काठमाडौं: नेकपा माओवादी केन्द्रको बिहीबारदेखि सुरु स्थायी समिति बैठक स्थगित भएको छ । बिहीबार बसेर शुक्रबार पुनः बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको हो । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको जानकारी दिए । रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, सांगठनिक कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो । सापकोटाले स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने जानकारी दिए । आजको बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो । हिजो बसेको बैठकले तीन महिने रुपान्तरण अभियानका क्रममा उत्कृष्ट काम गर्ने र नगर्ने तीन तीन जनाको नाम पठाउनका दशवटै प्रदेशका इन्चार्जलाई निर्देशन दिएको थियो । आज उक्त सूची पेस गर्ने कार्यसूची थियो ।
काठमाडौं: राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई पुत्र लाभ भएको छ । मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो करिब १२ बजे पुत्रलाई जन्म दिएको किरणले बताएका छन् । उनीहरुको यो पहिलो सन्तान हो । किरण र कन्चनको गत वर्ष भदौ १५ गते विवाह भएको थियो । उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । किरण राउन्ड ग्लास पन्जाब एफसीबाट इन्डियन सुपर लिग (आइएसएल) टोलीबाट व्यवसायिक फुटबल खेल्दै आएको छन् । किरण भारतबाट दुई दिन अघि स्वदेश फर्केका थिए ।
पोखरा: गायिका सुनिता थापाको नयाँ गीत र म्युजिक भिडिओ ‘जुनी जुनीलाई’ सार्वजनिक भएको छ । गीतमा सुनिता तथा राजेन्द्र बाराजुलीको स्वर रहेको छ । सुनिताको यो पहिलो गीत हो । यसअघि उनले केही ट्र्याकहरुमा गीत रेकर्ड गर्दै सामाजिक सन्जालमा पोस्ट गर्दै आइरहेकी थिइन । अष्ट्रेलियामा बसोबास गर्ने सुनिता गीत संगीतमा निकै समय बिताउने गर्छिन । पहिलो प्रयास बाट आफुलाई थुप्रै हौसला मिलेको आफ्नो अनुभव सुनाउदै हरेक पटक नेपाल आउँदा एउटा गीत रेकर्ड गर्ने मनसाय रहेको कुरा गीत सार्बजिकको अवसरमा बताइन । म्युजिक भिडिओमा गायिका सुनिता र खिम लामिछाने काजीको अभिनय छ । काजी पोखरामा रहेर सामाजिक कार्य गर्नुका साथै फोटोग्राफी र साहित्यमा रुची राख्छन । गीतको लेखन र संगीत टेक नारायण चापागाइले गरेका छन् भने एरेञ्ज राजेन्द्र बराजुलीको छ । युवाहरुमा हुने प्रेम तथा रोमान्सलाई गीतमा उनेर संगीत बद्द गरिएको छ भने सोही अनुसारको कथामा आधारित रहेर निर्देशक तारानाथ आचार्यले निर्देशन गरेका छन भने अनिस खड्काले छायाङ्कन गरेका छन । गीतमा मोडल रहेका खिम काजीले पोखरा फेवातालको सौदर्यलाई उजागार गर्ने उदेश्यले लकेसाइड गौरीघाट पेरिसरमा रहेको शिवजीको मन्दिर तथा अन्य लेकसाइड वरपरका द्रिश्यहरुलाई भिडियो समाबेश गरेको बताए । स्थाई घर पोखरा भएका महेन्द्र थापाले म्युजिक भिडियोको निर्माण देखी सार्बजनिक गर्ने काम गरेका हुन ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि उनले भने, “विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।” उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै उनले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्नेसमेत उल्लेख गरे । “विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ”, उनले भने, “यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ ।” विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले आजै कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारीसमेत लिएका थिए ।
काठमाडौं: अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन्। तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालले जानकारी दिए। ८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो। नेपालीहरू धेरैजसो तल्लो बाटोको प्रयोग गरी अमेरिका छिर्ने गरेको पाइन्छ। यसरी अमेरिका छिरेको पाइए त्यहाँको सरकारले डिपोर्ट गर्ने गरेको छ। उनीहरू के कति रूपैयाँ खर्च गरेर त्यहाँ पुगेका हुन् खुल्न बाँकी रहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।
मोरङ: मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको हो । औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय नम्बरको लहरी कोशी राजमार्गबाट करिब एक सय मिटर पूर्वतर्फ पल्टिएको थियो । ट्रक पल्टिँदा बुढीग३ंगा–४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्तको मृत्यु भएको छ भने सोही दुर्घटनामा सन्जु खवासको ८ वर्षे छोरी रिहा खवासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हिडिरहेका रिहाको दुर्घटनामा मृत्यु भएको र ज्योति अधिकारी र रिहाकी आमा सन्जु खवास दुर्घटनामा घाइते भएको स्थानीय प्रत्यक्षदर्शी मायालु न्यौपानेले बताए । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घरमा लहरी पल्टिएपछि लहरीमा लोड भएको ठूलो ढुङ्गाले बालबालिकाहरुलाई किचेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी दुर्घटना भएको र प्रहरीले क्रेनको सहायतामा ढुङ्गा पन्छाएर शव निकालेको थियो ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् । सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिनको प्रतिवेदन संसद्मा पेस गर्न माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले बालकुमारी घटनाबारे छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मा पेस गर्न माग गरेका हुन् । साथै सो घटनामा छानबिन आयोगको प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र घटनामा दुई युवाको हत्या भएको प्रधानमन्त्रीको अभिव्यक्तिका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेले माग गर्दै आएको छ । शुक्रबार बसेको संसद बैठकमा पनि सांसद भट्टराईले उक्त माग गरेका छन् ।

