पोखरा: पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनले लामाचौर, सार्दीखोला हुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका छन् । चुनावी प्रचार अभियान अन्तर्गत आइतबार घरदैलो कार्यक्रममा सहभागी हुँदै उम्मेदवार बरालले लामाचौरदेखि सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका हुन् । उम्मेदवार बरालले भने “कृषि र पर्यटनको महत्व रहेको लामाचौर, सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका केन्द्र जोड्ने नमुना सडक निर्माण गर्न हामीहरुले बिषेश पहल गर्ने छौं, हाल जिर्ण सडकको अबस्थाले स्थानियले धेरै दुःख पाएको हामीले महशुस गरेका छौं ।” लामाचौर, घार्मी, पुरुन्चौर, सार्दीखोला तातोपानी हुदै माछापुच्छ्रे केन्द्र र माछापुच्छ्रे गाउँपालिकाका पर्यटकीय गाउँसम्म चक्रपथको रुपमा जोड्ने आफुहरुसंग बृहत योजना रहेको उम्मेदवार बरालले जनाए । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उम्मेदवार बरालले प्रदेश सरकारले चाहेर पनि धेरै बजेट व्यबस्थापन गर्न कठिन भएकोले बृहत योजनाहरु सम्पन्न गर्न केन्द्रीय बजेट आवश्यक भएकोले आफुलाई संघको जनप्रतिनिधिको रुपमा स्थानियले अत्याधिक बहुमतले विजयी गराउने विश्वास व्यक्त गरे । स्थानियले लामाचौर, घार्मी, पुरुन्चौर, सार्दीखोला लगायतको सडक स्तरोउन्ती गर्न माग गरेका थिए । त्यसैगरी पोखरा १९ को घार्मीको डाँडादेखि चनौटेसम्मको ढल तथा भलपानीको लागि नालाको उचित व्यबस्थापन गर्ने उम्मेदवार बरालले बताए । स्थानियको माग बमोजिम घार्मीको डाँडादेखि चनौटेसम्मको ढल तथा भलपानीको लागि नालाको उचित व्यबस्थापनमा बिषेश ध्यान दिने उनले जनाए । तिलवारीदेखि ठुलीपोखरीसम्म करिब २ किलोमिटर क्षेत्रमा करिब ९० घरधुरी रहेको चनौटे बस्तीमा ढल पानी उचित ढंगले व्यबस्थापन गर्न नसक्दा हरेक बर्ष ठुलो बर्षाद हुँदा स्थानियहरु बाढीको जोखिममा पर्ने गरेको स्थानियले उम्मेदवार बराल समक्ष गुनासो गरे । घरदैलो कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेल, काँग्रेस नेता पोषनाथ शर्मा लगायतको सहभागिता रहेको माओबादी केन्द्रका युवा नेता सविन जिसीले जानकारी दिए ।
पाेखरा: ०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (ख)बाट प्रदेश सदस्यमा लडेका राजकाजी गुरुङको हार्ने छाँटै थिएन । लालकिल्ला भनि चिनिएको यस क्षेत्रमा वाम गठबन्धनका युवानेता गुरुङका प्रतिष्पर्धी थिए नेपाली कांग्रेसका विन्दुकुमार थापा । त्यसबेला मतदान र नतीजा घोषणाको मितिमात्रै कुरेर बसेका थिए गुरुङ र उनको गठबन्धन । तर जसै निर्वाचन परिणाम आउँन सुरु भयो, नेकपा एमाले र नेकपा माओवादीका साझा उम्मेदवार गुरुङले व्यापारिक पृष्ठभूमिका थापालाई पच्छ्याउन सुरु गरे । अन्तिममा थापाले गुरुङलाई हराएर आफुलाई राजनीतिमा स्थापित गराए । अहिले थापा पुनः सोही क्षेत्रबाट चुनावी मैदानमा छन् । र, उनको विरासत ढाल्न एमालेले मिना गुरुङलाई उतारेको छ । पहिले कम्युनिष्ट गठबन्धनलाई पराजित गरेका थापासँग अहिले सोही मोर्चाको माओवादी र एमालेबाट चोइटिएको नेकपा (एकीकृत समाजवादी) जोडिन आइसकेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार थापा सर्सती हेर्दा बलिया उम्मेदवार देखिएका छन् । साथै, थापा पोखरेलीकालागि परिचित नाम हुन् । प्रायः व्यापारी वर्गले राजनीतिक शक्तिसँग धेरथोर साँठगाँठ गर्न चाहिरेका हुन्छन् । यस्तोमा पोखरा उद्योग वाणिज्य संघ हाँकिसकेका र प्रदेश मन्त्री भइसकेका थापालाई पुनः जिताउने चाहना व्यापारीहरुको रहेको छ । त्यस्तै, राजनीतिमा फड्को मार्न आवश्यक तुरुप खेलाउन सक्ने थापाको क्षमता रहेको छ । यता, एमाले उम्मेदवार गुरुङ पनि समानुपातिकबाट प्रदेशको सभासद रहिसकेकी छिन् । युवा जनमानसमा गतिलो छाप छाड्न नसकेको देखिए पनि राजनीतिमा मूल संरचना मानिने जनस्तरको कम्युनिष्ट राजनीतिक कौशलमा गुरुङ अब्बल मानिन्छिन् । सौन्दर्य व्यवसायमा नाम कमाएकी गुरुङ वास्तवमै कम्युनिष्ट नेता हुन् । झट्ट हेर्दा अपत्यारिलो लागे पनि गुरुङसँग संगठन निर्माणको कौशल भरिपूर्ण छ । एमालेको मजदुर फाँटमा उनी केन्द्रीयस्तरको नेता भएकाले गुरुङलाई यसपटक समानुपातिकबाट पाएको अवसरलाई प्रत्यक्षमा जितेर आफुुलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । गुरुङलाई जनस्तरको राजनीति गर्ने र सांगठनिक कुशलताले भरिपूर्ण भनिरहँदा स्थानीय निर्वाचको आंकडाले भने गिज्याउने गरेको छ । अर्थात् उनकै वडामा एमाले कांग्रेसभन्दा धेरै पछि रह्यो । वडा नम्बर ११ मा कांग्रेसबाट चुनिएका वडाध्यक्षले १ हजार ५७४ मत ल्याउँदा एमालेको मत ८ सय ५५ मात्र रहेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा गुरुङका प्रतिष्पर्धी थापाको चुनावी प्रचार व्यापक छ । भौतिक प्रचार त छ नै प्रविधिमार्फत थापा झनै आक्रामक देखिएका छन् । मन्त्री भइसकेका थापाले यस क्षेत्रमा पहिल्यैदेखि रणनीतिक चाल चलेका छन् । भोट कहाँ छ, र उनीहरुलाई कसरी आफ्नो पकडमा राख्न सकिन्छ भनेर उनले विनियोजन गरेको बजेट र आफुले पाउने सेवा, सुविधाको वितरणबाटै प्रष्ट हुन्छ । यद्यपि, यस्तो आधार र विश्लेषणले थापालाई जीत हात पार्न सजिलो भने छैन । मुख्यतः यसपटक थापा नेकपा एमालेका उम्मेदवारसँग भिड्दैछन् । जससँग पार्टीमात्र हैन, समुदाय पनि छ । कास्कीलाई कुनैबेला तमुवान राज्यको नाम दिइनुपर्छ भन्ने समुदाय अझैपनि गुरुङ उम्मेदवारप्रति उदार छन् । अहिले पोखरामा गुरुङ समुदायका अगुवाहरु पार्टीभन्दा माथि उठेर आफ्नो जात, थरलाई जसै भोट हाल्नुपर्छ भन्ने अभियानमा छन् । बाहिर हेर्दा मेसो पाउन सकिन्न तर समुदायका सदस्यहरु साना–साना समूहमा गुरुङको घर पहिल्याउँदै भोट माग्न व्यस्त छन् । समूहका हातमा थापाका प्रतिष्पर्धीसँगै अन्य क्षेत्रका गुरुङ उम्मेदवारका पर्चा, पम्प्लेट भेटिन्छन् । यससँगै गुरुङको पृष्ठभूमि ‘लाहुरे’ भएकाले उनलाई भूतपूर्व सैनिक परिवारको समेत साथ रहेको छ । एउटै घरबाट युवाहरुले थापालाई मत दिएपनि जेष्ठ सदस्यहरुले भने गुरुङलाई सहयोग गर्न सक्छन् । यस क्षेत्रमा महानगरका ६ वडा छन् । जसमध्ये स्थानीय निर्वाचमा ४ वडा कांग्रेसले जितेको छ भने २ मा एमालेको पकड रह्यो । यसमध्ये वडा नम्बर ४, ९, ११ कांग्रेसको राम्रै पकड भएको वडा हो । यहाँ गठबन्धनले १० हजार ७ सय ७५ मत पाएको छ । जसमध्ये कांग्रेसकोमात्रै ९ हजार ९९२ मत रहेको छ । सहयोगी दल माओवादीको ५ सय ४४ र एसको २ सय ४२ मत रहेको छ । एमालेले ९ हजार ६३१ मत पाएको थियो । उक्त आंकडालाई हेर्दा कांग्रेसको मत नै एमालेको भन्दा बढी देखिन्छ । तरपनि प्रतिष्पर्धीबीच फरक मतको संख्या भने ११ सयको हाराहारीमामात्रै छ । यस्तो स्थितिमा महिला, लाहुरे र गुरुङ समुदाय एमालेको जित्ने आधार हो भने गठबन्धनको इमानदारिता थापाको ।
पोखरा: गण्डकी प्रदेशसभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन् । गठबन्धनबाट कास्की क्षेत्र २(२) मा प्रत्यक्ष उम्मेद्वार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँ डाडाँमा घरदैलो गर्दै गरेको चुनावी कोणसभामा उक्त कुरा बताएका हुन् । थापाले वडा नं. ११ मा काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । उनले आफु अबको पाँच वर्षपनि जनताको काम गर्नका लागि आएको सुनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, प्रदेश संरचना निमार्ण, नीति नियम, ऐन कानून निमार्ण गर्दा सकिएको स्पष्ट पारे । थापाले आफुले पाँचवर्ष अघि जितेर गएपनि विकासका योजना ल्याउने मन्त्रालयमा नपर्दा चाहेजति विकास गर्न नसकेकोमा आफु लज्जित भएको बताए । ‘ म यो ठाउँको सांसद भएरपनि तपाईँहरुले चाहेजतिको विकास गर्न सकिन । मेरो अधिकार क्षेत्रले जति दियो त्यतिमात्रै गरे । फेरी मैले मन्त्रालय पनि विकासका योजना ल्याउने खालको पाइन’, उनले भने,‘तपाइंहरुलाई थाहै छ म कानून बनाउने मन्त्रालयमा परे । हाम्रै सरकार हुँदा पनि मैले थोरै मात्रै काम गरे ।’ थापाले काहुँ विकासका लागि आफुले स्थानीयसँग बसेरै गुरुयोजना निमार्ण गरि अघि बढ्ने सुनाए । ‘बजारबाट नजिकै रहेर पनि काहुँ निकै पिछडीएको क्षेत्र हो । मैले यहाँको सबै समस्या बुझेको छु । सबैभन्दा ठूलो समस्या भनेको सडक नै हो । सडक सञ्जाल भयो भने सबैतिर विकास हुन बेर लाग्दैन् । अर्को कुरा सराङकोट भन्दापनि यो बढी रमणीय ठाउँ छ तर पनि विकास हुन सकेन’, उनले थपे, ‘अब काहुँ डाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन जरुरी छ । सडक मात्रै होइन् तपाईंहरुले भनेझै यहाँ पदमार्गपनि बनाउनुपर्छ ताकी हाइकिङ हाउने गरोस् ।’ थापाले अब आफ्नो ठाउँको लागि पार्टीभन्दा माथि उठेर हेर्नुपर्ने भनाई राखे । थापाले रानी बौरहुँदै जाने सडकलाई अब कृषि सडकको रुपमा विकास गर्ने गरी प्रदेशको रातो किताबमा परेको समेत सुनाए । उनले कृषि सडक अन्तरगत एक करोड रुपैयाँ विनियोजन भइसकेको र अब काम सुरु हुन मात्रै बाकीँ रहेको बताए । उक्त योजनालाई आफु निर्वाचित भएर गएमा बहुवर्षे योजनामा पार्दै स्तरीय कृषि सडकको रुपमा विकास गर्ने बताए । थापाले काहुँमा समेत ठाउँठाउँमा पहिरोको जोखिम भएकाले पहिरो जोखिम नियन्त्रण गर्दै वातावरणीय अनुकुलको विकासलाई बढाउन आजको आवस्यकता रहेको स्पष्ट पारे । ‘विकास निर्माणका लागि योजना लिएर आउन मन्त्रालयको कार्य क्षमताले दिएन । सामाजिक वा अन्य कुनै मन्त्रालय पाएको भएपनि काम गर्ने थिए तर त्यसो हुन सकेन कानुन बनाउने स्थानमा भइयो त्यसैले मेरो अधिकार क्षेत्रमा परेर । मेले भ्याएसम्म गरे ।’, उनले भने ।
पोखरा: आसन्न निर्वाचनको मिति नजिकिंदै जाँदा राप्रपा नेपाल कास्की पनि चुनावी प्रचार–प्रसारमा तिब्रताका साथ लागि परेको छ । पार्टीले पोखराका सबै वडाहरुमा घरदैलो साथै प्रचार सामग्री वितरण गरेको छ । चुनाव चिन्ह ‘तीर’ लिएर चुनावी मैदानमा होमिएको राप्रपा नेपाल कास्कीका उम्मदवारहरु कार्यकर्ताका साथ मतदाताको घरदैलोमा पुगेका हुन् । मत माग्न घरदैलो गरिरहँदा मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको राप्रपा नेपालका सह महामन्त्री समेत रहेका उम्मदेवार शिवकुमार बाँस्तोलाले बताएका छन् । ‘सम्वद्र्धनवाद, सुशासन र समृद्धि’ हाम्रा पार्टीको मुलमन्त्र हो, हाम्रो चुनावी नारा पनि यसैमा केन्द्रित छ’–बाँस्तोलाले भने । राप्रपाले कास्कीमा प्रतिनिधी सभातर्फ समानुपातिकमा शिवकुमार बाँस्तोला र इश्वरी बैगारी तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फ विरबहादुर तामाङ्ग, इन्द्रकुमार शाही, मधु अधिकारी गुरुङ्ग र प्रेमकान्त तिवारीलाई उम्मेदवारका रुपमा अगाडी सारेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपाल कास्कीका प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेकोमा राप्रपा नेपाल कास्कीले कास्कीको प्रतिनिधी र प्रदेश सभाको उम्मेदवारी फिर्ता गरि निःशर्त रुपमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सहयोग गर्ने गरि सहमति गरेका छन् । देशको राजनीतिक परिस्थिती, सत्तारुढ दलको अराजनीतिक एवं जनविरोधी गतिविधीका साथै अप्राकृतीक गठबन्धनले मुलुकको लोकतान्त्रमाथिनै प्रश्न चिन्ह खडा भएको महशुस गर्दै राजनीतिक विचार मिलेकाले एमालेसग यस्तो सहमति गरेको राप्रपा नेपालले जनाएको छ ।
काठमाडौं: मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।
पोखरा: कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरामा सेटलाइट टाउन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । पोखराको ग्रामिण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने जनाएको छ । यस्तै फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारहरुले प्राथमिकता दिएका छन् । अत्याधुनिक पर्यटक सूचनाकेन्द्र स्थापना र सञ्चालन गर्न पहल गर्ने, पोखरादेखि विभिन्न तालसम्म एअर कनेक्सन गर्न पहल गर्ने बताएको छ । होमस्टे सञ्चालन गरी ग्रामिण पर्यटन हबको कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिएको छ । यसैगरी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने प्रतिवद्धता जनाएको छ । गठबन्धनले उद्यमशिलता, पर्यटन, रोजगार तथा मानव संसाधन विकाससहित स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गरी रोजगारका अवसरहरु सृजना गर्न पहल गर्ने बताएको छ । रेमिट्यान्स परिचालन गरी पर्यटन, कृषि र उद्योग विकासका पूर्वाधार निर्माण गरी उद्यमशिलता प्रवद्र्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गर्न पहल गर्ने जनाएको छ । दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न विशेष स्वरोजगार कार्यक्रम सञ्चालनको पहल गर्ने पनि उनीहरुको प्राथमिकता छ । युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि, पर्यटन र साना व्यावसाय संचालन गर्न आवश्यक सिप, तालिम तथा लगानीमैत्री वातावरण कायम गर्न विशेष योजना ल्याउने प्रतिवद्धता गरिएको छ । हाईकिङ पोईन्ट, दृष्यावलोकन केन्द्र, हरियाली प्रवद्र्धन कार्यक्रम, जैविक विविधता पार्क, बनस्पती उद्यान स्थापना लगायन कार्यक्रम गठबन्धनका उम्मेदवारहरुको प्राथमिकतामा छन् । रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवपर्वतन र अनलाईन रोजगार बजारजस्ता सेवा प्रदान गर्न मानव संसाधन विकास केन्द्र स्थापना गर्न पहल गर्ने उनीहरुको प्रतिवद्धता छ । कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले शिक्षा क्षेत्रमा यस्तो काम गर्ने बताएका हुन् । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् ।
पोखरा: कास्की १ (ख) का वाम गठबन्धनका साझा उम्मेद्वार दीपक गुरुङ माइलाले आफूले टिकट पाउनु नै तरुण दल र वाइसिएल लगायत गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व भएको बताएका छन । गुरुङ आफै पनि नेविसंघ हुँदै तरुण दल कास्कीको कार्यवहाक सभापति भएर काम गरेका व्यक्ति हुन । तरुण दलमा उनी वडा, क्षेत्र हुँदै जिल्ला तहमा पुगेका छन भने पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । कास्की १ (ख)मा गठबन्धनले कांग्रेसका गुरुङलाई अघि सारेको छ भने (क)मा माओवादीका दीपक कोइराला उमेदवार छन । चुनावी अभियानका क्रममा एक कार्यक्रममा बोल्दै गुरुङले आफूहरुलाई पार्टीले युवाहरुको प्रतिनिधित्वको सम्मान गर्दै उम्मेद्वार बनाएको र यसलाई तरुण दल र वाइसिएलले गर्वका साथ लिनुपर्ने बताए । “तरुण दल, नेपाली कांग्रेस गठबन्धनबाट मैले टिकट पाएको छु । यसलाई अपनत्व लिएर तपाई तरुण साथीहरु जो खटिनुभएको छ । तपाइहरुलाई धन्यवाद ।” उनले भने, “गठबन्धनका अर्का उमेदवार दीपक कोइरालालाई पनि पार्टीले अगाडि बढाएको छ । यसलाई तरुण दल र वाइसिएलले पनि गर्वका साथ लिनुपर्छ ।” पार्टीले दिएको यो स्थानलाई सम्मान गर्दै सबै तरुण दल, वाइसिएल सहित गठबन्धनका सबै दलहरुको भातृ संगठनलाई एकजुट भएर गठबन्धनका उम्मेद्वारलाई जिताउन उनले आग्रह गरे । जीतपछि संसदमा “युथ अफ भोइस” को रुपमा आवाज उठाउने उनले प्रतिबद्धता पनि जनाए । “यो सम्पुर्ण युवाहरुको प्रतिनिधीत्व गरेका छौँ । संसदमा पनि हामीले युवाको आवाज, तरुणको आवाज बोल्दै नीति निर्माण कामहरु गर्नेछौँ ।” उनले भने ।
पोखरा: आगामी मंसिर ४ गते हुने आम निर्वाचनपछि कास्की क्षेत्र नम्बर ३ का सबै सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गर्ने ५ दलीय गठबन्धनले घोषणा गरेको छ । बलियो स्वास्थ्यसँगै गुणस्तरीय शिक्षाको लागि भन्दै गठबन्धनका उम्मेदवारहरुले आवश्यक शिक्षक कर्मचारी सहित नर्सको व्यवस्था गर्ने घोषणा गरेका हुन् । कास्की ३ मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल , प्रदेश १ मा माओवादी केन्द्रकै दुर्गादत्त भण्डारी र २ मा नेपाली काँग्रेसका प्रकाश बराल चुनावी मैदानमा छन् । यो व्यवस्थाले नर्सिङ् विषय अध्ययन गरेर पनि विदेशिने बाध्यताको न्यूनीकरण हुने गठबन्धनको विश्वास छ । अहिले पनि नेपालका नर्सिङ् अध्ययन गरेर विदेशी मुलुकमा नेपाली नर्सहरु दैनिक विदेशिने बाध्यता छ । यसका साथै विद्यालयहरुको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने, आवश्यकता अनुसार सामुदायिक पुस्तकालयहरुको निर्माण गर्ने, प्राविधिक धार अध्यापन गराउने विद्यालयहरुलाई व्यवस्थित गर्ने समेत उम्मेदवारहरुले घोषणा गरेका छन् ।
पोखरा: कास्की क्षेत्र १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दिपक गुरुङ माइलाले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले आइतबार पोखरा–१४ मा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् । उनले मतदाताले आफूप्रति सकरात्मक भएको बताए । ‘ए ! दिपक भन्नी हजुर हो ? नयाँ हुनुहुन्छ, भोट गरेर जिताउँछौं भनेर मतदाताले भनेको पाएको छुँ, ’ उनले भने, ‘मतदाताको सकरात्मक र उर्जाशिल भनाइले गर्दा चुनाव जितिसकेको अनभुव भएको छ ।’ उनले जनताको योजना र आवश्यकता आफ्नो प्राथमिकता भएको सुनाए । ‘अब झुटो बोल्ने उम्मेदवारलाई जनताले पत्याउँदैनन्,’ उनले भने, ‘मतदातालाई विभिन्न योजनाहरु देखाउने र प्रभावित पार्न खोज्ने प्रवृतिको अन्त्य हुनपर्छ ।’ अबको बाटो भनेको विकास र समृद्धिको हुँदा मंसिरको निर्वाचनले जनताको मतको कदर गर्ने उनले बताए । विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने जिम्मा आएको उनले सुनाए । ‘विकास निर्माणको काम गर्दा राजनीतिक पूर्वग्रह राख्नुहुँदैन,’ उनले भने, ‘त्यसैले गठबन्धन विकासको लागि भएको हो विनाशको लागि होइन् । कसैलाई आक्षेप लगाउँदैनौं । सबै जनताले बुझिसकेका छन् ।’ पोखरा–१४ मा घरदैलो गर्दै मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै त्यस क्षेत्रको विकास, निर्माणाम समर्पित हुने गुरुङले प्रण गरे । मुलुकको समग्र विकासमा लागि स्पस्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्ने उनको भनाइ थियो । विकास निर्माणको खाँका र इच्छाशक्ति पाँच दलीय गठबन्धनको सरकारसँग मात्र रहेको उनको दावी छ ।

