काठमाडौं:  नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नु भएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।  शनिबार काठमाडौंमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय का...

काठमाडौंः   सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई  उपप्रधानमन्त्रीसँगै उर्जामन्त्रीको बनाउने निर्णय गरेको छ ।   उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको सहमति अनुसार एमालेले ८ मन्त्रालय, माओवादीलाई प्रधानमन्त्रीबाहेक ४ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको छ ।    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री । साथमा सहरी विकास र खेलकूद मन्त्रालय राप्रपाको भागमा परेको छ भने, जसपालाई २ मन्त्रालय दिने निर्णय भए पनि जसपा सहमत भएको छैन। रास्वपाले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाउने निर्णय भएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण भोलि १ बजे हुनेछ । 

काठमाडौंः    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।       बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको बताइएको छ ।       पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा हुनुहुन्छ । आइतबार साँझ पनि उहाँहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।      आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।

पोखरा:     गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धिताललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।     आज भएको गण्डकी प्रदेश सभाको  सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएसँगै निर्वाचित भएका थिए।    

पोखराः   गण्डकी प्रदेश सभामा सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । सभामुखमा धिताललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएसँगै निर्वाचित भएका हुन् ।  सभामुखमा धिताललाई फणिन्द्र देवकोटाले प्रस्ताव राखेका थिए भने एमालेका प्रमुख सचेतक रोशनबहादुर गाहा मगरले समर्थन गरेका थिए । सभामुख पदका लागि नेपाली कांग्रेसकी सरस्वती अर्यालले उम्मेदवारी दिएकी थिइन् । तुलसीराम सुवेदीले प्रस्ताव पेस गरेका थिए भने डा. टकराज गुरुङले प्रस्तावमा समर्थन गरेका थिए ।  प्रस्तावमाथि मतदान हुँदा धितालको पक्षमा ३२ र विपक्षमा २६ मत परेको छ । प्रदेशसभा बैठकमा ५८ जना सांसद उपस्थित थिए ।  

सुर्खेत:   कर्णाली प्रदेशको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखका लागि नेकपा (एमाले)का नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो । शनिबार बसेको एमाले संसदीय दलको बैठकले सभामुखमा गुरुङलाई उठाउने निणर्य गरेको हो । प्रदेश अध्यक्ष विनोदकुमार शाहले सभामुखमा गुरुङलाई उठाउने निणर्य भएको जानकारी दिनुभयो । सुर्खेतबाट समानुपातिक सांसद एमालेकी गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको हो । यस्तै, कांग्रेसका पोखरेलले शनिबार प्रदेशसभामा पुगेर सभामुखमा उम्मेदवारी दिनुभएको हो । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बिहान करिब ११ बजे कांग्रेसका नेता पोखरेलले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (१) बाट निर्वाचित हुनुभएको हो । सभामुखको निर्वाचन भोली (आइतबार) हुँदैछ ।

धनगढी:  सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ पुनः मतदान हुने भएको छ । यसअघि बिहीबार भएको मतादानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज साँझ ६ बजे पुनः मतदान हुन लागेको हो । आज बिहान बसेको सर्बदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो । बुधबार सत्ता गठबन्धनबाट एमालेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बने पनि त्यसकै भोलिपल्ट बिहीबार सभामुखमा भने गठबन्धनले बहुमत पुर्‍याउन सकेको थिएन ।   सभामुखका लाथगि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत चाहिन्छ । तर, बिहीबारको चुनावमा गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाएका थिए ।   सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।   प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

कास्कीः गण्डकी प्रदेश सभाको सभामुखका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । त्यसका लागि संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता र साढे १ बजे उम्मेदवार नामावली सार्वजनिक गरिनेछ । त्यस्तै, अपराह्न ३ बजे सभामुखका लागि निर्वाचन हुने सचिवालयद्वारा सूचनामा उल्लेख छ । सभामुखका लागि नेकपा (माओवादी केन्द्र)ले कृष्ण धिताललाई र प्रतिपक्ष दल नेपाली कांग्रेसले सरस्वती अर्याललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्ड यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सोही दिन उहाँले सानो आकारको मन्त्रिमण्डल बनाउनुभएको थियो ।    आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । 

हेटौँडा:  बागमती प्रदेशको प्रदेश सभाका सभामुख भुवन पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष कार्यक्रममा शुक्रबार दिउँसो सभामुख पाठकले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।  प्रदेश सभामुखका लागि शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहनुभएका पाठक ६२ मत ल्याएर निर्वाचित हुनुभएको हो। पाठकलाई नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र र हाम्रो नेपाली पार्टीको समर्थन गरेका छन्।  ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको दुई सदस्य रहेका छन्। पाठकको विपक्षमा ३९ मत परेको थियो भने सात जना प्रदेश सभा सदस्य तटस्थ रहनुभयो।  बागमती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीका सिर्जना सायजु उम्मेदवार बन्नुभएको थियो।  सभामुख पाठकको अध्यक्षतामा आजै प्रदेश सभाको बैठक बस्दै छ। बैठकमा सभामुख पाठकले प्रदेश सभा उपसभामुखको निर्वाचन मिति र तालिका सार्वजनिक गर्न प्रदेश सभाका सचिवलाई निर्देशन दिने कार्यतालिका रहेको छ। नेपालको संविधानले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिन भित्रमा प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ। साथै संविधानमा सभामुख र उपसभामुख प्रदेश सभामा प्रतिनिधित्व गर्ने फरक फरक दलको र प्रदेश सभामुख पुरुष भएमा उपसभामुखमा महिला निर्वाचित गर्नुपर्ने व्यवस्था छ। केन्द्रमा सत्ता गठबन्धन गरेका दलका शीर्ष नेताको बैठकले बागमती प्रदेशमा प्रदेश सभामुख राप्रपालाई र उपसभामुख एमालेलाई दिने सहमति यसअघि नै गरिसकेको छ।