाइ थियो  । यसबाहेक सरकारले केन्द्रीय कारागार अस्पतालमार्फत कैदीबन्दीको उपचार गर्दै आएको छ । तीस श्ययाको केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सम्भव नभएका रोगका बिरामीलाई  विभिन्न २५ अस्पतालसँग सम्झौता गरेर कैदीबन्दीको उपचार गर्दै आइरहेको कारागार प्रशासक बस्नेतले बताउनुभयो । कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगलगायतका रोगको उपचार गर्दै आएको छ । सो अस्पतालले बेलाबेलामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरा सिकाउँदै आइरहेको छ । केन्द्रीय कारागार र त्यस मातहत हाल तीन हजार ७२१ कैदीबन्दी छन् । जसअन्तर्गत केन्द्र जेलमा एक हजार ८७३, भद्र जेलमा एक हजार १६७, महिला जेलमा ४५३, बाल सुधार गृह भक्तपुरमा २२८ र ११  नाबालक छन् ।

काठमाडौं:     पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९:४५ बजे सुरु हुनेछ । फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने भएकी छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् । त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कने भएकी छन् । विश्व फुटबल महासंघ ९फिफा० को नियम अनुसार, राष्ट्रिय टोलीको खेल फिफा विन्डोमा रहेको अवस्थामा मात्र खेलाडीले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । वाफ च्याम्पियनसिपको फाइनलअघिको खेलमात्र फिफा विन्डोमा रहेको थियो । तर, वाफ च्याम्पियनसिपको फाइनल खेल भने फिफा विन्डोभन्दा बाहिर छ । त्यसैले उनी नेपालको फाइनल खेल छाडेर व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्कनु परेको हो । जारी वाफ च्याम्पियनसिपमा सावित्राले नौ गोल गरिसकेकी छन् । उनी जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । साम्बाले समूहगत चरणमा सिरियाविरुद्ध एक गोल, इराकविरुद्ध पाँच गोल र प्यालेस्टाइनविरुद्ध दुई गोल गरेकी थिइन् । उनले लेबननविरुद्धको सेमिफाइनल खेलमा पनि एक गोल गरेकी थिइन् । सेमिफाइनल खेलमा नेपालले लेबननलाई २–१ गोलले हराएको थियो । नेपाल समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । नेपालले समूहगत चरणमा तीनवटै खेल जितेको थियो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । जारी प्रतियोगितामा नेपालले १५ गोल गरिसकेको छ भने दुई गोलमात्र खाएको छ । जारी प्रतियोगितामा जोर्डन पनि बलियो टोलीका रुपमा देखिएको छ । जोर्डन समूह ‘ए’ बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । जोर्डनले पनि समूहगत चरणमा आफ्नो तीनवटै खेल जितेको थियो । जोर्डनले पहिलो खेलमा आयोजक साउदी अरेबियालाई ३–१, दोस्रो खेलमा ग्वामलाई ३–० र तेस्रो खेलमा लेबननलाई २–० गोलले हराएको थियो । सेमिफाइनलमा भने जोर्डनले प्यालेस्टाइनमाथि ५–० गोलको फराकिलो जित हात पारेको थियो । जोर्डनले फाइनलको यात्रा तय गर्दासम्म विपक्षीको पोस्टमा १३ गोल गरिसकेको छ । हालसम्म जोर्डनले एक गोलमात्र खाएको छ । जारी प्रतियोगितामा जोर्डनकी मायसा जबारह सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छिन् । उनले हालसम्म पाँच गोल गरिसकेकी छन् । त्यसैले पनि बिहीबार खेलिने नेपाल र जोर्डनबिचको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । नेपालले आमन्त्रित टोलीको रुपमा यो प्रतियोगितामा सहभागिता जनाएको हो ।  

पोखरा:   पोखरा २ बागलुङ बसपार्कमा गएराती सवा ११ बजे दुईजनालाई काठको मुढढा प्रहार गरेका एक युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा प्युठान स्थायी घर भएका हाल बागलुङ बसपार्कमा बस्दै आएका २६ वर्षीय सुमन केसी रहेका छन् ।   कास्की प्रहरीका अनुसार केसीले ७० वर्षीय देव रावत र ६० वर्षीया रुकमणी श्रेष्ठलाई काठको मुढा प्रहार गरी घाइते बनाएर फरार थिए ।   घाइते अवस्थामा प्रहरीले फेला पारेपछि उपचारका लागि सहारा अस्पताल पठाएको थियो ।    त्यसपछि फरार रहेका केसीलाई वडा प्रहरी बैदाम र जिल्ला प्रहरी कार्यालयले खोजी गरेको थियो । केसीलाई आज बिहान करिब २ बजे नालामुखबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिए ।   उनका अनुसार केसीलाई ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।  

गण्डकी:    गण्डकी प्रदेशसभाको आजको बैठकमा तीन विधेयक प्रस्तुत भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा पेस गरेका हुन् । गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिका सभापति फणीन्द्र देवकोटाले समितिको प्रतिवेदनसहित प्रदेशसभामा पेस गरेका हुन् । यस्तै ‘गण्डकी प्रदेशमा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले समितिको प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत गरे । बीउबिजन र आमसञ्चार सम्बन्धी विधेयक गत भदौ ३० गते प्रदेशसभामा दर्ता भई दफाबार छलफलका लागि विषयगत समितिमा पठाइएको थियो । विज्ञसहित सरोकार भएका पक्षहरुसँगको सघन छलफल र परामर्शपछि संशोधनसहित समितिबाट पारित भएको विधेयक प्रदेशसभामा प्रस्तुत गरिएको सामाजिक विकास तथा कृषि समितिका सभापति देवकोटाले बताए । प्रदेश मामिला तथा कानुन समितिका सभापति खड्काले समितिका सदस्य, सम्बन्धित मन्त्रालयका पदाधिकारी, आमसञ्चार क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षसँगको रायसुझावलाई विधेयकमा समेटिएको बताए । विधेयकमाथि दफावार छलफलका लागि पटकपटक समितिको बैठक बसेको उनको भनाइ छ । दुवै विधेयक प्रदेशसभामा सामान्य छलफलपछि पारित हुने जनाइएको छ । गत माघ २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रदेशसभामा पेस भएको हो । बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही हिउँदे अधिवेशनमा गण्कडी प्रदेश सडक विधेयक, जीवनाशक विषादी व्यवस्थापन विधेयक, जनस्वास्थ्य विधेयक, भूमि विधेयक, घरेलु मदिरासम्बन्धी विधेयक, खाद्य, विद्युत्, जलस्रोतलगायत विधेयक ल्याइने बताए । विभिन्न नियमावली संशोधनका लागि सरकारले स्वीकृत प्रदान गरेको उल्लेख गर्दै उनले आवश्यकता पहिचान भएका कानुन निर्माण गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । मुख्यमन्त्री पाण्डेले कानुनी प्रबन्धसँगै प्रदेश सरकारले तय गरेका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आफूहरु केन्द्रित रहेको उल्लेख गरे ।

पोखरा:   पोखरा आउने पर्यटकलाई अनेक बहानामा हैरानी पार्ने आरोपका कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा ९ बसपार्क बस्ने ४० वर्षका रुपेन्द्र श्रेष्ठ, ३२ वर्षका मोहन आचार्य, ४० वर्षका नारायण अधिकारी, ४४ वर्षका श्याम प्रसाद शर्मा रहेका छन् ।   यसैगरी २५ वर्षका विकास कुँवर, २१ वर्षका विमल ठकुरी र २१ वर्षका विकास श्रेष्ठ, पोखरा १३ पाटनबेसी बस्ने वर्ष २८ का रञ्जन खड्का र १९ वर्षका सविन नेपाली रहेका छन् ।   उनीहरूलाई पृथ्वीचोक र मुस्ताङचोकबाट पक्राउ गरिएको हो कास्की प्रहरीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।    उनका अनुसार पक्राउ परेका उनीहरुले पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरेर अनावश्यक दुख दिएको भन्दै सूचना प्राप्त भएको थियो ।   सोही सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।   पक्राउ परेका उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।  

काठमाडौं:     नेपाल त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए । चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए । टिमलाई ३ बलमा ४ रन चाहिएको अवस्थामा ठूलो सर्ट खेल्न अघि बढेका उनको ब्याटले बल नै भेट्टाएन । उनले आउट हुनुअघि ३४ बलमा ६ चौका र ३ छक्का हानेका थिए । त्यसपछि आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौं बलमा उनले १ लेगबाइ पाए पनि त्यो रनले नेपालको हार टार्न सकेन । नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए । कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए ।

पोखरा:   सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सक्से  लामा तामाङ (मानबहादुर तामाङ)लाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । प्रहरीले भोलि (बिहीबार) बिहान ८ देखि १२ बजेसम्म पोखरा–१६, दीपमा बनेको ड्याम खोलिने जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले आज (बुधबार) सूचना जारी गर्दै तामाङको परिवारले नदीमा बेपत्ता भएका मानबहादुरलाई ड्याम खोलेर खोजतलाज गर्न अनुरोध गरेकाले भोलि बिहान ८ देखि १२ बजेसम्म ड्याम खोलिने सूचनामा उल्लेख गरेको छ ।   आइतबार बेलुका पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा २ जना बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका २ मध्य मंगा तामाङलाई सशस्त्र र नेपाल प्रहरीले खोजतलाज गर्ने क्रममा मृत फेला पारेको थियो ।    ‘उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ ।

बागलुङ:    नेपाल मगर संघका केन्द्रीय सह-अध्यक्ष गंगबहादुर थापामगरले मगर जाति अरु कसैको अधिकार र भाग खोस्न नभई आफ्नो गुमेको अस्तीत्व र अधिकार खोजीका लागि संगठित भएको बताएका छन् ।  नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले मंगलबार बागलुङमा आयोजना गरेको नेपाल मगर संघको ४२ औं स्थापना दिवस तथा मगर दिवस २०८० को अवसरमा आयोजा गरेको बृहत सभालाई सम्बोधन गर्दै उनले राज्यले नियोजित रुपमा पछाडि पारेको मगर समुदाय आफ्नो अधिकारका लागि एकतावद्ध हुनु आवश्यक रहेको बताए ।  ‘हामीले समानुपातिक समावेशीताको कुरा उठाउँदै गर्दै बाहुन क्षेत्री वा अरु कुनै जातिलाई अधिकार नदेउ भनेको होईन, नेपालको कुल जनसंख्याको ७ प्रतिशत मगर जातिलाई जातिय जनसंख्याको आधारमा अधिकार देउ र आफै प्रतिस्पर्धा गर्ने वाताबरण निर्माण गर्ने अवस्था सिर्जना गर भनेका छौं,’उनले भने,‘अहिले पनि मगर अधिकारको कुरा गर्दा ०.१ प्रतिशत मगरको प्रतिनित्वलाई देखाउने गरिन्छ । यसरी व्याखा गर्दा गलत हुन्छ ।’ मगर समुदायको गर्विलो इतिहासलाई इतिहासकारहरुले फिक्का बनाईदिएको उनको भनाई छ ।  ‘हाम्रो गर्विलो इतिहास थियो, तर हाम्रो इतिहास लेख्न मगर समुदाय भित्रको मान्छे भएन अर्कैले इतिहास लेख्दा हाम्रो कुरा लेखिदिएन,’उनले भने,‘त्यसैले हामीले हाम्रो भाषा संस्कार संस्कृति र इतिहासको खोज  अब आफैले खोज्नुपर्छ भनेर संगठित भएका हौं ।’  उनले नेपालमा केही समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुनु पर्नेमा जोड दिए । मगर लगायतका जनजातिहरु राज्यको उत्पीडनका कारण पछाडी परेको बताउँदै जनजातिको उत्थान गर्न निश्चित समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुन जरुरी रहेको बताए ।  ‘हामी खुल्ला प्रतिस्पर्धा गर्न पनि तयार छौँ, तर राज्यको उत्पीडनका कारण मगर लगायतका जनजातिको संख्या राज्यको विभिन्न निकायमा न्यून छ,’ उनले भने,‘उत्पीडनमा परेका जातिको उत्थान गर्न निश्चित समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुन जरुरी छ ।’ उनले पहिचान र अस्तीत्वलाई ख्याल नगरी संघियता निर्माण गरिएको र अहिले संघीयता असफल भयो भनेर हल्ला मच्चाएको उल्लेख गरे । ‘संघीयता असफल भयो कामै लागेन भनेर प्रचार गरिएको छ,’उनले भने,‘संघीयको मर्म अनुसार संघीयता काम नगर्दाको समस्या हो । हामी मगरलाई संघीयता सञ्चालन गर्ने अधिकार दिनुस् हामीले उदाहरण बनाएर देखाउँछौं संघीयता कस्तो हुन्छ ।’  नेपाल देश बनाउनका लागि सबैभन्दा ठूलो योगदान गरेको मगर समुदायलाई पछाडि पार्नका लागि नेपालका शासकहरु विगतमा नियोजित रुपमा मगरहरुको भाषा संस्कृतिमाथि हमला गरेको उनको भनाई छ । कसैको अस्तीत्व मेटाउनु छ भने पहिलो भाषा संस्कृतिमाथि आक्रमण गरे हुन्छ,’उनले भने,‘नेपालका शासकहरुले त्यो कुरा बुझेर मगरको भाषा र संस्कृतिमाथि आक्रमण गरे । हामी अहिले भाषा बोल्न नसक्ने भएका छौं । अब हामी आफै जुटेर भाषा संस्कृतिको संरक्षण गर्नु जरुरी रहेको छ ।’ नेपालको मगर समुदायले अंगिकार गरेको संस्कार संस्कृति अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान गराउने खालको भए पनि सरकारले त्यसको संरक्षण प्रवद्र्धनमा चासो नदेखाएको उनको भनाई छ ।  ‘हामीले नाँच्ने गाउने कौडालाई अहिले दार्जिलिङबाट भारतले आफनो संस्कृति भनेर यनेस्कोमा दर्ता गर्दैछ, गुन्द्रुकमा अमेरिकाले कपी राईट लगाउनेवाला छ,’उनले भने,‘हामी भूमिपुत्रको अस्तीत्वलाई नामेट पार्न लागेको नेपालले एउटै संस्कृति दर्ता गरेको छैन । किनकी यी सबै मगर समुदायसंग सम्बन्धित थिए ।’ उनले नेपालका शासकहरुले पटक पटक मगरहरुको भाषा संस्कृति र रितीरिवाजमाथि आक्रमण गरेको उल्लेख गरे । मगर संघले अहिले मगरहरुको इतिहास र संस्कृतिबारे खोज गरिरहेको समेत जानकारी दिए ।  कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले मगरहरु सांस्कृतिक रुपमा असाध्यै धनि रहेको बताउँदै विदेशमा समेत नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।  उनीहरुले पहिचानले जातिय सद्भाव नभत्किने उल्लेख गरे । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गगन पुन र सञ्चालन सहसचिव रेशम घर्तीमगर र सचिवालय सदस्य संगम घर्तीमगरले गरेका थिए । सभा हुनुपूर्व मगर संस्कार संस्कृति र भेषभुषा सहितको ¥यालीले बागलुङ बजार परिक्रमा गरेको थियो ।   उक्त अवसरमा नेपाल मगर संघको प्रथम महाधिवेसनमा बागलुङबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित यामबहादुर श्रीस तत्कालिन केन्द्रीय प्रतिनिधिहरु पूर्ण श्रीस आले मगर, इन्द्रबहादुर थापामगर, नविनचन्द्र सर्वुजा मगर, डा. चिनबहादुर पुनमगर, ओमबहादुर थापामगर, डम्बरबहादुर श्रीसमगर, रमेश थापामगरलाई सम्मान गरिएको थियो । त्यसैगरी मगर समुदायमा जन्मेर पोखरा उच्च अदालत बागलुङ इजलासका न्यायाधिस यज्ञबहादुर राना, नेपाली सेनाका प्रमुख सेनानी श्रीमेहर गण घोडाबाँधे व्यारेकका गणपति धनबहादुर रानामगर, कृषि ज्ञानकेन्द्र बागलुङका बागबानी अधिकृत कुमार पुनमगर, थाली नाँच प्रशिक्षक हिरामाया पुन श्रीसलाई सम्मान गरिएको थियो ।   

बागलुङ:   तेस्रो लखन कप २०८० को पुरुष भलिबलको उपाधि एनविए र  महिला भलिबलको उपाधि जैमिनीले जितेको छ ।  मंगलबार सम्पन्न फाईनल खेलमा पुरुष भलिबलतर्फ सिद्धार्थ चस्मा घर नरेठाँटी बजार एरिया एनबिए गलकोटले होटल रोयल बिजी बागलुङ गेष्ट हाउस काठमाडौंलाई सोझो सेटमा पन्छाउँदै लखन कप २०८० को उपाधि चुमेको हो ।  एनविएरले २५—२०, २५—१७ र २५—१७ को स्कोरमा जित हाँसिल गरेको थियो । उपाधि जितेको एनविएले नगद ८१ हजार एक सय ८१ रुपैयाँ नगद, मेडल ट्रफी र प्रमाणपत्र पाएको छ ।  एनविएलाई उपाधि दिलाउन क्याप्टेन अशोक सुनारको प्रदर्शन उच्च रह्यो । उपाधि होडमा पछि परेको रोयल बिजीले नगद ४१ हजार एक सय ४१ रुपैयाँ नगद मेडल ट्रफी र प्रमाणपत्र पाएको छ ।  महिलातर्फको भलिबल फाईनलमा जैमिनी भलिबलले ताराखोला गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ । जैमिनीले २५—१६, २५—२० र २५—१७ को स्कोरमा जित दर्ता गरेको हो ।  जैमिनीलाई जित दिलाउन आशिका क्षेत्रीले उच्च योगदान गरिन् । महिला भलिबलको उपाधि जितेको जैमिनीले नगद ३० हजार मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । दोस्रो स्थानमा चित्त बुझाएको ताराखोलाले नगद १५ हजार मेडल ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।  प्रतियोगिताभर उच्च प्रदर्शन गरेको पुरुषतर्फ एनबिएका कप्तान अशोक सुनार र महिलातर्फ जैमिनीका आशिका क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए ।  मगर दिवसको अवसरमा आयोजना गरिएको घैटोफोड प्रतियोगितामा कविता श्रीसले घैटो फोड्न सफल भईन् । महिला रस्साकस्सी प्रतियोगितामा विष्णु पुनको समूह प्रथम र उपल्लाचौर समुह द्वितीय भयो ।  समय अभावका कारण पुरुष रस्साकस्सी हुन सकेन । महिलो छेलो फाल्ने प्रतियोगितामा विष्णु पुन मगर प्रथम, सम्झना थापा मगर द्वितीय र राजकुमारी पुन तृतीय भए । पुरुषतर्फको छेलो प्रतियोगितामा दुजिक थापमगर प्रथम, अमरबहादुर पुन मगर द्वितीय र मिलन पाईजा तृतीय भए ।